नेभिगेशन
सबै कुरा

छोरीको मेलेसियामा हत्या , शव ल्याउन भौँताररिहेकी छिन् ७० वर्षीया आमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।

CG

श्रीमान्सँग सम्बन्धविच्छेदपछि ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालसम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन् ।

शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात पर्‍यो”, उनले भनिन्, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”

तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताए । “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उनले भनिन्, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”

सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन् । “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उनले भनिन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए । “शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उनले भने, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...