नेभिगेशन

समाज

भीड नियन्त्रण गर्न बारम्बार किन चुक्दैछ प्रहरी ?

काठमाडौँ । मिति २०८३ साउन १० गते । भोलिपल्ट सोमबार थियो । सोमबार उसै पनि महादेवको पूजाआराधना गर्ने, उपवास बस्ने दिन । त्यसमाथि साउनको सोमबार, विशेष महत्त्वको हुनेगर्छ ।

त्यसैले सुनसरी देवानगञ्जका केही युवाहरूले बोलबम मेलाको आयोजना गर्ने निधो गरे । कप्तानगञ्ज आसपासका उनीहरूले झण्डै एक हप्तादेखि पैसा उठाए । बोलबम मेलालाई सामूहिक अनुष्ठान बनाउने योजना बनाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयका अनुसार आइतबार साँझ केही युवाहरूले कप्तानगञ्ज आसपासका मन्दिमा धुपबत्तीका साथै सन्ध्याकालिन आरतीसमेत गरेका थिए । चोखोनितो बसेका उनीहरूले मन्दिरमा शिव भजन लगाउने भन्दै डिजेकोसमेत प्रबन्ध गरेका थिए ।

त्यही डिजेसहित उनीहरू कोशीबराज लागे । कोशी बराजबाट उनीहरू डिजेसहित नै देवानगञ्ज–३ स्थित कप्तानगञ्ज लागे ।

त्यतिबेला रातको साढे ९, १० बजेको हुँदो हो ।

राति, सबै सुतेको समयमा, निद्रो बिथोलिने गरेर डिजे बजाएको भन्दै अर्को समुदायले प्रतिवाद गर्न थाल्यो । विवाद बढ्दै गएर झडपको स्थिति सिर्जना भइहाल्यो ।

धर्मकर्म र अनुष्ठानका लागेको समूहका अनुसार अर्को समुदाय योजनाबद्ध हिसाबले घरेलु हतियारसहित आएको थियो ।

तर यसको पुुष्टि भइसकेको छैन ।

दुई समूदायबीच विवाद बढेको सूचना पाएपछि कप्तानगञ्जमै रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राकेश राईसहितको टोली घटनास्थल खटियो ।

उनी पुग्दा अवस्था तनावपूर्ण भइसकेको थियो । उत्तेजित भीडले ढुंगामुढा गर्दा प्रहरी निरीक्षक राईसहित ८ प्रहरी घाइते भए ।

त्यसपछि स्थिति नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरीको टोलीले घातक बल प्रयोग गर्दा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो ।

उनी देवानगञ्ज–४ का वासिन्दा थिए ।

प्रहरीको गोली प्रहारबाट ९ जना गम्भीर घाइते छन् । त्यसमध्ये पेटमा गोली लागेका जयप्रकाश मेहता र बायाँ तिघ्रामा गोली लागेको रवीन्द्र मेहताको अवस्था गम्भीर छ ।

अरू सात जनाको अवस्था मध्यम छ । अधिकांशलाई कम्मरभन्दा माथि गोली लागेको छ । घाइतेहरुमध्ये ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार डिजे र धार्मिक ध्वजा गाडेको निहुँबाट सुरू भएको विवादले गाउँ नै रक्तमुच्छेल भयो । धार्मिक अनुष्ठानको ध्वनि मृत्युको कोलाहल, चीत्कारमा परिणत भयो ।

आइतबारमध्ये रातिको हिंसात्मक घटनापछि कप्तानगञ्जमात्रै होइन सिंगो सुनसरी जिल्ला नै तनावपूर्ण बन्यो । पूर्वपश्चिम राजमार्ग अवरूद्ध भयो । प्रदर्शनको आगो सल्किएर मोरङ, सप्तरी मात्रै होइन, धनुषा र पर्सासम्म पुग्यो । धार्मिक समुदाय उद्वेलित भए । आगाको यो लप्काले देशका अरू संवेदनशील स्थानलाई पनि प्रभावित र तरंगित तुल्याउने जोखिम बढ्दै थियो ।

