नेभिगेशन
सबै कुरा

बीमाको रकम र सम्पत्ति हत्याउन युवा संघकी नेतृको किर्तेमाथि किर्ते

काठमाडौँ । नेकपा एमालेको युवा संगठन युवा संघकी केन्द्रीय सदस्य युबन्तिका राईमाथि एक मृतक युवकको परिवारबाट बीमाको रकम र सम्पत्ति हत्याउन सरकारी कागज किर्ते गरेको आरोप लागेको छ । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी राईले ताप्लेजुङको लेलेप ७ का तेन्जिङ शेर्पाको मृत्यु भइसकेपछि  बीमा र सम्पत्तिमा दाबी गर्न मृत्यु दर्ता र श्रीमती नाता कायम गराएको खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, मृतकका परिवार र आफन्तलाई मृतक तेन्जिङ र युबन्तिकाबीच विवाह भएको जानकारी नै छैन । २०७९ असोज ५ गते काठमाडौँको कपनमा रहेको इलाइट हिमालय एडभेन्चरमा भएको आगलागीमा परि तेन्जिङको मृत्यु भएको थियो । उनको मृत्यु भएको डेढ महिनापछि २०७९ कार्तिक १८ गते तेन्जिङको स्थायी ठेगाना ताप्लेजुङको फक्ताङलुङ गाँउपालिका ६ मा मृत्यु दर्ता भएको छ भने सोही दिन वडा नम्बर ६ ले नै युबन्तिका राई र तेन्जिङ शेर्पाबीच विवाह भएको भन्दै वैवाहिक नाता प्रमाणित गरिदिएको छ ।

Ncell
Extreme Energy

परिवारका सदस्यहरुका अनुसार उनले सबै कागजात बनाएर काठमाडौँ फर्किए लगत्तै तेन्जिङको परिवारविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छिन् । इलाइट आगलागीमा परि ताप्लेजुङ लेलेप ७ का तेन्जिङ शेर्पा, सङ्खुवासभाका अशोक राई र सोलुखुम्बुका छेवाङ शेर्पाको मृत्यु भएको थियो । मृतक मध्येका एक तेन्जिङ शेर्पा इलाइट हिमालय एडभेन्चरका निर्देशक एवम् चर्चित हिमाल आरोही मिङमा डेबिडका भाइ हुन् । भाईको मृत्युको शोकमा रहेको परिवारमाथि श्रीमती दाबी गर्ने महिलाबाट भएको ज्यादतीले झनै पीडा थपिएको मृतकका दाइ एवम् किर्तिमानी हिमाल आरोही मिङमा डेबिडले सिधाकुरालाई बताए ।

‘अफिसको आगलागी र भाइको मृत्युको पीडा भुल्न सकेको छैन,’ उनी भन्छन्, ‘चिन्दै नचिनेकी युवतिको श्रीमती दाबी र अंश मुद्दाका कारण सबै जना झनै तनावमा परेका छौँ ।’ मृतक भाइको श्रीमती कायम गर्न कागजात बनाएकी युवतीको उद्देश्य परिवारको नाममा भएको सम्पत्ति खान र भाइको मृत्यु पछिका बिमाको रकममा आँखा लगाउनु नै मुख्य उद्देश्य रहेको उनको आरोप छ । आफूसँगै बसेर पढेको  र काम गरेको भाइले कहिल्यै आफ्नो श्रीमती रहेको कुरा आफूलाई नभनेको पनि मिङमाको भनाई छ ।    

झुक्याएर नाता कायम 

असोज ५ गते तेन्जिङको मृत्यु भएपछि एक दिन युबन्तिका तेन्जिङको घर पुगेकी थिइन् । तेन्जिङका गाउँमा रहेका दाजुकाअनुसार उनले आफू भाइको श्रीमती भएको र उनको मृत्युपछिको बीमा दावीका लागि नाता कायम र मृत्यु दर्ता बनाइदिन उनले आग्रह गरेकी थिइन् । भाइले कुरै नगरेको भए पनि किशोरी आएर श्रीमती रहेको भनेपछि र उनको भलो हुने भनेपछि कागजात बनाउन सहयोग गरेको तेन्जिङका जेठा दाजु जिग्मे ठिण्डुक बताउँछन् । 

सम्पत्ति हत्याउन फर्जी कागजात बनाएको भन्दै मृतक तेन्जिङका अर्का दाजु मिङमाले जिल्ला अदालत संखुवासभामा दायर गरेको मुद्दामा युवन्तिकासहित उनलाई काजात बनाउन सहयोग गर्ने जेठा दाजु पनि विपक्षी छन् । उनले अदालतमा दिएको बयानमा ति युवतिको विश्वासमा परेर नाता कायम गर्न सघाएको तर आफूहरुलाई झुक्याईएको उल्लेख छ । 


‘भाइको निधनपछि परिवार शोकमा रहेको समयमा वास्तविकतालाई लुकाई, व्यहोरा ढाँटी मेरो परिवारसँग कुनै नाता सम्बन्ध नै नभएकी युबन्तिकाले फक्ताङलुङ गाउँपालिका–६ बाट आफू सुचक भै मृतक तेन्जिङ शेर्पासँग नाता जोडिने वडा सर्जमिन, मृत्युदर्ता, दुषित नाता प्रमाणीत बनाउने कार्य गरी मृतक भाइको स्वघोषित पत्नीको रुपमा झुट्टा कागजात तयार गरी सम्पत्ती हत्याउने जाल प्रपन्च गरेकाले निजलाई कानुन बमोजिम आवश्यक कारबाही गरी व्यहोरा ढाँटी तयार पारेको मृत्युदर्ता प्रमाणपत्र, सर्जमिन मुचुल्का र नाता प्रमाण पत्र लगायतका नाता जोड्ने खालका सम्पुर्ण कागजातलाई जालसाज घोषित गरी युवान्तिका राईलाई कारबाहीको माग गर्दछु’ मिङमाले दायर गरेको निवेदनमा उल्लेख छ । 

माइला दाजुले दायर गरेको मुद्दामा नाता प्रमाणित सर्जीमनी गर्ने आफ्नै जेठा दाइ जिग्मे ठिण्डुकलाई समेत विपक्षी बनाईएको छ । मुुद्दाको प्रतिउत्तर लगाउने क्रममा जेठा दाई जिग्मे ठिण्डुकले तेन्जिङको मृत्युपछि नाता कायम गराउन युवन्तिकाले इन्स्योरेन्स रकम आउने लोभ देखाएको खुलाएका छन् । 

‘हामी प्रतिवादी जिग्मे ठिण्डुक शेर्पा र मेरो बैनी निमा लमु शेर्पा घरमा व्यापार व्यवसाय गर्दै आएका थियाँै, मृतक मेरो भाइ तेन्जिङको २०७९ असोज ५ गते अचानक आगलागीमा परी मृत्यु भयो, मृत्यु भएपछि युवन्तिका राई लेलेप घरमा आइ म तेन्जिङ शेपाको श्रीमती हुँ, अब यहाँ तेन्जिङको काजक्रिया समेत गर्नुपर्छ, म काजक्रिया गर्न आएको र तेन्जिङको  इन्सुरेन्स आउँछ, त्यसका लागि मलाई तेन्जिङको श्रीमती हो भन्ने कागजात बनाइ दिनुपर्यो भनी घरमा आउनुभयो ।’ 

जिग्मेले थप लेखेका छन्, ‘हामीले पनि युवन्तिका राईलाई भाइले विवाह गरेको थियो होला भनी युवन्तिकाको विश्वासमा परी हामीले वडाका अन्य मानिसहरुलाई समेत साक्षी बसिदिन अनुरोध गरी सर्जमिन गराउने काम समेत गरेको र सर्जमिन, मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाण पत्र बनाईदिएपछि काठमाडौँ गई हामी उपर नै अंश मुद्दा दर्ता गरी अंश दावी गर्नुभएछ । वादी अर्थात मिङमा डेबिडले यो नचिनेको मानिसलाई किन यस्तो कागजात बनाई दिएको भनी प्रश्न गर्दा मात्रै यी प्रतिवादीले जालसाजी गरी अर्काको सम्पत्ती लिने खाने नियत लिई झुट्टा विवरण पेश गरी झुट्टा कार्य गरेको कुरा प्रष्ट भयो ।’ प्रतिवादी युवन्तिका राई भाइको श्रीमती नभएको र आफूहरुलाई गलत विवरण, झुट्टा सूचनाका आधारमा विश्वासमा पारी कागजातमा सही छाप गर्न लगाएको पाइएको जेठा दाजुले भनेका छन् ।

औपचारिक रुपमा युवन्तिका र तेन्जिङ शेर्पा श्रीमान् श्रीमतीको नातामा रहेको भन्दै वडाबाट सिफारिस दिइएको छ । सिधाकुरासँग कुरा गर्दै वडा नं. ६ का अध्यक्ष पेमा टासीले तेन्जिङका दाइ र ५ जना गाउँलेहरुले सर्जिमिन गरिदिएपछि व्यवहारिक कठिनाई हेरेर नाता प्रमाणित गरिदिएको बताए । यता वडा कार्यालय स्रोतले भने युवन्तिकाले नेकपा एमाले शिर्ष नेताहरुको शक्ति प्रयोग गरेर मृत्यु प्रमाणपत्र र नाता कायमको पत्र एकैदिन हात पारेको दावी गर्यो । 

