नेभिगेशन
सबै कुरा

काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास

काठमाडाैँ । २०८१ मंसिर २५ गते काठमाडौँकाे गोठाटारस्थित विरेन्द्र चोकका सुवास पराजुलीले गाडीको इमर्जेन्सी लाइट बाल्दै सिनामङ्गल तिर हुँइकिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गाडीमा ३४ हप्ताकी गर्भवती श्रीमती मनिता छटपटाइरहेकी थिइन, मनितालाई सम्हाल्ने प्रयास गर्दै थिइन सुवासकी आमा । 

मनिताले काठमाडौँ मेडिकल कलेजकी चिकित्सक डा.ज्योत्सना शर्मा तिवारीलाई दर्जनौँ पटक कल गरिरहेकी थिइन् । तर, उनको फोन उठेको थिएन । किनकी सन्तान प्राप्तका लागि २ वर्ष अघिदेखिनै सुवासका दम्पतीले डा.ज्योत्सनाको सल्लाह बेगर मन लागेको खानेकुरा समेत बार्थे । पहिलो सन्तान जन्माउने सपनामा पुरा नभएपछि चिकित्सककै सल्लाहमा दोस्रो सन्तानको योजना बनाएका थिए उनीहरूले । यस्तो बेला साह्रो गाह्रोमा सबै भन्दा पहिले सम्झिने चिकित्सक उनै ज्योत्सना थिइन् ।

सायद डा.ज्योत्सनाको मोबाइलमा मनिताले अन्तिम पटक पठाएको म्यासेज अहिले पनि होला, उनले लेखेकी थिइन, 'डाक्टरसाब प्लीज मलाई एकदम गाह्रो भयो ।'

४१ वर्षकी मनिताको प्रसुतिको दिन नजिकिँदै गर्दा रक्तचाप बढिरहेको थियो । त्यसदिन पनि उनको रक्तचाप उच्च थियो । हतार गर्दै उनीहरु सिनामंगलस्थित केएमसी अस्पतालको गेटभित्र छिरेर प्रसूति वार्डतर्फ जाँदै थिए । डा.ज्योत्सनाले कल ब्याक गरिन् ।

केएमसीको गेटभित्र छिरिसकेका उनीहरु फेरी नयाँ बानेश्वरको एभरेष्ट अस्पतालतर्फ हुइँकिए । अस्पतालमा पुग्दा चिकित्सक त्यहाँ थिइनन्, तर अस्पतालका अन्य कर्मचारीले मनिताको स्वास्थ्य परिक्षण सहित शल्यक्रियाका लागि तयारी गरे ।

दिउसो ४ः३० बजे मनितालाई शल्यक्रियाका लागि वार्डमा लैजानुअघि पनि रक्तचाप परिक्षण भएको थियो, सुवासका अनुसार त्यसबेला उनको रक्तचाप माथि १८० र तल १२० देखिएको थियो तर अस्पतालले अहिले दिएको रिपोर्टमा त्यो देखिन्न । 

साँझ ५ः१५ बजे, मनिता आमा बनिन्, सुवासले आफ्नो सन्तान, छोरीलाई चिकित्सकको काखमा देखे । 

यो मनिता र सुवासका लागि निकै ठुलो प्रतीक्षाको दिन थियो । 

करिब ६ बजे तिर सुवासलाई वार्डमा बोलाउँदै चिकित्सकले मनिताको रक्तचाप उच्च रहेको सुनाए । मनिता धेरै छटपटिएको भन्दै हातखुट्टा बाँध्न पर्ने अवस्था आएको सुनाए । सुवास श्रीमतीको छेउमा पुगे, मनिताको कपाल सुमसुमाउँदै सोधे 'के भयो तिमिलाई ?', मनिताले हात तान्दै भनिन्, 'मेरो साथ नछोड है ।' 

चिकित्सकले सुवासलाई औषधी लिन पठाए । औषधी लिएर फर्किँदा वार्डको बाहिरै चिकित्सकले मनितासँग जोड जोडले बोलेको सुने । 

चिकित्सकले 'सिजर' आएकाले अहिले औषधी दिएपछि सुधार हुन लागेको बताउँदै बाहिरिए । 

सुवास वार्ड बाहिर कुरिरहेका थिए । ८ बजेको समयमा सेक्युरेटी गार्ड र अर्का सहयोगीले एक बिरामीलाई ट्रली वेडमा राखेर कतै लैजाँदै गरेको देखे । नजिक पुगेर हेर्दा ति बिरामी मनिता थिइन् ।

त्यसपछि मनितालाई आइसीयु कक्ष भित्र पु¥याउँदासम्म सुवासले ढोकाको सिसाबाट हेरिरहे । 

०००

दोस्रो दिन बिहान ८ बजे ।

आइसीयुमा राखेपछि सुवासलाई पहिलो पटक मनितलाई भेटन् दिइयो । सुवासले श्रीमतीको हाट खुट्टा छामे, उनको शरिर सबै चिस्सो थियो । 

मनिताका ओठमुख सुख्खा थियो भने जिब्रोमा ३ वटा घाउ देखिएको थियो । मनिताले आफूले पानी खान पनि नपाएको सुवासलाई भनेकी थिइन् । 

सुवासपछि उनकी आमाले पनि बुहारी मनितालाई भेटिन् । सासुआमासँग मनिताले छोरीको बारे कुरा गरेकी थिइन् । 

केहि बेरपछि फेरी चिकित्सकको टोलीले सुवासलाई वार्डमा बोलाउँदै मनिताको प्रेसर धेरै नै डाउन भएको, उनी बरबराइरहेको बताए । 

सुवासले मनितालाई हात समाउँदै सोधे,  'तिमिलाई के भयो ?'

यसको जवाफ नै सुवासले आफ्नी श्रीमतीले बोलेको अन्तिम शब्द भयो । 

०००

दिउँसो १ बजे मनिताका लागि २ प्वाइन्ट रगत जम्मा गर्न भनियो । सुवास रगत जोहो गरेर फर्किदै गर्दा चिकित्सकले मनितालाई 'सिपिआर' दिइरहेका थिए । 

आत्तिएका सुवासलाई चिकित्सकले दिएको जवाफ झन् डर लाग्दो थियो । चिकित्सकले 'मनिताको लिवर, किड्नी समेत फेल भएको' भन्दै जतिसक्दाे छिटो काठमाडौँकै अन्य ठुला अस्पतालमा लैजान भन्न थाले ।

सुवासले हतार हतार मनितालाई ह्याम्स अस्पताल पुर्याए । अस्पताल पुर्याउँदासम्म मनिताका सबै अङ्ग फेल भइसकेका थिए । ह्याम्सका चिकित्सकले मात्रै मनिताको स्वास्थ्यमा के समस्या भएको थियो भन्ने वास्तविकता बताइदिए । 

सुवासका दम्पत्तीले यहि अवस्था नआओस् भनेर डा.ज्योत्सनासँग २ वर्षदेखि नियमित परामर्श गरिरहेका थिए । उनकै सल्लाहमा सन्तान प्राप्तीका लागि अघि बढेका थिए । उनीहरुले सुरुमा केएमसीमै ज्योत्सनासँग स्वास्थ्य परिक्षण गराएका थिए । उनकै सल्लाहमा एभरेष्ट अस्पतालमा फलोअप गरेपनि केएमसीमै बच्चा जन्माउने निर्णय गरेको सुवास बताउँछन् । 

किनकी डाक्टर ज्योत्सना फुल टाइम केएमसीकै  चिकित्सक थिइन् । केएमसी भित्र छिरेका गम्भिर अवस्थाकी बिरामीलाई केएमसीको डियुटी आवरमै रहेकी डा ज्योत्सनले बानेश्वरको एभरेष्ट अस्पताल बोलाएकी थिइन् । 

ह्याम्सप अस्पतालले खोजेपछि मात्रै एभरेष्ट अस्पतालले परिक्षण गरेका रिपोर्टहरु सुवासले हेर्न पाए । त्यसपछि मात्रै देखियो कि मनिता अस्पताल छिरेपछिका सबै रिपोर्ट खराब रहेछन् ।

सबै रिपोर्टहरु र मनिताको अवस्था देखेपछि ह्याम्स अस्पतालका चिकित्सकले सुवासलाई भने ‘मनितालाई गर्भावस्थादेखिनै हेल्प सिन्ड्रम र प्रीक्लेम्पसिया भइसकेको थियो ।' 

तर, डा ज्योत्सना शर्माले यो कुरा कहिल्यै नभनेको सुवास बताउँछन् । ह्याम्स अस्पतालमा लगेपछि सुवासले उपचारका लागि विदेश लैजाने सल्लाह नलिएका पनि होइनन्, तर चिकित्सकले मनिताको अवस्था आशा मारिसकेका थिए । 

