काठमाडौँ । सन् १९५९ मा ली कुआन येउ सिंङ्गापुरको प्रधानमन्त्री बने । यही समय नेपालमा भने पहिलो आम निर्वाचन चल्दै थियो ।
पूर्ण स्वायत्तसमेत नभएको समुन्द्री बन्दरगाहको एउटा गरिब टापुका प्रधानमन्त्री बनेका थिए ली कुआन येउ । जसको परिचय थियो बालुवा भरिएको तेस्रो विश्वको एउटा समुन्द्री टापु ।
ठिक यसै समय नेपालमा विपी कोइराला दुई तिहाई मतसहित प्रधानमन्त्री भए । ३१ वर्ष सिंङ्गापुरको शासन सम्हालेका लिले सिङ्गापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वको श्रेणिमा उभ्याए ।
चार सय डलर हाराहारी रहेको प्रतिव्यक्ति आयलाई ११ हजार डलरमा पुर्याए । माछा मार्ने गरिबहरुको टापुलाई धनाढाय र समुन्नत मानिसहरु बस्ने संसारकै लोकप्रिय आर्थिक नगरीको रुपमा विकास गरे । मुलुकको प्रधानमन्त्रीको हैसियतबाट ली कुआन येउले सन् १९९० मा राजीनामा दिए ।
राजनीतिक स्थिरताको जगमा उनले ३१ वर्षमा सिंङ्गापुरमा जे गरे । त्यही गर्ने अवसर दिएका थिए जनातले नेपाली काँग्रेस र विपी कोइरालालाई २०१६ सालमा । नेपालको पहिलो आमनिर्वाचन २०१५ बाट दुई तिहाई बहुमतसहित वीपी कोइरालाले २०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए ।
२००७ सालको क्रान्तिको पृष्ठभूमिमा नेपाली कांग्रेसले १ सय ९ मध्ये ७४ सीट जितेर दुई तिहाईको सरकार बनाएको थियो । वीपी प्रधानमन्त्री हुँदा बिर्ता उन्मुलन, असलंग्न परराष्ट्र नीति, प्राथमिक शिक्षा निशुल्क, त्रिभुवन विश्वविद्यालय स्थापना लगायतका महत्वपूर्ण कामको सुरुआत भएको थियो ।
तर, तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री वीपी बीचको व्यक्तित्व टकरावका कारण सरकार लामो समय टिक्न सकेन । वि.सं.२०१६ साल जेठ १३ गते प्रधामन्त्री बनेका वीपी र उनको सरकार २०१७ साल पुस १ गते शाही घोषणाबाट राजा महेन्द्रले प्रत्यक्ष शासन गरेपछि कुल १९ महिनामा अपदस्त भयो ।
महेन्द्र र वीपीबीचको टकरावका कारण दुईतिहाई जनमत खण्डित हुनपुग्यो । मुलुकले महत्वपूर्ण अवसर गुमायो । संसारले विकासमा ३६० डिग्रीको कोल्टे फेरेको बितेका ६६ वर्षमा नेपाल भने संधै राजनीतिक संक्रमण र अस्थिरता गहिरो खाडलमा फस्यो । तर यो ६६ वर्षमा सिंगापुर कहाँबाट कहाँ पुुग्यो ।
वीपी प्रधानमन्त्री बनेको ६६ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उस्तै जनमतसहित सरकार सञ्चालन गर्ने अवसर पाउँदैछ । र देशको अवस्था झण्डै झण्डै १९५९ को सिङ्गापुरको जस्तै छ । कतिपय विद्धानहरुले विपीबाट खोसिएको त्यो सुनौलो अबसर अहिले रवि र बालेनले प्राप्त गरेको भनिरहेका छन् ।
रास्वपाकै उपभापति डा. स्वर्णिम वाग्लेकै भनाई सापट लिएर भन्ने हो भने उनका सभापति रवि लामिछानेको हुुटहुुटी ठिक त्यो बेलाको विपीको जस्तै छ । के त्यो बेला विपीले गुमाएको समय फिर्ता पाएको रास्वपा र रवि बालेनले यो अभुतपूर्व मतमार्फत देशको काँचुुली फेर्लान ? अहिलेको आधुुनिक सिङ्गापुर जस्तै नेपाल पनि विकसित होला । आज हामी यो अभुतपूर्व जनमत र रवि बालेनले फिर्ता पाएको विपीबाट खोसिएको यही समय, अवसर र सम्भावनाकाबारे विश्लेषण गर्दैछौँ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले करिब २ तिहाई जनमत हासिल गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ सीटमध्ये रास्वपाले १ सय ८२ सीटमा जित हासिल गरेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनको सहकार्यलाई जनताले अनुमोदन गरेकै कारण अब बालेन मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री बन्दैछन् ।
