नेभिगेशन

सिधाकुरा विशेष

आगो निभाउने कि तेल थप्ने ?

काठमाडाैँ । सुनसरीको देबानगञ्ज आइतबार रातिदेखि अशान्त छ । दुई समूहबीचको झडप नियन्त्रण गर्न भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवक ओमप्रकाश मेहताको ज्यान गयो । सोही क्रममा घाइते भएका अर्का युवक जयप्रकाश मेहताको जीवन पनि उपचारकै क्रममा अस्तायो । अरु घाइतेहरूको उपचार भइरहेको छ । 

देबानगञ्जको स्थिति नियन्त्रणमा लिन सुनसरी प्रशासनले कफ्र्यु त लगायो, प्रदर्शन रोकिएको छैन । घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दैै स्थानीयले प्रदर्शन गरिरहेकै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरी घटनाको आज पाँचौं दिन आइपुग्दा, देबानगन्जबाट सुरु भएको प्रदर्शनको राप अन्यत्र पनि फैलिएको छ । सिराहाको लहान र गोलबजार हुँदै धनुषासम्म आइपुगेको छ । 

बिहानैदेखि सिरहा र जनकपुरधाम अशान्त बने । प्रदर्शनकै क्रममा सिरहाको गोलबजारमा त प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो । एक जनाको मृत्यु भए पनि प्रदर्शनकारी रोकिएनन्, प्रदर्शन गरिरहे, प्रहरीमाथि जाइलागिरहे । 
स्थिति नियन्त्रणबाहिर गएपछि सिरहा प्रशासनले लहान र गोलबजारमा कफ्र्यु लगायो, धनुषा प्रशासनले जनकपुरधाममा कफ्र्यु आदेश घोषणा गर्‍यो । 

सडकमा एकातिर प्रदर्शनकारी छन्, अर्कातिर सुरक्षाकर्मी । सुनसरीमा त पाँच दिनदेखि यस्तै थियो, आजबाट सिरहा र धनुषामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मी आमनेसामने हुन थाले ।

सुनसरीबाट सुरु भएको प्रदर्शन जनकपुरधामसम्म आइपुग्नु पक्कै पनि राम्रो होइन । जहाँ जहाँ प्रदर्शन भइरहेको छ, ती ठाउँका लागि मात्रै नभई यो समग्र देशकै लागि घातक संकेत हो । 
पहिलो कुरा त जनधनको क्षति पुग्ने गरी हुने कुनै प्रदर्शन राम्रो होइन । विरोधमा हुने जुनसुकै प्रदर्शनले द्वेष फैलाउँछ, घृणा बढाउँछ । जब समाजमा द्वेष र घृणा बढ्दै जान्छ, त्यसले कुनै एक व्यक्ति वा समुदायलाई मात्रै होइन, समाजलाई खान्छ । समग्रमा क्षति राज्यले भोग्छ, देशले भोग्छ ।  

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । नेपाली समाजको इतिहास द्वेष र घृणाको होइन, एकता र मिलापको हो । संसारमै नेपाल यस्तो देश हो, जहाँ कुनै पनि जाति, समुदाय वा धर्म विशेषका नाममा विभेद छैन, बेमेल छैन । 
प्रयास नभएका होइनन् । तर, समाजले ती सबै दुष्प्रयासलाई निस्तेज पारिदिएका थुप्रै इतिहास छन्, थुप्रै प्रमाण छन् । 

अहिले फेरि समूह विशेषका नाममा अशान्तिको आगोलाई फैलाउने दुष्प्रयास हुँदैछ । सुनसरीबाट सुरु भएको झिल्को जसरी जनकपुरधामसम्म आइपुगेको छ, त्यसैको संकेत हो, त्यसैको उदाहरण हो । 

हो, यही अवस्थामा चाहिन्छ– राज्यको भूमिका । यही अवस्थामा चाहिन्छ– राजनीतिक दलहरूको भूमिका । यही अवस्थामा चाहिन्छ– जनप्रतिनिधिहरूको भूमिका । यही अवस्थामा चाहिन्छ– समाजका सचेत र प्रबुद्ध भनिने व्यक्तिहरूको भूमिका अनि यही अवस्थामा चाहिन्छ– सामाजिक संघ संस्थाहरूको भूमिका । 

