नेभिगेशन
विचार
विचार

विद्यालय सिकाइ कि यातना केन्द्र ?

काठमाडौँ । काठमाडौँका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन्। जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन्। विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अँध्यारो भइसकेपछि मात्र घर फर्कनु अहिले सामान्य अभ्यासजस्तै बन्दै गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयको समय, पाठ्यपुस्तकको बोझ र सार्वजनिक बिदाका विषयमा बेलाबेला बहस तथा सरकारी निर्देशन आउने गरे पनि बिहानै विद्यालय बोलाउने र साँझ अबेरसम्म राख्ने प्रवृत्तिमा अपेक्षित सुधार हुन सकेको छैन। विशेषगरी दसैँ–तिहारपछि एसइई परीक्षाको तयारीका नाममा बिहानैदेखि अतिरिक्त कक्षा सञ्चालन गर्ने चलन सहरी क्षेत्रका संस्थागत विद्यालयमा व्यापक बन्दै गएको छ। यसले बालबालिकालाई विद्यालयमा बढी समय राख्नु नै गुणस्तरीय शिक्षाको प्रमाण हो भन्ने भ्रमसमेत छर्ने गरेको छ।

Marvel
Extreme Energy

एसइईको नतिजा राम्रो बनाउने नाममा विद्यार्थीलाई बिहानदेखि साँझसम्म विद्यालयमै राख्ने अभ्यासलाई कतिपय विद्यालयले ‘सेमी–होस्टेल’ को स्वरूप दिएका छन्। खाना, खाजा र अतिरिक्त कक्षाका नाममा अभिभावकबाट छुट्टै शुल्कसमेत लिने गरिएको छ। छोराछोरीको भविष्य राम्रो बनाउने अपेक्षामा अभिभावकहरू पनि यस्तो व्यवस्थाप्रति सहमत देखिन्छन् तर यसले निम्न तथा मध्यम आय भएका परिवारमा थप आर्थिक भार सिर्जना गरिरहेको छ। शिक्षा प्राप्त गर्ने अवसरलाई आर्थिक क्षमतासँग जोड्ने यस्तो अभ्यासले समान शैक्षिक अवसरको अवधारणामाथि प्रश्न उठाएको छ।

यसमा विद्यालयको आर्थिक पक्ष र शिक्षकको अतिरिक्त आम्दानीको विषय पनि जोडिएको छ। नियमित कक्षा सञ्चालनबाहेक दसैँदेखि एसइई परीक्षासम्म अतिरिक्त कक्षा चलाउने र त्यसबापत शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिने प्रचलन कतिपय विद्यालयमा छ। शिक्षकले अतिरिक्त समय दिएबापत पारिश्रमिक पाउनु अन्यथा होइन तर अतिरिक्त आम्दानी र विद्यालयको प्रतिष्ठालाई केन्द्रमा राखेर विद्यार्थीलाई लामो समयसम्म विद्यालयमा राख्ने प्रवृत्ति उचित हुन सक्दैन। शिक्षकको श्रमको सम्मान र विद्यार्थीको मनोसामाजिक स्वास्थ्यबीच सन्तुलन कायम गर्नु विद्यालय व्यवस्थापनको दायित्व हो।

रटाइ र ग्रेडको प्रतिस्पर्धा

आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको छ। विद्यार्थीले विषयवस्तु कति बुझे, त्यसलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छन् र नयाँ परिस्थितिमा कस्तो समस्या समाधान गर्न सक्छन् भन्नेभन्दा परीक्षामा कति अङ्क ल्याउँछन् भन्ने कुराले बढी महत्त्व पाएको देखिन्छ। यसरी सिकाइको उद्देश्य ज्ञान र सीप विकासबाट सरेर निश्चित प्रश्नको उत्तर घोक्ने र उच्च ग्रेड प्राप्त गर्ने प्रतिस्पर्धामा सीमित हुँदै गएको छ।

विद्यालयको प्रतिष्ठा र विद्यार्थी आकर्षित गर्ने माध्यमका रूपमा एसइईको नतिजालाई प्रयोग गर्ने प्रवृत्तिले यस समस्यालाई थप जटिल बनाएको छ। कक्षा १२ सम्म विद्यालय तह कायम भइसकेको अवस्थामा कक्षा १० को परीक्षालाई नै विद्यालयको गुणस्तर मापन गर्ने प्रमुख आधार बनाउनु कति उपयुक्त छ? एसइईको नतिजा महत्त्वपूर्ण भए पनि यसले विद्यालयको समग्र शैक्षिक उपलब्धि र विद्यार्थीको वास्तविक क्षमता पूर्ण रूपमा मापन गर्न सक्दैन। यही नतिजामुखी प्रतिस्पर्धाका कारण कमजोर ठानिएका विद्यार्थीलाई अर्को विद्यालयमा कक्षा ९ मै भर्ना गराउने वा प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिलाउनेजस्ता अभ्याससमेत देखिनु चिन्ताको विषय हो। विद्यार्थीको शैक्षिक प्रगतिको जिम्मेवारी लिनुपर्ने विद्यालयले नतिजा कमजोर आउन सक्ने विद्यार्थीलाई नै आफ्नो संस्थाको प्रतिष्ठाका लागि भार ठान्नु शैक्षिक नैतिकतासँग पटक्कै मेल खाँदैन।

बालबालिकाको सिकाइ क्षमता उमेर, रुचि, शारीरिक अवस्था, मानसिक परिपक्वता र व्यक्तिगत भिन्नताअनुसार फरक हुन्छ। सबै विद्यार्थीलाई एउटै समयतालिका, एउटै अभ्यास र एउटै उपलब्धिको अपेक्षामा बाँध्न सकिँदैन। बिहानैदेखि साँझसम्म विद्यालयमा राखेर लगातार पढाउनु नै प्रभावकारी सिकाइ हो भन्ने मान्यता बालमनोविज्ञान अनुकूल छैन। लामो समयसम्मको मानसिक श्रमपछि बालबालिकालाई पर्याप्त आराम, खेलकुद, मनोरञ्जन, पारिवारिक संवाद र स्वतन्त्र अध्ययनको अवसर पनि आवश्यक हुन्छ।

विशेषगरी किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि शारीरिक परिवर्तनसँगै भावनात्मक र सामाजिक विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। उनीहरूलाई आफ्नो रुचि पहिचान गर्ने, साथीहरूसँग घुलमिल हुने, सिर्जनात्मक गतिविधिमा सहभागी हुने र आफ्ना भावना व्यक्त गर्ने अवसर चाहिन्छ। एसइईको तयारीका नाममा यी सबै पक्षलाई गौण बनाइँदा विद्यार्थीमा थकान, तनाव, चिडचिडापन र आत्मविश्वासमा कमी आउन सक्छ। अपेक्षित नतिजा प्राप्त नभएमा हीनताबोध र असफलताको अनुभूति अझ गहिरिन सक्छ। यसबाट परीक्षाप्रतिको मात्र होइन, समग्र सिकाइप्रतिको रुचि नै कमजोर हुने जोखिम बढ्दछ।

बिहान ६ बजे विद्यालय पुगेका विद्यार्थी साँझ ६–७ बजे घर फर्किएपछि पनि ट्युसन, गृहकार्य र अभिभावकको अपेक्षाको दबाबमा रहनुपर्ने अवस्था छ। उनीहरूको दिनचर्यामा आफ्ना लागि समय नै नहुने स्थिति सिर्जना भएको छ। बालबालिकाले विद्यालयमा बिताएको समयको मात्रा बढ्दैमा सिकाइको गुणस्तर बढ्छ भन्ने हुँदैन, बरु थकित मस्तिष्कले नयाँ कुरा ग्रहण गर्न र त्यसलाई दीर्घकालसम्म स्मरण गर्न कठिनाइ अनुभव गर्न सक्छ। त्यसैले पढाइको अवधि मात्र होइन, सिकाइको वातावरण, विश्राम र शिक्षण विधिको प्रभावकारितालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।

जिपिएभन्दा महत्त्वपूर्ण जीवनोपयोगी सीप

एसइईमा चार जिपिए ल्याउने विद्यार्थी र नियमित तथा सन्तुलित अध्ययन गरेर ३.४५ आसपासको जिपिए प्राप्त गर्ने विद्यार्थीमध्ये माथिल्लो तहमा कसको उपलब्धि राम्रो हुन्छ भन्ने विषयमा पर्याप्त आधिकारिक अध्ययन भएको छैन। पङ्क्तिकारले भेटेका केही विद्यार्थीका अनुभवमा सन्तुलित ढङ्गले अध्ययन गरेका विद्यार्थीले कक्षा ११ र १२ मा पनि राम्रो प्रगति गरेको देखिएको छ। यद्यपि, यसलाई सबै विद्यार्थीमा लागू हुने निष्कर्ष मान्न मिल्दैन। यहाँ प्रश्न उच्च जिपिए प्राप्त गर्नु गलत हो भन्ने होइन, त्यसका लागि अपनाइने विधि र चुकाउनुपर्ने मूल्य कति उचित छ भन्ने हो।

विद्यालय शिक्षाको उद्देश्य विद्यार्थीलाई परीक्षामा सफल बनाउनु मात्र होइन, जीवनका विविध चुनौती सामना गर्न सक्षम बनाउनु पनि हो। विषयवस्तुको ज्ञानसँगै समालोचनात्मक चिन्तन, सञ्चार सीप, सिर्जनात्मकता, सहकार्य, समस्या समाधान र निर्णय क्षमता विकास गर्नु शिक्षाको महत्त्वपूर्ण उद्देश्य हो। यी सीप निरन्तर अभ्यास, अनुभव, अन्तरक्रिया र स्वतन्त्र चिन्तनबाट विकास हुन्छन्। प्रश्नको उत्तर घोकाएर वा सम्भावित प्रश्नको अभ्यास गराएर मात्र यस्ता क्षमता विकास गर्न सकिँदैन। त्यसैले परीक्षाको नतिजालाई विद्यार्थीको सम्पूर्ण क्षमताको पर्याय बनाउनु शैक्षिक दृष्टिले उपयुक्त हुँदैन।

विद्यार्थीलाई परीक्षाअघि विषयवस्तुको पुनरावृत्ति, अभ्यास, परामर्श र आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ। सन्तुलित आहार, पर्याप्त निद्रा, शारीरिक व्यायाम र मानसिक विश्रामको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ तर तयारीको अर्थ बालबालिकालाई बिहानदेखि रातिसम्म कक्षाकोठामा थुन्नु होइन। उनीहरूको व्यक्तिगत आवश्यकता र क्षमतालाई ध्यानमा राखेर सीमित, उद्देश्यपूर्ण र प्रभावकारी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ।

एसइईलाई हाउगुजी नबनाइकनै नियमित पठनपाठन र शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ। यसका लागि विद्यार्थीमैत्री वातावरण बनाई गुणात्मक शिक्षालाई शिक्षण सिकाइ क्रियाकलापको उद्देश्य बनाउनुपर्छ। यस विषयमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक सबै जिम्मेवार छन्। विद्यालयले आफ्नो प्रतिष्ठालाई विद्यार्थीको जिपिएसँग मात्र जोड्नु हुँदैन। शिक्षकले घोकाइभन्दा बुझाइ र प्रयोगमा आधारित शिक्षणलाई प्राथमिकता दिनुपर्छ। अभिभावकले पनि छोराछोरीको क्षमताभन्दा बढी अपेक्षा राखेर उनीहरूलाई अनावश्यक दबाब दिनु हुँदैन। अरूका छोराछोरीले प्राप्त गरेको ग्रेडसँग आफ्ना बालबालिकाको तुलना गर्नुको सट्टा उनीहरूको व्यक्तिगत प्रगति, रुचि र सम्भावनालाई बुझ्नुपर्छ।

स्थानीय तहले विद्यालयको समयतालिका, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको स्वास्थ्य र विद्यालयमा बिताउने समयका सम्बन्धमा स्पष्ट मापदण्ड बनाई नियमित अनुगमन गर्न आवश्यक छ। शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित नियामक निकायले पनि परीक्षाको नतिजालाई मात्र आधार बनाएर विद्यालयको गुणस्तर निर्धारण गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ। विद्यालयको मूल्याङ्कन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि, व्यवहार, सिर्जनशीलता, जीवनोपयोगी सीप र मनोसामाजिक स्वास्थ्यलाई समेत समेट्नुपर्छ।

विद्यालय बालबालिकाले ज्ञान आर्जन गर्ने, जिज्ञासा व्यक्त गर्ने, गल्तीबाट सिक्ने र आफ्नो व्यक्तित्व विकास गर्ने थलो हो। त्यहाँ उनीहरूले सुरक्षित, सम्मानित र उत्साहित महसुस गर्न पाउनुपर्छ। एसइई विविध कक्षाका परीक्षामध्ये एक परीक्षा अवश्य हो तर जीवनकै अन्तिम परीक्षा होइन। एउटा परीक्षाको नतिजाका लागि बाल्यावस्था र किशोरावस्थाका अमूल्य समय, स्वास्थ्य, सिर्जनशीलता र मानसिक शान्ति गुमाउनु उचित हुँदैन। शिक्षाको सफलता विद्यार्थी विद्यालयमा कति घण्टा बस्यो वा उसले कति जिपिए ल्यायो भन्ने कुराले मात्र निर्धारण गर्दैन; उसले कति बुझ्यो, कस्ता सीप सिक्यो र जीवनप्रति कस्तो दृष्टिकोण निर्माण गर्‍यो भन्ने कुराले निर्धारण गर्छ। विद्यालयलाई सिकाइको आनन्दमय केन्द्र बनाउनुपर्छ, ग्रेडको प्रतिस्पर्धामा बालबालिकालाई थकित पार्ने स्थल बनाउनुहुँदैन। शिक्षाका नाममा यातना होइन, सिकाइका लागि प्रेरणा र अवसर सिर्जना गर्नु नै विद्यालयको वास्तविक दायित्व हो। यस गम्भीर विषयमा सम्बद्ध पक्षले बेलैमा ध्यान दिनु आवश्यक छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विचार
शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।
मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुरगढी गाउँपालिका–८ स्थित बुढीचौर । प्रकृतिको मनोरम सुन्दरतासँगै गाउँले जीवन, शान्त किसिमको वातावरण र स्थानीय संस्कृतिले यहाँको महिमा...
मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीका समस्या बुझ्न शुक्रबार मधेस प्रदेशका तीन जिल्ला जाने भएकी छन्।
नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

जग्गाको नापजाँच सम्पन्न भएको १३ वर्षपछि रुपन्देहीको मायादेवी गाउँपालिकाका १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।