नेभिगेशन

भिडियो ग्यालरी

भिजिट भिसामा गृह मन्त्रालयकै सेटिङः ६ महिनामा मानव तस्करीबाट सवा एक अर्ब घुस !

काठमाडौँ । गृह मन्त्रालयकै संरक्षणमा भएको विमानस्थलको भिजिट भिसाको सेटिङबाट पछिल्लो ६ महिनामा मात्रै झन्डै सवा एक अर्ब रुपैयाँ घुस उठाइएको अनुमान गरिएको छ । 

विमानस्थलबाट भिजिट भिसामा खाडी र युरोप जान सेटिङ गरेर मानव तस्करी गरेको भन्दै बिहीबार अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको थियो । सो क्रममा अख्तियारले विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराई सहितका चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

विमानस्थल अध्यागमन स्रोतका अनुसार बुधवार दिउँसो अख्तियारको टोलीले अध्यागमनमा छापा मारेको थियो । सो समयमा कार्यालय प्रमुख भट्टराई कार्यकक्षमै थिए । उनको साथमा रहेको दुुई वटा मोबाइल, कम्प्युटर र नियमित टिपोट गरिने डायरीहरू पनि अख्तियारले बरामद गरेको थियो ।  

यता अख्तियारले भने सहसचिव भट्टराई पक्राउ परेको नभई सोधपुछका लागि बोलाउन प्रहरी पठाइएको र उनीहरूसँगै कार्यालयमा ल्याइएको भन्दै बचाउपूर्ण अभिव्यक्ति दिएको छ । प्रमुख भट्टराई सहित चार जनालाई कार्यालयमा ल्याइएको र उनीहरूको मोबाइल तथा डिभाइसहरू अनुसन्धानका लागि राखेपछि मान्छे बसेर थप उपलब्धि हुने नदेखेर घर नै पठाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् । 

अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनीहरूको साथबाट बरामद मोबाइल र कागजात अध्ययन गर्दा दैनिक २०० जनाबाट औसत ३० हजारका दरले रकम उठाइने गरेको फेला परेको छ । जसअनुसार कुवेत, ओमन र दुबई भिजिट भिसामा जाने महिला र पुरुषसँग जनही २० देखि ३० हजार र युरोपेली मुलुक जानेहरूसँग ५० हजार रुपैयाँसम्म उठाइने गरिएको खुलेको छ । 

सेटिङको मोलमोलाइ पूर्ण रूपमा खुल्ला बनाइएको पछिल्लो ६ महिनामा मात्रै यसरी करिब १८ हजार मानिसहरू भिजिट भिसाको सेटिङमार्फत मुलुकबाट बाहिरिएको प्रारम्भिक अनुमान छ । यसरी पठाइएका केही महिलाहरू ओमनमा घरेलु कामदारका रूपमा बिक्री भएको र फसेको पनि पाइएको छ ।

‘विमानस्थलको अध्यागमनको सेटिङबाट दैनिक झन्डै ६० लाख रुपैयाँ सङ्कलन हुने गरेको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । उनकाअनुसार यसरी सङ्कलन भएको रकम अध्यागमन विभाग हुँदै, गृहमन्त्रीको निजी सचिवालय, गृह सचिव र मूख्य सचिवका लागि समेत भनेर छुट्ट्याइने गरिएको अध्यागमन अधिकारीहरूले दाबी गरेका छन् । 

विमानस्थल अध्यागमनमा खटिएका एक कर्मचारीका अनुसार यसरी उठाइएको रकम अख्तियारलाई समेत बुझाउनुपर्ने भन्दै भाग छुट्याइने गरिन्थ्यो । ‘अख्तियार, गृहमन्त्री र सचिव, अध्यागमन विभाग, विमानस्थल कार्यालय प्रमुखलाई अलग्गै भाग छुट्याएर, त्यहाँ खटिने कर्मचारीका लागि भनेर दामासाही रकम भाग लगाउने चलन रहेको थियो,’ स्रोतले सिधाकुरासँग भन्यो ।

विमानस्थलको सेटिङमा आफ्नो कार्यालयको भागका लागि पनि घुुस उठेको भन्ने विषयमा अख्तियारका प्रवक्ता पौडेलले त्यस्तो हुन नसक्ने दाबी गरे ।  

कसरी हुन्थ्यो सेटिङ ?

नेपालबाट घुम्न भनेर एक गन्तव्यमा जाने तर त्यहाँ पुगेपछि अरू नै मुलुकमा दलालले पुर्‍याउने र अप्ठ्यारोमा परेपछि मात्रै नेपालले थाहा पाउने प्रवृत्ति बढेपछि सरकारले केही देशहरूमा भिजिट भिसामा जानेलाई कडाइ गरिरहेको छ । संयुक्त अरब इमिरेट्स ‘दुुबई’, कुवेत र ओमानमा यस्तो समस्या देखिने गरेको छ । 

तथापि दुुबई पुुर्याएर युरोपका अन्य मुलुकमा पुर्‍याउने गरेको पाइएपछि भिजिट भिसामा जान कठोर नीति लिइएको थियो । तर, त्यसैलाई गृह मन्त्रालयले कमाई खाने भाँडो बनायो । सेटिङमा विदेशीन चाहनेहरूका लागि म्यानपावर कम्पनी र ट्राभल एजेन्सीले लिस्ट तयार पारेर सबै डकुमेन्टसहित जहाजको टिकट र भिसासहित विमानस्थल छिराउने गरेको पाइएको छ । 

विमानस्थल अध्यागमनका चार सिफ्टमा रहने कर्मचारी र तिनका इन्चार्जलाई पहिल्यै आफ्नो पालोमा सेटिङमा उड्ने मानिसको हुलियादेखि नामसम्म सबै खबर गरिन्थ्यो । यसरी हुलियाबारे पहिचान गर्न सबैजसो कर्मचारीलाई नियमित प्रयोग गर्ने भन्दा अलग्गै अर्को फोन बोक्ने प्रबन्ध गरिएको थियो । 

यसरी गएका मानिसहरूलाई अध्यागमनका अधिकारीले सूचनाका आधारमा अलग्गै पहिचान गर्थे र कुनै सोधखोज बिना नै डिपार्चरकाे छाप लगाई अध्यागमनको गेट खोलिदिन्थे । 

स्रोतका अनुसार यसरी जानेहरूका लागि प्रायजसो साँझको भिडभाडयुक्त समयको छनोट गरिन्थ्यो । किनकि विमानस्थलमा प्रहरीसँग अध्यागमन कर्मचारीको टसल रहेका कारण सकेसम्म प्रहरीले पनि सुइँको नपाओस् भन्नेमा कर्मचारीले विशेष ध्यान दिएका थिए । 

बिदेसिने कामदारहरूसँग प्रति सेटिङ लाग्ने रकम एजेन्सीले पहिल्यै लिइसकेको हुने र सो रकम दिनभरको हिसाब गरेर अध्यागमनबाट खटाइएको व्यक्तिले पछिल्लो दिन अरु नै ठाउँमा बसेर नगदै बुझ्ने गरेका थिए । सोही रकम नगदै सेटिङलाई खुल्ला गर्नेहरूलाई हैसियत अनुसार बाँड्ने गरिएको थियो ।  

सेटिङको मास्टर कोड 'एल'

अध्यागमनमा सेटिङमा उड्न लागेकाहरूका विवरण पहिले नै तय गरिएको हुन्छ । साेही अनुरूप ट्राभल एजेन्सी, म्यानपावर, एजेन्ट तथा अध्यागमनका कर्मचारीले मात्रै बुझ्ने कोड प्रयोग गरिएको हुन्छ । सेटिङ गरेर उड्न लागेकाहरूले बाहिर नै पैसा बुझाइसकेपछि उनीहरूले लगाउने पहिरन देखि कागजपत्रको विवरण सहित नाम सूचि अध्यागमनको कर्मचारीको दोस्रो फोन अर्थात् सेटिङका लागि प्रयोग गरिने गोप्य नम्बरको फोनमा पुगिसेको हुन्छ । बिचमा कुनै समस्या आए, आकस्मीकरुपमा सेटिङ रोक्नु परे, कोड प्रयोग गरेर म्यासेज गरिन्छ । यसका लागि उनीहरूले महिलालाई अङ्ग्रेजी एल प्रयोग गर्छन् । 

सेटिङकर्ताका ग्रुपमा धेरै पटक आदानप्रदान भएको एक म्यासेज समेत सार्वजनिक भएकाे छ । उक्त म्यासेजमा लेखिएको छ - 'मिति २०८१ चैत ३१ गते आईतबार देखि भिजिट भिसामा जाने एल हरुको हकमा प्रस्थान अनुमित नदिइने भएकाले सोही बमोजिम गर्नु गराउन जानकारी गराइन्छ । साथै प्रस्थान अनुमतिका लागि आएमा कुनै पनि जिम्मेवारी नलिइने समेत जानकारी गराइन्छ । धन्यवाद । '


गृहमन्त्रीले नै लगेका थिए भट्टराईलाई रोजेर अध्यागमन 

गृह मन्त्रालयको सबै भन्दा महत्त्वपूर्ण र आकर्षकको केन्द्र मानिन्छ अध्यागमन विभाग । त्यसमा पनि विभाग र विमानस्थल कार्यालय प्रमुख समान हैसियतका सहसचिव हुने भएकाले त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुख हुन सहसचिवहरू बिच निकै ठुलो हानथाप हुन्छ । 

सह-सचिवहरूको सरुवा मन्त्रिपरिषद्ले गर्ने भए पनि अन्तरमन्त्रालय सरुवामा भने मन्त्री र सचिवकै हालीमुहाली हुन्छ ।

भट्टराईअघि विमानस्थल अध्यागमन प्रमुख थिए, सहसचिव सुरेश पन्थी । उनी कर्मचारीतन्त्रमा एमाले धारका अधिकृतको रूपमा चिनिन्छन् । 

फरक पार्टीका उनलाई सो कार्यालयमा सरुवा भएको चार महिना पनि नपुग्दै गृहमन्त्री रमेश लेखकले असोज २३ मा मन्त्रालय तानेका थिए । सामान्यतया कार्यालय प्रमुखहरूको सरुवा कारबाहीमा परेको अवस्थाबाहेक हरेक एक एक वर्षमा गर्ने प्रचलन छ । तर पन्थीलाई तानेर गृहमन्त्री लेखकले तिर्थ भट्टराईलाई विमानस्थल अध्यागमन प्रमुख बनाएका थिए । 

tritha-bhattrai-1748144599.jpgसरुवा भएको एक महिनासम्म अधिकृत र उपसचिव स्तरका कर्मचारी आफुु अनुकूलको व्यवस्थापनमा लागेका भट्टराईले दोस्रो महिनाबाटै सेटिङ सुरु गरेको अनुसन्धान स्रोतको दाबी छ । 

गृहमन्त्रीले पठाएका भट्टराईले बनाएको सेटिङको र्‍याकेटमा गृहमन्त्रीको निजी सचिवालयबाटै खटाएर आएका अधिकृतहरू देखिएको स्रोतको दाबी छ । त्यसरी आएका अधिकृतहरूको खटनपटन गृहमन्त्रीको निजी सरकारी सचिवको जिम्मेवारीमा रहेका उपसचिव बद्री तिवारीले गरेका थिए ।

यस विषयमा बुझ्न हामीले तिवारीलाई सम्पर्क गरेका थियौँ, उनको फोन उठेन । त्यसपछि हामीले विवरण खुलाएर भ्वाइस मेल गरेका थियौँ । त्यसको पनि कुनै जवाफ आएन । 

भट्टराई जोगाउन गृहमन्त्रीको चलखेल

विमानस्थल अध्यागमनको चलखेलबारे अख्तियार पहिल्यै जानकार थियो । विमानस्थलमा तस्करी सम्बन्धी अप्रेसन चलाउने सूचना गत साता नै चुहिएपछि विमानस्थलमा खटिएका केही अधिकृतहरू गत साता नै बिदा बसेका थिए । 

ramesh-lekhak-1743161921.jpg
उक्त सूचना गृह मन्त्रालयसम्म पनि फैलिएको थियो । आफैले खटाएको सहसचिव विरुद्ध अख्तियारले अप्रेसन चलाउन लागेको थाहा पाएका गृहमन्त्री लेखकले एक दिन अघि मात्रै गत मंगलबार विमानस्थल अध्यागमन प्रमुखबाट भट्टराईलाई सरुवा गरेर मन्त्रालय ल्याएका थिए । तर, सरुवाको रमाना नबुझिसकेको भन्दै उनी बुधवार पनि कार्यालय गएका थिए । तर, यो सबै बुझेको अख्तियारले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लियो । 

अख्तियारमाथि दबाब

घुसको लेनदेनमा साना कर्मचारीहरू माथि मात्रै आक्रामक बनेको र ठुलालाई जोगाएको आरोप अख्तियारलाई सधैँ लाग्छ । तर, यस पटक अख्तियारले सरुवा भइसकेका सहसचिव एवम् कार्यालय प्रमुखसहितका चार कर्मचारीलाई विमानस्थलस्थित कार्यकक्षबाटै नियन्त्रणमा लिएर टंगालस्थित कार्यालय पुर्‍यायो । सो अप्रेसनको सूचना मिडियामा चुहिएपछि नाटकीय ढङ्गबाट अख्तियार यो घटनामा एकै दिनमा नरम बनेको देखिएको छ । यतिसम्मकी विमानस्थल अध्यागमन प्रमुखलाई नियन्त्रणमा लिएको विषयसमेत अख्तियारले औपचारिक रूपमा सार्वजनिक समेत नगरी उनलाई हिरासतमुक्त गरिदियो । 

AKHTIYAR_DURUPAYOG_ANUSANDHAN_AAYOG_SIDHAKURA-1741854470.png
पक्राउ परेका अन्य कर्मचारीबारे त अझैसम्म अख्तियार मौन देखिएकाे छ ।  आयोगले पक्राउ परेका कर्मचारीलाई सामान्य सोधपुछ मात्रै गरेर उनीहरुबाट बरामद गरिएको डिभाइसमार्फत थप अनुसन्धान गर्ने भन्दै हाजिरी जमानीमा साँझपख हिरासतमुक्त गरिदियो ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुुमार पौडेलले सहसचिव भट्टराई लगायतलाई पुनः बोलाएको बेला उपस्थित हुनेगरी सोधपुछ गरेर छोडिएको सिधाकुरालाई बताए । स्रोतकाअनुसार पक्राउ परेका सहसचिव भट्टराईको डायरीमा उल्लेख हिसाब किताबका कारण यो भ्रष्टाचारको जालो निकै सङ्गठित र भयानक देखिएको र त्यसलाई ढाकछोप गर्न अहिले तीव्र राजनीतिक दबाब अख्तियारमाथि परिरहेको छ । 

अध्यागमन स्रोतकाअनुसार तत्कालीन कार्यालय प्रमुख भट्टराईले घुसबापत उठेको रकम र बाँडेको विवरण सबै डायरीमा टिप्ने गरेका थिए । साथै ट्राभल एजेन्सीका मानिसहरूसँग लिएको रकम र कर्मचारीको कार्य विभाजन पनि सो डायरीमा उल्लेख थियो । 

के भन्छन् गृहमन्त्री ?

आफैले खटाएको सहसचिवलाई अख्तियारले गिरफ्तार गरेको घटनाको ३० घण्टा बितेपछि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसाबाट हुने मानव तस्करीसँग जोडेर आफूविरुद्ध नियोजित र  षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको गुनासो गरेका छन् ।  

पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धती अहिलेसम्म नबसको भन्दै राजिनामा नदिने संकेत गरेका छन् ।  कर्मचारी सरुवा मन्त्रालयको नियमित प्रक्रिया भएको भन्दै उनले यो घटनामा आफूलाई अनावश्यक मुछिएको भन्दै त्यसमा खेद व्यक्त गरे । यो प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न पनि उनले चुनौती दिए ।   

केही दिन अघि मात्रै अहिलेका गृहमन्त्रीले नेपाल भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै उद्योगी व्यवसायीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसको केही दिनमै अध्यागमनबाट मानव तस्करीको र्‍याकेट चलाएको आरोपमा गृहमन्त्री लेखक मुछिएका छन् ।