युवन्तिकाको विवादस्पद विगत

मृतकको श्रीमती कायम गर्न नक्कली कागजात बनाएकी एमाले नेतृ युवन्तिका राईको विगत पनि राम्रो छैन । नागरिकता किर्ते प्रकरणमा १ लाख ५० हजार रुपैयाँ धरौटीमा उनी चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेकी व्यक्ति हुन् । उनले नक्कली बाबु आमा देखाएर नागरिकता लिएको मुद्दामा अहिले पनि मुद्दा विचाराधिन छ । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी युवन्तिकाले चितवनबाट छबिलाल तामाङकी छोरीका रुपमा नागरिकता लिएकी छिन् । 

युवन्तिकाले छबिलालकै नागरिकताको विवरण तथा बाबुको महलमा छबिलाल तामाङ उल्लेख गरी जिल्ला प्रशासन कार्यालय चितवनबाट २०६८ साल भदौ २८ गते युवन्तिका तामाङका नाममा नागरिकता लिएकी थिइन् । तर, २०७९ सालमा छबिलालले नै आफ्नो युवान्तिका नाम गरेको कुनै छोरी नभएको, आफ्नो विवरण दुरुपयोग गरी झुठा विवरणका आधारमा नागरिकता लिएको भन्दै युवन्तिकाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । 

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी युवन्तिकाले आफ्ना बाबु प्रकाश राई र आमा सोमे राई इलाममा बस्दै आएको, आफ्ना बाबुुको नागरिकता नभएका कारण छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएको स्वीकार गरेकी थिइन् । साथै सोही नागरिकताबाट उनले पासपोर्ट समेत बनाएर विदेश आउने जाने गरेको बयानमा खुलाएकी छिन् । यस्तै उक्त नागरिकताबाट बैंकीङ कारोबार समेत गर्दै आएको उल्लेख गरेकी छिन् । 

युवन्तिका भन्छिन् ‘व्यक्तिगत कुरामा किन चासो’

नेकपा एमालेको युवा संगठन, युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी युवन्तिकालाई सिधाकुराले फोन सम्पर्क गर्दा आफूलाई यी विषयमा कुरा नै गर्नु नभएको भन्दै जे मन लाग्छ त्यही लेख्दिनुस् भन्ने जवाफ दिइन् । हामीले विषयवस्तुु बुुझाउने प्रयास गर्दा समेत मान्छे मरेर गैसक्यो, मुद्दाका विषयमा कसैलाई चासो छैन, मान्छेले के के गरिसक्यो भन्दै आक्रोशित भइन् । 

साथै हामीले नाता प्रमाणितका विषय सोध्दा यो विषयमा पनि कुुरा गर्नुु नै नभएको भन्दै जे मन लाग्छ त्यही लेख्नुस्, मेरो विषयमा धेरै नपर्नुस्, म भिआइपी होइन, म प्रधानमन्त्री होइन भन्ने जवाफ दिइन् । साथै उनले मलाई फोन नगर्नुस् भन्ने जवाफ दिइन् । साथै उनले यो विषयमा धेरैपटक जवाफ दिएको भन्दै अब केहि बोल्नु नभएको जवाफ दिइन् । 

त्यस्तै अंश मुद्दा सम्बन्धी प्रश्नमा पनि उक्त विषय आफ्नो व्यक्तिगत विषय भएको भन्दै बोल्न चाहिनन् । तर यअी विषयमा उनले केअी समय पहिले एक अनलाइनमा दिएको अन्र्तर्वातामा भने आफूले तेन्जिङसँग उनको मृत्यु हुनुभन्दा ९ महिना पहिले भागी विवाह गरेको दाबी गरेकी छिन् । उनले तेन्जिङसँग सगरमाथा आरोहणका क्रममा भेट भएको बताएकी छिन् । साथै उनले आफूहरुले कानुनी रुपमा विवाह नगरे पनि सँगै बसेको समाजले देखेको बताएकी छिन् । 

युवन्तिकाका अनुसार घटनापछि वडा कार्यालयमा भएको छलफलमा मिङमा डेविडले बुहारी मान्दिन भनेका थिए । तर तेन्जिङले आफ्नो घर परिवारलाई समेत हेर्ने गरेका, बाबुु बिरामी परेर अस्पतालमा राख्दा समेत तेन्जिङले हेरविचार गरेको दावी गर्छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

उक्त फैसलामा यो प्रकरणका मुख्य प्रतिवादी भनिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । अन्य अभियोगमा भने झाले सफाई पाएका छन् । प्रतिवादी रामशरण के.सी.बाट २...
नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

उक्त मुद्दामा ७ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा रामशरण के.सी., टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्...
बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

त्यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकिकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।
ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा...

भर्खरै