स्थानीय प्रशासन र राज्य संयन्त्रको तदारूकता, स्थानीय अगुवाहरूको संयमता, सक्रियता र सद्भावको आह्वानले मंगलबारसम्म आइपुग्दा कप्तानगञ्जको आगो केही मत्थर भएको छ । धार्मिक अगुवाहरूले सामाजिक सद्भावको आह्वान गरेका छन् ।

सप्तकोशी समिपको सुनसरी घटना क्रमशः चिसिँदै गए पनि यसले प्रहरी प्रशासन दंगा नियन्त्रणमा कमजोर बन्दै गएको वास्तविकतालाई पुनः उजागर गरेको छ ।

ठूला प्रदर्शन र दंगापिच्छे प्रहरीको क्षमता, तदारूकताबारे प्रश्न उठ्दै आएको छ । सुनसरीमा पनि प्रहरीलाई यिनै प्रश्नले पछ्याइरहेको छ ।

जुन प्रश्न तीन वटा मधेस आन्दोलन, मलेठ घटना, तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शन, आगजनी र जेनजी आन्दोलनमा पनि उठेको थियो ।

प्रहरीले संयमता नअपनाउँदा तीन वटा मधेस आन्दोलनमा ठूलो संख्यामा मानवीय क्षति भएको मानवअधिकार आयोग लगायत स्वतन्त्र अनुसन्धानबाट देखिएको छ । पटकपटकका मधेस आन्दोलनमा गरी सयभन्दा बढी आन्दोलनकारी एवम् सर्वसाधारण मारिएका थिए ।

कैयन् अहिले पनि अंगभंग छन् । आन्दोलनमा मारिएका र घाइते भएका परिवार कहिल्यै नरित्तिने शोक र पीडाको गहिरो गर्तमा छन् । राज्यले नहेरेर आफ्नै खर्चमा उपचार गराइरहेकाहरू, उपचार गराउँदागराउँदा घरखेत भएकाहरू पनि भेटिन्छन् ।

२०७३ फागनु २३ गते एमालेको मेची–महाकाली अभियानका क्रममा मधेसवादी दल र प्रहरीबीच झडप हुँदा सप्तरीको मलेठमा पाँच जनाको मृत्यु भयो । ती अधिकांश सर्वसाधारण थिए । उनीहरूको आन्दोलनसँग कुनै साइनो–सम्बन्ध थिएन ।

त्यतिबेला पनि अनावश्यक बल प्रयोग गरी निहत्था नागरिकको ज्यान लिएको आरोप प्रहरीले व्यहोर्‍यो ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा प्रहरीले सुरक्षा चुनौतीको आकलन गर्न नसक्दा राजवादीको आन्दोलन ध्वंशात्मक हुन पुगेको विश्लेषण अहिले पनि भइरहेको छ । दुर्गा प्रसाईंलगायत राजावादी समूहको उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको थियो । त्यस दिनको घटनामा प्रहरीले घातक हतियार प्रयोग गर्दा बाटो हिँडिरहेका आम नागरिक पनि गोलीको शिकार हुन पुगेका थिए ।

कतिपय अहिले पनि उपचारकै सिलसिलामा छन् । 

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा त सुरक्षा विश्लेषण पूर्णतः विफल भएको थियो ।

यहाँसम्मकी प्रहरीलाई कति प्रदर्शनकारी भेला हुनसक्छन् ? सामाजिक सञ्जालमा कत्रो वेभ उत्पन्न भएको छ ? त्यो वेभले कति मानिसहरूलाई कुनकुन नाका भएर काठमाडौं ल्याउन सक्छ भन्ने सूचना पनि थिएन ।

जेनजी आन्दोलन सुरू हुनुपर्व सुरक्षाका उच्चअधिकारीहरूको छलफलमा १० हजार पनि जेनजीलगायत विद्यार्थीहरू सहभागी नहुने विश्लेषण भएको थियो । गुप्तचर लगायत सुरक्षा निकायहरूले त्यही रिपोर्टिङ माथिल्लो निकायमा गरेका थिए ।

र, सुरक्षा तयारी पनि त्यसरी नै विन्यास गरिएको थियो ।

ठूला प्रदर्शन, सभा, जुलुस, धर्नामा बानेश्वर क्षेत्रमा दुई तीन घेरामा ब्यारिकेड, प्रहरीको तैनाथी गरिन्थ्यो । त्यस दिन सामान्य ब्यारिकेड राखिएको र प्रदर्शनकारीको केहीबेरको धक्कामुक्कीमै ब्यारिकेड तोडिने अवस्था आएको विश्लेषण त्यतिबेलै भएको थियो ।

ब्यारिकेड तोडिनासाथ प्रदर्शन अनियन्त्रित बनेको मात्रै होइन तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले एक्कासि घातक हतियार प्रयोग गर्दा गोली लागेर १९ जना युवाको ज्यान गएको थियो । ४० जनाभन्दा बढी घाइते भएका थिए ।

त्यसपछि परिस्थिति काबु बाहिर गइहाल्यो । प्रहरीले नियन्त्रणमा लिन सकेन ।

कप्तानगञ्ज घटनामा पनि प्रहरीको सुरक्षा विश्लेषणमा कमजोरी देखिएको छ ।

स्थानीयका अनुसार कप्तानगञ्जमा दुई समुदायबीच हठात झडप भएको होइन । त्यसको पृष्ठभूमि छ । कप्तानगञ्ज धार्मिक हिसाबले संवेदनशील ठाउँ हो । दुई समुदाय सँगै बस्छन् । दुई समुदायको धार्मिक अनुष्ठानका ठाउँहरू पनि सँगसँगै छन् ।

चार दिनअघि पनि पोलमा झण्डा राखेको, ठूलो श्वरमा भजनकीर्तन गरेको विषयमा विवाद भएको थियो ।

त्यतिबेलै दुवै पक्षका अगुवालाई बोलाएर छलफल गर्ने, विवादलाई मत्थर तुल्याउन प्रशासनले तदारूकता नदेखाउँदा आइतबार राति अप्रिय स्थिति सिर्जना भएको स्थानीयहरूको दाबी छ ।

दुई पक्षबीच झडपको स्थिति सिर्जना भइसकेपछि पनि प्रशासनले बेलैमा तदारूकता देखाउन नसकेको उनीहरूको आरोप छ । ठूलो संख्यामा सुरक्षा तैनाथी बढाएर दुवै पक्षलाई सम्झाइबुझाइ गर्ने, अगुवाहरूलाई सद्भाव कायम राख्न आग्रह गर्नुको सट्टा सिधै बल, त्यो पनि घातक हतियार प्रयोगतर्फ अघि बढेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीयले प्रहरी आउनासाथ फायरिङको आवाज सुनिएको, एक्कासि गोली चल्न थालेपछि विजुलीको लाइन काटिएको र गोली चल्न बन्न भएपछि मात्रै बत्ती आएको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले पनि गोली चलाउने परिस्थिति नै नहुँदा पनि घातक बल प्रयोग भएको भन्दै आक्रोश पोखेका छन् ।

सुरक्षाकर्मीले भने आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गरेको छ । जनपद प्रहरीलाई ढुंगामुढा गरी घाइते बनाइसकेपछि सशस्त्र प्रहरी गएको, सशस्त्र प्रहरीतर्फ पनि भीड जाइलागेपछि बाध्य भएर आत्मरक्षाका लागि फायर खोलेको प्रहरीको भनाइ छ ।

यद्यपि यस घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरेको छ । समितिले मंगलबारबाट काम थालिसकेको छ । वास्तविकता बाहिर ल्याउला ।

राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीमा शान्तिसुरक्षाको कमजोर स्थिति देखापरेको बताएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार विज्ञप्ति निकाली पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको निष्कर्ष निकालेको छ । 

‘झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ । उक्त घटनापश्चात् सुनसरीमा देखापरेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ । साथै, शान्तिपूर्ण रुपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई आग्रह गरेको छ ।

