नेभिगेशन
समाज

सेतो कोटमा हिमालय पार

हिमाल पार गरेर नेपाल आइपुग्दा हामीले सबैभन्दा पहिले यहाँको सरल, आत्मीय र अतिथि सत्कारपूर्ण स्थानीय जीवनशैलीको अनुभव गर्‍यौँ। त्यससँगै नेपाली स्वास्थ्य सेवा प्रणालीले सामना गरिरहेका विभिन्न चुनौतीहरूलाई पनि नजिकबाट बुझ्ने अवसर पायौँ। केही क्षेत्रमा चिकित्सा उपकरण तथा पूर्वाधारको सीमितता छ भने विशेषज्ञ चिकित्सकहरूको पनि उल्लेखनीय अभाव छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मैले सेवा प्रदान गरेको चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको अग्रणी क्यान्सर अस्पतालहरूमध्ये एक हो। यस अस्पतालले मुख्यतः नेपाल तथा भारतको उत्तरी क्षेत्रका क्यान्सर रोगीहरूलाई उपचार सेवा प्रदान गर्दै आएको छ। पहाडी तथा दुर्गम क्षेत्रका धेरै मानिसहरू उपचारका लागि लामो दूरी पार गरेर अस्पताल पुग्नुपर्ने बाध्यतामा छन्। दूरीको कठिनाइ र सहज स्वास्थ्य सेवाको अभावका कारण कतिपय बिरामी अस्पताल आइपुग्दासम्म रोगले गम्भीर अवस्था लिइसकेको हुन्छ।

Marvel
Extreme Energy

एक चिनियाँ चिकित्सकका रूपमा यस भूमिमा पाइला टेक्दा हामीले केवल मानिसको जीवन बचाउने जिम्मेवारी मात्र बोकेका थिएनौँ, हामीसँग चीन र नेपालबीच हिमाल र नदीले जोडेको परम्परागत मित्रताको भावनात्मक जिम्मेवारी पनि थियो।

दैनिक चिकित्सकीय कार्यका क्रममा हामी नेपाली चिकित्सकहरूसँग सहकार्य गर्दै किमोथेरापी सञ्चालन गर्छौँ र बिरामीहरूलाई उपचार सेवा प्रदान गर्छौँ। यस क्रममा मेरो मनमा गहिरो छाप छोड्ने कुरा के हो भने, धेरैजसो बिरामीहरू दुर्गम पहाडी क्षेत्रबाट आउँछन्। उनीहरूले लामो र कष्टकर यात्रा गर्नुपर्छ, आर्थिक अवस्था कमजोर हुन्छ र रोगका कारण मानसिक रूपमा पनि अत्यन्त भयभीत तथा चिन्तित हुन्छन्।

एक बिरामीको कथा: विश्वास, उपचार र जीवनप्रतिको आशा

नेपालको पश्चिमी पहाडी जिल्ला प्युठानको झिमरुकबाट आएकी एक युवती बिरामीको अनुभवले मेरो मनमा विशेष स्थान बनाएको छ। उनी लिम्फोमा ९लसिका प्रणालीको क्यान्सर० बाट पीडित थिइन्। लगातार पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुरुमा शारीरिक असहजता देखिएको थियो, तर अवस्था क्रमशः बिग्रँदै गएको थियो। सामान्य असहजतादेखि गम्भीर अवस्थामा पुग्न करिब एक महिना लागेको थियो।

उनले पश्चिम नेपालको एक स्थानीय अस्पतालमा उपचार गराएकी थिइन्। तर त्यहाँ उपलब्ध सीमित चिकित्सा सुविधा र प्राविधिक क्षमताका कारण रोगको निश्चित निदान हुन सकेन। उनलाई घातक ट्युमर भएको उच्च आशङ्का मात्र गरिएको थियो। स्थानीय अस्पतालमा पेटबाट तरल पदार्थ निकाल्न ड्रेनेज ट्युबसमेत राखिएको थियो, तर थप उपचारको उपयुक्त योजना बनाउन कठिन भइरहेको थियो।

उनी र उनका श्रीमान् अत्यन्त निराश र हतास अवस्थामा थिए। बिरामीको अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको थियो। खाना खाने र पानी पिउने सामान्य गतिविधिसमेत प्रभावित भएको थियो। गम्भीर स्वास्थ्य अवस्था र अत्यन्त कठिन पारिवारिक परिस्थितिका बीच उनी अन्तिम आशा बोकेर वर्षायामको कठिन मौसममा एक दिन लामो यात्रा तय गर्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आइपुगिन्।

उनले यही अस्पताल रोज्नुको एउटा विशेष कारण थियो। चार वर्षअघि उनको जन्मथलोमा चिनियाँ चिकित्सा टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको रहेछ। चिनियाँ चिकित्सा सहायता टोलीको १४औँ ब्याचले नेपालको पश्चिमी पहाडी क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको थियो। त्यस अभियानबाट दुर्गम क्षेत्रका स्थानीय बासिन्दाहरूले चिनियाँ जनताको आत्मीयता, सद्भाव र सेवाभावलाई प्रत्यक्ष अनुभव गरेका थिए।

उनलाई यो पनि थाहा थियो कि सर्वसाधारणको पीडा कम गर्न र उनीहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन उच्च दक्ष चिनियाँ चिकित्सकहरूको टोली नेपाली सहकर्मीहरूसँग मिलेर वर्षौँदेखि काम गरिरहेको छ। जब मैले उनलाई पहिलोपटक परीक्षण गरेँ, उनी निकै दुब्ली र कमजोर देखिन्थिन्। उनको शरीरको तौल केवल ३८ किलोग्राम थियो। अस्पतालमा भर्ना गरेपछि गरिएको परीक्षणमा उनको पेटभित्र मुट्ठीको आकारका दुईवटा गाँठा देखिए।


मैले आफ्ना सहकर्मीहरूसँग मिलेर बिरामीसँग धैर्यपूर्वक उनको स्वास्थ्य अवस्था र उपचारका सम्भावनाबारे छलफल गरेँ। त्यसपछि अस्पतालमा उपलब्ध चिकित्सा सुविधा र स्थानीय उपचार अवस्थालाई ध्यानमा राख्दै हामीले संयुक्त रूपमा उपयुक्त किमोथेरापी उपचार योजना तयार गर्‍यौँ। किमोथेरापीको पहिलो चरण पूरा भएपछि नै उनको शारीरिक असहजता उल्लेखनीय रूपमा कम भयो। चार चरणको किमोथेरापी पूरा गरेपछि पेटभित्र देखिएका ट्युमरसमेत हराए।

वास्तवमा, हामीले हरेक दिन यस्ता अनेकौँ बिरामीहरूसँग भेटिरहेका हुन्छौँ। उपचारपछि स्वास्थ्यमा सुधार आएका धेरै बिरामीहरू आफ्नो बारीमा फलाएका फलफूल र तरकारी लिएर हामीलाई धन्यवाद दिन अस्पताल आउँछन्। उनीहरूको अनुहारमा देखिने मुस्कान वा आत्मीयतापूर्वक भनिने एउटा सामान्य ‘नमस्ते’ नै हाम्रो कामका लागि सबैभन्दा अमूल्य उपहार हो।

उपचारसँगै स्थानीय चिकित्सकको क्षमता अभिवृद्धि

दीर्घकालीन चिकित्सकीय सेवाका क्रममा मैले बिस्तारै एउटा महत्त्वपूर्ण कुरा महसुस गरेको छु—नेपालमा चिकित्सा सहायता प्रदान गर्नु भनेको बिरामीहरूको उपचार गर्नु मात्र होइन। अझ महत्त्वपूर्ण कुरा त स्थानीय चिकित्सकहरूको क्षमता विकास गर्नु र उनीहरूलाई भविष्यमा पनि निरन्तर तथा प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउनु हो।