समाजसँग सरकार जोडिन्छ, समाजसँग जनप्रतिनिधि जोडिन्छन्, समाजसँग राजनीतिक दलहरू जोडिन्छन्, समाजसँग प्रबुद्ध व्यक्तिहरू जोडिन्छन् अनि जोडिन्छन्– सामाजिक संघ संस्थाहरू । 

देशका प्रमुख राजनीतिक दलहरू, सुनसरी घटनापछि सामाजिक सद्भावमा असर पर्न नदिन एकताबद्ध भएका छन् । रास्वपा सभापति रवि लामिछानेले बुधबार नै सर्वदलीय बैठक आह्वान गरेर– सामाजिक सद्भाव र एकतामा खलल पुग्न नदिन सम्पूर्ण राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएका छन् । रवि लामिछानेको पहललाई सबै दल र तिनका शीर्ष नेताले साथ दिएका छन् । दलहरूले सामूहिक रुपमा अनि आ आफ्नो तर्फबाट पनि समाजमा कुनै असर पर्न नदिन पहल थालिसकेका छन् । 
दलहरूले पहलकदमी लिए । आफ्ना संयन्त्रलाई परिचालन पनि गरिसके । यो उनीहरूको दायित्व हो, जिम्मेवारी हो । 

दलहरूपछि सबैतिरबाट सरकारको भूमिका र जिम्मेवारी खोजिँदैछ । राजनीतिक दलहरूको तुलनामा सरकारको दायित्व, भूमिका र जिम्मेवारी अझ बढी हुन्छ । किनभने सरकार सबै जनताको साझा अभिभावक हो । अहिले आम जनताले सरकारबाट त्यही अभिभावकीय भूमिकाको अपेक्षा गरिरहेका छन् । 

सबैभन्दा कमजोर पक्ष त के देखियो भने सुनसरीमा होस् कि सिरहामा– जो जसको मृत्यु भयो, उनीहरूको मृत्यु प्रहरीको गोली लागेर भयो । जो जो घाइते छन्, उनीहरूलाई पनि प्रहरीको गोली नै लागेको छ । आम जनताले यहीँनेर प्रश्न गरिरहेका छन्– के राज्य यति क्रुर बन्न मिल्छ ? के राज्य यति गैरजिम्मेवार बन्न सक्छ ? के राज्यले यसरी आफ्नै नागरिकमाथि गोली वर्षाउन सक्छ ? 

यसको जवाफ राज्य आफैले दिने हो, सरकार आफैले दिने हो, प्रधानमन्त्रीले दिने हो अनि गृहमन्त्रीले दिने हो । 
त्यसैले त संसददेखि र राजनीतिक दलसम्मले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरिरहेका छन् । संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी भइरहेको छ । राजनीतिक दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरिरहेका छन् । अनि समाजको प्रबुद्ध वर्गले पनि प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाको अपेक्षा गरिरहेका छन् । 

दुई साताको बिदापछि आज प्रतिनिधिसभाको बैठक बस्यो । आजको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री वा गृहमन्त्रीले सुनसरी घटनाबारे जानकारी गराउलान् भन्ने धेरैको अपेक्षा थियो । सदनमा रहेका विपक्षी दलहरूको अपेक्षा पनि त्यही थियो, सदनमा के हुन्छ भनेर चनाखो भएर हेरिरहेका आम नेपालीहरूको अपेक्षा पनि त्यही थियो । तर, सदनमा न प्रधानमन्त्री देखिए, न गृहमन्त्री । बहुसंख्यक मन्त्रीहरू सदन पुग्दै पुगेनन् । केही मन्त्रीहरू मात्रै उपस्थित थिए । 

विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरे । प्रहरीकै गोली लागेर नागरिक मारिनुपर्ने र घाइते हुनुपर्ने अवस्था कसरी आयो भनेर प्रश्न सोधे । सुनसरीमा कसरी त्यो हदसम्मको अवस्था सिर्जना भयो भनेर सरकारसँग जवाफ माग गरे । 
विपक्षीले सरकारसँग जवाफ मागे पनि जवाफ पाएनन् । किनभने जवाफ दिनुपर्ने प्रधानमन्त्री र गृहमन्त्री नै सदनमा उपस्थित नै थिएनन् । 