२०१५ सालमा दुई तिहाई ल्याउँदा वीपीसँग ३८ प्रतिशत लोकप्रिय मतको तागत थियो । यतिबेला दुई तिहाईका लागि रास्वपालाई २ सीट पुगेको छैन तर ४८ प्रतिशत लोकप्रिय मतको उसको सबैभन्दा ठूलो तागत हो । वीपीले पाएको अवसर ६६ वर्षपछि बालेनले पाउँदैछन् । यो अवसरको सदुपयोगले समृद्ध नेपाल बन्ने अपेक्षा नागरिकले गरेका छन् ।
संसदीय राजनीतिमा बहुमत वा दुई तिहाई समर्थनको विशेष अर्थ हुन्छ । जनताले जब कसैप्रति बढी विश्वास गर्छन्, तब जनमत पनि गज्जबले दिन्छन् । त्यसैले त रास्वपालाई प्रत्यक्षतर्फ ७५ प्रतिशत सीटमा जिताइदिए । समानुपातिकमा ४८ प्रतिशतभन्दा बढी अर्थात ५१ लाख ८३ हजार ४ सय ९३ मत दिए ।
यो अवसरको मात्रै मत होइन, आशाको मत हो । जनताले आशा गरेका छन् कि देशमा व्याप्त भ्रष्टाचार अन्त्यको अगुवाई रवि बालेनले गर्नेछन् । सुशासनको जग रवि बालेनले बसाल्नेछन् । विकास निर्माणको अग्रसरता रवि बालेनले लिनेछन् । शिक्षा र स्वास्थ्यमा जनताको पहुँच रवि बालेनले सुनिश्चित गर्नेछन् । समग्रमा जनताले आशा गरेका छन् कि देशको मुहार रवि बालेनले फेर्नेछन् ।
नेपालमा बितेको ७५ वर्षमा कुनैपनि सरकारले ५ वर्ष पूरा अवधि काम गर्न पाएन । पछिल्लो ३४ वर्षमा २५ वटा सरकार बने र ढले । त्यसैले जनताले ५ वर्ष टिक्नसक्ने गरी, कसैले ढाल्न नसक्ने गरी, काम गर्न बाधा नहुनेगरी रास्वपालाई बहुमत दिएका छन् ।
परम्परागत राजनीतिक दलको विकृतिविरुद्ध स्थापना भएको ३ वर्षमै रवि लामिछाने नेतृत्वको पार्टीलाई जनताले गरेको विश्वास अब काममा परिणत हुनुपर्नेछ । प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले अनि देशकै सबैभन्दा ठूलो पार्टीको सभापतिका रुपमा रवि लामिछानेले अबको ५ वर्ष जनतालाई डेलिभरी दिनुपर्नेछ । राजनीतिक सिण्डिकेटका आधारमा सरकारी स्रोतको दोहन गर्ने र जनतालाई सुविधा नदिने प्रवृत्तिका विरुद्ध रास्वपाले बहुमत पाएको हो ।
नेतासँग सम्बन्धका आधारमा ठेक्का लिने तर बजेट पचाएर विकास निर्माणको काम अलपत्र पार्ने प्रवृत्तिलाई ठेगान लगाउन जनताले रवि बालेनलाई जिम्मा दिएका हुन् । राजनीतक छाता ओढेपछि जस्तोसुकै अपराध र भ्रष्टाचारमा संलग्न भएपनि उन्मुक्ति पाउने प्रचलनको अन्त्य गर्न अनि सुशासनको प्रत्याभूति गराउन जनताले रास्वपालाई मत दिएका हुन् । यी सबै जनताका अपेक्षा बुझेर रवि बालेनले काम गर्नुपर्ने छ । अन्यथा रवि लामिछानेकै भनाईजस्तै पुराना दललाई ३५ वर्ष कुरेका जनताले रास्वपालाई ३५ दिन पनि नकुर्ने परिस्थिति बन्न सक्छ ।
आफैभित्रको सुगन्ध पहिल्याउन नसकेर भौतारिरहेको कस्तुरी झै आफ्ना सैयौ सम्भावनालाई नचिनेर नेपाल अल्मलिरहेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश, विश्वशान्तिका अग्रदूत भगवान बुद्धको देश, भगवान पशुपति नाथको देश, प्राकृतिक सौन्दर्यले भरिएको र अथाह पर्यटकीय सम्भावना बोकेको देश ।
अब बन्ने सरकारले नेपालको पर्यटनलाई विश्वस्तरीय बनाउनुपर्नेछ । वर्षेनी करोडौ पर्यटक नेपाल आउने बनाउनुछ । जसले यो देशको समृद्धिलाई छोटो समयमै सुनिश्चित गर्नेछ ।
इतिहास सधै फर्कदैन । २०१५ सालमै वीपीलाई बहुमत दिएर देश बनाउने संकल्प नेपालीले गरेकै थिए । यसपटक इतिहास फर्किएको छ । जनताले अपार समर्थन गरेर देश बनाउने जिम्मा रवि बालेनलाई दिएका छ । हिजो जेसुकै कारणले देश नबनेको भए पनि अब यो अवसर खेर फाल्नुहुँदैन ।