विश्वव्यापीरूपमा दंगा नियन्त्रणका चार तरिका हुन्छन् । 

जसमध्ये पहिलो वार्ता र संवाद हो । यस क्रममा भीडसँग प्रत्यक्ष संवाद स्थापित गर्ने, उनीहरूका माग र गुनासा सुन्ने तथा शक्ति प्रयोग नगरी शान्तिपूर्ण रूपमा समस्या समाधान गर्ने पहिलो र उत्तम तरिका हो । यसमा माइकिङ गर्ने र अगुवाहरूसँग छलफल गर्ने लगायत तौरतरिका अपनाइन्छ ।

दोस्रो आउँछ, भीड नियन्त्रण र अलग्याउने तरिका । वार्ता वा छलफल असफल भएमा वा भीड हिंस्रक बन्न थालेमा भीडलाई निश्चित घेराभित्र सीमित गर्ने र विभिन्न दिशामा तितरबितर पार्ने  काम गर्नुपर्ने विज्ञ बताउँछन् । यस चरणमा लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यासको प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ ।

तेस्रो चरणमा न्यूनतम बल प्रयोगको नीति अंगीकार गर्न विज्ञ सुझाव दिन्छन् । स्थिति थप बिग्रिएमा, काबुबाहिर जान लागेका र सार्वजनिक सम्पत्ति वा ज्यानको सुरक्षा खतरामा परेमा रबरको गोली, प्लास्टिकका छर्रा वा तल्लो भाग (घुँडाभन्दा मुनि) लक्षित गरेर सीमित रूपमा घातक नभएका हतियारको प्रयोग गर्नुपर्ने मान्यता छ ।

चौथो चरणमा बल्ल अधिकतम बल प्रयोग र आपत्कालीन कारबाहीको अवस्था आउने विज्ञ बताउँछन् । यसलाई अति चरम अवस्था पनि भनिन्छ । जहाँ भीडले घातक हतियार प्रयोग गर्छ, सुरक्षाकर्मीको ज्यानै खतरामा पार्छ वा ठूलो मानवीय क्षति हुने स्थिति सिर्जना हुन्छ—त्यस्तो अवस्थामा आत्मरक्षा र सुरक्षाका लागि तोकिएको आदेश पालना गर्दै बन्दुकको गोली चलाउनुपर्ने स्थिति आउँछ । यसलाई अन्तिम विकल्पका रूपमा लिइन्छ ।

हाम्रो सुरक्षा निकायको दंगा नियन्त्रणका क्रममा पटक–पटक एउटै किसिमको कमजोरी देखिने गरेको छ ।

पहिलो, सूचना संकलन र विश्लेषणको कमी हुने गरेको छ । भीडको प्रकृति, आकार, नेतृत्व र सम्भावित जोखिमबारे पूर्वअनुमान लगाउन नसक्दा घटनास्थलमा अप्रत्याशित दबाब झेल्नुपर्ने अवस्था आउने गरेको छ । तिनकुने र जेनजी आन्दोलनमा यही भएको हो । सुनसरीमा यही दोहोरिएको छ ।

दोस्रो रणनीतिक संयमताको अभाव देखिएको छ । धेरैजसो अवस्थामा प्रहरीले संयमता अपनाउनुको साटो तुरुन्तै बल प्रयोग गर्न खोज्दा भीड झन् आक्रामक बन्ने गरेको देखिन्छ । कप्तानगञ्ज घटनामा पनि यही भएको हो ।

यस्तै तेस्रोमा अन्तर–निकाय समन्वयको अभाव देखिने गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्रशासनबीचको फिल्ड स्तरको समन्वयमा तालमेल नमिल्दा परिचालन प्रभावकारी हुँदैन । सुनसरी घटनामा यसको पनि आशंका गरिएको छ । 

चौथोमा भीड मनोविज्ञानको बुझ्ने क्षमतामा कमी पनि देखिएको छ । भीडलाई मनोवैज्ञानिक रूपमा नियन्त्रण गर्ने विशेष तालिम र जनशक्तिभन्दा पनि परम्परागत दंगा फौज परिचालनमा मात्र निर्भर रहँदा परिस्थिति काबुबाहिर पुग्ने गरेको विश्लेषकको बुझाइ छ ।

आगामी दिनमा प्रहरीले यसमा सामयिक सुधार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज