काठमाडौँ । एउटी महिला आफ्नो घर छाडेर कहाँ जान्छिन् ? न्युयोर्क, टेक्सस वा अर्को कुनै सहर ? दुई वर्षअघि यही प्रश्नको जवाफ खोज्दै उनको परिवार र साथीहरू भौँतारिइरहेका थिए। अहिले त्यही प्रश्नको उत्तर खोज्न अमेरिकी अदालतमा सुनुवाइ भइरहेको छ। तर यो सुनुवाइले एउटा परिवारलाई जवाफभन्दा डरलाग्दो पीडा थमाएको छ।
सुन्दै आङ जिरिङ्ग हुने! डरले मुटु काँप्ने! आँखा पीडाको जोरकुवा बन्ने!
ममतामाथि के घट्यो? उनका पति नरेश भट्ट आखिर के हुन्? ममताका श्रीमान् या खुङ्खार अपराधी?
यो प्रश्नको उत्तर दुई वर्षभन्दा बढी समयदेखि उनकी आमा, भाइ, आफन्त र साथीहरूले खोजिरहेका छन्। अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको एउटा घरबाट हराएकी २८ वर्षीया नेपाली नर्स ममताको खोजी सुरु हुँदा कसैले कल्पना गरेको थिएन– उनको खोजी एक दिन आफ्नै श्रीमान् नरेशको बयान, फरेन्सिक प्रमाण र शव व्यवस्थापनका कहालीलाग्दो विवरणसम्म पुगेर अन्त्य हुनेछ।
छोरी खोज्न अमेरिकाको अदालतसम्म भौँतारिइरहेकी आमाले सुन्नै नुसकिने बयानको सामना गर्नुपर्नेछ। मुटु निचोरेर हुर्काएकी छोरीको मुटु कलेजो टुक्र्याएको हुँ भन्ने स्वीकारोक्ति कानमा आएर ठोक्किनेछ ।
० ० ०
अमेरिकी अदालतमा बिहीबार, नोभेम्बर ५ मा ममता हत्याका आरोपी श्रीमान् नरेश भट्टले दिएको बयानले यो प्रकरणलाई अर्को मोडमा पु¥याएको छ। यसअघि ममता आफूखुसी घर छाडेर न्युयोर्क वा टेक्सस गएको बताउँदै आएका नरेशले अदालतमा भने आफूले उनलाई घरकै शयनकक्षमा मृत अवस्थामा भेटेको र त्यसपछि शव टुक्राटुक्रा पारेको बयान दिएका छन्।
उनको दाबीअनुसार जुलाई ३०, २०२४ को बिहान ममता बेडरुममा अचेत अवस्थामा भेटिएकी थिइन्। उनले आत्महत्या गरेको हुन सक्ने नरेशको भनाइ छ। आफूले उनलाई बचाउने प्रयास गरेको तर सफल नभएपछि डराएर प्रहरीलाई खबर नगरेको उनले बताए। त्यसपछि बच्चालाई बेबीसिटरकहाँ पुर्याएर घर फर्किएको र शव व्यवस्थापनका लागि सामग्री किनेको उनको बयान छ।
उनले आराको प्रयोग गरेर ममताको शरीर टुक्राटुक्रा पारेको र फोहोरमा फ्याँक्ने प्रयास गरेको पनि स्वीकार गरेका छन्। तर ममताको हत्या आफूले नगरेको उनको दाबी छ। उनीमाथि ममता हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। उनले हत्या अभियोग अस्वीकार गरेका छन्। शव व्यवस्थापनको पाटो भने नरेशले स्वीकार गरेका छन्।
आफ्नै श्रीमतीको शव व्यवस्थापन गरेको स्वीकार गर्ने व्यक्तिले ममतालाई अचेत देख्नेबित्तिकै किन प्रहरीलाई खबर गरेनन? किन अस्पताल पु¥याएनन? किन परिवारलाई खबर गरेनन? अदालतमा उठेका यी प्रश्नको जवाफ उनको डर र आत्महत्याको आशंकासम्बन्धी दाबीले मात्रै दिँदैनन्।
