नेभिगेशन

सिधाकुरा विशेष

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

वरिष्ठ सई राणाले सिधाकुरासँग भने, ‘मैले त्यो दिन धेरै रक्सी खाएको थिँए हजुर, मबाट एकदमै ठूलो गल्ती भयो हजुर ।’

वीरगंज । पर्सामा प्रहरीलै नै वडाध्यक्ष कुटेका छन् । गत बिहीबार प्रहरीसहितको समूहले वीरगंज महानगरपालिका– २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई कुटेका हुन् । फागुन २९ गते अर्थात होलीको दिन, रातको ८ बजे, वीरगंज महानगरपालिका वडा नं २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी वडा नम्बर ८ को एक कार्यक्रममा पुगेका थिए । सो दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसका सञ्चालक विरेन्द्र पटेलको छोराको जन्मदिन थियो । सो जन्मदिनको पार्टीमा निमन्त्रणापछि वडाध्यक्ष चर्तुवेदीलाई सहभागी थिए। 


पार्टीमा वीरगंज घर भई काठमाडौँमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुषाल चौरसिया र घडिअर्वाका लखन गुप्तासमेत उपस्थित थिए । 


रातको करिब ९ बज्न लाग्दा उनीहरु सबैजना खानपिनमा लागे । वडा नं २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदीलगायत ४ जना पार्टी प्यालेसभित्रै खानपिन गरिरहेका थिए । सोही समयमा केही युवाहरुको समूह होहल्ला गर्दै वडाध्यक्ष खानपिन गर्नतर्फ लागे । ती युवाहरु आएपछि वडाध्यक्षसँगै बसिरहेका एक युवक उनीहरुलाई रोक्न गए । तर भित्र पसेका ती व्यक्तिहरुले रोक्न गएका युवकलाई धकेलेर वडाध्यक्षतिरै पुर्याए । ति युवाहरु वडाध्यक्षको छेउमा पुगेर कसैसँग फोनमा कुरा गर्दै थिए । सोही बेला अर्कोपट्टिको ढोका तोडेर केही युवाहरुको समुह वडाध्यक्ष भएको हलमा प्रवेश गर्छन् ।

CCTV-1742482382.jpg
ढोका तोडेर खैरो रङको टिसर्ट लगाएका नगवाका भुषाल चौरसिया हलभित्र प्रवेश गर्छन् । उनले वडाध्यक्षलाई गाली गर्दै आक्रामक शैलीमा भित्र प्रवेश गरेपछि वडा अध्यक्ष चतुर्वेदी उठेर भुषाल चौरासिया भएको ठाउँतर्फ गएको सिसिटिभी भिडियोमा देखिन्छ ।


त्यतिकैमा निलो ज्याकेट लगाएका नेपाल प्रहरीका वरिष्ठ सई सागर रानापनि हलभित्र प्रवेश गर्छन् । प्रहरी नै आएपछि होहल्ला नियन्त्रण होला भन्ने सोचेका वडाध्यक्षमाथि तीनै प्रहरीले पहिलो प्रहार गर्छन् । उनले वडाध्यक्षको छाति, आँखा र मुखमा मुक्कै मुक्काले हिर्काउँछन्। 


प्रहरीले नै कुटेपछि आक्रामक भिड वडाध्यक्षतर्फ नै खनिन्छ । एकपछि अर्को गर्दै वडाध्यक्षमाथि निरन्तर प्रहार हुन्छ । कुटपिटमा उत्रिनेहरु स्थानीयभन्दा पनि कुनै न कुनै जिम्मेवार पदमा आसिनहरु हुन्छन् । चर्तुवेदीमाथि रातो टिसर्ट लगाएका स्थानीय लखन गुप्ताले पटकपटक टाउकोमा हेलमेटले प्रहार गर्छन् । 


प्रहरी र स्थानीयले मात्रै हैन, वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष शुशिल शाह कानुले समेत २५ नम्बरका वडाध्यक्षलाई कुटपिट गरेका छन् । पहेँलो कुर्ता लगाएका वडाध्यक्ष शाहले चतुर्वेदीको टाउको पछाडि मुक्कै मुक्कैले हिर्काएका छन्।


