नेभिगेशन
समाज

मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

बागमती । मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुरगढी गाउँपालिका–८ स्थित बुढीचौर । प्रकृतिको मनोरम सुन्दरतासँगै गाउँले जीवन, शान्त किसिमको वातावरण र स्थानीय संस्कृतिले यहाँको महिमा र गरिमालाई अझै बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजारबाट करिब २५ किलोमिटरको दूरीमा रहेको यो गाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र शान्त वातावरणका कारण पछिल्ला वर्षमा मकवानपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको स्थानीयवासी एवं एकान्तकुना सिम होटेलका सञ्चालक गगनकुमार गोलेले बताए । उनका अनुसार पछिल्लो समयमा प्रकृतिको सुन्दरतालाई नजिकबाट अनुभव लिन चाहने, सहरी कोलाहलबाट टाढा शान्त वातावरणमा रमाउन खोज्ने तथा गाउँ पर्यटनको प्रत्यक्ष अनुभव लिन चाहने जो कोही पर्यटकका लागि बुढीचौर रोजाइमा पर्दै गएको छ ।

Marvel
Extreme Energy

यस क्षेत्रको प्राकृतिक सुन्दरता, खुला भूभाग, हरियाली, स्थानीय जनजीवन र भौगोलिक अवस्थितिले यहाँको पर्यटकीय आकर्षण बढाएको उनको भनाइ छ । यस क्षेत्रको बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी प्रदेश तथा स्थानीय तहबाट निरन्तर प्रयासहरू भइरहेको मकवानपुरगढी गाउँपालिका–८ का वडाध्यक्ष कुमार घिसिङले बताए ।

बुढीचौरको पर्यटकीय विकासका लागि समय–समयमा प्रदेश तथा स्थानीय तहबाट बजेट विनियोजन भई पूर्वाधार विकासका कामहरू अघि बढाइएको उनले जानकारी दिए । पछिल्लो समयमा कुल रु एक करोड ९२ लाख लागतमा यहाँको खुँडेधार पदमार्ग क्षेत्रमा थप रेलिङलगायतका संरचना निर्माण गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार बुढीचौरस्थित ऋषेश्वर गुफा र खुँडेधार पदमार्ग पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका छन् । यहाँस्थित प्राचीन एवं धार्मिक महत्त्वको ऋषेश्वर गुफा, खुँडेधार पदमार्ग र माथि छत्रेडाँडामा रहेको पाथिभरा प्रचुर पर्यटकीय सम्भावना बोकेका स्थल भएको उनको भनाइ छ ।

ऋषेश्वर गुफाभित्र रहेको महादेवको मन्दिरलाई व्यवस्थित बनाउने, खुँडेधार पदमार्गमा सिँढी तथा फलामे बार र तारजाली लगाई पर्यटकलाई हिँड्न सजिलो बनाउनेजस्ता कामहरू अघि बढिसकेका छन् । यहाँको ऋषेश्वर गुफा धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण मानिन्छ । यहाँ आएर दर्शन गरेमा मनोवाञ्छित फल प्राप्त हुने विश्वासले पनि यहाँको महिमा अझै बढाएको छ ।

ऐतिहासिक रूपमा खुँडेधार पदमार्गलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले प्रयोग गरेको सम्भावित गुप्त मार्गका रूपमा पनि चर्चा गर्ने गरिएको छ । यस क्षेत्रमा रहेको सामरी खोलाको मुहान इपा खहरे खोलासँगै ठाउँ–ठाउँमा भेटिने प्राकृतिक झरनाहरूले यहाँको आकर्षणलाई थप बढाएका छन् ।

बस्ती पातलो देखिए पनि मौसमअनुसार गरिने खेतीपाती, क्षण–क्षणमा बदलिने मौसम आदि यहाँका विशिष्टता हुन् । इपा खहरे खोलाको पानीका कारण प्राप्त सिँचाइको सुविधाले यहाँका स्थानीयले तरकारी तथा फलफूल उत्पादनलाई पनि जोड दिँदै आएका छन् । स्थानीय उत्पादनलाई यहाँ आउने पर्यटकले किनेर लगिदिने भएकाले स्थानीयको आयआर्जन पनि बढाएको छ । पछिल्ला वर्षमा यहाँ उत्पादन हुने गोलभेँडा, काउली, बन्दागोभी, आलु र सागसब्जी हेटौँडा बजारसम्म पुग्ने गरेको छ ।

बढ्दो पर्यटकीय आकर्षणसँगै लोकल कुखुरा, खसीबोका बिक्री हुनुका साथै मौसमअनुसार काँक्रो, दही, दूध र मोही बिक्री पनि स्थानीयवासीको आम्दानीको महत्त्वपूर्ण विकल्प बनेको स्थानीयवासीले बताए । गाउँको छेउ भएर बग्ने इपा खहरे खोलामा असला माछा पाइने भए पनि पछिल्ला समयमा जथाभावी करेन्ट लगाएर माछा मार्ने क्रमले उक्त सङ्ख्यामा कमी आएको स्थानीय युवाहरूको गुनासो छ । करेन्ट लगाएर मार्ने काम रोक्न सकिएमा खोलामा माछाको उत्पादन बढ्ने र यहाँ आउने पर्यटकलाई असला माछाका परिकारहरू खुवाउन सकिने युवा व्यवसायी गगनकुमार गोलेको भनाइ छ ।

प्राकृतिक सौन्दर्यसँगै यहाँको ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र साहसिक पर्यटनका सम्भावनालाई जोड्न सकिएमा मकवानपुरमा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमको गन्तव्यका रूपमा बुढीचौर स्थापित बन्ने हिमालयन राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजु थापामगरले बताए । तराईको रापसँगै हेटौँडा बजारको व्यस्तताबाट शान्तिपूर्ण गन्तव्य खोज्नेका लागि बजारबाट करिब २५ किलोमिटर दूरीमा रहेको बुढीचौर राम्रो गन्तव्य बन्ने देखिएको उनले बताए । यहाँको पूर्वाधार विकास एवं प्रवर्द्धनका लागि स्थानीयवासीसँगै तीनवटै तहका सरकारको सक्रियता अपरिहार्य हुने बताउँदै उनले यस्ता गन्तव्यको प्रवर्द्धनलाई राज्यले जोड दिनुपर्ने बताए ।

बुढीचौरको प्रवर्द्धनलाई लक्षित गरेर हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले हालै यस क्षेत्रमा प्रवर्द्धनात्मक साइकल यात्रा (दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइड २०८३) सम्पन्न गरेको उनले जानकारी दिए । मकवानपुरसहित बारा जिल्लाका समेत गरी १५० जनाको सङ्ख्यामा स्वयंसेवकसहित साइकलयात्रीहरू बुढीचौर पुगेको उनले बताए । “यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्य पर्यटकलाई लोभ्याउने खालको छ”, उनले भने ।

पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमार्फत चर्चामा आउन थालेसँगै यस स्थानमा पर्यटकीय आकर्षण ह्वात्तै बढेको सुकौराका स्थानीयवासी सुनबहादुर रुम्बाले बताए । पछिल्लो दुई वर्षयता बुढीचौरलाई लक्षित गरी आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उनले बताए । “बुढीचौर मकवानपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ”, उनले भने, “यहाँको प्राकृतिक सुन्दरता, ग्रामीण परिवेश, स्थानीय संस्कृति र शान्त वातावरणका कारण यहाँ धेरै पर्यटकीय सम्भावना रहेका छन् ।”

पर्यटकलाई गरिने आतिथ्यता एवं व्यवहारले दिगो पर्यटनका लागि योगदान पुर्‍याउने हुँदा यसतर्फ स्थानीयवासी जागरुक बन्नु अपरिहार्य भएको उनले बताए । यहाँ जाने बाटोलाई थप व्यवस्थित गरिनुपर्ने बताउँदै उनले रातमा बस्न चाहने पर्यटकका लागि होमस्टेहरूको विकास अपरिहार्य देखिएको बताए ।

पछिल्लो समयमा गन्तव्यको प्रचारप्रसारका लागि प्रविधिको प्रयोगका धेरै सम्भावना भएको उल्लेख गर्दै उनले त्यसको पनि भरपूर उपयोग गर्न स्थानीयवासीलाई सुझाव दिए । “यहाँको बढ्दो पर्यटकीय आकर्षणलाई दिगो र व्यवस्थित बनाउन योजनाबद्ध प्रचारप्रसारसमेत आवश्यक छ”, उनले भने, “पछिल्लो समयमा विकास भइरहेको सामाजिक सञ्जाल, पर्यटनसम्बन्धी वेबसाइट, डिजिटल भिडियो, फोटो, वृत्तचित्र तथा सञ्चारमाध्यमको अधिकतम उपयोग गर्नु आवश्यक छ ।” यहाँका तस्बिरसँगै आएका पर्यटकले व्यक्त गरेका धारणा तथा अनुभवलाई पर्यटन प्रवर्द्धनका सामग्रीका रूपमा उपयोग गर्न आग्रह गर्दै उनले भने, “कुनै पनि गन्तव्यको प्रवर्द्धनमा त्यहाँका स्थानीयवासी, स्थानीय तह, पर्यटन अभियन्ता सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ ।”