नैतिकताको उपदेश अरूलाई दिने लेखक, आफूले नलिने 

उसो त अहिलेका गृह मन्त्री लेखकले रास्वपा सभापति गृह मन्त्री भएका बेला, मन्त्री माथि प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नु पर्ने भन्दै संसद्मै बोलेको थिए । उनले २०८० चैत ६ गते संसद्मा यस्तो भनेका थिए:
"यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यस कारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । यसअघि रामशरण महत अर्थमन्त्री भएका वेला विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिएको इतिहास यही संसद्मा छ । माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास पनि छ । माननीय गोकुल बाँस्कोटाजी माथि प्रश्न उठ्दा छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभएको यसै संसद्को इतिहास हो । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्यो । उहाँले राजीनामा गर्नुभयो र यहाँ छानबिन समिति गठन भयो ।"

गृह मन्त्रालयमा २ महिना अघि नै पुगेको थियो सेटिङको गोप्य सूचना, तर फाइल बन्द गरियो 

विमानस्थल सेटिङमा सहसचिव नै पक्राउ परेपछि चर्चा भए पनि यो विषयमा गत फागुन महिनामै अध्यागमनमा दैनिक २५० भन्दा बढीबाट प्रति व्यक्ति ५० हजारसम्म असुलेर उडाउने गरिएको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारमा अत्यावश्यक भन्दै गुनासो पुगिसकेको पाइएको छ । तर त्यस समयमा अध्यागमन विभागले नियमसँग काम भएको जवाफ फर्काएको भन्दै फाइल बन्द गरेको पाइएको छ । 

उक्त गुनासोमा कुवेत, दुबई, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनलगायतका मुलुकमा भिजिट भिसामा जानेहरूसँग असुलेर ट्राभल एजेन्सी,  अध्यागमनका कर्मचारी देखि कुवेत एयरवेज र जजिरा एयरवेजले मानव तस्करी गरेको उल्लेख गरिएको छ । 

उजुरीमा भिजिटमा गएर फर्किने टिकटदेखि होटेल बुकिङ देखि सरकारले बनाएको ६ बुँदे मापदण्ड पुरा गर्न चाहिने कागजपत्र सबै नक्कली बनाइने गरेको उल्लेख गरिएको थियो । 

उजुरीमा काठमाडौँबाट कुवेत, कुवेतबाट कतारको टिकट जारी भए पनि बिचमा कुवेत ट्रान्जिट भएकाले सेटिङ गरेर गएका महिलाहरू कुवेत विमानस्थलबाट बाहिर निस्कने गरेको सूचना दिइएको थियो । 

उजुरीमा सेटिङमा जोडिएका सबै निकायले प्रतिव्यक्ति कम्तीमा १० हजार भाग लिने गरेको उल्लेख गरिएको छ । उजुरीमा एयरलाइन्सका कर्मचारीलाई समेत प्रति व्यक्ति कम्तीमा १० हजार दिनुपर्ने उल्लेख गरिएको थियो । 

तर यसरी आएको सूचनालाई गृह मन्त्रालयले गम्भीर रूपमा नलिएको पाइएको छ । किनकि हेल्लो सरकारले उक्त गुनासो गृह मन्त्रालय पठाएको थियो । गृह मन्त्रालयले यस विषयमा अध्यागमन कार्यालयको जवाफ माग्यो ।अध्यागमनले नियमसँग काम भइरहेको, गैरकानुनी काम नभएको भन्दै जवाफ पठाएपछि हेल्लो सरकारले उक्त फाइल नै बन्द गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...
कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

जुन कालोपत्रेमा हिँड्दा ठेस लाग्थ्यो, त्यो सडकमा भ्रष्टाचार भएको अनुभूति हुन्थ्यो भने जहाँ हिँड्दा चिल्लो, आनन्दित महसुस हुन्थ्यो, त्यहाँ राम्रो काम भएको अनुभूति हुने गरेको नवराज बताउँछन् ।
भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’
हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए, न आफूमाथि छानबिन गर्न आँट देखाए...