काठमाडौं। नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ। नेपालका आँखा अस्पतालले विदेशी नागरिकलाई समेत उपचार सेवा दिनु र विदेशमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्नु यसका उदाहरण हुन्।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र सञ्चालनमा छन्। यी अस्पताल तथा केन्द्रबाट प्रदान हुँदै आएको गुणस्तरीय सेवाका कारण आँखाको उपचारका लागि काठमाडौं वा सीमापारिका सहर धाउनुपर्ने बाध्यता घट्दै गएको छ। पछिल्लो समय सीमापारिबाट समेत आँखाका बिरामी उपचारका लागि नेपाल आउने क्रम बढेको छ। नेपाली आँखा अस्पताल उनीहरूका लागि दृष्टि जोगाउने भरोसायोग्य केन्द्र बन्दै गएका छन्।
नेपाली नेत्र विशेषज्ञको दक्षता, आधुनिक उपकरणको प्रयोग र गुणस्तरीय उपचार सेवाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ। आँखाको उपचारबाट दृष्टि जोगाउने मानवीय सेवासँगै यसले देशको अर्थतन्त्रमा समेत योगदान दिन थालेको छ।
सङ्घका प्रमुख वित्त अधिकृत चार्टर्ड एकाउन्टेन्ट (सीए) देवराज पन्तका अनुसार विदेशी बिरामीलाई उपचार सेवा दिएबापत सङ्घको सञ्जालमा आबद्ध अस्पताल तथा केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेका छन्।
“नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पुर्याउन थालेको छ। विदेशी बिरामी नेपालको आँखा अस्पतालमा उपचार गर्न आउने क्रम बढिरहेको छ। उनीहरूबाट प्राप्त आम्दानीले नयाँ सम्भावनासमेत उजागर गरेको छ,” पन्तले भने।
उनका अनुसार यो रकम आर्थिक तथ्याङ्कमा मात्र सीमित छैन। यसले नेपाली स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय स्तरमा कमाउँदै गएको विश्वाससमेत प्रतिबिम्बित गर्छ। गुणस्तरीय आँखा उपचार सेवामार्फत विदेशी मुद्रा आर्जन हुनुले स्वास्थ्य क्षेत्रको आर्थिक सम्भावनाको ढोका खोल्ने उनको भनाइ छ।
गुणस्तरीय सेवाले बढाएको विश्वास
नेपालमा उपचारका लागि आउने विदेशी बिरामीमध्ये अधिकांश भारतबाट आउने गरेका छन्। बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपाली आँखा अस्पतालको सेवा लिइरहेका छन्।
बिरामीलाई उपचारका लागि अर्को देश लैजाने निर्णय सहज हुँदैन। उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, खर्च, पहुँच, उपचारका लागि कुर्नुपर्ने समय, विगतका अनुभव र आर्थिक अवस्थालगायत पक्षले यस्तो निर्णयमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा सङ्घमा आबद्ध आँखा अस्पताल तथा केन्द्रले नेपाली र विदेशी गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरिसकेका छन्। तीमध्ये ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
“अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीमैत्री सेवा, तुलनात्मक रूपमा छोटो प्रतीक्षा अवधि र सर्वसुलभ उपचार खर्चका कारण नेपालको आँखा उपचार सेवा अब्बल बन्दै गएको हो। यही कारण सीमावर्ती क्षेत्रलगायत विभिन्न देशका आँखाका बिरामी नेपाली अस्पतालमा सेवा लिन रुचाइरहेका छन्,” मिश्रले भने।
विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालले लिने उपचार शुल्कमा मात्र सीमित हुँदैन। उनीहरूले होटल, यातायात, खाना, औषधि तथा स्थानीय बजारमा पनि खर्च गर्छन्। बिरामीसँग आउने परिवारका सदस्य र सहयोगीको खर्चले समेत विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्छ।
कतिपय विदेशी बिरामीले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणसमेत गर्न सक्छन्। यसले स्वास्थ्य पर्यटनमार्फत अस्पतालबाहिरका व्यवसाय र रोजगारीमा समेत योगदान पुर्याउने सम्भावना छ।
अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास
नेपालमा रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले विसं २०३५ मा नेपाल नेत्रज्योति सङ्घ स्थापना भएको थियो। त्यतिबेला विशेषज्ञ आँखा उपचार सेवा सीमित क्षेत्रमा केन्द्रित थियो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई उपचार सेवा प्राप्त गर्न कठिन थियो।
सङ्घका अनुसार अस्पताल तथा आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र विभिन्न विशेषज्ञ सेवा विस्तार गरिएका छन्। समुदायमै पुगेर आँखा परीक्षण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म पुर्याउने अभ्यासले सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन योगदान गरेको छ।
नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०.२८ प्रतिशतमा आएको तथ्याङ्कले यस क्षेत्रमा भएको प्रगति देखाउँछ। सन् २०३० सम्म अन्धोपनको दरलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ।
दृष्टि जोगिनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले अन्धोपन न्यूनीकरणको सामाजिक महत्त्वसमेत उत्तिकै छ।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार संस्थाको मूल उद्देश्य सबै नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। सामाजिक उत्तरदायित्व कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै देशको आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ।
“आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक छ,” चन्दले भने, “स्वास्थ्य संस्थाबीच सहकार्य र अन्तर्राष्ट्रिय प्रवर्द्धन विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।”
नेपालको आँखा स्वास्थ्य सेवा रोगको उपचार र दृष्टि पुनःस्थापनामा मात्र सीमित छैन। यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ। सामाजिक उत्तरदायित्व कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपालको आँखा स्वास्थ्य क्षेत्र विदेशी मुद्रा आर्जन र आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्छ।