त्यसो भए, सरकारले केही गरेको छैन त ? यो पनि होइन । सरकारले आफ्नो काम गरिरहेको छ । मात्र कमी के हो भने चाहिनेजति काम गरेको छैन, सरकारको भूमिका पर्याप्त भएन । 
जतिबेला प्रतिनिधिसभाको बैठक बसिरहेको थियो, त्यतिनै बेला प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्रीको कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको थियो । त्यही बैठकमा प्रधानमन्त्रीसँगै थिए– अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल अनि गृहमन्त्री सुधन गुरुङ । मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिव पनि सुरक्षा परिषदको बैठकमा सहभागी थिए । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा बसेको  राष्ट्रिय सुरक्षा परिषद्को ४३ औं बैठकमा सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था

सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको थियो । त्यसपछि बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गर्‍यो । 

राष्ट्रिय सुरक्षा परिषदले यस्तो निर्णय गरिरहँदा सिरहामा भएको प्रदर्शनमा एक जनाको ज्यान गइसकेको थियो भने जनकपुरधाममा पनि प्रदर्शन चर्किरहेको थियो । स्थिति नियन्त्रणमा लिन दुवै जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाए । 

प्रधानमन्त्री बालेनले बुधबार मात्रै सुरक्षा निकायका प्रमुखहरूसँग वान अन वान छलफल गरेका थिए । तर, बिहीबारसम्म आइपुग्दा प्रधानमन्त्री बालेनले गरेको त्यो छलफलको पनि कुनै परिणाम देखिएन । 
न संसद, न सर्वदलीय बैठक, कतै नदेखिएका प्रधानमन्त्री बालेनले बिहीबार साँझ देशका नाममा सम्बोधन गरे र, सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरे ।

यहीँ सम्झाऊँ– गणेश नेपाली प्रकरणमा गृहमन्त्री सुधन गुरुङले भावुक मुद्रामा सदनलाई जानकारी गराएका थिए, जसको सबैतिरबाट प्रशंसा पनि भएको थियो । तर, पछिल्लो घटनामा गृहमन्त्रीबाट जुन भूमिका अपेक्षित थियो, त्यसमा भने उनी पछि परेको अनुभूति धेरैले गरेका छन् । सुनसरीबाट सुरु भएको आगो जनकपुरधामसम्म आइपुगेपछि मात्रै गृहमन्त्री कोशी प्रदेश पुगेका छन् । जतिबेला निकै ढिला भइसकेको थियो ।

सुनसरी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीबाट अपेक्षित भूमिका नदेखिएका बेला, ठूलो दलको सभापतिको हैसियतले रास्वपा सभापति रवि लामिछानेले भने त्यसको खाडल पूर्ति गर्ने प्रयास गरे । अघिल्लो दिन सर्वदलीय बैठक आह्वान गरेका लामिछानेले भोलिपल्टै अर्थात बिहीबार कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छलफल गरे, समाधानका उपायबारे विमर्श गरे र तत्काल त्यस क्षेत्रमा भूमिका निर्वाह गर्न आग्रह गरे । 

प्रधानमन्त्री, मन्त्री, सांसद वा नेता बन्नु शक्ति र सान आर्जन गर्नु होइन, जनताको सेवा गर्नु हो । नागरिक नागरिकका बीचमा मिलाप कायम गर्नु हो । सजिलो अवस्थामा त जो पनि नेता बन्न सक्छ । असली नेता त्यो हो– जसले देश संकटमा परेका देशलाई संकटबाट निकाल्न सक्छ, समस्या समाधान गर्न सक्छ । 
 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

भीड नियन्त्रण गर्न बारम्बार किन चुक्दैछ प्रहरी ?

भीड नियन्त्रण गर्न बारम्बार किन चुक्दैछ प्रहरी ?

राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीमा शान्तिसुरक्षाको कमजोर स्थिति देखापरेको बताएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार विज्ञप्ति निकाली पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने...
मन्त्री जन्माउने कारखाना

मन्त्री जन्माउने कारखाना