स्थानीयवासीका अनुसार पछिल्लो समयमा बुढीचौरमा दैनिक करिब २०० जनासम्म पर्यटक मोटरसाइकल, टाटा सुमोलगायतका सवारीसाधन लिएर पुग्ने गरेका छन् । घुम्नका लागि आएका पर्यटकले यहाँबाट देखिने प्राकृतिक भूदृश्यको मुक्तकण्ठले प्रशंसा गर्ने गरेको गुम्बा होटेलका सञ्चालक छिरिङ लामाले बताए । पर्यटकको बढ्दो आगमनलाई लक्षित गर्दै उनीहरूको इच्छाअनुसारका परिकारहरू बनाएर खुवाउने गरिएको उनले बताए । “हामीले यहाँ आउने पर्यटकलाई उनीहरूको इच्छाअनुसार मकै, फापर, कोदो, सिस्नो, निउरो आदिका परिकारहरू बनाएर खुवाउने गरेका छौँ”, उनले भने, “स्थानीय खेतबारीमा नै उत्पादन भएका अर्गानिक वस्तुका साथै यहाँबाट फर्कंदा पनि पर्यटकले कोसेलीका रूपमा स्थानीय उत्पादन किनेर लैजाने गरेका छन् ।”

राज्यले यहाँको सम्भावनालाई उजागर गर्ने गरी सडक लगायतका अत्यावश्यक पूर्वाधारलाई व्यवस्थित गर्न सकेमा यो मकवानपुरकै उत्कृष्ट गन्तव्य बन्ने र स्थानीयवासीको आयआर्जनको महत्त्वपूर्ण विकल्प बन्न सक्ने उनको भनाइ छ । बुढीचौरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदयात्रा (ट्रेकिङ), क्याम्पिङ, साइक्लिङ र फोटोग्राफीका पूर्वाधारसँगै खुँडेधार पदमार्गको स्तरोन्नति, सूचना केन्द्रको स्थापना, विश्रामस्थल, दृश्यावलोकन टावर (भ्यू टावर) र होमस्टे सञ्चालनमा सरकारले लगानी गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीले बताए ।

बुढीचौरको पर्यटकीय आकर्षणलाई उपयोग गर्न सकिएमा त्यसबाट स्थानीय युवाले आफ्नै गाउँमा रोजगारी तथा उद्यम गर्ने अवसर प्राप्त गर्न सक्ने हेटौँडा निवासी निर्जल पुडासैनीले बताए । बुढीचौरमाथि रहेको छत्रेडाँडामा चैत–वैशाखको समयमा ढकमक्क फुल्ने लालीगुराँस यस क्षेत्रको अर्को पर्यटकीय आकर्षण भएको बताउँदै उनले त्यसलाई पनि बुढीचौरको पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । बुढीचौरबाट करिब डेढ घण्टा पैदल यात्राबाट पुग्न सकिने छत्रेडाँडामा जाने पदमार्गलाई भने व्यवस्थित बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।

यहाँका स्थानीयवासीलाई पर्यटनसँग सम्बन्धित विभिन्न तालिम, पथप्रदर्शक प्रशिक्षण, आतिथ्यता, खानाका परिकार बनाउने तालिमसँगै सरसफाइ आदि व्यावहारिक पक्षका लागि तालिम दिने कुरालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । यहाँ उत्पादन गरिएका तरकारी, फलफूल, दूध, दही, घिउ, अचार, मह तथा अन्य कृषि उत्पादनको सहज बजारीकरण पनि पर्यटकको बढ्दो आगमनले सहज बनाएको स्थानीयवासीहरूको अनुभव छ । स्थानीय पालिकासँगै वडा कार्यालय, स्थानीयवासी, पर्यटन व्यवसायी, समुदाय, युवा समूह र विभिन्न सरोकारवाला निकायबीच सहकार्य गर्दै यहाँको दिगो पर्यटकीय विकासका लागि एकताबद्ध प्रयास अपरिहार्य भएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालय सिकाइ कि यातना केन्द्र ?

विद्यालय सिकाइ कि यातना केन्द्र ?

आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको...
मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीका समस्या बुझ्न शुक्रबार मधेस प्रदेशका तीन जिल्ला जाने भएकी छन्।
नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

जग्गाको नापजाँच सम्पन्न भएको १३ वर्षपछि रुपन्देहीको मायादेवी गाउँपालिकाका १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।
क्रिकेटर रोहित पौडेल  बाँधिए विवाह बन्धनमा

क्रिकेटर रोहित पौडेल बाँधिए विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।