नेभिगेशन

समाज

वीरगन्जका मेयर राजेशमानको फण्डा !

संघले पठाएका कर्मचारीलाई वीरगञ्जको ढोका बन्द

वीरगञ्ज। मधेश प्रदेशकै एकमात्र महानगर– वीरगञ्ज महानगरपालिका । वीरगन्जको आफ्नै इतिहास छ, आफ्नै महत्व छ, आफ्नै विशेषता छन् ।

वीरगञ्जले पछिल्लो पटक एक अर्को विशेषता पनि थपेको छ र त्यो हो, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनै नदिने महानगरपालिका । वीरगञ्जका मेयर छन्– राजेशमान सिंह । यिनै मेयरका कारण अहिले वीरगन्ज र संघ सरकारबीच सम्बन्ध चिसिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


मेयर राजेशमान सिंह आफू अनुकूल प्रमुख प्रशासकीय खोज्छन् । संघले पठाएका कर्मचारीलाई हाजिर हुनै दिँदैनन् । सिंहदरबारले पठाएका कर्मचारी वीरगञ्ज पुग्दा कार्यालयमा ताला लगाइदिन्छन् । सिंहदरबारलाई उल्टै पत्र लेख्छन् र भन्छन्– महानगरसँग परामर्श गरेर वीरगन्ज बुझेको कर्मचारी पठाइदिनु होला । 


राजेशमान सिंह कर्मचारी रोज्छन् । यसको अर्थ अर्को पनि छ । उनी संघबाट गएका कोही पनि कर्मचारीलाई राख्न चाहँदैनन् र नगरपालिका मातहतकै कुनै एक कर्मचारीलाई निमित्त प्रमुख प्रशाकीय अधिकृत बनाइराख्न चाहन्छन्, आफूले भनेअनुसार नै काम गराउन चाहन्छन् । नियम कानुन सबै मिचेर आफ्नै तजबिजीमा महानगर चलाउन चाहन्छन् ।  


उनको यही चाहनाका कारण, विगत एक महिनादेखि वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । निमित्तको अधिकार खोसिएको छ, सरुवा भएर गएकाले हाजिर हुन पाएका छैनन् ।  आफैंले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन् अनि बाहिर भन्न लगाउँछन्– संघ सरकारका कारण वीरगन्जका कर्मचारीले तलब पनि खान पाएनन् । एकातिर संघ सरकारले उनले रोजेका कर्मचारीको अधिकार रद्द गरिदिएको छ, अर्कोतिर मेयर राजेशमानविरुद्ध अदालतमा चार चार वटा मुद्दा दायर भएको छ ।  

उनको दाबी कति सही, कति गलत ?
खासमा वीरगन्ज प्रमुख प्रशासकीय अधिकृतविहीन भएको डेढ वर्ष भयो । डेढ वर्षदेखि नै राजेशमान सिंहले आफूखुसी नै महानगर चलाइरहेका छन् । २०८१ मंसिरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको सरुवा भएपछि वीरगञ्ज महानगर निमित्तको भरमा चलिरहेको छ । मातृका भट्टराईको सरुवापछि राजेशमानले आफूअनुकूलको कर्मचारी खोजिरहे । महानगरमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत हुन्छन् । सहसचिव तहका कर्मचारीको सरुवा मन्त्रिपरिषदले गर्छ । तर, राजेशमानले राजनीतिक पहुँचका आधारमा संघबाट कुनै कर्मचारी लैजान मानेनन् । 


उनले सिंहदरबारबाट अरु कोही पनि कर्मचारी लैजान नमान्नुको कारण हो– उनी त्यही महानगरका दशौं तहका कर्मचारी अरविन्दलाल कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन चाहन्थे । उनको चाहनाअनुसार तत्कालीन सरकारले २०८१ मंसिर २३ मा उनै कर्णलाई आर्थिक तथा प्रशासनिक अधिकार दियो । त्यसैका आधारमा, राजेशमानको चाहनामा कर्णले महानगर चलाइरहे । यो क्रम २०८२ फागुन ११ सम्म चलिरह्यो ।


जब २०८२ फागुन १२ गते तत्कालीन सुशीला कार्की सरकारले सहसचिव रेशमलाल कँडेललाई वीरगन्जको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिदियो, राजेशमानले नयाँ लफडा सुरु गरे । 


मन्त्रिपरिषदले सरुवा गरेपछि कँडेल वीरगन्ज हानिए । राजेशमान कँडेललाई लैजान चाहँदैनथे । संघ सरकारले पनि उनीसँग परामर्श गरेर कँडेललाई सरुवा गरेको थिएन । हरेक स्थानीय तहका प्रमुखसँग छलफल गरेर प्रशासकीय अधिकृत पठाउन सम्भव पनि हुँदैन । हो, यही निहुँमा, आफूसँग सल्लाह नै नगरी प्रशासकीय अधिकृत खटाएको निहुँमा राजेशमानले कँडेललाई हाजिर हुन दिएनन् । कँडेल महानगरको कार्यालयमा हाजिर हुन पुग्दा उनको कार्यकक्षमा ताला लगाइयो । राजेशमानले कँडेलसँग भेटसमेत गरेनन् । कँडेल न यता न उताका भए । 


यति मात्रै होइन, गएको चैत २५ मा राजेशमानले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चिठी लेखे । उनले पत्रमा भनेका थिए– कँडेललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा सुरुवा गर्ने उक्त निर्णयलाई पुनर्विचार गरी महानगरपालिकासँग आवश्यक समन्वय र परामर्श पश्चात मात्र प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था गरियोस् ।  


कँडेललाई महानगर पठाउँदा सुशीला कार्की सरकार थियो । राजेशमानले पुनर्विचार गरियोस् भनेर पत्र लेख्दा बालेन सरकार आइसकेको थियो र प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनिसकेकी थिइन् । 


प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै देशभरका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने अभियान नै चलाइन् । केही नयाँ सरुवा गरिन्, अनि यसअघि नै खटाइएकालाई तत्काल खटाइएको ठाउँमा हाजिर हुन भनिन् । यसैमा परे, रेशमलाल कँडेल पनि । 


सरकारले सबै पालिकामा प्रशासकीय अधिकृतको व्यवस्था गर्नुको मुख्य उद्देश्य हो– सबै नागरिकमा सहज रुपमा सेवा प्रवाह गर्नु । प्रशासकीय अधिकृत नहुँदा सरकारी सेवा प्रवाहमै समस्या देखिएको गुनासो बढेपछि वर्तमान सरकारले यो नीति लिएको हो । तर, कर्मचारी रोज्ने मेयरको प्रवृत्तिका कारण वीरगञ्जमा कँडेलले हाजिर गर्न पाएनन् । 


सरकारले कँडेललाई भन्यो– खटाइएको ठाउँमा हाजिर हुनु । तर, बीरगञ्जका मेयरले हाजिर हुनै दिएनन् । उनले कर्णबाटै काम चलाउँदै गए । ठीक त्यही समयमा २०८३ वैशाख ४ गते, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यसअघि कर्णलाई दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिदियो र त्यही व्यवहोराको पत्र वीरगञ्ज महानगरपालिकामा पठायो ।

यसपछि हो, कर्णले आर्थिक तथा प्रशासनिक सम्बन्धी निर्णय गर्न नपाएको । अहिले राजेशमानले भन्ने गरेका छन्– संघ सरकारले असहयोग गर्यो, महानगरको आर्थिक गतिविधि ठप्प भयो, कर्मचारीलाई तलब खुवाउन समेत सकिएन । सरसर्ती हेर्दा नै बुझिन्छ– यो परिस्थिति स्वयम् राजेशमानले नै सिर्जना गरेका हुन् । राजेशमानले कँडेललाई हाजिर गराएको भए कँडेलले नै आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्थे, महानगरको खाता चलिहाल्थ्यो, समस्या नै हुँदैनथ्यो ।


यहीँ थपिहालौं, मेयर राजेशमानले भन्ने गरेका छन्– पहिले बालेन काठमाडौं महानगरको मेयर हुँदा तत्कालीन संघ सरकारले बालेनलाई जुन असहयोग गरेको थियो, अहिले बालेन प्रधानमन्त्री हुँदा आफूलाई त्यस्तै गरिरहेका छन् । उनको दाबी छ– त्यतिबेलाको रिस बालेनले अहिले आफूमाथि पोखे ।
के पहिले काठमाडौंको मयेर हुँदा बालेनले जुन समस्या भोगेका थिए, अहिले वीरगन्जका मेयर राजेशमानले दाबी गरेको समस्या उस्तै हो त ? अब यसबारे पनि कुरा बुझौं । 


२०८१ पुसमा, काठमाडौं महानगरका तत्कालीन मेयर बालेन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीच विवाद देखियो । विवादको कारण थियो– काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यु टावरको नक्सा पास । निर्माण कम्पनीले भ्युटावरको पूर्ववत नक्सा परिवर्तन गरेपछि महानगरले त्यसमा रोक लगाएको थियो । मेयरले रोक लगाए, गुरागाईंले पछि पास गरिदिए । त्यही विषयमा महानगरले गुरागाईंमाथि छानबिन गर्न समिति बनायो । 