त्यस्तै नेपाल पत्रकार महासंधका उपाध्यक्ष भुषण यादवले समेत वडाध्यक्ष कुटेका छन् । पत्रकार यादवले वडाध्यक्षलाई उफ्रदै टाउको र गर्दनमा हिर्काएका छन् । यसबाहेक नेपाल प्रहरीका जवान दिपेश क्षेत्री, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, घडिअर्वाका लखन गुप्ता लगायतले वडाध्यक्षमाथि निर्घात कुटेको भिडियोमा देखिन्छ । 


आफुमाथि सामुहिक आक्रमण भइरहँदा त्यसको प्रतिवाद गर्न खोज्छन् चतुर्वेदी, तर ठूलो भिडका अघि उनको केही लाग्दैन, उनी निरिह बन्छन् । अन्त्यमा टाउको फुटेर रगताम्मे भएपछि सिथिल बनेका उनलाई छोडेर त्यो भिड त्यहाँबाट बाहिरिन्छ । 


कुटपिटले गम्भीर घाइते भएका चतुर्वेदीलाई पार्टी प्यालेसका कर्मचारीहरूले तत्काल नारायणी अस्पतालमा पुर्याउँछन् । कुटपिटबाट उनको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । शरीरका विभिन्न भागमा निलडाम भएको छ । 

के थियो झगडाको कारण ?
कुटाई खाने वडाध्यक्ष चतुर्वेदी आफूमाथि किन आक्रमण भयो भन्ने विषयमा अझै अनिवज्ञ छन् । आफू निमन्त्रणा आएर त्यहाँ पुगेको र त्यहाँ पुग्दा आफूले उनीहरु कसैलाई पनि नदेखेको उनी बताउँछन् । चतुर्वेदी आफूमाथि आक्रमण हुनु बाहुबल प्रदर्शन र शक्तिको दुरुपयोग भएको बताउँछन् । ‘प्रहरी, प्रशासन, जनप्रतिनिधि, पत्रकारबाटै म कुटिएको छु ।’, वडाध्यक्ष चतुर्वेदी भन्छन्, ‘मलाई आक्रमण गर्नुको कारणचाहिँ के हो ? न उनीहरुसँग मेरो राजनीतिक प्रतिशोध छ, न व्यापारिक द्वन्द्व छ । विगतमा एउटा साइबरको मुद्दा चलेको हो, त्यसबाहेक केही छैन । उनीहरुले अहिले ताकत देखाउन खोजेजस्तो लाग्छ ।’


त्यस्तै आफुमाथि हुने आक्रमणबारे कुनै जानकारी नभएको र एक्कासी उनीहरु समूह बनाएर कुटपिटमा उत्रिएको वडाध्यक्ष चतुर्वेदी बताउँछन् । ‘ममाथि आक्रमण हुँदैछ भन्ने थाहा पाएको भए त म पनि तयारी गरेर जान्थेँ होला नि’, उनी भन्छन्, ‘आफु आफ्नो ढंगले कार्यक्रममा गएर नास्ता खाँदै गर्दा आएर कुटेपछि केही गर्नै सकिएन ।’ उनले सामाजिक संजालमा गलत धन्दाबारे बोल्दा, लेख्दा आफूलाई पहिले साइबर क्राइमा मुद्दा चलाएको समेत बताए ।

Wadadhyakxya-1742482354.jpg
उता वडाध्यक्ष कुटपिटमा संलग्न वरिष्ठ सई सागर शमशेर राणाले आफु मदिराले लठ्ठ भएको र आवेगमा कुटपिट गरेको स्विकार्छन् । सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा समाएर माफी माग्न बिदा मिलाउँदैछु’, वरिष्ठ सई राणाले सिधाकुरासँग भने, ‘मैले त्यो दिन धेरै रक्सी खाएको थिँए हजुर, मबाट एकदमै ठूलो गल्ती भयो हजुर ।’

Police-1742482040.jpg
त्यस्तै कुटपिटमा संलग्न वीरगंज महानगरपालिका वडा नं १० का वडाध्यक्ष शुशिल शाह कानु भने वडाध्यक्षलाई कुटेको दिनदेखि नै फोन अफ गरेर बसेका छन् । सिधाकुराको पटकपटकको फोन प्रयास सफल नभएपछि हामीले उनलाई ह्वाट्सएपमार्फत सम्पर्कको प्रयास गरेका थियौँ । त्यहाँ पनि उनले फोन काटे । त्यस्तै कुटपिटमा उत्रने केही युवाहरुलाई पार्टी प्यालेसमा प्रवेश गर्नमा पार्टी प्यालेसका संचालकले रोक्न खोज्दा उनीहरु बल प्रयोग गरेर भित्र प्रवेश गरेको पार्टी प्यालेस सञ्चालकले बताए । 


प्रहरीले कुट्यो, प्रहरीले नै लिन मानेन उजुरी
प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै निर्घात हुनेगरि कुटिएका वडाध्यक्ष चतुर्वेदी ५ दिनसम्मको उपचार र आरामपछि सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । उनी घाइते भएका कारण आफैँ प्रहरीसामु पुगेर उजुरी दिन सक्ने अवस्था थिएन । उनका आफन्त र परिवार जिल्ला प्रहरी कार्यालय पर्सामा चतुर्वेदीमाथि कुटपिट गर्नेविरुद्ध उजुरी दिन पुगेका थिए । तर प्रहरीले भने प्रमाण अपर्याप्त भएको भन्दै फर्काइदिएको छ । 


आफ्नो परिवार सिसिटिभी फुटेजसहित प्रहरीकहाँ पुग्दा प्रहरीले नै आनाकानी गरेको वडाध्यक्ष चतुर्वेदी बताउँछन् । प्रहरीले अस्पतालको रिपोर्ट लिएर आउनु भन्दै उनीहरुलाई फर्काइदिएको छ । त्यस्तै उनी आफूलाई केही आराम भएपछि आफैँ उपस्थित भएर प्रहरीकहाँ उजुरी दिने बताउँछन् । 

उता पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र भने वडाध्यक्ष कुटपिटको घटनाबारे आफु जानकार रहेको बताउँछन् । त्यस्तै आफूहरुले पीडितलाई नभेटेको र प्रहरीकहाँ आएको उजुरीअनुसार अनुसन्धान अघि बढाएको एसपी मिश्रले बताए । ‘पीडित भनिएका व्यक्ति हामीसँग आउनुभएको छैन, उहाँको नाममा उहाँका आफन्तले उजुरी दिनुभएको छ ।’, एसपी मिश्रले सिधाकुरासँग भने, ‘प्राप्त उजुरीका आधारमा प्रमाण संकलन गर्ने कार्य भइरहेको छ । प्रमाणका आधारमा अनुसन्धान गरेर कारबाही अघि बढाउछौँ ।’


गुण्डा शैलीमा प्रवेश गरेर जनप्रतिनिधि नै कुटिएको घटनामा प्रहरीले आनाकानी गरेको पीडित परिवारको गुनासो छ। एक हप्ता बित्दासमेत प्रहरी आफैँले अनुसन्धानमा तिव्रता दिनुपर्नेमा पीडित परिवार पुग्दासमेत प्रमाण पुगेन भन्नुले प्रहरीको नियतमाथि प्रश्न उठेको पीडित वडाध्यक्ष बताउँछन् । 


त्यस्तै आफूमाथि आक्रमण गर्नेहरु खुल्लमखुल्ला घुमिरहँदा आफूलाई वडाका काम गर्न र सामान्य जीवन बिताउन समेत समस्या भइरहेको उनी बताउँछन् ।

थप सिधाकुरा विशेष
सीप मेला, जहाँ देखिन्छ बालेनको भिजन (भिडियो रिपोर्ट)

सीप मेला, जहाँ देखिन्छ बालेनको भिजन (भिडियो रिपोर्ट)

‘रोजगारी र आय वृद्धिः काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाले ‘सीप मेला २०८२’ आयोजना गरेको छ। महानगरले सो आयोजनामार्फत २०८२ जनालाई रोजगारीमूलक तालिम प्रदान गर्ने लक्ष्य...
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
पतञ्जलीमा माधव नेपालको भ्रष्टाचार !  के हो संलग्नता ? FULL CASE EXPLAINED

पतञ्जलीमा माधव नेपालको भ्रष्टाचार ! के हो संलग्नता ? FULL CASE EXPLAINED

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल सहित ९३ जना...
कांग्रेस एमालेबाट एक्ल्याइएका बालेन !

कांग्रेस एमालेबाट एक्ल्याइएका बालेन !

केन्द्रको राजनीति महानगरमा पोखिँदा,  देशको राजधानीको सबैभन्दा ठुलो महानगरको कार्यालयमा सन्नाटा छाउँदै गएको छ, युवा नेतृत्वको गति निष्क्रिय बन्दै गएको छ ।