नेभिगेशन
समाज

मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे

काठमाडौँ । काठमाडौँको गोठाटारकी मनिता शर्माको उपचारका क्रममा एभरेष्ट अस्पतालले आंशिक गल्ती स्वीकार गरेको छ । मृतकका श्रीमान् सुवास पराजुलीसँग अस्पतालका निर्देशक दीपक बरालले मृतक मनिताको जटिल स्वास्थ्य अवस्थाबारे परिवारलाई उचित समयमा आवश्यक काउन्सिलिङ नगरिएको स्वीकार गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर अस्पतालले मनिताको उपचारको समयका सिसिटिभि फुटेज भने गायब बनाएको छ । मंसिर २५ गते प्रसव पीडाले छटपट्टिएकी मनिता शर्मा, सुरुमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पुगेकी थिइन् ।

Everest cinsult

मनिताको स्वास्थ्य अवस्था बारे दुई वर्षदेखि काठमाडौँ मेडिकल कलेजमा पूर्णकालीन चिकित्सक डा.ज्योत्सना शर्मालाई देखाउँदै आएका थिए । उनलाई केएमसीमै भेट्ने आशामा आएका उनीहरुलाई अस्पताल छिरिसकेपछि डा. शर्माले बानेश्वरको एभरेष्ट अस्पतालमा बोलाएकी थिइन् । बानेश्वरस्थित एभरेष्ट अस्पताल पुगेको २ घण्टापछि उनलाई शल्यक्रिया कक्षमा लगिएको थियाे ।

शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बनेको मनितालाई दोस्रो दिन सबै अंग फेल भएको भन्दै ह्याम्स अस्पताल रेफर गरिएको थियो । ह्याम्स अस्पताल लगिएपछि मात्र उनलाई प्रि इक्लेम्सीया देखिएको र त्यसको समयमा उपचार नहुँदा अवस्था जटिल भएको देखिएको थियो । ह्याम्स लगिएको एक सातापछि मनिताको मृत्यु भएको थियो ।

काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास

उनको मृत्युपछि एभरेष्ट अस्पतालबाट प्राप्त कागजपत्रमा अस्पतालले कमजोरी गरेको आशंका गर्न सक्ने धेरै तथ्य भेटिएको मृतक परिवारले दाबी गर्दै आएका छन् ।  अस्पतालको रिपोर्टमा उनको स्वास्थ्य अवस्था बारे लगातार खराब संकेत देखिदा पनि आवश्यक उपचार नगरिएको देखिने चिकित्सकहरु नै बताउँछन् ।  साथै परिवारलाई समेत वास्तविकता जानकारी नगराएको पाइएको छ । एभरेष्ट अस्पतालले २६ गते ह्याम्स अस्पताल लगिएका मनितालाई एभरेष्ट अस्पतालमै २८ गते सिपिआर दिएको भन्दै गलत तथ्य सहितको कन्टिन्युयसन रिपोर्ट दिएको छ ।

एभरेस्ट अस्पताल प्रकरणः अस्पतालकै विवरणले देखाउँछ लापरवाहीको आधार

एभरेष्ट अस्पतालसँग पटक पटक मनिताको उपचारमा भएको हेलचेक्र्याईँका विषयमा सोधपुछ गर्दा मृतक परिवारलाई कुनै जवाफ नदिइएपछि एभरेष्ट अस्पताल र डा ज्योत्सना शर्माविरुद्ध मनिताका श्रीमान् नेपाल मेडिकल काउन्सिल पुगेका छन् । अहिले अस्पताल र चिकित्सक माथि छानबिन चलिरहेको छ ।

मनिताका श्रीमान् सुवासका अनुसार काउन्सिलले समेत एभरेष्ट अस्पताल तथा डा. ज्योत्सनाको प्रभावमा अनुसन्धानमा ढिलासुस्ती गरेको गुनासो गर्दै आएका छन् ।

एभरेष्ट अस्पतालमा स्वास्थ्य मन्त्रालयका निर्वतनमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल समेत आवद्ध भएका कारण मेडिकल काउन्सिलमा समेत उनले प्रभाव पारेका हुनसक्ने मृतकका परिवारको आशंका छ ।  

यस्तै डा.ज्योत्सना शर्माका श्रीमान् डा.सन्जिव तिवारी नेपाल मेडिकल एशोसियसनका महासचिव समेत रहेका छन् । उनले शक्तीको दुरुपयोग गर्दै अनुसन्धानलाई प्रभावित पारेको काउन्सिल स्रोतकै दाबी छ ।

परिवारलाई काउन्सिलिङ नभएको पाइयोः निर्देशक बराल  

मृतक मनिताका श्रीमानले सुवासले लामो प्रयासपछि केही दिनअघि मात्रै अस्पताल निर्देशक दिपक बराललाई भेटन् पाएका थिए । त्यस क्रममा सुवाससँग निर्देशक बरालले भनेका छन्, ‘यो सबै कुरा हेर्दा सुन्दा हाम्रो टिमबाट परिवारलाई आवश्यक काउन्सिलिङ नभएको देखियो, अन्य कुराको अनुसन्धान त काउन्सिलबाट हुँदैछ ।’ निर्देशक बरालको स्वीकारोक्तिको प्रमाण सिधाकुरासँग सुरक्षित छ । तर सिधाकुराले पटक पटक उनीसँग सम्पर्क गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।

अस्पतालले लुकायो मनिताको उपचारको सिसिटिभि फुटेज

सुवासले मनिताको मृत्युपश्चात अनुसन्धानका लागि अस्पतालको सिसिटिभि फुटेज आवश्यक पर्ने भन्दै फुटेज सुरक्षित राखिदिन भन्दै पुस २२ गते लिखित पत्र नै दर्ता गराएका थिए । तर अहिले भने अस्पतालले सिसिटिभी फुटेज १५ दिन भन्दा नरहने भन्दै टारेको छ । जबकी अस्पतालका निर्देशक बरालले नै अस्पतालको सिसिटिभि फुटेज ३५ दिनसम्म सुरक्षीत हुने भन्दै दिएको अभिव्यक्ती मृतकका परिवारसँग सुरक्षित छ ।

साथै सार्वजनिक क्षेत्रमा जोडिएका सिसिटिभि फुटेज कम्तिमा ३ महिना सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था नै छ । सिसिटीभि जडान तथा सञ्चालन कार्यविधि २०७२ ले यस्तो व्यवस्था गरेको छ । तर एभरेष्ट अस्पतालले भने कानुनी व्यवस्थाको उल्लंघन त गरेको छ नै, अस्पतालका निर्देशकको समेत बोली र व्यवहारमा फरक परेको छ ।

अस्पतालको सिसिटिभि फुटेज सुरक्षित गरिदिन निवदेन दिइसकेपछि पनि फुटेज डिलिट गर्नुले अस्पतालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

एभरेष्ट अस्पताल र चिकित्सकले नै आचारसंहिता उल्लंघन गरेः छानबिनमा बेवास्ता

मनिताको उपचार संलग्न चिकित्सक डा. ज्योत्सना शर्माले नेपाल मेडिकल काउन्सिल नियमवाली समेत उल्लंघन गरेकी छिन् । नियमावलीको परिच्छेद ४ मा चिकित्सको आचारसंहिता सम्बन्धी व्यवस्था गरिएको छ ।

आचारसंहित सम्बन्धी व्यवस्थामा रोगी वा निजको परिवारका सदस्यलाई उचित देखिएमा रोगको कडाईको सुचना दिने तर आर्थिक वा अन्य कुनै किसिमको उद्देश्य राखेर मामुली रोगलाई कडा बनाउन नपाईने भनिएको छ । तर डा. ज्योत्सना शर्माले भने मनिताको अवस्था जटिले हुनेबेलासम्म पनि परिवारलाई जटिलता बारे नबताएको पीडित परिवारले गुनासो गर्दै आएका छन् ।

एभरेष्ट अस्पताल स्रोतका अनुसार एभरेष्ट अस्पतालमा प्रसुती शल्यक्रियाका लागि ८० हजार बढी चार्ज लाग्छ तर डा. ज्योत्सना शर्मा पूर्णकालीन कार्यरत रहेको र मनिता सुरुमै पुगेको केएमसीमा भने प्रसुतीले निशुल्क शल्यक्रियाको सुविधा रोज्न पाउँछन् ।

यसबाट आर्थिक लाभका लागि मनितालाई केएमसीको ढोकाबाट फर्काएर बानेश्वरस्थित एभरेष्ट अस्पतालमा पुर्याइएको त होइन भन्ने प्रश्न उठेको छ ।

