बुटवल । बुधबार बिहान, बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुलीपथमा ३३ वर्षीया दिपा बस्याल र उनका ७ र ४ वर्षीया दुई छोरीको चक्कु र हेक्बर प्रहारबाट हत्या भयो । प्रारम्भिक अनुसन्धानमै खुल्यो उनीहरुको हत्या गरेका थिए, दिपाका पूर्वपति सुजन कोइरालले । सुजन कोइराला तिनै व्यक्ती थिए, जसले आफ्नै दाजुको हत्या गरी ९ वर्ष कारागार बसेपछि संविधान दिवसमा कैद माफी पाएर छुटेका थिए ।
दिपा सुजनको सम्बन्ध विच्छेद भैसकेको थियो तर उनै सुजनले आफ्नो घर नबनेपछि नयाँ घरबार गरेकी दिपाको परिवार उजाडिदिए ।
अपराधी मानसिकताका सुजन जसले उजाडे, दाई र पूर्वपत्नीको जिन्दगी
पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए । त्यसबेला दिपा २२ वर्षकी थिइन् भने सुजन २३ वर्षका थिए । प्रेम विवाहपछि उनीहरु बुटवलको होराइजनचोकमा रहेको प्रभासको घरमा दुई दाजुहरुसँगै बस्न थाले । सँगै बसेको तीन महिनामै दाजुहरुसँग आर्थिक विषयमा सुजनको विवाद भयो । त्यही बिचमा २०६९ सालमा एक्कासी सुजनका दाजु सुदीप कोइराला सम्पर्कविहिन भएको भन्दै सुजननै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पाल्पा पुगेका थिए ।
सुजनको निवेदन पछि खोजी गर्दा पाल्पाको केराबारीमा सुजनको दाजुको शव फेला पर्यो । शव टुक्रा–टुक्रा पारेर बोरामा हालेर फालिएको थियो । अनुसन्धान गर्दै जाँदा सुजनले नै दाजुको हत्या गरि शरीर टुक्रा टुक्रा पारेर बोरामा हाली फालेको पुष्टि भयो । त्यसपछि पुस २७ गते पाल्पा जिल्ला अदालतले उनलाई कारागार चलान गर्यो ।
पाल्पा कारागारमा पनि उनले असान्ती मच्चाएपछि पाल्पा कारागार बाट सुजनलाई सिन्धुपाल्चोक, भिमफेदी, कास्की लगायतका विभिन्न कारागार सरूवा गरिएको थियो । पहिलो पटक २०७१ असार २७ गते पाल्पाबाट सिन्धुपाल्चोक पठाइएका उनी कारागारबाट भागेका थिए । कारागारबाट फरार भएको उनी केही महिनापछि पक्राउ परि फेरि कारागार चलान गरिएको थियो ।
भर्खर विवाह गरेको श्रीमान्, आफ्नै दाजुको हत्या कसुरमा कारागारमा गएपछि दिपा मानसिकरुपमा विच्छिप्त भएकी थिइन् । त्यसपछि उनले सम्बन्ध विच्छेद प्रक्रिया अघि बढाइन् । २०७३ सालमा उनीहरुको सम्बन्ध विच्छेद भयो ।
त्यसपछि दिपाले नवलपरासीको कावासोतीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन् । शंकर र दिपा दुबैको एक पटक विवाह भत्किएको थियो । शंकरले पनि पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरीसकेका थिए । विवाह भएको केही वर्षपछि दिपाले पाल्पाको तानसेन नगरपालिका ७ कुनसरेस्थित स्वास्थ्य केन्द्रमा काम गर्न थालिन् भने उनको श्रीमान् रोजगारीका लागि विदेशीए । त्यतीबेलासम्म उनीहरुको दुई छोरी भैसकेका थिए ।
