नेभिगेशन

सिधाकुरा विशेष

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

काठमाडाैँ । 'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे।

तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई कुनै समय यो वचन मन्त्र झैं हुन्थ्यो। भाषणहरूमा उद्धृत गरिरहन्थे।

समय बदलियो। 

मदन भण्डारी त्रिशूलीको दासढुंगामा अस्ताए। उनी मात्र होइन पार्टीका कुशल संगठनशिल्पी जीवराज आश्रित पनि दासढुंगामै बिलाए।

५० को दशकमा आइलागेको विपत्ति एमालेले शक्तिमा बदल्यो। उसो त शोकलाई शक्तिमा बदलेर सङ्गठन निर्माण गर्ने एमालेले शंखघोष पनि गरेको थियो।

मदन भण्डारी एमालेको त्यो तागत थिए, जसले एमालेलाई विशालकाय बनायो। २०४७ सालसम्म तत्कालीन मालेलाई ‘आला काँचाहरूको पार्टी’ भनिन्थ्यो। उमेरले ३० ननाघेका युवाहरूले कम्युनिस्ट आन्दोलनलाई गति दिँदै आएका थिए। माले आन्दोलन उनकै बाहुमा थियो।

२०४६ सालको परिवर्तनपछि पार्टी खुला भइसकेको थियो। गाउँ गाउँमा सङ्गठन र जनजनमा पार्टी पुर्याउनुथियो।

त्यसैले मदन भण्डारीले तत्कालीन नेकपा (मार्क्सवादी) पार्टीका मनमोहन अधिकारी र साहना प्रधानहरूसँग एकताको हात बढाउँदै पार्टी एकता गरे।

एकताको एक वर्षमै भएको आम निर्वाचनमा ६९ सिटसहित एमाले प्रमुख प्रतिपक्षी दल बन्यो। कांग्रेसलाई टक्कर दिने भयो।

तर मदनको राजनीतिक यात्रा लामो रहेन। २०५० साल जेठ ३ गते उनको निधन भयो।

त्यतिञ्जेलसम्म केपी शर्मा ओली र माधवकुमार नेपालको राजनीतिमा कुनै कद बनिसकेको थिएन। पद बन्ने त परको कुरा भइहाल्यो।

तर यहाँनेर के सम्झनुपर्छ भने माधवकुमार नेपालको राजनीतिमा नाम भने २०३२ सालदेखि नै थियो। त्यतिबेला अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्रीय कमिटी गठन भएको थियो। त्यतिबेला नै उनी दोस्रो वरीयताको नेता थिए। त्यतिबेला ८ सदस्यीय कमिटीमा नेपालको स्थान दोस्रो थियो। 

सिपी मैनाली कमिटीमा सचिव थिए।

त्यसपछि विभिन्न समयमा कोअर्डिनेशन कमिटी पुनर्गठन भयो। माधवकुमार नेपाल दोस्रो वरीयतामै रहे। २०३५ पुसमा सालमा मदन भण्डारी मिसिएर नेकपा (माले)को गठन भयो।  त्यसपछि पनि माधव नेपाल दोस्रो वरीयतामा थिए।

रोचक कुरा त, २०४६ सालमा तत्कालीन नेकपा (माले)ले.चौथो सम्मेलन ग¥यो। त्यो महाधिवेशनपछि पनि माधव नेपाल दोस्रो वरीयतामै रहे। जबकि महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो।

यसकारण भन्न सकिन्छ।

सिपी मैनाली, झलनाथ खनाल र मदन भण्डारीको नेतृत्वकालमा उनी दोस्रो वरीयताका नेता थिए।

२०५० को दुर्घटनापछि एमाले सङ्कटापन्न अवस्थामा पुग्यो। एकातिर देशव्यापी बन्दै गरेको सङ्गठन, अर्कोतिर महासचिव र सङ्गठन विभाग प्रमुखकै निधन।

यही शोकमग्न घडीमा माधवकुमार नेपालले पार्टी नेतृत्वको अवसर पाएका हुन् ।

अब प्रश्न उठ्छ यतिबेलासम्म केपी शर्मा ओलीको राजनीतिक कद चाहिँ के थियो?