केएमसीले स्पष्टिकरण सोध्यो, कारबाही गरेन

एभरेष्ट अस्पतालले डा. शर्मालाई घटनाका बारेमा लिखितरुपमा एउटा पनि स्पष्टिकरण सोध्न सकेको छैन । जबकी उनी कार्यरत अर्को अस्पताल केएमसी अस्पतालले भने अस्पतालको गेटमा आएको बिरामीलाई अन्य निजी अस्पतालमा बोलाइएको र उनको उपचारका क्रममा निधन भएको विषयमा लिखित स्पष्टीकरण नै सोधेको थियो ।

केएमसीले उक्त स्पष्टिकरणपछि थप कारबाही अघि बढाएको छैन । तर एभरेष्ट अस्पताले भने स्पष्टिकरण समेत सोध्न सकेन ।

उपचारमा अन्य चिकित्सकको सहयोग लिइएन

मृतकका परिवारले मनिताको उपचारसँग सम्बन्धित एभरेष्ट अस्पतालका विवरण ह्याम्स अस्पतालको माध्यमबाट हात पारेको थियो । ति कागजपत्रका आधारमा मनिताको अवस्था जटिल हुने बेलासम्म पनि स्त्रिरोग विशेषज्ञ डा.ज्योत्सना शर्माका बाहेक अन्य चिकित्सकको सहयोग समेत नलिइएको देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलको नियमावलीमै कुनै उपचार गर्दा ततसम्बन्धी दुर्घटना हुन गएमा आफूले सक्दो मेहनत र बुद्धि लगाई रोगीको प्राण वा अङ्ग बचाउने उपाय गर्ने अरु विशेषज्ञको सेवा प्राप्त हुन सक्ने रहेछ भने निजको सहयोग लिई त्यस अवस्थामा परेको रोगीलाई उत्तरदायित्व लिई यथासम्भव उपचार गर्ने भन्ने व्यवस्था गरिएको छ । तर एभरेष्ट अस्पताल र डा. ज्योत्सनाले भने मनिताको मुटु, कलेजो र मृगौला फेल हुँदासम्म पनि अन्य विशेषज्ञ चिकित्सकहरुको सहयोग लिएको कुनै पनि कागजपत्रमा देखिन्न ।

चिकित्सक र अस्पतालको बयानपछि अध्ययन गर्दै मेडिकल काउन्सिल

मृतक मनिताका श्रीमान् सुवास पराजुलीको निवेदनपछि मेडिकल काउन्सिलले ढिलो गरी एभरेष्ट अस्पताल र संलग्न चिकित्सक डा. ज्योत्सना शर्मालाई स्पष्टिकरण सोधेको थियो ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. शतिस देवका अनुसार काउन्सिलले उनीहरुलाई केही समय पहिले नै स्पष्टिकरण सोधेको थियो । उनीहरुको जवाफ प्राप्त भइसकेपछि मेडिकल काउन्सिलले विज्ञ टोली बनाई अध्ययन गरिरहेको छ ।

विज्ञ टोलीमध्ये २ जनाले घटनाका सम्बन्धमा आफ्नो राय दिइसकेको काउन्सिल स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

एभरेस्ट अस्पताल प्रकरणः अस्पतालकै विवरणले देखाउँछ लापरवाहीको आधार

काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बर्दिबास यूथ क्लबद्वारा बर्दिबास अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

बर्दिबास यूथ क्लबद्वारा बर्दिबास अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो ।  यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि रु २४ लाख...
आज विश्व अटिजम सचेतना दिवस

आज विश्व अटिजम सचेतना दिवस

विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ ।
पहुँच प्रयोग गरी सुगमका अस्पतालमा काज बसेका १४ जना विशेषज्ञ चिकित्सक फिर्ता

पहुँच प्रयोग गरी सुगमका अस्पतालमा काज बसेका १४ जना विशेषज्ञ चिकित्सक फिर्ता

उनले पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका १४ जना विशेषज्ञ चिकित्सकलाई  दरबन्दी भएको अस्पतालमा फर्काएकी हुन् । पहिलो चरणमा १४ जनालाई फर्काइएको र...
अब विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै हुने

अब विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै हुने

वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ ।