काठमाडौँ । भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत र उद्धारमा सरकारसँग हातेमालो गर्न सबै दलहरु तयार देखिएका छन् ।
सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले आज सिंहदबारमा आह्वान गरेको सर्वदलीय सहभागी विभिन्न दलका शीर्ष नेताहरुले बाढी प्रभावितहरुको राहत र उद्धारमा सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रस्तुत छ सर्वदलीय बैठकमा नेताहरुले राखेको धारणा
गगन थापा (सभापति, नेपाली कांग्रेस)
– शुरुका केही दिनमा विपद्सम्बन्धी समाचार र विषयले प्राथमिकता पाएको भए पनि केही समयपछि यो विषय ओझेलमा पर्न सक्ने भएकाले दीर्घकालीन रूपमा यसलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्छ।
– हामीले जलवायु परिवर्तन तथा हिमताल विस्फोटरहिमाली विपद्का जोखिमलाई लामो समयदेखि पर्याप्त गम्भीरताका साथ लिएका छैनौँ।
– विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दलहरूलाई आ–आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्छ।
पुष्पकमल दाहाल (संयोजक, नेकपा)
– जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउन आवश्यक छ।
– यस विपद्को समयमा सबै राजनीतिक दलहरू एकजुट छन् भन्ने स्पष्ट सन्देश जनतामाझ पुर्याउन आवश्यक छ।
– विपद्सँग जुध्ने सरकारको प्रयासमा हामी पूर्ण रूपमा साथमा छौँ।
– विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सक्ने बनाउनुपर्छ।
शंकर पोखरेल (महासचिव, नेकपा एमाले)
– विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार र प्रभावकारी रूपमा प्रस्तुत हुन आवश्यक छ।
– बेपत्ता तथा मृत्यु भएका व्यक्तिहरूको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्छ।
– उद्धार कार्यलाई थप तीव्र, समन्वित र प्रभावकारी बनाउनुपर्छ।
– जनजीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधारहरू तत्काल मर्मत तथा पुनःस्थापना गर्नुपर्छ।
– खानेपानी तथा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गरी नियमित रूपमा उपलब्ध गराउनुपर्छ।
– विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले सामना गरिरहेको यस्तो विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्छ।
– विपद् पूर्वसूचना प्रणाली किन प्रभावकारी रूपमा काम गर्न सकेन भन्ने विषयमा गम्भीर समीक्षा र अनुसन्धान आवश्यक छ।
– विपद्का सम्बन्धमा विभिन्न देशबीच सूचना आदान–प्रदान तथा समन्वय गर्ने प्रभावकारी संयन्त्र विकास गर्नुपर्छ।
– हामी स्वयंसेवक परिचालन गर्न तयार छौँस सरकारले आवश्यकताअनुसार स्वयंसेवक परिचालनका लागि औपचारिक आह्वान गर्नुपर्छ।
ध्रुव राई (नेता, श्रम संस्कृति पार्टी)
– विपद्का कारण सञ्चार सम्पर्क विच्छेद भएको अवस्था तत्काल सम्बोधन गरी सञ्चार सेवा पुनःस्थापना गर्नुपर्छ।
राजेन्द्र लिङ्देन (अध्यक्ष, राप्रपा)
– उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्छ।
– राहत, प्रतिकार्य तथा उद्धारका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्छ।
– प्रभावित तथा विस्थापित नागरिकका लागि अस्थायी पुनर्स्थापना तथा पुनर्वासको व्यवस्था तत्काल सुरु गर्नुपर्छ।
– चीनबाट प्राप्त पूर्वसूचनासमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिएकाले विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्नुपर्छ।
महन्थ ठाकुर र उपेन्द्र यादव (जनता समाजवादी पार्टी नेपाल)
– विपद्को यस कठिन घडीमा सरकारलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ।
चन्दन सिंह, जनमत पार्टी
– नागढुंगा क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन तथा आवागमनको समस्या तत्काल समाधान गर्न आवश्यक छ।
सुदन गुरुङ (गृहमन्त्री)
– सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार तथा सुरक्षा कार्यका लागि सुरक्षा निकायलाई परिचालन गरिएको छ।
– पूर्वाधारमा भएको क्षतिको परिमाण अत्यन्त ठूलो छ र क्षतिको यकिन विवरण संकलन गर्न चुनौतीपूर्ण अवस्था रहेको छ।
– विभिन्न माध्यम तथा संयन्त्र परिचालन गरी मानवीय क्षति तथा बेपत्ता व्यक्तिहरूको यकिन विवरण पहिचान गर्ने प्रयास भइरहेको छ।
– स्वयंसेवक परिचालनका लागि सबै राजनीतिक दल तथा पक्षबाट व्यक्त गरिएको तत्परता प्रशंसनीय छ।
– आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान तथा पूर्वानुमानका लागि विशेष टोली गठन गर्न आवश्यक छ।
– सञ्चार तथा आवागमनको सम्पर्क पुनःस्थापना गर्न विशेष टोली परिचालन गरिएको छ।
स्वर्णिम वाग्ले (अर्थमन्त्री)
– रसुवागढी भन्सार क्षेत्रमा १५ जना व्यक्ति बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।
– करिब ७०० मेगावाट क्षमताका विद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ।
– सबै मन्त्रालयहरूले आ–आफ्नो जिम्मेवारी, क्षमता र कार्यक्षेत्रअनुसार विपद् प्रतिकार्यमा सक्रिय रूपमा काम गरिरहेका छन्।
– विश्व बैंकले १७ करोड अमेरिकी डलर बराबरको सहयोगरबीमा सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
– चीनले पनि विपद् प्रभावित नेपाललाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
– संयुक्त राज्य अमेरिकाबाट ५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध हुने भएको छ।
– एसियाली विकास बैंकबाट ५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध हुने भएको छ।
– भारतले सामग्री तथा आवश्यक उपकरणसहित सहयोग उपलब्ध गराउने भएको छ।
– संयुक्त राष्ट्रसंघका महासचिवलगायत अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति ठूलो ऐक्यबद्धता तथा सहयोगको प्रतिबद्धता व्यक्त भएको छ।
– प्रभावित क्षेत्र तथा अर्थतन्त्रको पुनःस्थापनाका लागि तत्काल आर्थिक प्याकेज घोषणारकार्यान्वयन गरिनेछ।
– चीनसँगको व्यापार तथा आवागमन सहज बनाउन वैकल्पिक सीमा नाका सञ्चालनमा ल्याउने तयारी गरिनेछ।
रवि लामिछाने(सभापति, रास्वपा)
– यस राष्ट्रिय विपद्को गम्भीरतालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक प्रस्तुत भएकोमा सबै राजनीतिक दलप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु।
– यस विपद्सँग प्रभावकारी रूपमा जुध्न सबै राजनीतिक दलको साझा धारणा र प्रतिबद्धता समेटिएको संयुक्त वक्तव्य जारी गरिनेछ।