दैनिक कार्यका क्रममा हामी नेपाली सहकर्मीहरूलाई प्रत्यक्ष रूपमा काम गर्दै सिकाउँछौँ। बिरामीका केसहरूमा संयुक्त छलफल गर्छौँ, शल्यक्रियाका विधिहरू प्रदर्शन गर्छौँ र विशेष तालिमहरू सञ्चालन गर्छौँ। यसरी हामी उनीहरूलाई आधुनिक चिकित्सा अवधारणा, रोग निदान तथा उपचारका विधि र व्यावहारिक चिकित्सकीय सीपहरू हस्तान्तरण गर्दै आएका छौँ।

एक वर्षको अवधिमा हामीले ५०० भन्दा बढी नेपाली चिकित्सकलाई विभिन्न विषयमा तालिम प्रदान गरेका छौँ। यस क्रममा निम्नलगायत १० वटा नयाँ चिकित्सा प्रविधि तथा उपचार विधिबारे ज्ञान र सीप हस्तान्तरण गरिएको छः
१. परम्परागत चिनियाँ चिकित्सापद्धतिमा आधारित हाडजोर्नी तथा चोटपटकको उपचार 
२. अल्ट्रासाउन्डको सहायताले पेरिनियम हुँदै गरिने प्रोस्टेट बायोप्सी 
३. एकै पोजिसनमा तीनवटा पोर्ट प्रयोग गरी गरिने ल्याप्रोस्कोपिक र्‍याडिकल नेफ्रोयुरेटेरेक्टोमी 
४. पीआईसीसीको टुप्पोको स्थान निर्धारण गर्ने इन्ट्राकार्डियाक इलेक्ट्रोकार्डियोग्राम प्रविधि यसका अतिरिक्त अन्य नयाँ चिकित्सा प्रविधि तथा उपचार विधिहरू पनि हस्तान्तरण गरिएका छन्।

हाल नेपाली चिकित्सकहरूले पीआईसीसी प्रविधि, परम्परागत चिनियाँ एक्युपञ्चर तथा जडीबुटीमा आधारित औषधि उपचार विधिहरू स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गरिरहेका छन्। विशेष चिकित्सा प्रविधि र उपचार प्रक्रियादेखि लिएर विभागीय व्यवस्थापनसम्मका विभिन्न क्षेत्रमा हामी नेपाली साझेदारहरूसँग सहकार्य र अनुभव आदानप्रदान गर्छौँ। यसले उनीहरूलाई क्रमशः थप जटिल रोगहरूको निदान तथा उपचार स्वतन्त्र रूपमा गर्न सक्षम बनाउँदै लगेको छ।

दुर्गम गाउँ र हिमाली क्षेत्रमा स्वास्थ्य सेवा

मैले ग्रामीण तथा हिमाली क्षेत्रमा निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सेवा प्रदान गर्न धेरैपटक चिकित्सा टोलीहरू गठन गरेर परिचालन गरेको छु। यद्यपि पहाडी सडकहरू उबडखाबड छन्, यात्रा कठिन छ र भाषागत अवरोधहरू पनि छन्, तर प्रत्येक निःशुल्क स्वास्थ्य शिविरमा बिहानैदेखि लामबद्ध भएर बसेका स्थानीय बासिन्दाहरूका उत्सुक र आशालाग्दा आँखाहरूले हामीलाई हाम्रो कामको वास्तविक महत्त्व सम्झाइरहन्छन्।

हामी त्यहाँ स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँछौँ र यातायात तथा स्वास्थ्य सेवाको पहुँच कठिन भएका पहाडी तथा दुर्गम क्षेत्रमा आवश्यक चिकित्सा सेवा पुर्‍याउँछौँ। यसबाट स्थानीय सर्वसाधारणले आफ्नै नजिकमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गर्न सकिरहेका छन्।

चार वर्षअघि त्यही निःशुल्क स्वास्थ्य शिविरमार्फत रोपिएको विश्वास आज फेरि हामीकहाँ फर्किएर आएको छ। त्यसबेला हाम्रो सेवा प्राप्त गरेका मानिसहरूमध्ये केही आज उपचारका लागि हजारौँ किलोमिटरको यात्रा तय गर्दै हामीकहाँ आइपुगेका छन्। यो विश्वासको निरन्तरता नै चीन–नेपाल चिकित्सा सहकार्यको सबैभन्दा सरल, आत्मीय र शक्तिशाली व्याख्या हो।

सेतो कोटको मित्रता: सीमाविहीन मानवीय सेवा

नेपालमा काम गर्दाको यो अनुभवले मलाई व्यक्तिगत र व्यावसायिक रूपमा पनि नयाँ दृष्टिकोण दिएको छ। सीमित स्रोतसाधन र पूर्वाधार भएको वातावरणमा काम गर्दा हामीले चिकित्सकीय सेवाका आधारभूत पक्षहरूमा फर्केर सोच्ने अवसर पायौँ। स्थानीय परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउँदै लचिलो ढङ्गले विभिन्न चिकित्सकीय समस्याहरूको समाधान गर्न सिक्यौँ। सीमित स्रोतसाधनका बाबजुद नेपाली सहकर्मीहरूले देखाएको समर्पण, मेहनत र लगनशीलताले मलाई गहिरो प्रभाव पारेको छ। उनीहरूको कामप्रतिको निष्ठा र बिरामीप्रतिको सेवाभाव मेरा लागि प्रेरणाको स्रोत बनेको छ।

जब म चिनियाँ र नेपाली चिकित्सक तथा बिरामीहरूबीच विकसित भएको आपसी विश्वास देख्छु, जब दुवै देशका स्वास्थ्यकर्मीहरू विभिन्न कठिनाइ पार गर्दै हातेमालो गरेर काम गरिरहेको देख्छु, तब मलाई लाग्छ—हामीले गरेका सबै प्रयासहरू सार्थक छन्।

चीन र नेपाल हिमाल र नदीले जोडिएका छिमेकी मुलुक हुन्। हिमालय हाम्रो साझा प्राकृतिक सम्पदा मात्र होइन, दुई देशका जनताबीचको मित्रता र आत्मीयताको प्रतीक पनि हो।

छ दशकभन्दा लामो समयदेखि चिनियाँ चिकित्सा सहायता टोलीहरूले यहाँ एउटा विशेष भावना र परम्परालाई निरन्तरता दिँदै आएका छन्। त्यो भावना हो—‘कठिनाइसँग नडराउने, सेवाप्रति समर्पित रहने, जीवन बचाउने, घाइते तथा बिरामीको उपचार गर्ने र असीमित प्रेम बाँड्ने।’ यही मानवीय भावना र सेवाभावले चीन–नेपाल चिकित्सा सहकार्यलाई निरन्तर अगाडि बढाइरहेको छ।

चिकित्सकको सेवाको कुनै सीमा हुँदैन। महान् मानवीय प्रेमले हिमाल पनि पार गर्न सक्छ। नेपालमा चिकित्सा सहायता प्रदान गर्दाको यो अनुभव मेरो व्यावसायिक जीवनको अत्यन्त महत्त्वपूर्ण, अर्थपूर्ण र अविस्मरणीय यात्रा बनेको छ। भविष्यमा पनि म चीन र नेपालबीच चिकित्सा आदानप्रदान तथा सहकार्यको पुलका रूपमा काम गरिरहनेछु भन्ने आशा राख्दछु। नेपाली सहकर्मीहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउँदै स्थानीय चिकित्सकहरूको विशेषज्ञता, रोग निदान तथा उपचार क्षमतामा निरन्तर सुधार ल्याउन योगदान गर्ने मेरो प्रतिबद्धता छ।

यसबाट अझ धेरै नेपाली नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् र उनीहरूको स्वास्थ्य तथा जीवनको रक्षा गर्न सकियोस् भन्ने मेरो चाहना छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, चीन र नेपालका चिकित्सकहरूबीच सेतो कोटमार्फत स्थापित भएको यो आत्मीय मित्रता र मानवीय सम्बन्ध सधैँ कायम रहोस् भन्ने मेरो हार्दिक कामना छ। ( चीनका विशेषज्ञ चिकित्सक डा.छनको नेपाल अनुभव) 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...