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालमा विभाजन हुनुअघि नै पार्टी कामलाई सहज र प्रभावकारी बनाउन नेपाललाई सात कार्यक्षेत्रमा विभाजन गरिएको थियो। पूर्वकोशी, पश्चिम कोशी, उत्तर गण्डक, दक्षिण गण्डक, पश्चिम र कर्णाली प्रान्तीय कमिटी नाममा कम्युनिस्ट कार्यकर्ता संगठित थिए। पूर्व कोशी कमिटीमा भोजपुर, इलाम, धनकुटा, मोरङ, तथा झापा जिल्ला कमिटीहरू आबद्ध थिए ।

पूर्वकोशीअन्तर्गतको झापा जिल्ला कमिटीले २०२८ सालमा हतियार उठायो। झापामा वर्गशत्रु खतम अभियान चलाउँदै सशस्त्र संघर्षको शंखघोष ग¥यो। 

झापामा धर्मप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, ईश्वरी चुडाल,  कर्णबहादुर गौतम, धनबहादुर बस्नेत लगायत आठ जनाको हत्या भयो।

यी हत्याताक केपी ओली विद्रोहको हुंकार गर्ने पूर्वकोशी प्रान्तीय कमिटीअन्तर्गत झापाका सचिव थिए। त्यतिबेला सिपी मैनाली, राधाकृष्ण मैनाली क्रान्तिका हर्ताकर्ता थिए। केपी ओलीका गुरू रामनाथ दाहालले संघर्षको पृष्ठभूमि तयार पारिरहेका थिए।

त्यस विद्रोहमा सरकारीतर्फबाट वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, नारायण श्रेष्ठ मारिए। जेल सार्ने निहुँमा उनीहरूलाई इलामको सुखानीमा लगेर हत्या गरिएपछि विद्रोह तितरवितर भयो।

यति मात्र होइन, झापामा व्यक्तिहत्याको शृंखलाको नेतृत्व गरेको भन्दै २०२९ सालमा केपी ओली पक्राउ परे। १४ वर्ष जेल र दुई वर्ष गोलघरभित्र राखिएकाले उनको राजनीति कारागारभित्रै खुम्चियो।

२०४६ सालको परिवर्तनपछि मात्रै उनी जेलबाट रिहा भएर खुला राजनीतिमा होमिन पाए। त्यसकारण यसबीचमा उनको राजनीति कद बन्न नसकेको साँचो हो।

इतिहासमा यस्तो कालखण्ड पनि थियो, मदनको अवसानपछि माधव नेपाल र केपी ओली एउटै जहाजमा चढ्दैनथे। पार्टी देशव्यापी बन्दै थियो। कथमकदाचित जहाज दुर्घटनामा परिहाले दुवै नेता दुर्घटित हुन नपरोस् भने उनीहरूसँगै एउटै कार्यक्रममा जाँदैनथे। लामो यात्रामा सँगै निस्कँदैनथे।

एउटाको रिक्ततामा अर्कोले पार्टी चलाउने अवस्था रहोस् भनेर उनीहरूले मनैदेखि चाहन्थे।

दिवंगत मदन र उनैले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रतापमा एमाले २०५१ सालमा अल्पतको सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्यो। २०४७ मा मार्क्वादीसँग एकता गरेपछि मनमोहन अधिकारी पार्टी अध्यक्षम थिए। तथापि त्यो अध्यक्ष कार्यकारी थिएन। कार्यकारी अधिकार महासचिवमै निहीत थियो।

२०५१ सालको अल्पमतको सरकारमा माधव ओली दुवै सहभागी भएका थिए। माधव परराष्ट्र मन्त्री बने। ओलीले गृह रोजे।

