नेभिगेशन
सिधाकुरा विशेष
भिजिट भिसा प्रकरण :

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

कथा १ : भिजिट भिसाको पासो: फेसबुकबाट सुरु, ऋण र धोखाधडीसम्म

फेसबुकमा ''दुबईमा आकर्षक रोजगारीको अवसर'' भन्दै एउटा पेजले गरेको विज्ञापन क्लिक गरेकै भरमा ह्वाट्एसपमा जोडिएका खोटाङका दुर्गा नारायण श्रेष्ठको भिजिट भिसा प्रक्रिया सुरु भयो । 

Dish Home
Global Ime Bank

दुबईमा बसेर फेसबुक पेजबाट आकर्षक रोजगारीको विज्ञापन 'बुस्ट' गरिरहेका नेपालीले नै फेसबुक पेजमा ह्वाट्सएप लिङ्क गरेका थिए । पेजमा एक क्लिक गरेकै भरमा दुर्गाको ह्वाट्एसपमा दुबईमा उनलाई ''कामले कुरिरहेको छ, पैसाको बोटले कुरिरहेको छ'' जसरी तारन्तार म्यासेज आउन लाग्यो । यसरी म्यासेज गर्ने, कुराकानी गर्ने  व्यक्ति नेपाली नै भएकाले दुर्गालाई विश्वास लाग्न थाल्यो । 

ह्वाट्सएपमा जाेडिएका ती व्यक्तिले नेपालबाट आजाद (कामदार) भिसामा आउन समस्या हुने भएकाले नेपालबाट भिजिट भिसामा छिर्नु पर्ने र दुबई पुगेपछि आजाद भिसामा बस्न पाइने बताए । यसका लागि उनीहरुले  नारायणसँग ४ लाख रुपैयाँ मागे । 

आयस्रोत नभएपछि तनावमा रहेको दुर्गाले उनीहरूले भने अनुसार नै रकम जम्मा गरिदिए । त्यसपछि उनीहरूले दुर्गा नारायण श्रेष्ठका लागि दुई वटा भिसा देखाए । एउटा भिजिट भिसा र अर्को आजाद भिसा ।

सुरुमै भिसा, टिकट, होटेल बुकिङ देखि विमानस्थल सेटिङ समेत आफूहरूले नै गरिदिने भनेका ती एजेन्टले २ लाख ७० हजार रकम लिएपछि भने नेपालको एक ट्राभल एजेन्सीका व्यक्तिसँग सम्पर्क गराइदिए । 

नभन्दै ती ट्राभल एजेन्सीकै व्यक्तिले उनलाई थप १ लाख ३० हजार रुपैयाँ मागे । त्यसपछि उनले ह्वाट्एसपमै दुबईको 'भिसिट भिसा' र 'वर्किङ भिसा' सहित टिकट पठाइदिए । साथै उनले रिटर्न टिकट तथा होटेल बुकिङ समेत नक्कली बनाएर पठाइदिए । 

त्यसपछि विमानस्थलमा नै उनीहरूको सेटिङ मिलेको दिन जानु पर्ने भन्दै तयारी रहन बताए। यो सबै ह्वाट्सएपमा कुराकानीकै भरमा चलिरहेको थियो । म्यासेजमा एजेन्टले नै 'स्टेप बाइ स्टेप' सिकाइरहेका थिए । उनलाई सुरुमै नेपालको विमानस्थल र दुबईको विमानस्थलमा फरक फरक भिसा देखाउन भनिएको थियो । उनलाई भनिएकाे थियाे, -नेपालकाे विमानस्थलमा भिजिट भिसा देखाउनु र दुबईको विमानस्थलमा वर्किङ भिसा देखाउनु ।

विमानस्थलमा सेटिङ मिलेकाे भन्दै दुर्गालाई विमानस्थल जान पनि ती एजेन्टले ह्वाट्सएपमै म्यासेज गरे । सोही अनुरूप विमानस्थल पुगेका दुर्गालाई विमानस्थलका हरेक कक्षमा पुगेपछि आफूलाई अपडेट गराउन भनिएको थियो । सोही अनुसार दुर्गाले आफू बोर्डिङ पास लिन लागेको म्यासेज पठाए । त्यसपछि उनलाई इमिग्रेसन जान भनियो । उनी त्यहाँ पुगेर फोटो पठाए । त्यसपछि उनी इमिग्रेसन पास भएपछि एजेन्टले दुर्गालाई पठाएको यो म्यासेज हेर्नुहोस्। 

Immigration-1749648129.jpg
विमानमा बसिसकेपछि भिजिट भिसा च्यातेर विमानको शौचालयमा फाल्न भने । त्यसपछि आफूसँग भएको सबै संवाद डिलिट गर्न भने ।

sms-delete-1749648231.jpg
एजेन्टले भनेअनुसार नै दुर्गा दुबई पुगे । तर पहिले भने जस्तो न काम पाए न सेवा सुविधा । दुई महिना ९ दिन बसिसकेपछि दुर्गाले नेपालबाट पैसा ऋण गरेर स्वदेश फर्किने टिकट काटे । 

दुबईमा दुख: कटाएर स्वदेश फर्किएका दुर्गा सिधाकुराको सम्पर्कमा आएपछि हामीले अहिले भिजिट भिसाको अनुसन्धान गरिरहेको अख्तियारदेखि नेपाल प्रहरी र मानव तस्करीमा अनुसन्धान गर्ने प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा सम्पर्क गराएका थियौँ । अहिले उनका विषयमा एजेन्ट तथा ट्राभल एजेन्सीका विषयमा थप अनुसन्धान भइरहेकाले पीडित र अनुसन्धानकारी निकायकै आग्रहमा एजेन्ट र ट्राभल एजेन्सीको विवरण गोप्य राखिएको हो । 

दुबईमा बसेर नेपालबाट मानव तस्करी गर्नेहरुको गिरोह थुप्रै छन् । दुबईमा बसेर नेपालमा विमानस्थलमा सेटिङ गर्नुपर्ने भन्दै पैसा उठाउने, दुबई लगेर अलपत्र पार्ने अन्य थुप्रै घटनामा हामीलाई प्राप्त भएका छन् । 

(विस्तृत भिडियाे)

०००

भूमिका– जब ब्युटिसियन बन्ने सपना नरक बन्न पुग्यो

बिर्तामोडका समीर रिजालका बाबुको निधन भएको भर्खर ५ महिना पुग्दै थियो । घरको आर्थिक अवस्था कमजोर । ऋण माथि ऋण बढ्दै गएको थियो । उनी विदेश जाने बारे सोच बनाइरहेका थिए । उनीहरूको यही बाध्यता देखेकी अनिता गिरीले आफ्नी बहिनीले दुबई मान्छे लैजाने गरेको, कमाइ राम्रो हुने भएकाले समीरकी श्रीमति भुमिकालाई पनि दुबई पठाइदिने बताइन् । उनीहरूले घर सल्लाह गरे । ब्युटी पार्लरमा ब्युटिसिएनको काम दिने, आकर्षक तलब सेवा सुविधा हुने भनेपछि भुमिका दुबई जान तयार भइन् । अनिताले आफ्नी बहिनी भन्दै दुबईमा रहेकी इशा गिरीसँग सम्पर्क गराइन् । त्यसपछि सबै डिल इसाले नै गर्न थालिन् ।

इशाले भिसा देखि ट्रेनिङ (तालिम), टिकट तथा विमानस्थलमा सेटिङ गर्नका लागि भन्दै ४ लाख ५० हजार मागिन् । 

समीर र भूमिकाले लघुवित्तबाट ऋण झिकेर इशाले भने अनुसार पैसा दिए । इशाले २ लाख ५० हजार आफ्नी दिदी अनितालाई दिन भनिन् भने बाँकी रकम पठाउन अर्का एजेन्ट बोधराज गिरीको क्युआर काेड पठाइन् । साेही अनुरुप उनीहरूले पैसा पठाए ।

त्यस बिचमा समीर र भूमिकाले यताबाट काम कहिले हुन्छ ?, कसरी हुन्छ ? भनेर म्यासेज गर्दा दुबईबाट इशाले आफूले यसअघि धेरै मान्छे ल्याइरहेको, सहज तरिकाले आउन नमिल्ने, सेटिङ गर्नुपर्ने भएकाले केही समय लाग्ने बताउँथिन् । 

साथै उनले विमानस्थलमा सेटिङ गर्ने कर्मचारीको आफन्तको मृत्यु भएकाले केही समय काम रोकिएको समेत बताएकी थिइन् । 

यता नेपालबाट सेटिङ गर्न बोधराजले पैसा लिएर भिसा, टिकट पठाइदिएका थिए । उनीहरूले नै विमानस्थलमा सेटिङ मिलाएको बताएका थिए । 

बोर्डिङ पासका लागि २५ हजार र अध्यागमनका लागि २५ हजार तिर्न परेको अडियो समेत पठाएका थिए । 

भूमिकालाई अध्यागमनले रोकेपछि म्यासेज गर्दा उनीहरूले १० मिनेटमा काम हुन्छ, नआत्तिनुस्, पैसा पचाउनका लागि अलिकति औपचारिकता पूरा गरेको हो भन्ने जवाफ पठाउँथे । 

नभन्दै एजेन्टले भनेको १० मिनेटमै अध्यागमनबाट भूमिका पास भएर विमान चढेकी थिइन् । 

नेपालबाट दुवईमा लगेर वर्किङ भिसा परिवर्तन गराउने प्रलोभन देखाएकी इशा गिरीले त्यहाँ पुगेपछि भने भूमिकालाई नारकीय जीवन बिताउन बाध्य पारिन् । 

आफ्नै घरमा घरेलु कामदारका रुपमा प्रयोग गर्नेदेखि, निकै असुरक्षित ठाउँमा राखिन् । कष्टकर जीवन भाेग्नु परेपछि अन्तत: नेपालबाट समीरले टिकट पठाएर श्रीमती भूमिकालाई घर फिर्ता गराए । 

साे विषयमा उनले वडा कार्यालयमा पनि गुनासो गरे । तर पैसा लिने अनिता गिरी देखि युएईमा भिजिट भिसाका र्याकेट चलाउने इशा गिरीले उल्टै जे गर्न सक्छौ गर भन्ने धम्की दिए । 

भिजिट भिसाको गलपासाले अहिले समीर र भूमिकालाई ऋण त थपेको छ नै मानसिक तनाव समेत थपेको छ । 

०००

यी दुई घटना भिजिट भिसामा मानव तस्करी कसरी हुन्छ भन्ने देखाउने उदाहरण मात्रै हुन् । पछिल्लो ६ महिनामा मात्रै नेपालबाट सेटिङ गरेर विदेश जानेको सङ्ख्या १८ हजार बढी छ । उनीहरूबाट मात्रै सवा अर्ब घुस रकम असुली भएको विषयमा हामीले यस अघि नै देखाएका थियौ । 

यस घटनामा गृह मन्त्रालयकै संरक्षणमा अध्यागमनलाई मानव तस्करीको हब बनाएको देखिने थप घटनाहरू बाहिर आएका छन् । 

अहिले अख्तियारले बयान लिइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तिर्थ भट्टराईको कार्यकालमा भिजिट भिसामा नेपालीहरूलाई सेटिङको पासोमा पार्ने मात्रै होइन, ठुलो आर्थिक चलखेल गरेर नो अब्जेक्सन लेटर बिनै करिब १ हजार भारतीयलाई तस्करी गरी तेस्रो देश पठाएको पाइएको छ । 

अध्यागमनकै रेकर्ड अनुसार पछिल्लो ६ महिनामा मात्रै ‘मोस्ट वान्टेड’सहित करिब एक हजार शङ्कास्पद भारतीयले तेस्रो मुलुक यात्रा गरेको देखिएको छ । 

भारतीय नागरिकहरूलाई नेपालबाट तेस्रो देश जानका लागि काठमाडौँस्थित भारतीय दूतावासले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य हुन्छ । तर, तत्कालीन अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराईसहितको सेटिङमा एनओसीविना नै करिब एक हजार भारतीय नेपालको अध्यागमनबाट तेस्रो देश गएको अनुसन्धानमा भेटिएको स्रोतले जनाएको छ । अनुसन्धान गरिरहेको एक अधिकारीका अनुसार यसरी जाने भारतीयहरूसँग सेटिङका नाममा ४ लाख सम्म असुली हुने गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार भट्टराईले सेटिङमै भारतीय सुन तस्करी देखि भारतीय गुन्डा नाइके लरेन्स विश्नोई समूहका दुई सदस्य समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर केही महिनाअघि मलेसिया पठाएका थिए । 

विमानस्थलबाट भारतमा सुन तस्करीमा संलग्न व्यक्तिहरू आशिफ शाह र जागेश्वर शाहलाई पनि भट्टराईले सेटिङ गरेर उडाएको खुलासा भइसकेको छ ।

भारतीय दूतावासले अध्यागमनमा उनीहरूको विवरण पठाए पनि अध्यागमनले भने सेटिङ गरे उनीहरूलाई उडाएको थियो । 

भारतले यस विषयमा चासो राखेपछि मात्रै नेपालमा खोजीनिती भएको थियो । 

त्यस क्रममा भट्टराईलाई गृह मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । तर उनले उक्त दिन सर्भर बिग्रिएको भन्दै जवाफ दिएका थिए । तर अध्यागमन स्रोतका अनुसार उक्त दिन एउटा कम्प्युटरमा मात्रै समस्या आएको तर यात्रुको विवरण हेर्न र राख्न कुनै समस्या भएको थिएन । साथै सर्भरमा समस्या आएको दिनको विस्तृत विवरण खुलाएर लिखत तयार गर्ने गरिएको भए पनि उक्त दिनको भने कतै रेकर्ड गरिएको छैन । 

भारतले चासो देखाएपछि यही विषयमा एकै दिन ७ जना उपसचिव अध्यागमन अधिकृतहरू जो त्यहाँ पुगेको ६ महिना पनि भएको थिएन, उनीहरूको सरुवा गरे पनि तिर्थ भट्टराईलाई भने केही पनि गरिएको थिएन । किनकि उनलाई गृहमन्त्री रमेश लेखकले यस अघिका अध्यागमन प्रमुखलाई ४ महिनामै हटाएर २०८१ असोज २३ गते विमानस्थल पठाएका थिए । 

उनले अध्यागमनमा बसेर भिजिट भिसाको र्याकेट चलाएको विषय अब नयाँ रहेन । नेपाली कांग्रेस निकट रहेका कर्मचारी भट्टराई, रमेश लेखक गृहमन्त्री भए लगत्तै अध्यागमन जान हतारिएका थिए । असोजमा अध्यागमन गएपछि उनले भिजिट भिसाको सेटिङलाई संस्थागत बनाएका थिए ।

अहिले अख्तियारको अनुसन्धान परेका उनले ३ वटा फोन बाेकेर राज्यको नियमको धज्जी उडाउँदै ट्राभल एजेन्सी र बिचौलियाको आदेश अनुसार काम गर्ने गरेका थिए । अख्तियारले गरेको अनुसन्धानका क्रममा उनले बोक्ने उनको निजी मोबाइलमा ग्रिन लाइन होलीडेजका बालकृष्ण खड्काले सेटिङमा उडाउनुपर्नेको नाममा सूचि पठाउँथे । त्यही सूचि अनुसार भट्टराईले अध्यागमनबाट विदेश उडानका लागि आफू मातहतका कर्मचारीलाई सर्कुलर गर्ने गरेका थिए । उनको फोन समेत हरेक हप्ता परिवर्तन हुने गरेको अख्तियारकाे दाबी छ । विदेशी सिम कार्डबाट ह्वाट्सएप चलाउने र उक्त मोबाइल सेट समेत ट्राभल एजेन्सीहरुले परिवर्तन गरिदिने गरेको अनुसन्धानमा भेटिएको अधिकारीहरू बताउँछन् ।

तर उनलाई गृह मन्त्रालयले संरक्षण नै गर्दै आएको छ । भिजिट भिसा प्रकरण बाहिरिएपछि गृहमन्त्री रमेश लेखकले एक सामान्य कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा किन दिनु पर्ने भन्दै उल्टै प्रश्न गरेका थिए । तर गृहमन्त्रीले भनेजस्तो तिर्थ भट्टराई सामान्य कर्मचारी थिएनन्, त्यसका प्रमाण भारतले खोजीको सूचिमा राखेका सुन तस्करी देखि विश्नाेई समूहका व्यक्तिको रेकर्ड नै नराखी उडाउँदा समेत गृह मन्त्रालयले कारबाही गर्ने आँट गरेन । किनकि उनी सामान्य कर्मचारी थिएनन्, गृहमन्त्रीले पठाएका व्यक्ति थिए । 

अझ तिर्थ भट्टराई सामान्य कर्मचारी थिएनन् भन्ने अर्को प्रमाण गृह मन्त्रालयमै रहेको गृह स्रोत बताउँछ । अख्तियारले अध्यागमनका सहसचिव भट्टराईलाई नै पक्राउ गर्न लागेको सूचना पाएपछि जेठ ६ गते साँझ ६ बजे देखि ८ बजेसम्म गृहमन्त्री रमेश लेखकले सहसचिव भट्टराईलाई आफ्नै कार्यकक्षमा बोलाएर मिटिङ गरेका थिए । गृहस्रोतका अनुसार उक्त दिनको सिसिटिभी फुटेजमा भट्टराई कार्यकक्ष छिरेको रेकर्ड रहेको छ । उक्त छलफलपछि राति ८ बजे पछि मात्रै भट्टराईलाई अध्यागमनबाट गृह मन्त्रालय तानिएको थियो ।

तिर्थ भट्टराई माथि अनुसन्धान हुँदै गर्दा गृहमन्त्री लेखकको निजी सचिवालय माथि समेत प्रश्न उठिरहेको छ । गृह मन्त्रीका स्वकीय सचिव बद्री तिवारी देखि कर्मचारी प्रशासन महाशाखाका सहसचिव छवि रिजालको भूमिका माथि समेत भिजिट भिसा प्रकरणमा अनुसन्धान हुनुपर्ने गृह मन्त्रालयकै अधिकारीहरु बताउँछन् । 

बद्री तिवारी यस अघि २०६३ सालमा लेखक श्रम मन्त्री हुँदा पनि निजी सचिव बनेका थिए । पछि उनी २०७४ र २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव बनेका थिए । अहिले फेरी उनै तिवारी गृह मन्त्रीको लेखकको निजी सचिवका रुपमा छन् । 

यस्तै प्रशासन महाशाखाका छवि रिजाल माथि पनि प्रश्न उठेको छ । २०७३ सालमा रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा निजी सचिव बसेका उनी अहिले गृह मन्त्रालयमा मन्त्रीसँग प्रत्यक्ष सरोकार राख्ने र कर्मचारी खटनपटनमा मुख्य भूमिका हुने प्रशासन महाशाखामा छन् । 

यही महाशाखाबाट विमानस्थलको अध्यागमनमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको छ । गृह मन्त्रालयका अधिकारीहरूलाई मोटो रकम बुझाएर भए पनि अधिकृतहरू अध्यागमन जान चाहन्छन् । मन्त्रालयका अधिकारीहरू पनि आफ्नो भाग पाउने भएपछि दरबन्दीको हिसाबकिताब नै नगरी जति पनि कर्मचारी पठाइरहेका छन् । अहिले पनि विमानस्थलमा १२१ जना अधिकृतको दरबन्दी छ तर १ सय ४० जना भन्दा धेरै अधिकृतले अध्यागमनमा काम गर्छन् । यस्तै जम्मा ९ जना नायब सुब्बाका दरबन्दी रहेको अध्यागमनमा ३० जना नासु रहेका छन् । सोही कारण प्रधानमन्त्रीको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गृह सचिव गोकर्णमणि दुवाडीलाई कर्मचारी व्यवस्थापन गर्न र दरबन्दी भन्दा बढी पठाइएका कर्मचारीको विवरण खुलाउन चेतावनीयुक्त पत्र पठाएको छ । 

उल्लिखित आधारले देखाउँछ, गृह मन्त्रालयको संरक्षणमा अध्यागमनमा सेटिङ मैलाएको हो । 

यति मात्रै होइन, अध्यागमनमा यस्तो सेटिङ भइरहेको विषयमा अख्तियारले ९ पटकसम्म गृह मन्त्रालयलाई पत्र लेखेको थियो, तर त्यसको जवाफ गृह मन्त्रालयले फर्काएन । साथै हेल्लो सरकारबाट आएका गुनासोलाई समेत कानुन सम्मत काम भइरहेको भन्दै बन्द गरिदियो । 

यति मात्रै होइन, अख्तियारमा दरबन्दी रहेको डिआइजीको समेत सरुवा गरेर मन्त्री लेखकले थप आलोचना खेपे । 

अहिले यो विषयमा अख्तियारमा कर्मचारी र प्रहरीले नै अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका लागि प्रमाण खोज्ने देखी मानिसहरूलाई उपस्थित गराउनसम्म प्रहरीले भूमिका खेलेको हुन्छ । 

अहिले प्रतिपक्ष दलहरूले गृहमन्त्री लेखककै भूमिका माथि अनुसन्धान गर्नु पर्ने माग गरिरहेको बेला उनले अख्तियारका डिआइजी हिमालयकुमार श्रेष्ठलाई सरुवा गराएर भर्खरै डिआइजीमा बढुवा भएका ओम रानालाई अख्तियारमा पठाएका थिए । 

तर उक्त निर्णय सार्वजनिक भएको केहि समयमै तीव्र आलोचना भएपछि गृहमन्त्रीले तत्कालै निर्णय सच्चाएका थिए । 

अहिले भिजिट भिसाक प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने भन्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । नेकपा माओवादीले सुरुमा राजीनामा दिनु पर्ने अडान लिएपनि अहिले भने छानबिन गर्ने वाचा गरे हुने भन्न थालेको छ । 

तर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने सत्तापक्षलाई भिटिज भिसा प्रकरणमा ५ बुँदे प्रस्ताव राख्दै ती प्रस्तावमा सहमति भए मात्रै संसद् खोल्ने बताउँदै आएको छ । 

तर सत्तापक्ष भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै कनेक्सन नरहेको, कर्मचारीकाे गल्तीमा मन्त्रीले राजीनामा दिनु नपर्ने, कुनै हालतमा राजीनामा नदिइने तथा छानबिन समितिहरू पनि नबन्ने अडान लिइरहेको छ। 

संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले आफू निर्दोष रहेको भन्दै आफूले पनि न्याय पाउनु पर्ने बताएका थिए । 

यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए, न आफूमाथि छानबिन गर्न आँट देखाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
अनेरास्ववियुको अध्यक्षमा ७ मतको अन्तरले डा.सुजन कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा ७ मतको अन्तरले डा.सुजन कडरिया निर्वाचित

कडरियालाई अध्यक्ष मण्डलले नै सहमतीमा अध्यक्ष बनाउन प्रस्ताव गरेको थियो । तर अध्यक्ष मण्डलको प्रस्ताव अस्विकार गर्दै पौडेलले निर्वाचन प्रक्रियामा जानुपर्ने अडान लिएका थिए । त्यसपछि मतदान भएको...
यी हुन् दुर्गा प्रसाईँसहित थुनामा पठाउन आदेश भएका ७ जना, ३२ जना धरौटीमा छुटे(सूचीसहित)

यी हुन् दुर्गा प्रसाईँसहित थुनामा पठाउन आदेश भएका ७ जना, ३२ जना धरौटीमा छुटे(सूचीसहित)

इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही,डण्डपाणी रेग्मी, शुसिल बराल,केशब बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।  अन्य ३२ जनालाई...
तीनकुने प्रकरणमा दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि  थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

तीनकुने प्रकरणमा दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केहि निजी घर,...
दुुई घण्टासम्म घेराबन्दीपछि पत्रकारहरुले प्रतिवाद गर्दै उद्धार गरे, घरमा आएर प्रहरीले भिडियो खिचे

दुुई घण्टासम्म घेराबन्दीपछि पत्रकारहरुले प्रतिवाद गर्दै उद्धार गरे, घरमा आएर प्रहरीले भिडियो खिचे

‘हामी त्यहाँ पुुग्दा प्रहरीको २ वटा भ्यान बागमती नदीको खोला छेउमा र दुुई वटा भ्यान ट्राभल्स अघि थियो’ लम्सालले सिधाकुरासँग फोनमा भने । अर्का पत्रकार बैकुण्ठराज पराजुलीकाअनुसार साढे...