नेपाल बैंकको उपप्रबन्धक रहेकी मनिता बैंकको मुख्य कार्यालयमा कार्यरत थिइन । सुवास सूचना प्रविधि क्षेत्रमा काम गर्छन् । तर, सन्तानको योजना बनाएपछि सुवासले काम छाडेर सम्पूर्णरुपमा मनिताका लागि समय दिएका थिए ।

तर,आफ्नो तर्फबाट सबै प्रयास गर्दा पनि अन्तिममा श्रीमती गुमाउन परेपछि सुवास अहिले विचलित छन् । काखमा छोरी छिन्, तर भोली छोरीले आमा खोज्दा देखाउन मनिता यो संसारमा छैनन् । 

सुवास चिकित्सक र अस्पतालको लापरवाहीले गर्दा आफ्नी श्रीमतीको ज्यान गएको आरोप लगाउँछन् । उनका अनुसार उच्च रक्तचाप भएको अवस्थामा मनिताको शल्यक्रिया भएको छ । २ वर्षदेखि निरन्तर परिक्षण गरिरहेकी मनितालाई चिकित्सकले हेल्प सिन्ड्रम र प्रीक्लेम्पसियाका बारेमा कुनै दिन पनि जानकारी गराइनन् ।

अझ मुख्य कुरा त पहिलेदेखि नै प्रसुतीका लागि योजना बनाएको अस्पतालमा पुगेको बिरामीलाई अर्को अस्पतालमा बोलाइएको र घटना घटेको भन्दै सुवासले यो विषयमा छानबिन हुनुपर्ने बताउँछन् । 

सुवासले एभरेष्ट अस्पतालसँग श्रीमतीको उपचार प्रक्रिया र स्वास्थ्यकर्मीको भुमिका माथि प्रश्न उठाउँदै आधिकारिक जवाफ मागेका थिए । तर, अस्पतालले एक पेजमा सामान्य औपचारिक पत्र बाहेक थप केही जवाफ नदिएको उनी बताउँछन् । 

सिधाकुरासँग कुरा गर्दै एभरेष्ट अस्पतालका प्रशासन प्रमुख अनिल श्रेष्ठले मनिताको उपचारका क्रममा अस्पतालका तर्फबाट कुनै लापरवाही नगरेको दाबी गरे । 

अस्पताले बिरामीको वास्तविक अवस्था परिवारलाई समयमै जानकारी गराउने सवालमा केहि कमजोरी भएको हुन सक्ने श्रेष्ठले स्वीकार गरे । तर, पटक पटक उपचारमा भने लापरवाही नगरेको दाबी गरे । 

चिकित्सकीय कमजोरीका पक्षमा भने चिकित्सक ज्योत्सना शर्मासँगै बुझ्नुपर्ने बताउँदै उनले अस्पतालले डा शर्मासँग सोध्दा उनले कुनै लापरवाही स्वीकार नगरेको दाबी गरे । 

यस विषयमा बुझ्न हामीले डा ज्योत्सना शर्मालाई धेरै पटक फोन सम्पर्कको प्रयास ग¥यौँ । तर, उनी सिधाकुराको सम्पर्कमा आउन चाहिनन् । विषय वस्तु खुलाएर पठाएको म्यासेजको पनि यो समाचार तयार गर्दासम्म उनले कुनै जवाफ फर्काएकी छैनन् । 

मेडिकल काउन्सिलले थाल्यो अनुसन्धान 

एभरेष्ट अस्पतालमा मनिताको मृत्यु प्रकरणको नेपाल मेडिकल काउन्सिलले छानबिन थालेको छ । सुबासको उजुरीको आधारमा काउन्सिलले दुई साताको समय दिएर अस्पताललाई स्पष्टिकरण सोधेको काउन्सिलका रजिष्टार तथा प्रवक्ता डाक्टर शतिशकुमार देवले बताए । 

रजिष्टार देवकाअनुसार एभरेष्ट अस्पतालको जवाफ पछि चिकित्सकसँग पनि थप बयान गराइ विज्ञहरुले निष्कर्ष निकालेपछि मात्रै यो विषयमा निष्कर्षमा पुगिने छ । सुवासले स्वास्थ्य मन्त्रालयमा पनि यस विषयमा निवेदन दिएको एक साता बढि भएको छ तर अहिलेसम्म कुनै जवाफ पाएका छैनन् । 

विस्तृतमा :


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव सङ्कलन अभियान सुरु गरेको हो। बागमती प्रदेश सङ्गठन कमिटीको...
एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए ।
आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण...
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।