नेभिगेशन

मुख्य समाचार

लोडसेडिङ छैन भन्ने हितेन्द्रदेव एक्लै !

काठमाडौँ । शुक्रवार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका थिए । दिउँसो २ बजेलाई बोलाइएको सम्मेलन निर्धारित समयमै सुरु भयो। 

यसअघिका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको पत्रकार सम्मेलनमा पत्रकार र अन्य नागरिकको समेत खचाखच भिड हुने गरेको भए पनि आजको पत्रकार सम्मेलनमा भने हल खालीखाली नै थियो । 

swetpatra-sarbajanik-1746191666.jpg
पत्रकार सम्मेलनको सुरु हितेन्द्रदेव शाक्यले प्राधिकरणले बनाएको श्वेतपत्रको सारांश पढेर सुनाएर सुरु गर्छन् । उनले उक्त पत्र पढेर सुनाएपछि पत्रकारलाई प्रश्न सोध्न भनिन्छ ।

केही पत्रकारले प्रश्न सोधिसकेपछि कार्यक्रम अन्त्यतिर पुगेको हुन्छ । त्यतिकैमा टाउकोमा साइकलको हेल्मेट लगाएका एक व्यक्तिले हात उठाएर प्रश्न सोध्ने इच्छा राख्छन् । 

उनलाई प्रश्न गर्न माइक दिइन्छ । उनले आफ्नो परिचय राजाराम तण्डुकार भएको बताउँछन् र प्रश्न गर्न सुरु गर्छन् । 

उनको पहिलो प्रश्न थियो, ‘कुलमान घिसिङ गएको १ हप्तादेखि पटक पटक लोडसेडिङ भएको छैन भनेर यहाँ कसैले भन्न सक्छ ? सक्छ भने हात उठाउनुहोला ।’

तण्डुकारले प्रश्न गरिरहँदा अरू चुपचाप बस्छन् तर रोष्टममा जवाफ दिन बसेका हितेन्द्रदेव शाक्य यताउता हेर्दै हत्तपत्त हात उठाउँछन् । 

त्यसपछि तण्डुकारले भन्छन्, ‘तपाईँ एक्लै पर्नुभयो ।’

त्यसपछि हितेन्द्र आफूले चैत्र मसान्तसम्मको डाटा यसअघिनै दिएको बताउँछन् । 

त्यसपछि राजारामले ‘जनताले फालिसकेको इन्भर्टर किन्न थालेको, बेचिसकेको जेनरेटर किन्न थालेको र जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले ग्याँस चुल्हो किन्न परेको अवस्था आएको बताउँछन् ।’

त्यस्तै उनले बजारमा गएर हेर्न जान र बुझ्न समेत चुनौती दिए । तण्डुकारले बजारमा माथि उल्लेख गरिएका सबै सामानको बिक्री बढेको समेत बताए । ‘जनताले दुःख पाउने क्रम बढेको छ । त्यसको भुक्तभोगी म पनि हो ।’, राजारामले थपे, ‘यो किन भइरहेको छ ?’

त्यस्तै उनले हितेन्द्रदेवलाई लोडसेडिङ नभएको भन्दै झुट नबोल्न समेत आग्रह गरे । ‘... अनि लोडसेडिङ भइरहेकै छ तर तपाईँले छैन भन्नुभयो, एक्लैले हात उठाउनुभयो । तपाईँ र तपाईँका मञ्चमा बसेकाले उठाएर भएन, मञ्चभन्दा बाहिर बसेकाले उठाउनुपर्यो ।’, उनले भने, ‘किन निभिरहेको छ यसरी ? जनतालाई यसरी दुःख दिन पाइएन नि ।’

त्यस्तै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन र लाइन काट्न नसक्ने बताउनेले जनताको लाइन काट्न मिल्छ भन्दै प्रश्न तेर्साए । ‘डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन सक्दिनँ भन्नुहुन्छ, उहाँहरूको लाइन काट्न सक्दिनँ भन्नुहुन्छ । अनि उनीहरूको लाइन नकाटेर सबै जनताको चाहिँ लाइन काटिदिने ?’

त्यस्तै उनले शुक्रवार बिहान समेत आफूहरूको तिर आधा घण्टा बत्ती काटिएको र आफ्नो फोन चार्ज गर्न नपाएको दुखेसो पोखे । 

त्यस्तै विद्युत् निरन्तर नभएपछि आफूहरू इन्भर्टर किन्न बाध्य भएको बताउँदै पुनः अघिकै प्रश्न दोहोर्‍याउँछन् । ‘तपाईँले जतिसुकै होइन भने पनि यहाँ पत्रकारज्यूहरू हुनुहुन्छ सबै हुनुहुन्छ, कसैले बोल्न सक्दैन । लु भन्नुहोस् तपाईँले ?’

उनले प्रश्न भ्याउँदा नभ्याउँदै अर्का एक जनाले हात उठाउँछन् । राजारामले भन्न भन्छन् । 

त्यसपछि हितेन्द्रको बचाउमा उनले भन्छन्, ‘पहिला पनि बत्ती जान्थ्यो, अहिले जाँदैन । त्यस्तै हो ।’

त्यसपछि राजारामले प्रतिउत्तर गर्छन्, ‘पहिला पनि बत्ती जान्थ्यो, नजाने भनेको हैन मैले । कुलमानको पालामा निभेको छैन भनेको हैन, निभेको छ । तर हितेन्द्रदेवजी आएपछि बढी निभ्न थाल्यो ।’

त्यसपछि राजारामसँग हितेन्द्रदेवको समर्थनमा पुगेकाहरू हल्ला गर्न थाल्छन् । त्यति बेलासम्म मुसुमुसु हाँस्दै रोष्टममा उभिरहेका हितेन्द्रदेवले आफूलाई जवाफ दिन भन्छन् । 

hitendradev-shakhya-1746191697.jpg
त्यसपछि उनी राजाराममाथि प्रश्न गर्न सुरु गर्छन् । उनको पहिलो प्रश्न थियो, ‘तपाईँको घरमा स्मार्ट मिटर छ तण्डुकार जी ?’

राजारामले उत्तर दिन्छन्, ‘स्मार्ट मिटर छैन मेरोमा ।’

हितेन्द्रदेवले पुनः सोध्छन्, ‘तपाईँको घर कहाँ हो ?’

राजारामले उत्तर दिन्छन्, ‘कुपण्डोल, भुसिङ्गाल ।’

त्यसपछि हितेन्द्रदेव भन्छन्, ‘राखेको छैन हैन तपाईँकोमा जस्तै अब यता महाराजगन्ज, बानेश्वरमा पनि त होला नि । उहाँहरूको घरमा स्मार्ट मिटर छ । रत्नपार्कमा पनि छ, बानेश्वर, बागबजारमा पनि छ, महाराजगन्जमा पनि छ । स्मार्ट मिटरको डाटा तपाईँको छेउमा अर्को साथी होला यतातिर (पछाडि बस्नेहरूलाई देखाउँदै) । माग्नुस् र हेर्नुहोस् त । के यो कुलमान गएपछि बढेको हो ?’

राजाराम उत्तर दिन खोज्छन् तर हितेन्द्रदेव बोल्न रोकिँदैनन्, ‘चेक गर्नुस् न । सोसल मिडियाको तपाईँको स्क्रिन टाइम बढेजस्तो लाग्यो ।’

त्यसपछि राजारामले हितेन्द्रदेवले विभिन्न पत्रपत्रिकालाई भारतमा आइपिएल चलिरहेको र त्यसका कारण विद्युत् किन्न नपाउँदा बेला बेलामा बत्ती जाने गरेको बताएको कुरालाई सम्झाउँदै आइपिएलमा विद्युत् खपत बढ्ने भन्दा घट्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘पत्रपत्रिकामा आएको अनुसारले इन्डियामा आइपिएल भएका कारण भन्नुभयो । आइपिएलको अठारौँ संस्करण हो यो । म आफैँ क्रिकेट खेलाडी प्लस क्रिकेट लभर । हरेक संस्करण हेर्छु । हरेक संस्करणमा विद्युतको उपभोग घट्छ बरु त्यो बेलामा...’, उनी भन्छन् । 

उनी बोलिसक्दा नसक्दै प्राधिकरणका अर्का एक कर्मचारी बाबुराम सुवेदीले रोलक्रम मिचेर बोल्न सुरु गर्छन् । ‘सर तपाईँले भन्नुभएको कुरामा हाम्रो सहमति छैन । बर्खाको समयमा हावाहुरीमा हाम्रो रेडियल लाइनहरू छ, ट्रान्समिसन लाइनबाट बत्ती तानेर कहाँ दुरदराज चमेलियादेखि कालिगण्डकीसम्म हामीले विद्युत् पुर्‍याउनुपर्छ ग्राहकहरूलाई ।’, उनी थप्छन्, ‘.. कुनै पनि वितरण केन्द्रको डाटाले अहिले म्यानेजमेन्ट चेन्ज भएर लोडसेडिङ थपघट हुने भन्ने वितरण केन्द्रको तर्फबाट म के आश्वस्त पार्छु भने कुनै पनि स्थितिमा त्यो छैन ।’

swetpatra-sarbajanik-day-1746191730.jpg
त्यस्तै उनले कुनै पनि वितरण केन्द्रबाट आफूहरूले लाइन काटेर ग्राहकलाई दुःख दिने नगरेको उनले बताए । 

त्यसपछि अर्का एक जनाले विद्युत् बनाउँदा जाने बत्ती र लोडसेडिङको परिभाषा पढाउन सुरु गर्छन् । 

त्यसपछि रोष्टममा रहेका हितेन्द्रदेवले आफूले पत्रकारहरूलाई प्रश्न गर्ने समय दिएको र राजाराम तण्डुकार पत्रकार भए प्रश्न गर्न भने । 

त्यति बेलासम्म राजारामसँग त्यहाँ पुगेका अन्यले सवाल जवाफ गर्न थालिसकेका हुन्छन् । तर हितेन्द्रदेवले राजारामसँग सवाल जवाफ नगर्न भन्छन् ।

त्यस्तै उनले घरमा नयाँ दुलही घरमा ल्याएको कथन सुनाउँदै प्राधिकरणमा आएको नयाँ नेतृत्वप्रति अनुदार नहुन आग्रह गर्छन् । 

प्रतिक्रिया दिनुहोस्
थप मुख्य समाचार
टेरामक्स खरिदमा भएको ३ सय २१ करोड भ्रष्टाचारको नालीबेली

टेरामक्स खरिदमा भएको ३ सय २१ करोड भ्रष्टाचारको नालीबेली

टेरामक्स खरिदमा भएको ३ सय २१ करोड भ्रष्टाचारको नालीबेली
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने  कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !
भारत र पाकिस्तान: को कति शक्तिशाली ?

भारत र पाकिस्तान: को कति शक्तिशाली ?

भारत र पाकिस्तान: को कति शक्तिशाली ?