पाल्पा बस्दै आएकी दिपा र उनकी छोरीहरु, बुधबार आफन्तको विवाह मान्न मंगलबारनै बुटवल आएका थिए । उनका आफन्तहरु पनि मंगलबार देखिनै विवाहका लागि बुटवलमा जम्मा भएका थिए । तर उनीहरुसँग दिपाले आफू बुटवल आएको बताएकी थिइनन् । उनी दुई छोरीसहित सुजनको घरमा पुगेकी रहिछन् । विवाह घरमा सबैजनाले दिपा बुधबार बिहान आउने सोचेर कुरिरहेका थिए तर खबर आयो, दिपा पूर्वपतिको घरमा मृत अवस्था भेटिइन् ।
सुजनको घरको मर्मतको काम भैरहेको थियो । बुटवलकै अर्जुन रञ्जनले भान्साको मर्मतको काम गरिरहेका थिए । बुधबार बिहान पनि सुजनले मोटरसाइकलमा राखेर भान्सा मर्मतको लागि अर्जुनलाई घरमा ल्याएका थिए ।
घरभित्र पस्दा विस्तारामा तीन जनाको वीभत्स अवस्थामा शव देखेपछि अर्जुनले नै घटनाबारे प्रहरीलाई खबर गरेको थिए । त्यसपछि प्रहरीसँगै जनप्रतिनिधिहरु घटनास्थलमा पुगेका थिए । कार्यवहाक वडा अध्यक्ष नहकुल शाहीका अनुसार उनले कुक्ररतापुर्वक हत्या गरेका छन् । घटनास्थल हेर्न नसकिने अवस्थामा थियो ।
राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएपछि भने उनले होराइजनचोकस्थित मिलिजुली पथमा हस्तकलाका सामग्रीको पसल सञ्चालन गर्दै आएका थिए । दुई तले घरमा एक्लै बस्दै आएका उनले बाँसबाट बनाइएका विभिन्न हस्तकलाका सामग्री ल्याएर घरबाटै थोकमा बिक्री वितरण गर्दै आएका थिए ।
घरमा रहँदा सुजनको राम्रै व्यवहार देखेर छरछिमेकीलाई पनि उनी सुध्रिएको लागिरहेको थियो । सुजनकी छिमेकी पद्मा राना कुँवरले बुधबार बिहान पनि पौने सात बजेतिर घर बाहिर भेट भएका सुजनले आफूसँग राम्रोसँग कुराकानी गरेर घर भित्र गएको बताइन् । दाजुको हत्या गरेर कारागार गएको व्यक्तीले फेरि घटना गराएपछि स्थानीय आतंकित छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार अहिले उनलाई अदालतबाट म्याद लिएर अनुसन्धान सुरु भएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले पछिल्लो १ वर्षदेखि आफू दिपासँग नियमित सम्पर्कमा रहेको बयान दिएका छन् । उनको अनुसार दिपा र सुजन एक वर्षदेखि नियमित फोन सम्पर्क र भेटघाट गर्दै आएको र मंगलबार पनि बुलेट मोटरसाइकल चढेर रूपन्देहीकै गजेडी तालमा घुम्न गई साँझ बुटवलको एउटा होटलमा खाजा खाएर घर फर्किएको बयान दिएका छन् ।
राति सँगै बसेकी दिपालाई बिहान घर जान भन्दा नमानेपछि आफूले हत्या गरेको सुजनले बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुजनले हतौडा र चक्क प्रहार गरी दीपा र दुई छोरीको हत्या गरेका हुन् । उनले दिएको बयान अनुसार ह्यामरले दिपाको टाउकोमा प्रहार गरेपछि चक्कुले घाँटी रेटेका थिए भने दुई छोरीको घाँटी रेटेका थिए ।
दाजुको हत्या अभियोगमा जेल सजाय पाएर, कारागारबाट समेत भागेको व्यक्तीलाई संविधान दिवसको अवसरमा कैद माफी दिँदाको अर्को परिवार सकिएको छ, दिपासँगै दुई अवोध छोरीहरुले समेत ज्यान गुमाएका छन् ।