नेभिगेशन
समाज

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

रसुवा । जुल्लाको गुठीचौर गाउँपालिका–१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे । उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन् । “एघार दिन रसुवा आसपासमा नै बसेर भाइहरूको खोजीमा जुटिरह्यौँ । तर, कहीँकतै पनि आफ्नो भाइहरूको बारेमा खबर पाउन सकेनौँ”, उनले भने, “आफन्तको न सास भेट्यो न त लास । यो पीडाले मन निकै भक्कानिरहेको छ ।” 

Ncell
Extreme Energy

आफन्त महताराले जलविद्युत् आयोजनाको सुरुङमार्गबाट चिनियाँ नागरिकको उद्धार भएपछि हाम्रो आफन्त पनि सकुशल फर्किएलान् भन्ने आशा बढेपनि अहिले भने आफूमा निराशा छाएको बताए । “सुरुङबाट चिनियाँ नागरिकको उद्धार भएपछि त हाम्रा भाइहरू पनि सकुशल भेटिएलान् भन्ने निकै आशावादी भएका थियौँ”, उनले भने, “अब भाइहरू बाँचेर आउने आशा पनि मरिसक्यो । अब घरमा परिवारलाई के भन्ने होला ?” 

उनी मात्रै होइन, जुम्लाको पातारासी गाउँपालिकाबाट कालीबहादुर बोहरा पनि आफ्नो भतिज कुमार बोहराको खोजीको लागि रसुवा आसपास क्षेत्रमा धेरै दिनसम्म भौतारिरहे । “हामी त भतिज कुमार पक्कै भेट्टिएलान् भनेर नै त्रिशूलीदेखि हिँडेर धुन्चेसम्म आइपुगेका थियौँ । एघार दिनसम्म यहाँ वरपर खोजी गर्दा पनि नभेट्टिएपछि अमिलो मन लिएर फर्किन बाध्य छौँ”, उनले भने, “माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले अपेक्षाकृत ढङ्गले खोजी नगर्दा पनि आफन्तको न सास पायौँ न त लास नै ।”

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको पातारासी गाउँपालिका ४९ र गुठीचौर गाउँपालिकाका नौ गरी ५८ जना सम्पर्कविहीन भएका छन् । यी ५८ जना माथिल्लो त्रिशूली–ए जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका बोहराले बताए । बेपत्ताका परिवारले कम्पनीको तर्फबाट सम्पर्कविहीन भइरहेका कामदारको खोजीमा प्रभावकारी ढङ्गले काम हुन नसकेको गुनासो गरेका छन् । 

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारणले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५३८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन अझै पनि छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सो आयोजनाबाट ८७८ जना सकुशल उद्धार र सात जनाको शव भेट्टाइएको छ । 

इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा नौ जना कोरियन नागरिक, ३४ चिनियाँ नागरिक र ५० भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक छन् ।  सो आयोजनामा कूल एक हजार ४३३ जना कार्यरत रहेका थिए । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि हो । आयोजनाको मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका तीन सय ८५ जना सम्पर्कविहीन भएका छन् । 

त्यसैगरी, हाइड्रो मेकानिकल तथा इलेक्टो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन रहेका छन् । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका १५, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेका इप्पानले जनाएको छ ।

कम्पनीका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट भने ८७८ जनाको उद्धार गरिएको छ । यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको थियो । यो आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

कम्पनीका अनुसार बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँधलगायतका संरचना (हेडबक्र्स) र कार्यालय तथा आवास क्षेत्र पूर्ण रूपमा बगाएको छ । बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।