नेभिगेशन

समाज

सिधाकुरा सम्पादकीय

मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

काठमाडाैँ । आम नेपाली जनताले आफ्नो र आफ्ना सन्ततिको भविष्यबारे निर्णय गर्न अब केही घण्टामात्र बाँकी छ । करिव डेढ महिनासम्म राजनीतिक दल र उम्मेदवारहरुको कुरा सुनेका अधिकांश मतदाताले कसलाई मतदान गर्ने निर्णय गरिसकेका छन् । 

केही मतदाता अझै पनि कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने  निर्णयमा पुगिसकेका छैनन् । यसरी निर्णयमा पुगिनसकेका मतदातालाई विवेकपूर्ण निर्णय लिनकै लागि मतदानअघि ४८ घण्टाको मौन अवधि अर्थात शून्य समयको व्यवस्था गरिएको हो । यो अवधिमा मतदाताले स्वनिर्णय गर्ने हो र त्यसलाई मतदानको दिन मतपत्रमा व्यक्त गर्ने हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसमा कसैले दख्खल पुर्याउनु हुँदैन, दख्खल पुर्याउन पाइँदैन । तर, विगतको अनुभव र अभ्यासले भन्छ– सबैभन्दा बढी चलखेल यही अवधिमा हुन्छ, मतदातालाई प्रभावित पार्ने काम यही समयमा हुन्छ ।

लोकतन्त्रमा हरेक निर्वाचनको विशेष महत्व हुन्छ । यो दल र नेताहरुको जनमत परीक्षणको सबैभन्दा उत्तम लोकतान्त्रिक विधि हो । दलहरुले आफ्नो हैसियत जाँच्ने र जनताले आफ्नो चाहना व्यक्त गर्ने उत्तम विधि पनि यही हो । जनताले निर्धक्क आफ्नो मत व्यक्त गर्ने र दलहरुले त्यसलाई हार्दिकतापूर्वक स्वीकार गर्ने परिस्थिति बन्नुपर्छ, बनाइनुपर्छ ।

विक्रम सम्बत २०१५ सालयता नेपाली जनताले पटक पटक मतदान गरेका छन् । देश निर्माण र शासन सत्ताको साँचो पालैपालो विभिन्न दलहरुलाई सुम्पेका छन् । हरेक चुनाव र त्यसका नतिजाका आफ्नै विशेषता छन् । लोकतान्त्रिक इतिहासप्रति सधैं गर्व गर्नुपर्छ । गर्व गर्नेमात्रै होइन, ती निर्वाचनपछिका उपलब्धिको पनि समीक्षा गर्नुपर्छ । जेनजी आन्दोलन हुँदैनथ्यो भने अहिले मुलुकमा चुनाव हुँदैनथ्यो ।

२०८४ मंसिरमा नियमित चुनाव हुन्थ्यो । अहिले हुन लागेको नियमित चुनाव होइन, मध्यावधि चुनाव हो । त्यसैले यो चुनावमा मतदान गर्नुअघि हरेक मतदाताले एक पटक सोच्नैपर्ने हुन्छ– अहिले केका लागि मतदान गर्ने, किन मतदान गर्ने, कसलाई मतदान गर्ने रु  हामी यो वा ऊ दललाई, फलानो उम्मेदवारलाई मतदान गर्नुस् भनेर भन्दैनौं । 

निर्वाचन आचारसंहिताले पनि यसलाई मतदान गर्नुस् भन्न दिँदैन । त्यसमाथि मौन अवधिमा त कुन दलका एजेण्डा के छन्, कुन उम्मेदवारले के भनेर भोट मागिरहेका छन् भनेर पनि भन्न दिँदैन । त्यसैले हामी पनि भन्दैनौं ।
तर, एउटा कुरा भने भन्नैपर्ने छ । 

  • फागुन २१ गते मतदान केन्द्रमा पुग्नुअघि नै आफ्नो निर्णय आफैं गर्नुस् । कसैको दबाब वा प्रलोभनमा नपर्नुस् । 
  • अकस्मात चुनाव कसरी आयो, यो चुनावले खोजेको के हो भनेर मनमनै विचार गर्नुस्, विवेक प्रयोग गर्नुस् । 
  • पछिल्ला ३५ वर्षमा ३० जना प्रधानमन्त्री बने । गठबन्धन फेरबदल त कैयौं पटक भए । किन कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेन, राजनीतिक स्थिरता किन कायम हुन सकेन, मनमनै विश्लेषण गरौं ।
  • कुनै पनि सरकारी कार्यालयमा जाँदा किन सहजै सेवा पाइँदैन, सजिलै हुनुपर्ने काम घूस नखुवाई किन बन्दैन, यसलाई पनि सम्झौं ।
  • आफ्नो जीवन चलाउन र परिवार पाल्नकै किन नेपाली युवाहरु विदेशिनु परेको छ, चुल्हो बाल्नकै लागि हाम्रा छोरा छोरी किन विदेशिनु परिरहेको छ, एकपटक आफ्नै घरभित्र हेरौं । 
  • चुनावमा नेताहरुले गर्ने भाषण र सरकारमा पुगेपछि गर्ने व्यवहारका बीचमा किन तालमेल छैन, विचार गरौं । 
  • नेताहरुको बोलीमा सदाचार, व्यवहारमा भ्रष्टाचार । किन यस्तो भयो, यसको कारण पनि मनमनै खोजौं । 
  • छोराछोरी पढाउँदा र रोग लागेर उपचार गर्दा हामीले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य किन भएन, यसको कारण पनि खोजौं ।
  • मुलुकमा थिति बसाल्नकै लागि मुलुकमा किन पटक पटक आन्दोलन गर्नुपर्यो, किन हरेक पुस्ताले रगत बगाउनु पर्यो, यो पनि मनन् गरौं । 

हो, निर्वाचनले नतिजा दिन्छ । मुख्य कुरा नतिजा कस्तो दिन्छ भन्ने हो । प्रायः निर्वाचनमा जनताले परिवर्तनको पक्षमा मतदान गरेका छन् । अहम् प्रश्न यो हो कि चुनावपछि जनताको चाहना संस्थागत भयो कि भएन ? सायद विगतका आन्दोलन र जनताको चाहना संस्थागत गरिएको भए न पटक पटक आन्दोलन हुन्थ्यो, न देशको हविगत नै यस्तो हुन्थ्यो । 

यो चुनावले परिवर्तनलाई संस्थागत गर्नुपर्छ । नवयुवाहरुको चाहना सम्बोधन हुनुपर्छ । हरेक नागरिकको जीवन सुरक्षित हुनुपर्छ । स्वतन्त्रताको रक्षा गरिनुपर्छ । सुशासन, पारदर्शिता, विकास र समुन्नतिको चाहना सम्बोधन गर्नुपर्छ । निर्वाचनमा मतदाताले निर्वाध रुपमा मतदान गर्न पाउनुपर्छ, सरकार र राजनीतिक दलहरुले यसको ग्यारेन्टी गर्नुपर्छ । 

अन्तिममा, हाम्रो आग्रह छ– उत्साहजनक रुपमा मतदानमा सहभागी बनौं, आफ्नो, आफ्ना सन्तति र देशको सुन्दर भविष्य निर्माण गरौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
तेहरान युद्धको नेपाल तरंग

तेहरान युद्धको नेपाल तरंग

शनिबारदेखि पश्चिम एसिया अर्थात मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रुपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्, इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा...