नेभिगेशन
समाज

रवि–बालेनको बाटो, सिंहदरबारबाटै शासन

काठमाडाैँ । अब ठ्याक्कै एक सातामा देशले नयाँ सरकार पाउँदैछ । चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने छन् र देशको बागडोर सम्हाल्ने छन् । त्यसपछि सुरु हुने छ– जनचाहना सम्बोधनको काम । र, यसको थालनी हुने छ– सिंहदरबारबाटै । 

बालेन नेतृत्वको रास्वपा सरकारलाई काम गर्न कति सजिलो ? 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०१६ सालपछि देशले पहिलो पटक बलियो सरकार पाउँदैछ । त्यतिबेला बीपी कोइरालाले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका थिए । सरकार शक्तिशाली थियो, सरकार जत्तिकै शक्तिशाली अर्को शक्ति पनि थियो– दरबार । सरकार र दरबारबीच द्वन्द्व चर्कियो । राजा महेन्द्रले दुई तिहाइ बहुमतको बीपी सरकारलाई डेढ वर्षमै अपदस्थ गरिदिए, शासन सत्ता आफैंले लिए । 

Everest cinsult

अहिले रास्वपाले झण्डै दुई तिहाइ बहुमतको सरकार बनाउँदै छ । सरकार बनाउने र गिराउने शक्ति संसदलाइ छ तर संसदमा रास्वपा शक्तिशाली छ । जनमत रास्वपाले पाइसक्यो ।

त्यही जनमत संसदमा छ र त्यही संसदले सरकार बनाउँदै छ । संसद बाहेक अर्को शक्तिशाली निकाय छैन । पहिले दरबार थियो, अहिले दरबार छैन। सत्ताका लागि छिनाझपटी गर्ने पुराना दलहरु खुम्चिएका छन् । अरु सबै दल एकजुट हुँदा पनि अर्को सरकार बन्ने सम्भावना छैन । त्यसैले रास्वपा सहज अवस्थामा छ, सत्ता सन्चालनका लागि रास्वपालाई सजिलो छ, बालेनलाई सजिलो छ । रास्वपाको नेतृत्वमा छन्, रवि लामिछाने । अनि रवि लामिछानेले नेतृत्व गरेको रास्वपाले वरिष्ठ नेता बालेनको नेतृत्वमा सरकार बनाउँदैछ ।

अब रवि र बालेनलाई सत्ता सञ्चालन गर्न कसरी सजिलो छ त ?

रास्वपा अहिले नयाँ सरकार गठनको गृहकार्यमा छ । फागुन १२ गते नवनिर्वाचित सांसदहरुले शपथ लिने छन्, फागुन १३ मा नयाँ सरकार बन्ने छ । प्रधानमन्त्रीमा बालेन शाहले शपथ लिने छन्, अनि मन्त्रीहरुले पनि शपथ लिने छन् । 

रास्वपा अहिले कस(कसलाई मन्त्री बनाउने भनेर गम्भीर छलफलमा छ । रास्वपामा एक से एक नेताहरु छन्, जो मन्त्री बन्न योग्य छन् । कतिपय नेता यसअघि नै मन्त्री भइसकेका छन् । कतिपय पहिलो पटक मन्त्री बन्न लाग्दैछन् । हरेक क्षेत्रमा योग्य र दक्ष नेताहरु छन् ।

रास्वपाबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, परराष्ट्र, जनस्वास्थ्य, कानुन लगायत थुप्रै क्षेत्रका विज्ञहरु सांसद निर्वाचित भएका छन् । पार्टीका वरिष्ठ नेताहरुले तिनैमध्येबाट परिणाम दिन सक्ने व्यक्तिहरुलाई मन्त्री बनाउने गरी गृहकार्य गरिरहेका छन् । केही नाममा नेताहरुका बीचमा सहमति भइसकेको र केही नाममा छलफल चलिरहेको नेताहरुले बताएका छन् । सबै मन्त्रीको शपथ एकै दिन गराउने तयारी रास्वपाको छ ।

रास्वपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले विहीबार साँझ सामाजिक सञ्जालमा पार्टीका चार नेताको तस्वीर साझा गर्दै लेखे– राजकाज, आज साँझको छलफल । छलफलमा सहभागी थिए– सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह अनि उपसभापतिहरु स्वर्णिम वाग्ले र डीपी अर्याल । यी चारै जना एउटै पार्टी रास्वपाका शीर्ष नेता । 

यसअघि पनि थुप्रै पटक सरकार बने । धेरै टाढा जानै पर्दैन । २०७९ सालको चुनावपछि कतिपटक सरकार फेरियो, कतिपटक गठबन्धन फेरियो रु कल्पना गरौं त । 

त्यतिबेला सरकार बनाउने छलफलमा को को हुन्थे ? तपाईं हामीले देखेकै हो । त्यहाँ हुन्थे– कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड अनि पालैपालो अरु दलका नेताहरु । त्यस्ता बैठक पालैपालो नेताहरुको घरमा बस्थे । भागबण्डा नमिल्दा बैठक लम्बिँदै जान्थ्यो, नेताहरु फेरिँदै जान्थे । बल्ल बल्ल भागबण्डा मिल्थ्यो, सरकार बन्थ्यो । कुन नेताको मन कुन बेला बिग्रिन्थ्यो, थाहै हुन्नथ्यो । कुन नेतालाई कतिबेला चित्त बुझ्दैनथ्यो, पत्तै हुँदैनथ्यो । सरकार ढलिहाल्थ्यो, फेरि त्यस्तै बैठक चल्थे । बैठक कहाँ कहाँ चल्थे ? कहिले देउवा निवास बुढानीलकण्ठमा, कहिले प्रचण्ड निवास खुमलटारमा त कहिले ओली निवास बालकोटमा । 

सिंहदरबार र बालुवाटार यात्राका लागि नेताहरुका बीचमा मरिहत्ते देखिन्थ्यो । कांग्रेस र एमालेले संख्याको दम्भ देखाइरहन्थे, प्रचण्डले आफ्नो पार्टीको संख्याको जादु देखाउँथे । ३२ सिटको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले कहिले एमालेलाई त कहिले कांग्रेसलाई खेलाई खेलाई सत्तामा बसेर राज गरिरहे । संख्या पुर्याउन उनले रास्वपा र राप्रपाको पनि साथ लिइरहे । 

यो त भयो भयो । अवस्था यहाँसम्म पुग्यो कि– सरकार फेर्न नेताहरुको घरमा मात्रै होइन, व्यापारी र बिचौलियाको घरमा मध्यरातमा समेत नेताहरुको बैठक बस्यो । व्यापारीकै घरमा बैठक बसेर देउवा र ओलीले सत्ता समीकरणमा सहमति गरेको त अझै ताजै छ । 

तर, जनताले न रिले बैठक रुचाए, न व्यापारी र बिचौलियाले गराइदिएको सहमति रुचाए । नेता र बिचौलियाको स्वार्थमा बनेको सरकारले जनताको दुःख देखेन, पीडा बुझेन । सुशासन र विकास त धेरै परको कुरा । आखिर त्यसैको परिणाम थियो– भदौ २३ र २४ को जेनजी आन्दोलन । 

अहिले अवस्था फेरिएको छ । डाक्टर स्वर्णिमले साझा गरेको तस्बिरमा देखिए जस्तै अब निर्णयको अधिकार एउटै पार्टीमा छ । नयाँ सरकार कस्तो बनाउने, कुन नेतालाई कुन मन्त्री बनाउने, सरकारको नीति र कार्यशैली कस्तो हुने, यी सबै निर्णय रास्वपाकै नेताहरुले गर्दैछन् । यसका लागि न अरु दललाई सोध्नुपर्छ, न अरु कुनै शक्तिलाई । रास्वपाले पाएको सबैभन्दा सहज अवस्था यही हो । 

यसअघि गठबन्धन फेरिँदैपिच्छे सरकारका नीति र कार्यक्रम पनि फेरिए । तीन वर्षमा चार पटक त सरकारका न्यूनतम साझा कार्यक्रम नै आए । दलहरुका बीचमा भएका सहमति सार्वजनिक भए, न्यूनतम साझा कार्यक्रम पनि आए । तर, को प्रधानमन्त्री बन्ने र को मन्त्री बन्ने बाहेक अरु कुनै पनि सहमति र निर्णय कार्यान्वयन भएनन् । जो जो सत्तामा पुगे, उनीहरुको हितका लागि मात्रै काम भए ।देश र जनताको हितमा हुने गरी कुनै काम भएन । 

अहिले रास्वपाले एकल सरकार बनाउँदैछ, उसले सरकार बनाउन अरु कसैसँग सहमति र सम्झौता गर्नुपर्दैन । सरकारका प्राथमिकता निर्धारण रास्वपा आफैंले तय गर्न सक्छ । त्यो भन्दा पहिले नै रास्वपाले नागरिकहरुसँग ५ बुँदे करारनामा गरिसकेको छ, १०० बुँदे बाचापत्र सार्वजनिक गरिसकेको छ । करारनामा र बाचापत्र कार्यान्वयनको नीति र योजना बनाउन रास्वपालाई अरु कसैले अवरोध गर्न सक्दैन ।

रास्वपा सरकारले योजना बनाउन सक्छ, कार्यान्वयन गर्न सक्छ । अघिल्लो चुनावमा रास्वपाले सरकारको नेतृत्व गर्नेगरी जनमत पाएन । यो चुनावमा रास्वपाले जनमत पाएको छ । अब उसले निर्वाध रुपमा आफ्नो बाचापत्र कार्यान्वयन गर्न पाउने छ ।

पहिले पार्टीका नेताहरुले आ(आफ्नो घरबाट शासन सत्ता सन्चालन गरे । सरकार एउटै थियो तर, सञ्चालकहरु फरक फरक थिए । कहिले ओलीले बालकोटबाट देश चलाए, कहिले देउवाले बुढानीलकण्ठबाट देश चलाए । अनि कहिले प्रचण्डले खुमलटारबाट । सिंहदरबार र बालुवाटारलाई त खेलमैदान बनाए । 

देशको प्रमुख प्रशासनिक केन्द्र हो– सिंहदरबार । सिंहदरबारमै छ( प्रधानमन्त्री कार्यालय । त्यहीँ छन् मन्त्रालयहरु । सरकारका हरेक निर्णय सिंहदरबारमै हुनुपर्ने हो । तर, सिंहदरबारमा गरिनुपर्ने निर्णयहरु नेताहरु आफ्नै घरमा बसेर गरे । त्यतिमात्रै हो र रु व्यापारी, बिचौलिया र शक्ति केन्द्रहरुको इशारामा आफू नाचे, देशलाई नचाए । 

सीमित नेता, परिवारका सदस्य र नातेदार, व्यापारी र बिचौलियाको पक्षमा नाचिरहँदा जनता रिसाएको उनीहरुले चालै पाएनन् । त्यसैको प्रतिफल थियो जेनजी आन्दोलन । त्यसैको परिणाम थियो– चुनावको नतिजा । 

अब मुलुकको शासन सिंहदरबारबाटै चल्ने छ । रास्वपा सरकारले सिंहदरबारबाटै मुलुक सन्चालन गर्ने छ । सिंहदरबारमै बसेर निर्णय गर्ने छ, त्यहीँबाट कार्यान्वयन गर्नेछ । रास्वपाको नीति यही हो, जनताको चाहना पनि यही हो । 

रास्वपाले सदन र सरकारमा बसेर कसरी काम गर्छ ?

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरुलाई दुई दिनसम्म प्रशिक्षण दियो । सदन र सरकारमा रहेर गर्ने काम अनि त्यसको विधि आफ्ना सांसदहरुलाई सिकायो । 

सांसदहरुको अभिमूखीकरणमा सभापति रवि लामिछानेले स्पष्ट रुपमा भनेका छन्– रास्वपाका सांसदहरुले आफ्नो चाहनाको भारी देशलाई बोकाउने छैनन्, देशको भारी बोक्ने छन् । 

यसको अर्थ जनताको चाहना अनुसार नै रास्वपाले काम गर्छ, जनचाहना पूरा गर्न रास्वपाका सांसद र मन्त्रीहरुले काम गर्नेछन् भन्ने हो । 

सभापति लामिछानेले भनेका छन्– रास्वपाले देशको भविष्य निर्माण गर्ने छ,  विजय उन्मादमा रमाउने होइन, जिम्मेवारी बहन गर्ने छ ।

अब देशको भविष्य निर्माण कसरी गर्ने रु त्यसको योजना सरकारले बनाउने हो, सदनले बनाउने हो । सरकार रास्वपाको बन्दैछ, सदनमा रास्वपा सुविधाजनक बहुमतमा छ । 

रास्वपालाई अब कहीँकतैबाट छेकबार हुने छैन । न अरु दलका नेताको ढोका चाहार्नुपर्ने छ, न कुनै शक्ति केन्द्रको निर्देशन पर्खिनुपर्ने छ । नयाँ सरकार सन्चालनका लागि रवि र बालेनलाई कसैले अवरोध गर्ने छैन । 

हो, रास्वपालाई सत्ता सञ्चालनका लागि जति सजिलो छ, जनताको चाहना पुरा गर्नुपर्ने दायित्व उत्तिकै छ । जनताले सुशासन चाहेका छन्, पारदर्शिता चाहेका छन्, रोजगारी चाहेका छन्, शिक्षा र स्वास्थ्यमा सहजता चाहेका छन्, सरकारले दिने सेवा सुविधा सजिलै पाइयोस् भन्ने चाहेका छन् । 

अवस्था यस्तो छ– सरकारी सेवा लिनै घूस खुवाउनुपर्छ, बिरामी परेमा उपचारका लागि घरखेत बेच्नुपर्छ, छोराछोरी पठाउन ऋण काढ्नुपर्छ, देशमा काम नपाएर विदेश जानुपरिरहेको छ, पासपोर्ट बनाउँदै घूस खुवाउनुपरिरहेको छ, विदेश जाँदा एयरपोर्टमै ठगिनुपर्छ, विदेश पुगेपछि पनि सम्झौताअनुसारको काम नपाउने अवस्था छ । जनताले भोगिरहेका समस्या त कति छन् कति । 

यी सबै समस्या एकै चोटी समाधान भइहाल्छ भन्ने छैन । सबै समस्या सुल्झाउन समय लाग्छ भन्ने कुरा जनतालाई पनि जानकारी छ । यत्ति हो, अब बन्ने बालेन सरकारले पहिलो दिनबाटै जनतामा आशा जगाउन सक्नुपर्छ, देश अब सुध्रिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । जनताले चुनावमा रास्वपालाई अभूतपूर्व मन र मत दिए । जनताको त्यो मन र मतको अपमान गर्ने छुट रास्वपालाई छैन । 

पार्टी स्थापना भएको चार वर्ष नहुँदै रास्वपाले जनताको अपार साथ पायो । जनताले यसरी साथ दिएको सुशासनका लागि हो, विकासका लागि हो अनि नयाँ नेपाल निर्माणका लागि हो । पक्कै पनि यो दायित्वबाट रवि लामिछाने र बालेन शाह पन्छिने छैनन्, रास्वपाका कुनै पनि मन्त्री, सांसद र नेता पन्छिने छैनन् । पन्छिने छैनन् मात्रै होइन, पन्छिन पाउने छैनन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको...
इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका...
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती...
ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नभएका आयोजनाहरु सिरहा र सप्तरी क्षेत्रमा धेरै छन् । जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन्। तीमध्ये सबैभन्दा चर्चित र लामो समयदेखि अलपत्र...