समितिले छानबिन गरिरहँदा बालेनले गुरागाईंलाई महानगरमा प्रवेश दिएनन् । उनले संघ सरकारलाई पत्र नै लेखेर गुरागाईंको सरुवा गरिदिन र अर्को प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरे । तर, बालेनको त्यो आग्रहलाई तत्कालीन संघ सरकारले सुनुवाइ गरेन । त्यसको असर महानगरको आर्थिक तथा प्रशासनिक क्षेत्रमा पर्यो, केही महिना कर्मचारीको तलब नै रोकियो । पछि उपमेयर सुनिता डंगोलसहितका पदाधिकारीले उनै सरोज गुरागाईंलाई जोरजबरजस्ती हाजिर गराए । 


काठमाडौंमा बालेनको अडान सुशासनसँग सम्बन्धित थियो । छानबिनसँग सम्बन्धित थियो । छानबिन निष्कर्षमा नपुग्दासम्म अर्को व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए । तर, बीरगन्जमा राजेशमानको मुद्दा व्यक्तिसँग सम्बन्धित छ । राजेशमान अझै भनिरहेका छन्– वीरगन्जको माटो बुझेको कर्मचारी पठाउनु पर्यो । के नेपालका सहसचिव स्तरका कर्मचारीले कुन ठाउँको अवस्था के छ भनेर बुझेका छैनन् होला र ? 
अब आफैं भन्नुहोस्– त्यतिबेलाको काठमाडौं महानगरको अवस्था र अहिले वीरगन्जको अवस्था समान हो ? पक्कै पनि होइन । बालेनले विधि रोजेका थिए, अहिले राजेशमानले व्यक्ति रोजेका छन् । 


राजेशमानले पहिले कँडेललाई हाजिर गराएनन्, पछि फिर्ता गर्न पत्र लेखे । अब उनले संघ सरकारसामु दबाब सिर्जना गर्न खोज्दैछन् । त्यसका लागि महानगरका वडाध्यक्षहरुसँग साथ खोजिरहेका छन् । उनले पटक पटक वडाध्यक्षहरुसँग छलफल गरेर, संघ सरकारलाई सिंहदरबारमै पुगेर दबाब दिन खोज्दैछन् । 


राजेशमानले अहिले एक जना कर्मचारीका लागि संघ सरकारमाथि दबाब सिर्जना गर्न खोजिरहेका छन् । अवस्था यस्तो छ कि, अहिले उनै राजेशमान कानुनी दबाबमा छन् । 


केही दिनअघि मात्रै पर्सा जिल्ला अदालतमा उनै मेयरविरुद्ध ४ वटा मुद्दा दायर भएको छ । राजेशमानले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो । लिखत किर्तेमा २ र नागरिकता किर्तेमा २ गरी चार वटा मुद्दा दायर भएका छन् । यदि यी मुद्दामा दोषी ठहरिए, उनको पद त जाने छै, त्योसँगै उनी जेल पनि जानुपर्ने हुनसक्छ । आफैं यस्तो कानुनी र नैतिक दबाबमा रहेका राजेशमानले संघ सरकारसँग जुध्न खोजिरहेका छन् । एक जना कर्मचारीमा देखिएको मेयर राजेशमान सिंहको लोभ र हठले महानगरको काम प्रभावित हुन थालिसकेको छ । यही अवस्था लम्बिँदै गयो भने वीरगञ्ज महानगरवासीले समेत त्यसको असर भोग्नुपर्ने छ । 


संघ सरकार नयाँ बजेटको तयारीमा छ । संघ सरकारले जेठ १५ मा नयाँ बजेट ल्याउँछ । त्यसपछि असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्छ । अनि प्रदेश सरकारहरुले बजेट ल्याएको दश दिनभित्र अर्थात असार १० गतेभित्र स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । वीरगञ्जका मेयर राजेशमान सिंहले जुन हठ देखाइरहेका छन्, त्यसले महानगरको बजेट निर्माणमा समेत असर पर्न सक्ने महानगरकै कर्मचारी र अन्य जनप्रतिनिधिले समेत बताउन थालेका छन् । 


तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेको सहर मानिन्छ– वीरगन्ज । भारतसँगको सबैभन्दा ठूलो नाका पनि वीरगन्जमै पर्छ । वीरगन्ज महानगरको नारा छ– ‘औद्योगिक तथा व्यापारिक शहर ः सुसंस्कृत, सभ्य हाम्रो वीरगञ्ज महानगर ।’ के महानगरको यो नारा र मेयर राजेशमान सिंहको व्यवहारबीच मेल खान्छ त ? 

प्रतिक्रिया दिनुहोस्
थप समाज
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
विश्वकपको रोमाञ्चक १० क्षण

विश्वकपको रोमाञ्चक १० क्षण