कुनै महिलाको जीवनमा विवाह एउटा नयाँ घर, नयाँ सम्बन्ध र नयाँ भविष्यको सुरुवाती विन्दु हुन सक्छ। नयाँ जीवनको प्रारम्भ पनि हुनसक्छ। जीवनको क्षितिजको सुनौलो आभा देखिएको पनि हुन्छ ।
तर त्यही सुनौलो आभाको कल्पना गरिएको घरभित्र हिंसा सुरु भयो भने घरको अर्थ बदलिन्छ। जहाँ सुरक्षित हुनुपर्ने हो, त्यहीँ भयभित हुनुपर्ने अवस्था आउँछ। जहाँ आफ्ना कुरा भन्न सक्नुपर्ने हो, त्यहीँ आफ्नै चोट लुकाउनुपर्ने हुन्छ। पलपल मरेर बाँच्नुपर्ने हुन्छ।
यो घटनामा ममता कहाँ बाँच्न पाइन् त? धर्मशास्त्रमा वर्णित नर्कभन्दा बढी यातना पाइन्। अमानुषिक ताडना पाइन्। श्रीमान् होइन उनको जीवन राक्षस भित्रिए। जसले सपनासँगै जीवनको अस्तित्व पनि आराले टुक्रइदिए। परिवारले जीवित छोरी होइन, छोरीको शव समेत हेर्न पाएन।
ममताको घटनामा पनि अहिले अदालतमा यस्तै केही विवरण खुलिरहेका छन्।
उनका भाइ महेश काफ्लेले अदालतमा दिएको बयानअनुसार ममता बेपत्ता हुनुभन्दा केही महिनाअघि आफ्नो आँखामा नीलडाम परेको तस्बिर भाइलाई पठाएकी थिइन्। नरेशले कुटपिट गरेको बताउँदै उनले त्यो तस्बिर सुरक्षित राख्न आग्रह गरेकी थिइन्। नरेशले थाहा पाए तस्बिर हटाउनुपर्ने हुन सक्ने भन्दै आफूले फोनबाट समेत मेटाउने बताएको महेशले अदालतमा सुनाए।
अब कल्पना गर्नुहोस् त; एउटी महिलाले आफ्नै भाइलाई चोटको तस्बिर पठाएर सुरक्षित राख्न किन अनुनय गर्छिन्। आफ्नो शरीरमा लागेको चोटको प्रमाण किन लुकाउनुपर्ने अवस्था आउँछ? नजिकको मान्छेलाई समेत सबै कुरा खुलेर भन्न नसक्ने अवस्था किन सिर्जना हुन्छ? तन, मन, धन सुम्पिएको मानिसप्रति अविश्वास किन झाँगिन्छ?
यी प्रश्नको उत्तर ममताको जीवनसँग जोडिएका छन्। उनले व्यहोरेका कहालीलाग्दा घटनासँग जोडिएका छन्। उनले व्यहोरेको अमानुषिक ताडनासँग जोडिएका छन्। तर यी प्रश्न ममताको मात्रै होइनन्। घरेलु हिंसाको सामना गरिरहेका असङ्ख्य महिलाको जीवनसँग जोडिएका छन्। प्रत्येक पल मरेर बाँचेका महिलाहरूसँग पनि जोडिएको छ। हुनसक्छ, हाम्रो सामाजिक व्यवस्था, महिलालाई हेर्ने दृष्टिकोण, हाम्रो चिन्तनधारासँग पनि अभिन्न भएर आउँछ, यी प्रश्नहरु ।
ममताका भाइको बयानअनुसार नरेशले ममता बेपत्ता हुनुभन्दा सात–आठ महिनाअघिदेखि सम्बन्धविच्छेदको कुरा गर्न थालेका थिए। घटनापछि ममताका गरगहना र आफ्नै विवाहको औँठीसमेत एक साथीलाई जिम्मा लगाएको विवरण अदालतको मिसिलमा संलग्न छ।
यी विवरण अभियोजन पक्षले घटनाको पृष्ठभूमि र सम्बन्धको अवस्थाबारे प्रस्तुत गरेका प्रमाण हुन्। तर यिनले एउटा महत्त्वपूर्ण प्रश्न भने उठाउँछन्– कुनै सम्बन्ध टुट्दै छ भने त्यसको अन्त्य हिंसा, धम्की वा अपमानबाटै हुनुपर्ने हो?
सम्बन्धविच्छेद अपराध होइन। प्रेम सकिनु अपराध होइन। एउटै छानामुनि बस्न नसक्ने अवस्थामा पुग्नु पनि अपराध होइन। तर सम्बन्धको असफलतालाई महिलामाथि नियन्त्रण जमाउने, उनलाई त्रासमा राख्ने वा उनको अस्तित्वमाथि नै प्रहार गर्ने बहाना बनाउन मिल्छ त? किमार्थ पनि मिल्दैन।
० ० ०
घरेलु हिंसा सधैँ ठूलो आवाजबाट सुरु हुँदैन। अस्पताल नै पुग्नुपर्ने चोटबाट देखिँदैन। कहिलेकाहीँ त्यो अपमानबाट सुरु हुन्छ। त्यसपछि नियन्त्रण, शङ्का, धम्की, आर्थिक निर्भरता र सामाजिक दबाब हुँदै हिंसाको डरलाग्दो चक्रमा बदलिन्छ।
अन्ततः ममता काफ्लेमा परिणत हुनसक्छ। जसको सास होइन लास पाउन पनि परिवार तड्पिरहनुपरेको छ।
कतिपय महिलाले आफूलाई भइरहेको व्यवहार हिंसा हो भन्नसमेत सक्दैनन्। हिँसा हो भन्ने समेत थाहा नपाएका हुनसक्छन् । कतिपयले परिवार टुट्ने डरले सहन्छन्। कतिपयले सन्तानको भविष्य सम्झेर चुप लाग्नु उचित ठान्छन्। सामाजिक ताडना, लाञ्छना, हेँलाहाँसोले पनि उनीहरूका ओठ बाँधिएका हुन्सक्छन्। कतिपयले विदेशमा एक्लै हुँदा आफ्नो पीडा कसलाई सुनाउने भन्ने थाहा पाउँदैनन्।
ममता अमेरिकामा नर्सका रूपमा काम गर्थिन्। उनले आफ्नो श्रम, सपना र भविष्य बोकेर विदेशमा जीवन बनाएकी थिइन्। एउटा सानो परिवार थियो। काखमा सानी छोरी थिइन्। आमासँग भिडियो कुराकानी हुन्थ्यो। भाइसँग सम्पर्क थियो। सहकर्मीहरू थिए। जीवन फक्रँदो फूल नै थियो। त्यहाँ आफ्नै सपना सुवासित थियो।
उनले नरेशमाथि जीवन देखेकी थिइन्। आभा ठानेकी थिइन्।
बाहिरबाट हेर्दा उनको परिवार सग्लो थियो तर उनको घरभित्र के भइरहेको थियो भन्ने कुरा कसैलाई थाहा थिएन।
ममताको अन्तिम पत्ता लागेको सम्पर्क जुलाई २९ मा नेपालमा रहेकी आमासँग भएको भिडियो कुराकानी थियो। त्यसको भोलिपल्ट उनी बेपत्ता भएको अभियोजन पक्षको भनाइ छ। जुलाई २७ मा उनी काममा देखिएकी थिइन्। अगस्ट २ मा सहकर्मीहरूको चिन्तापछि प्रहरी उनको घर पुगेको थियो। खोजखबर गरेको थियो।
त्यसअघि नरेशले ममता आफूखुसी घर छाडेर हिँडेकोे, न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताएका थिए। तर उनी गाडी चलाउँदिनथिन् भन्ने विवरण पनि अदालतमा आएको छ।
अर्थात्, एउटा महिलाको अनुपस्थितिलाई सुरुमा उनको आफ्नै स्वेच्छाको रूपमा व्याख्या गरियो। उनी कहाँ गइन् भन्ने प्रश्नमा उनको श्रीमानले दिएका जवाफ बदलिइरहे। तर अहिले अदालतमा उनको आफ्नै बयानले पहिलेका दाबीलाई चुनौती दिएको छ।
० ० ०
यो मुद्दामा ममताको शव फेला नपरे पनि अभियोजन पक्षले भौतिक तथा फरेन्सिक प्रमाण प्रस्तुत गरेको छ।
अमेरिकी समाचार संस्था एनबीसी वासिङ्टनका अनुसार फरेन्सिक विशेषज्ञले दम्पतीको बेडरुमको कार्पेटमा भेटिएको रगत ममताकै भएको अत्यधिक सम्भावना रहेको बयान दिएका छन्। कार्पेटको तल्लो भागमा रगतका दाग भेटिनु, माथिल्लो भागमा त्यसअनुसारका दाग नदेखिनु र बेडको स्थान परिवर्तन गरिएको विवरण पनि अदालतमा प्रस्तुत भएको छ।
विद्युतीय आरामा भेटिएको रगत तथा डीएनए ममताको नमुनासँग मेल खाने सम्भावना अत्यधिक रहेको फरेन्सिक विशेषज्ञले बताएका छन्। उक्त आरा नरेशले घटनाभन्दा केही महिनाअघि किनेको र पछि एक ल्यान्डस्केपरलाई दिएको अभियोजन पक्षको भनाइ छ।
अदालतमा ममताका भाइ महेशले दिएको बयान पनि उत्तिकै महत्त्वपूर्ण छ। आँखामा लागेको चोटको तस्बिरदेखि सम्बन्धमा देखिएको तनावसम्मका विवरण उनले सुनाएका छन्।
यी सबै प्रमाणको अन्तिम मूल्याङ्कन न्यायाधीश र अदालतले गर्नेछन् नै। अभियोजन पक्षको आरोप र बचाउ पक्षको तर्कमाथि न्यायिक परीक्षण पनि हुने नै छ। तर यस मुद्दाको सबैभन्दा असह्य र पीडादायी पक्ष के हो भने ममताको पक्षबाट अदालतमा बोल्न सक्ने उनी स्वयं उपस्थित छैनन्।
उनको शरीर छैन। उनको अन्तिम क्षणबारे आफ्नै शब्दमा सुनाउने अवसर छैन। आफूले भोगेको हिंसा, डर वा पीडाबारे उनको आवाज छैन। उनको जीवनका अन्तिम घटनाहरू अहिले अरूका बयान, तस्बिर, डीएनए र फरेन्सिक प्रतिवेदनबाट जोड्ने र स्थूलीकरण गर्ने प्रयास भइरहेको छ।
एउटी महिलाको जीवन अन्ततः प्रमाणको फाइलमा सीमित हुनुपर्ने अवस्था कति पीडादायी छ! एउटा अबोध छोरीले आफ्नी आमाको शेष अस्तित्वलाई अदालतको मिसिलमा मात्रै देख्नुपर्ने कति कहालीलाग्दो अवस्था होला ?
उफ्!
० ० ०
ममताको घटनाले घरेलु हिंसाको एउटा जटिल पक्ष फेरि बहसमा ल्याएको छ। आधुनिक चेतनाले हिँसा कम गर्न मद्दत पु¥याइरहेको छ कि छैन भन्ने बहस पनि सिर्जना गरेको छ।
समाजले प्रायः घरलाई निजी स्वामित्व र संसार मान्छ। श्रीमान्–श्रीमतीबीचको झगडा उनीहरूकै निजी कुरा हो भन्ने ठान्छ। कसैले चोट देखाए पनि मिलेर बस्न सुझाव दिन्छ। सम्बन्ध बिग्रन नदिन सहनुपर्छ भन्न छुटाउँदैन। एउटा आगो भए अर्को पानी बन्नुपर्छ बाबै पनि भन्छ। परिवारको इज्जत, सन्तानको भविष्य र सामाजिक प्रतिष्ठाको भार महिलाकै काँधमा राखिदिन्छ।
यही सोचले हिंसालाई सामान्य बनाउँछ। महिलाको सामु कोरिएका यी लक्ष्मणरेखा प्रकारान्तरले हिँसा हुन्।
श्रीमानले श्रीमतीलाई कुट्नु सामान्य झगडा होइन। उनको फोन जाँच्नु, परिवार वा समाजसँगको सम्पर्कमाथि नियन्त्रण पैदा गर्नु, पैसा वा आवतजावतमा नियन्त्रण राख्नु, धम्की दिनु र मानसिक रूपमा कमजोर बनाउनु पनि हिंसाका रूप हुन्।
हिंसा देखिने चोटमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ पीडित महिलाले आफूलाई भइरहेको व्यवहार गलत हो भन्ने बुझ्न र त्यसबाट बाहिर निस्कनसमेत लामो समय संघर्ष गर्नुपर्छ।
त्यसैले घरेलु हिंसाको प्रश्न उठ्दा महिलाले किन सहिन्, किन घर छाडिनन्, किन प्रहरीलाई खबर गरिनन् भन्ने प्रश्न मात्र सोधेर पुग्दैन। उनको अवस्था कस्तो थियो? उनलाई सहयोग गर्ने को थिए? आर्थिक, सामाजिक र पारिवारिक सुरक्षा थियो कि थिएन? हिंसाबाट बाहिर निस्कने प्रयास गर्दा थप जोखिम त थिएन? यस्ता प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्।
ममताले आफ्नो चोटको तस्बिर भाइलाई पठाएकी थिइन् भन्ने बयानले उनको जीवनमा केही समयअघि नै असुरक्षाको अनुभूति प्रवेश गरिसकेको सङ्केत गर्छ। त्यो पीडालाई समयमै बुझ्न सकिएको भए के हुन्थ्यो? परिवार, साथी वा सम्बन्धित निकायले थप सहयोग गर्न सकेको भए के उनको जीवनको कथा अर्कै हुन्थ्यो?
यी प्रश्नको उत्तर अब सहज छैन।
० ० ०
ममता नेपाली समाजबाट टाढा अमेरिकामा थिइन्। अमेरिका करोडौं मानिसहरूको कल्पनाको देश पनि हो। त्यहाँ यस प्रकारको हिँसाको मनोविज्ञान, पासविक चेतनाको कल्पना हुँदै। मारिएर पनि टुक्राटुक्रा भएर अस्तित्व मेटिनुपर्ने अवस्था त कसैले चिताउन पनि सक्दनैन।
तर घरेलु हिंसा कुनै भूगोल, वर्ग वा समुदायको समस्या मात्र होइन। विकसित मुलुकको सुविधा र कानुनी संरचनाभित्र पनि महिलाहरू घरभित्र हिंसाको सिकार हुन सक्छन्।
विदेशमा रहेका नेपाली महिलाको अवस्था अझ जटिल हुन सक्छ। नयाँ देश, भाषा, कानुनी प्रक्रिया, सीमित सामाजिक सञ्जाल र परिवारबाट भौतिक दूरीले समस्या सार्वजनिक गर्न कठिन बनाउँछ। कतिपय अवस्थामा आफ्नो वैवाहिक सम्बन्ध बिग्रिएपछि बसोबास, आर्थिक अवस्था र सन्तानको जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्ता पनि थपिन्छ।
तर विदेशमा बस्ने नेपाली महिलाका लागि घरेलु हिंसा परदेशको समस्या भनेर टार्न मिल्दैन। नेपालमा रहेका परिवार र समुदायले पनि यसलाई गम्भीर रूपमा लिनुपर्छ। विदेशमा रहेका नेपाली समुदायका संस्था, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सम्बन्धित निकायले हिंसाको जोखिममा परेका महिलालाई सुरक्षित सहयोग प्रणालीसम्म पु¥याउन भूमिका खेल्नुपर्छ।
० ० ०
ममता नर्स थिइन्। अरूको जीवन बचाउने स्वास्थ्य सेवामा संलग्न थिइन्। तर आफ्नै जीवनमा आइपरेको जोखिमबाट उनी सुरक्षित रहन सकिनन् कि सकिनन् भन्ने प्रश्न अहिले अदालतको कठघरामा छ।
उनकी छोरी अहिले आमाविहीन छिन्। उनको बाल्यकालमा आमाको आवाज, स्पर्श र उपस्थितिको ठाउँ कसले भर्ने? हुर्किंदै जाँदा उनले आफ्नी आमाबारे के सुन्ने? आफ्नै परिवारको कथा अदालतमा कसरी बयान भयो भन्ने कुरा उनले एक दिन थाहा पाउनेछिन्।
यो घटनाको सबैभन्दा लामो पीडा सायद त्यही बालिकाको जीवनमा रहनेछ।
० ० ०
विवाहले कसैलाई कसैको जीवनमाथि स्वामित्व दिँदैन। श्रीमान् हुनुको अर्थ श्रीमतीको स्वतन्त्रता नियन्त्रण गर्ने इजाजत पाउनु पनि होइन। श्रीमती हुनुको अर्थ हिंसा सहेर सम्बन्ध जोगाउने, घर, परिवार, सामाजिक संस्कारको इज्जत, प्रतिष्ठा र मर्यादा जोगाउने दायित्व वहन गर्नु पनि होइन।
प्रेम र विवाह सम्मानमा टिक्नुपर्छ, डरमा होइन। परिवारको जग विश्वास हुनुपर्छ, नियन्त्रण होइन। सम्बन्ध टुट्न सक्छन्, तर त्यसको मूल्य कुनै महिलाले आफ्नो जीवन दिएर चुकाउनुपर्ने होइन।
ममताको मुद्दामा अदालतले प्रमाणका आधारमा न्यायिक निष्कर्ष निकाल्नेछ। नरेशमाथिको अभियोग प्रमाणित हुन्छ कि हुँदैन, त्यो अदालतको विषय हो। तर यस घटनाले उठाएको सामाजिक प्रश्नको उत्तर अदालतको फैसलाले मात्र दिन सक्दैन।
त्यसका लागि हाम्रो सोच बदलिनुपर्छ। घरभित्र हुने हिंसालाई निजी मामिला ठान्ने प्रवृत्ति बदलिनुपर्छ। चोट देखिनेगरी पठाइएको एउटा तस्बिरलाई सामान्य पारिवारिक विवाद ठान्नु हुँदैन। हिंसाको सङ्केत देखिँदा पीडितलाई दोष लगाउने होइन, उनको सुरक्षा सुनिश्चित गर्ने समाज बनाउनुपर्छ। आफूलाई परेको पीडा निर्धक्कसँग बताउन सक्ने सम्बन्ध र संस्कार, परम्परा र आदर्श, मूल्य र मान्यता बनाउनुपर्छ।
ममता कहाँ छिन् भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन। उनको परिवारले शवसमेत पाएको छैन। अदालतमा उनका श्रीमानले आफ्नो बयान दिएका छन्, अभियोजन पक्षले प्रमाण प्रस्तुत गरेको छ, प्रतिरक्षा पक्षले आफ्नो तर्क राखिरहेको छ।
तर ममताको जीवनले हामीलाई एउटा कुरा सम्झाइरहेको छ– महिलाको सुरक्षा घरको चार भित्ताभित्र सीमित विषय होइन। घर नै असुरक्षित हुँदा बाहिरको संसारले उनलाई कसरी जोगाउँछ भन्ने प्रश्न नै अहिलेको मूल प्रश्न हो।
एउटी महिलाले आफ्नो घरमा निर्भय भएर बाँच्न पाउनुपर्छ। आफ्नो चोट देखाउन, पीडा सुनाउन र सम्बन्धबाट बाहिर निस्कन पाउनुपर्छ। उनको जीवन कसैको रिस, अहङ्कार वा स्वामित्वको विषय बन्नु हुँदैन।
ममता अब फर्केर आउने छैनन् भन्ने आशङ्काबीच उनको परिवार न्यायको लामो प्रतीक्षामा छ। तर उनको कथा यत्तिमै टुङ्गिनु हुँदैन। उनीजस्तै हिंसाको छायामा बाँचिरहेका अरू महिलाले समयमै सहयोग पाऊन्, उनीहरूको आवाज सुनियोस् र कुनै पनि महिलाले आफ्नै घरलाई आफ्नो सबैभन्दा ठूलो डर ठान्न नपरोस्।
घर महिलाका लागि संसारकै सबैभन्दा सुरक्षित ठाउँ हुनुपर्ने हो। त्यही घर उनको जीवनको सबैभन्दा ठूलो जोखिम बन्यो भने त्यो एउटा परिवारको मात्र असफलता होइन, हाम्रो सामाजिक चेतनाको पनि पराजय हो।