जलस्रोतमा धनी कहलिए पनि वर्षौसम्म लोडसेडिङको अध्यारोमा नेपाल रहनुपर्यो । अहिले लोडसेडिङमात्रै हटेको छ, वैकल्पिक ऊर्जाका रुपमा विद्युतको प्रयोग प्रबर्धन भएको छैन । हिउँदमा अझैपनि विद्युत खरीद गर्नुपर्ने बाध्यता छ । रवि बालेनको सहकार्यले अब नेपालको विद्युत उत्पादनलाई गति दिन जरुरी छ । विश्वलाई बिजुली बेचेर चम्कीरहेको नेपाल बनाउनु छ । वाचापत्रले भनेझै अबको दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गराउनुपर्नेछ ।
वर्षौसम्म नेपाली युवाहरु विदेशमा बसेर रेमिट्यान्स पठाउने क्रम चलिरह्यो । यस्तो क्रमले देशको ढुकुटी भरिएको त देखियो तर त्यो राजस्वले देश बनाउन सकेन । तीनै युवालाई स्वदेशमा फर्कने वातावरण बनाउन सकेन । ज्ञान हासिल गर्न र प्रविधि बुझ्न विदेशमात्रै होइन, ब्रह्माण्डभर नेपालीहरु फैलनु राम्रो हो तर दुई छाक खान लाउनकै लागि विदेशिनुपर्ने बाध्यता रोक्नुपर्नेछ ।
कृषि र उद्यमशीलतालाई प्रबर्धन गरेर युवालाई स्वदेशमै अवसर दिनुछ । जनताले यो कामको आशा पनि रवि बालेनबाटै गरेका छन् । नेपालसँगै राजनीतिक स्वतन्त्रता हासिल गरेका देशहरुले समृद्ध देशको सूचीमा आफूलाई उभ्याइसकेका छन् ।
हामी भने सधै राजनीतिक संघर्ष र स्वार्थको घेरामा अल्मलिनुपर्यो । अव विकृत राजनीतिको अन्त्य गर्दै जनताको हितमा उभिने राजनीतिलाई प्रबर्धन गर्नुपर्ने छ । जनताले यो काम पनि रास्वपाबाटै होस भन्ने चाहेका छन् ।रास्वपाले आफ्ना निर्वाचित सांसदहरुलाई व्यवस्थित प्रशिक्षण दिएर जनताको यो अपेक्षा बुझाउने सकरात्मक प्रयास गरेकै छ । यसमा खरो उत्रने दायित्व रास्वपाका ती सांसद र तमाम कार्यकर्ताहरुको हुनेछ ।
औसत नेपालीको आम्दानीको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमै खर्च भएको छ । जबकी संसारभर लोककल्याणकारी राज्यहरुले नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यको निशुल्क प्रबन्ध गरेका हुन्छ । यसपटकको निर्वाचन अभियानमा रवि र बालेनले भनेझै पैसा नभएकाहरुले पनि गुणस्तरीय शिक्षा र निशुल्क उपचार पाउने व्यवस्था गर्नुपर्नेछ । जनताले रवि बालेनको वाचा पत्याएर मतदान गरिसके, अब पालो कार्यान्वयनकै हो ।
यसपटक जनताले नेपालको समग्र क्षेत्रको सुधारको अगुवाई गर्ने जिम्मा रास्वपालाई दिएका छन् । यसको मतलब अरुलाई जिम्मेवारी नै छैन भन्ने होइन । सानो आकार दिएपछि जनताले कांग्रेस, एमाले र नेकपालाई पनि संसदमा स्थान दिएका छन् । विगतमा गरेका कमजोरीमा भूलसुधारको अवसर दिएका छन् । लोकतन्त्रमा प्रतिपक्ष कहिल्यै कमजोर हुँदैन । विगतको सत्ता राजनीतिको ह्याङ छाडेर रचनात्मक प्रतिपक्षको रुपमा कांग्रेस, एमाले र नेकपाले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ ।
राजनीतिको परम्परागत गणित बिर्सेर बहुमतको सरकारलाई गुण र दोषका आधार समर्थन र खबरदारी गर्ने जिम्मेवारीमा कांग्रेस, एमाले, नेकपा देखि श्रम संस्कृति पार्टी र राप्रपासमेत खरो उत्रनुपर्छ । आलोचकहरुले रास्वपालाई नयाँ देखेपनि जनताले रास्वपालाई परिपक्व मानेका छन् । आलोचकले रास्वपाको इतिहास नभएको भनेपछि जनताले इतिहास बनाउने अवसर रास्वपालाई दिएका छन् ।
सञ्चारकर्ममा रहँदा समाजका विकृतिप्रति खरो उत्रिएका रवि लामिछाने र पेशाले इञ्जिनियर भएर देशको इञ्जिनियरिङ गर्ने हुटहुटी राखेका बालेन दुवैलाई यसपटक अद्भूत अवसर प्राप्त छ । इतिहासमा वीपी कोइरालाले पाएको त्यो खवसर खेर जाँदा देशले यो दुर्दान्त व्यहोर्नुपर्यो । त्यसैले यसपटक बडो संयमता साथ जनमतको जिम्मेवारी छिचोल्दै रवि र बालेनले देश बनाउन पर्नेछ । देश बचाउनुपर्नेछ ।