९ महिनाको भए पनि एमाले सरकारको सफल नै कार्यकाल थियो त्यो।

२०५४ सालमा एमाले पार्टीको यात्रा दुर्घटित भयो। महाकाली सन्धि अनुमोदनको विषयमा पार्टीभित्र मत विभाजित भयो। महाकाली सन्धि पारित त भयो तर त्यही निहुँमा एमाले फुट्यो।

वामदेव गौतम, सिपी मैनाली, सहाना प्रधानहरूले माले गठन गरे। अध्यक्ष सहाना प्रधान थिइन्। महासचिव वामदेव गौतम भए।

महाकाली सन्धीका पक्षमा एकमत देखिएका माधव–ओलीको सम्बन्ध २०५४ सम्म पनि ठीकठाकै देखिन्छ। 

अझ २०५३ सालमा वामदेव र सिपी मैनाली मिलेर माधवकुमार नेपाललाई महासचिवबाट हटाउन पार्टीमा बहुमत जुटाइसकेका थिए। ३५ जनाको केन्द्रीय कमिटीमा २२ जना वामदेव र सिपीको पक्षमा उभिने परिस्थिति बनिसकेको थियो। त्यतिबेला केपी ओली माधव नेपालको रक्षाकवच बनेर उनको पद जोगाइदिएको चर्चा एमालेवृत्तमा अहिले पनि हुने गरेको छ।

२०५६ को आमनिर्वाचनताका काठमाडौं–१ बाट उम्मेदवार रहेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको मृत्यु भयो। त्यसपछि एमालेले अध्यक्ष पद राखेन। महासचिव माधव नेपाल सर्वेसर्वाजस्ता भए।

तै पनि ओलीसँगको सम्बन्धमा खासै दरार देखिँदैन।

२०५९ को सातौं महाधिवेशनमा भने माधव–ओली आमुन्नेसामुन्ने मात्र होइन पानी बाराबारको तहमा पुगे। जनकपुरमा भएको त्यो अधिवेशनको पूर्वसन्ध्यामा नेकपा (माले) एमालेमा विलय भइसकेको थियो। 

आश्चर्यको कुरा ओलीसँगै ठूलो विमति राखेर बाहिरिएका वामदेव ओलीकै कित्ताममा मिसिन पुगेका थिए। ओली–वामदेव मिल्दा पनि माधव नेपाललाई चुनौती दिन सकेनन्।

केन्द्रीय कमिटीमा बहुमत माधव पक्षका निर्वाचित भए।

महाधिवेशन सकिएपछि जनकपुरमा ओली पक्षले होटलधरीमा बास पाएनन्। रातारात काठमाडौं फर्कनुपरेको चर्चा एमालेवृत्तमा अझै हुन्छ।

त्यसपछि ओलीको राजनीति झनै टाक्सियो। उनको भूमिका किनारमा बसेर पार्टी नेतृत्वको आलोचना गर्ने भइरह्यो। यसबीचमा नेपालको राजनीतिमा ठुल्ठूला परिघटना भए। २०५९ असोज १८ गते पहिलोपटक राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिए। 

तत्कालीन सात राजनीतिक दलहरू त्यसको प्रतिवादमा जुटे।

२०६१ जेठमा राजा ज्ञानेन्द्रले आफ्नो कदम सच्याएको भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा बहाली गरे। त्यही सरकारमा हो एमाले आधा प्रतिगमन सच्चियो भन्दै सहभागी भएको।

उत सशस्त्र संघर्ष गरिरहेको तत्कालीन नेकपा (माओवादी) ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति लिँदै गाउँबाट सहर घेरिरहेको थियो। एमालेले राजनीतिमा सही निर्णय गर्न नसकेको र ढुलमुले नीति लिएको आरोप लागिरहेको थियो।

तर केन्द्रीय कमिटीमा उनैको बहुमत भएकाले कसैले हल्लाउन सक्ने स्थिति थिए। उनले ओली र उनका समर्थकलाई माथि आउन अवरोध गरिरहे। फलतः पछाडि र पार्टी निर्णयमा दर्शकदीर्घामा रहेका ओली २०६१ माघ १९ को परिघटना र त्यसपछिका आन्दोलन, माओवादीसँगको बाह्रबुँदे सहमतिमा पनि दृश्यमा छैनन्।

त्यही बाह्रबुँदेको जगमा दोस्रो जनआन्दोलन भयो। १९ दिने जनआन्दोलनले राजतन्त्र फाल्यो। तर ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भनेर आन्दोलनलाई गोकर्ण फरेस्ट रिसोर्टमा बसेर गिज्याइरहेको भन्दै ओलीलाई आजपर्यन्त टिप्पणी गरिन्छ। लाञ्छना लगाइन्छ।

कुन सन्दर्भमा उनले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भने त्यो उनै जानून् तर जनआन्दोलनमा उनको क्रियाशीलता नदेखिएको भने साँचो हो।

२०६४ को संविधान सभा निर्वाचनपछि माधव नेपालको राजनीतिक यात्रा ओरालो लाग्यो।  १५ वर्ष अकन्टक पार्टी सत्ता चलाएका माधवकुमार नेपालले २०६४ चैत २८ गते भएको पहिलो संविधान सभा निर्वाचनमा रौतहट र काठमाडौं दुवैतिरबाट चुनाव हारे।
त्यसपछि उनले पार्टी महासचिव पदबाट राजीनामा दिए।

लगत्तै नेतृत्व गर्ने ठाउँमा ओली पुग्थे। वरीयताले कुर्सीको आसनमा ओलीलाई पु¥याउँथ्यो पनि। 

ओलीले पनि संविधान सभा चुनाव हारेका थिए। उनी रोकिनप¥यो।

इलामबाट चुनाव जितेका झलनाथ खनाल भाग्यशाली ठहरिए। २०३९ सालदेखि २०४६ सालसम्म पार्टी महासचिव भइसकेका झलनाथलाई इतिहासले पुन महासचिव बनाउने ठाउँमा पु¥यायो।

२०६५ फागुनमा एमालेले बुटवलमा आठौं महाधिवेशन आयोजना ग¥यो। त्यतिबेला एमाले अध्यक्षात्मक प्रणालीमा गएको थियो। बहुपदीय ढाँचा पनि स्वीकारेको थियो। 

झलनाथलाई ओलीले नै चुनौती थिए। तर ओली त्यतिबेला पनि पछि परे।

ओलीलाई पराजित गर्दै खनाल अध्यक्ष बने।

त्यसबेला माधव नेपालको दरबिलो साथ पाएको भए ओली अध्यक्ष पनि बन्थे पनि होला। माधव नेपाल खुलेर लागेनन्। उनी तटस्थजस्तो देखिए।

२०६५ पछिको राजनीति परिदृश्यमा भने माधव–ओलीसँगै देखिन्छन्।

२०६५ भदौमा तत्कालीन माओवादी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। तर तत्कालीन सेना प्रमुख रूक्माङ्गत कटवाललाई हटाउन खोज्दा प्रचण्ड नै सरकारबाट बहिगर्मित हुनुप¥यो। उनले ९ महिना पनि सरकार चलाउन पाएनन्।

रोचक संयोग नै भनौं, प्रचण्ड आफैले संविधान सभामा मनोनीत गरेका माधव नेपाल मुलुकको प्रधानमन्त्री बन्ने अवस्था आयो। त्यसमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पनि अहम् भूमिका रह्यो।

माधव नेपाल प्रधानमन्त्री बनेपछि तत्कालीन एमाओवादी सरकारविरूद्ध सडकमा गयो। काठमाडौं घेर्ने भन्दै गाउँगाउँबाट मानिस उता¥यो। त्यतिबेला ओली रक्षाकवच बने तर माधव–ओलीसम्बन्ध सधैं सुमधुर हुन सकेन।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि उनीहरू आमुन्नेसामुन्ने हुने अवस्था बन्यो।

२०७० मंसिर ४ गतेको संविधान सभा निर्वाचनपछि एमालेका संसदीय दलको नेतामा चुनाव भयो। झलनाथ र केपी ओली चुनाव लड्ने भए।

वामदेव गौतम ओली कित्तामा उभिए। माधवकुमार नेपाल प्रस्तावक बनेर झलनाथ प्रतिस्पर्धी भए।

माघ २१ गते भएको दलको चुनावमा झलनाथलाई पराजित गर्दै ओली संसदीय दलको नेता चुनिए। ओलीले ९८ मत ल्याए। खनालले ७५ मत मात्रै पाए। 

त्यसपछि टाढा पुथेका माधव–ओली २०७१ साउनमा भएको ९ औं महाधिवेशनमा आमुन्नेसामुन्ने मात्र भएनन्, त्यसपछि उनीहरूको कटुताले कुनै मिलनविन्दु भेटेन।

९ औं महाधिवेशनमा माधव नेपाल ओलीसँग ५३ मतले पराजित भए।

८ वर्षपछि  २०७८ भदौको एमाले विभाजनको रेखा त्यतिबेलै कोरिएको थियो।

ओली र माधव नेपाल समूह तलदेखि माथिसम्म समूह बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए त्यही चिरा फराकिलो बन्दै गएपछि अन्ततः पार्टी नै टुक्रिने अवस्था बन्यो।

त्यसो त, २०७५ जेठ ३ गते एमाले–माओवादी एकता भएर नेकपा बनेपछि उनीहरूबीचको सबन्धमा सुलह भएझैं पनि देखिएको थियो।

तर नेकपाभित्र फराकिलो बन्दै जाँदा अध्यक्ष प्रचण्डले माधव नेपालको राम्रै साथ पाए। ओलीलाई कमजोर बनाउन नेपालले पनि प्रचण्डलाई पनि राम्रै साथ थिए। २०७८ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनीविरूद्ध प्रचण्ड–माधव मोर्चा नै बनाएर सडकमा गए। ओलीको कदम सच्याउन र प्रधानमन्त्रीबाट ओलीलाई अपदस्थ गर्न सडक संघर्षमात्रै होइन अदालत गुहारे। कांग्रेससँग साथ खोजे।

आफ्नै पार्टीविरूद्ध फ्लोर क्रस गर्दै विपक्षीको कित्तामा मुछिन पुगेपछि उनीहरूबीच मिलन विन्दु भेटिन दुरूह थियो। फलतः नेकपामात्रै छिन्नभिन्न भएन, एमालेसमेत टुक्रियो।

२०७८ भदौमा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन भएयता माधव–ओलीबीच पानी बाराबार छ। एकाधपटकबाहेक एउटै मञ्चमा भेटिएका छैनन्।

गत बिहीबार माधवकुमार नेपाललको राजनीति जीवनमा ठूलै नौवत आइलाग्यो। काभ्रेपलाञ्चोकको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध १८ करोड ५५ लाख मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

राजनीतिक जीवनको उत्तराद्र्धमा ७३ वर्षीय नेपालको निधारमा कलंकको टीका लागेको छ। उनको ‘सादगी’ भनिएको छवि अब विशेष अदालतको कठघरामा छ।

संवैधानिक अंगलाई हतियार बनाएर प्रधानमन्त्री केपी ओलीले नै आफ्नो राजनीतिक जीवन सिध्याउन लागेको माधवकुमार नेपालले बताएका छन्।

विशेष अदालतले यसको छिनोफानो त गर्ला नै तर ओली र माधव फेरि मिल्नै नसक्ने दुरीमा भने पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’
हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए, न आफूमाथि छानबिन गर्न आँट देखाए...
सीप मेला, जहाँ देखिन्छ बालेनको भिजन (भिडियो रिपोर्ट)

सीप मेला, जहाँ देखिन्छ बालेनको भिजन (भिडियो रिपोर्ट)

‘रोजगारी र आय वृद्धिः काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाले ‘सीप मेला २०८२’ आयोजना गरेको छ। महानगरले सो आयोजनामार्फत २०८२ जनालाई रोजगारीमूलक तालिम प्रदान गर्ने लक्ष्य...