नेभिगेशन
सबै कुरा

नेवार समुदायमा आज यःमरी पुन्हि मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

Extreme Energy
citizen life

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउँछन् । यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उनी बताउछन् । 

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइन्छ ।   

यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको छ  । 

तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ । 

‘ट्यो सिं ट्यो, बकसिं ट्यो

लटापाटा कुलिचाँ जुसिंट्या ।।

ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।

छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।

अर्थात् 

‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ

माना–पाथी जेबाट जति दिए पनि देऊ ।

दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।

तिम्रो पनि जाडो, हाम्रो पनि जाडो

दिने भए छिटो देऊ’ 

यस्ता गीत गाउँदै यःमरी पुन्हिमा घरघरमा गएर यमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउँछन् । 

संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताए । यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उनको भनाइ छ । 

यःमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा यःमरी पुन्हि मनाउने गर्छन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हँुदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ । 

किंवदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए । उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने  संस्कृति विकास भएको मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

एउटा सर्वव्यापी मान्यता छ– साथी रोज्न पाइन्छ तर, छिमेकी रोज्न पाइँदैन । देशका लागि त छिमेकी रोज्ने विषय कल्पनासमेत गर्न सकिँदैन । यो कुरा ठ्याक्कै नेपालसँग मिल्छ ।
सञ्चार मन्त्रालयअन्तर्गत ९ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त

सञ्चार मन्त्रालयअन्तर्गत ९ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गतका विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, आयोग तथा समितिका पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन्...
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने स्पष्ट पारेको छ । संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको...
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...