नेभिगेशन
समाज

रवि–बालेन सम्बन्धको गाँठो कति कसिलो  ?

जनताको चाहना र समयले जुटाएका रवि र बालेनको केमिस्ट्री कस्तो छ ?

काठमाडौँ । फागुन २१ को चुनावमा रास्वपाले अभूतपूर्व मत पायो । जनताको अपार साथ पायो । रास्वपाले कसरी जित्यो ? सिधा अर्थ हो– जनताले घण्टीमा छाप हाने । के जनताले चुपचाप, बुझ्दै नबुझी घण्टीमा भोट हालेका हुन् ? यदि यसो भनियो भने गल्ती हुन्छ । जनताले बुझेर, जानेर घण्टीमा भोट हालेका हुन् । ह्विमले नभई हृदयले ठानेर भोट हालेका हुन् । र, जनताको हृदयमा बसेका बसेका मुख्य दुई नेता हुन्– रवि लामिछाने र बालेन शाह । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनताले अहिले रवि र बालेनलाई नायक सम्झेका छन् । रवि र बालेनमा परिवर्तनको आशा देखेका छन् अनि भविष्यको भरोसा ठानेका छन् । त्यही आशा र त्यही भरोसालाई मतपत्रमा व्यक्त गरेका हुन् । 

Ncell
Extreme Energy

चुनावको अन्तिम नतिजा सार्वजनिक हुनै बाँकी छ । निर्वाचन आयोगले केही दिनभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने छ । तर, अन्तिम नतिजा कस्तो हुन्छ भन्ने सारा संसारले अड्कल गरिसकेको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जुन अनुपातमा मत पाएको छ, त्यसले पनि आगामी संसदको अंकगणितको संकेत गरिसकेको छ । 

स्पष्टै छ– आगामी केही दिनमै रास्वपाले सरकार बनाउने छ र सरकारको नेतृत्व गर्ने छन् वरिष्ठ नेता बालेन शाहले । ऐतिहासिक मत पाएको रास्वपा अनि ऐतिहासिक मत पाएका बालेन । गज्जबको संयोग जुरेको छ । रास्वपाको एकल सरकार बन्ने छ, बालेन शाहले प्रधानमन्त्रीका रुपमा सत्ता सञ्चालन गर्ने छन् । 

वरिष्ठ नेता बालेनले सरकारको नेतृत्व गर्ने छन्, रास्वपा सभापति रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् । सत्ता सञ्चालनमा सरकारलाई सहयोग गर्ने छन् । आम नेपालीले रवि र बालेनले मुलुक हाँकेको हेर्न चाहिरहेका छन् । नेपालीले मात्रै मात्रै होइन, संसारका शक्ति राष्ट्रहरुले समेत रवि र बालेनले हाँकेको नयाँ नेपालको यात्राको प्रतीक्षा गरिरहेका छन् । रवि र बालेनसँग  मिलेर सँगै काम गर्न तत्परता देखाइरहेका छन् । 

आम नेपाली र सारा संसारले रवि–बालेन नेतृत्वको प्रतीक्षा गरिरहेका बेला देशभित्रै भने केही यस्ता शक्ति सल्बलाउन थालेका छन्– जसले रवि–बालेन सम्बन्धका बारेमा अनावश्यक टिप्पणी गरिरहेका छन् । ‘रवि र बालेन लामो समय सँगै रहनै सक्दैनन्, रास्वपा जुनसुकै बेला फुट्न सक्छ, देश फेरि मध्यावधिमा जान्छ’ जस्ता गैरजिम्मेवार र कपोलकल्पित हल्ला फैलाउनेहरु पनि छन् । जसले यस्तो हल्ला फैलाइरहेका छन्– कि उनीहरुले रवि र बालेनलाई चिनेकै छैनन्, या उनीहरुले यो परिवर्तनलाई स्वीकार गरेकै छैनन् । 

madeshma-rabi-balena_sidhakuras-1768814468.png
 

कसरी ? यो जान्न रवि र बालेनको व्यक्तित्व, उनीहरुको कार्यशैली, उनीहरुको भावना, उनीहरुको योजना, उनीहरुको विगत अनि उनीहरुको केमिस्ट्रीलाई बुझ्न जरुरी हुन्छ । अब रवि र बालेनलाई नजिकबाट चिनौं । 

सुरुमा रवि को हुन् र रास्वपा कसरी बन्यो ? छोटकरीमा बुझौं । 

राजनीतिमा आउनु अघि नै रवि लामिछाने आफ्नो विधा वा पेशामा स्थापित थिए । मिडियामा रहँदा उनले मुलुकमा व्याप्त बेथिति, बिसंगती र विकृति देखे, भ्रष्टाचारले जरा गाडेको देखे । मल नपाएर तड्पिएका किसानका पीडा देखे, विदेश पुर्याएर बिचल्लीमा पारिएका चेलीहरुको आँशु देखे । शक्तिको आडमा झुठो मुद्दा लगाएर फसाइएका युवाहरुको समस्या बुझे । सिंहदरबारदेखि वडा कार्यालय हुँदै उपभोक्ता समितिसम्म मौलाएको भ्रष्टाचार देखे, किसानले फलाएका तरकारी सडकमै फालेको देखे । देशमा गरिखान नपाएर विदेशिएका युवाहरुको बाध्यता बुझे ।  

संक्षेपमा भन्नुपर्दा मुलुकमा जति समस्या थिए– ती सबै उनले बुझे । सक्नेजति समाधान पनि गरिदिए । देशभित्र होस् कि विदेशमा अलपत्र पारिएकाहरुको उद्धार गरे । तर, उनी जुन फिल्डमा थिए– त्यहाँ बसेर सबै समस्या समाधान गर्न सकिँदो रहेनछ भन्ने पनि बुझे । राजनीतिबाट मात्रै यी सबै समस्याको समाधान गर्न सकिन्छ भन्ने ठहर गरे र राजनीतिमा आउने निर्णय गरे । २०७९ असारमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुको उद्देश्य यही थियो । रविले पार्टी खोले, विचार र भावना मिल्नेहरु जोडिँदै गए । अहिले त्यही रास्वपा बुहसंख्यक जनताको पार्टी बन्यो । धेरैको रोजाइ मात्र होइन, आशा र भरोसाको पार्टी बन्यो । 

पार्टी स्थापना भएको चार वर्ष नपुग्दै २–२ वटा चुनाव । पहिलो चुनावले नै परम्परागत पार्टीहरुलाई तर्सायो, अहिलेको चुनावले त धेरैलाई पछार्यो, पत्तासाफ गरायो । रास्वपाप्रति जनउभार देखियो । 

rabi-lamichhane-1772190453.jpg
रविको अर्को चरित्र हो– कहिल्यै नआत्तिने, कहिल्यै नमात्तिने । २ पटक सरकारमा पुगे, मत्तिएनन् । जिन्दगीभर जेलमा सडाउने षड्यन्त्र गरियो, त्यसमा पनि आत्तिएनन् । बरु पार्टीका नेता, समर्थक अनि आम जनतामा आशा प्रवाह गरिरहे, सुन्दर भविष्य सन्निकट छ भन्ने सन्देश दिइरहे । 

सुधार माथिबाटै गर्नुपर्छ, सिंहदरबारबाटै गर्नुपर्छ उनको ठम्याइ हो, अडान हो । यही अडानमा अहिले पनि अडिग छन् । भ्रष्टाचारको अन्त्य गरेर सुशासन मात्रै कायम गर्न सकियो भने पनि मुलुकका आधा समस्या समाधान गर्न सकिन्छ भन्ने उनको बुझाइ हो । 

रवि उदार छन्, लचिलो छन् । राजनीतिक यात्राको पछिल्ला साढे तीन वर्षमा उनले यो प्रमाणित गरिदिएका छन् । पार्टीभित्र होस् कि बाहिर, उनले सबैका कुरा सुन्छन् । योग्यलाई जिम्मेवारी दिन्छन् । 

यति मात्रै होइन, उनी रिजल्ट ओरियन्ट छन् । आफूले जे गर्छन्, त्यसको रिजल्ट आउनुपर्छ भन्छन्, अरुलाई जे जिम्मेवारी दिन्छन्– त्यसको पनि रिजल्ट देखिनुपर्छ भन्ने ठान्छन् । त्यसैले त रास्वपा अहिले यति विशाल पार्टी बनेको छ । विधागत योग्य मानिसहरु रास्वपाको नेतृत्व तहमा आएका छन् । सांसद बनेका छन्, अब प्रधानमन्त्री, मन्त्री बन्ने छन् । 

के रविको स्वभाव यत्ति हो त ? होइन । रवि कति उदार छन् भन्ने बुझ्न एक पटक गएको पुस १३ मा फर्कौं । 

पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहबीच ७ बुँदे सहमति भयो । फागुन २१ मा चुनाव हुने निर्धारित नै थियो, सँगै चुनावमा परिवर्तनको बाहक रास्वपा पहिलो पार्टी बन्ने र सरकार सञ्चालन गर्ने स्पष्ट जस्तै थियो । चुनावी प्रक्रिया सुरु नहुँदै रास्वपाप्रति जुन माहोल देखिएको थियो, त्यसले पनि त्यही संकेत गरिरहेको थियो । तर, दुई दुई पटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका रवि लामिछानेले चुनावपछि संसदीय दलको नेता बालेन शाह बन्ने र बालेन नै प्रधानमन्त्रीको उम्मेदवार हुने  सहमतिपत्रमा हस्ताक्षर गरिदिए । 

mile-rabi-balen-1766877501.jpg
सहमतिको चौथो बुँदामा भनिएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।

त्यसो त सात बुँदे सहमति हुनुअघि रास्वपा र बालेनका बीचमा पटक पटक संवाद भएको थियो । सहमतिपत्र त संवादको अन्तिम नतिजा थियो । यहाँ भन्नैपर्ने कुरा के पनि छ भने– जुन दिन रवि लामिछाने बालेन शाहसँग अन्तिम वार्ताका लागि जाँदै थिए त्यस दिन रविले भनेका थिए– गेट खुला राख्नुस्, छाती खुला गरेर आउँदैछु । यो सहमतिले त्यसैको पुष्टि गर्दैन र ? र उनले भनेका थिए, ‘सहमति भनेके नेताले खेजे जस्ते होइन देशलाइ चाहिएको जस्तो हुनुपर्छ ।’

अब बालेनको स्वभाव र कार्यशैलीको चर्चा गरौं । 

बालेनको लोकप्रियता, कार्यशैली र छबिका कारण आम नेपाली उनीप्रति लालायित छन् । देशमा बस्ने हुन् वा विदेशमा बस्ने हुन्, बालेनलाई सबैले हिरो मान्छन् । काठमाडौं महानगर प्रमुखका रुपमा साढे तीन वर्ष जे गरे, त्यसबाट आम नेपाली प्रभावित छन् । नेपाली मात्रै होइन विदेशी पनि चकित छन् । काठमाडौँ महानगर अर्थात काठमाडौँ सिटी । युवा पुस्ताले त काठमाडौँलाई ‘बालेन सिटी’ भनेर चिन्न थालेको छ । बालेनको यो लोकप्रियता कसरी सम्भव भयो ? यसका केही खास कारण छन् । 

पहिलो त उनी काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिँदादेखि मेयर पदमा रहँदासम्म कुनै दलसँग आबद्ध थिएनन् । स्वतन्त्र उम्मेदवारका रुपमा मेयर जिते, मेयर रहुन्जेल स्वतन्त्र भएरै काम गरे । उनले जित्दा आश्चर्यमा परेका कांग्रेस–एमालेले महानगरमा पनि अवरोध सिर्जना गर्न खोजे । बालेनले ती अवरोधलाई एक्लै चिरे, काम गरिरहे । पार्टीहरुले साथ नदिएर के भो त ? जनताले उनलाई नै साथ दिए । बालेन आरोप–प्रत्यारोपमा लागेनन्, अनावश्यक वादविवाद गरेनन्, केबल काम गरिरहे, रिजल्ट दिइरहे ।  

balen-1772190510.jpg
वार्षिक २५ अर्बको बजेट परिचालन गर्दा पनि बालेनको छबिमा कहिल्यै आँच आएन । स्थानीय सरकारका थुप्रै जनप्रतिनिधिले भ्रष्टाचारको आरोप खेपिरहँदा बालेन निष्कलंक रहिरहे । राज्यको ढुकुटीमा कहिल्यै ¥याल चुहाएनन्, बरु सदुपयोगको उपाय खोजिरहे, भ्रष्टाचार गर्न खोज्नेहरुलाई ठेगान लगाइरहे । 

युवाहरुले रुचाएका पात्र हुन् बालेन । युवाहरुकै साथ पाएर मेयर चुनिए । मेयर भएपछि आम जनताले साथ दिए । पहिले इन्जिनियर अनि ¥यापार । राजनीतिमा आउँदा पनि लोकप्रियता खस्किन दिएनन्, बढाइरहे । 

स्थानीय सरकार कति शक्तिशाली हुन्छ भन्ने प्रमाणित बालेनले नै गरिदिए । संघ सरकारसँग एक्लै लड्न सक्ने क्षमता पनि उनले देखाइदिए । प्रचण्डदेखि ओली अनि देउवासँग पौठेजोरी खेल्न सक्ने आँट कसैमा थियो भने त्यो आँट बालेनमै थियो । 

अब जेनजी आन्दोलनका बेला बालेनको भूमिका हेरौँ । जब नवयुस्ता सुशासन माग्दै सडकमा उत्रिएका थिए– बालेनले समर्थन जनाए । प्रदर्शनमा उत्रेकालाई खानेपानीको व्यवस्था मिलाए, घाइतेलाई उपचारका लागि महानगरको जनशक्ति परिचालन गरे । यसबाट पनि बालेनले युवाको मन जिते । 

त्यसैले त जेनजीहरुले सबैभन्दा पहिला नागरिक सरकारको नेतृत्वका लागि बालेनको नाम लिए । 

बालेन पदलोलुप थिए र प्रधानमन्त्री नै हुन चाहेका थिए भने सुशीला कार्कीको सट्टा भदौ २७ मै बालेन प्रधानमन्त्री बन्ने थिए । उनले प्रधानमन्त्री बन्ने रुचि देखाएनन् । बरु सुशीला कार्कीलाई नै समर्थन जनाए । 

झापा ५ मा उम्मेदवारी दर्ता गर्नुभन्दा २ दिन अघिसम्म पनि बालेन संघीय राजधानी रहेको काठमाडौँको शक्तिशाली मेयर नै थिए । त्यति शक्तिशाली मेयर पद छाडेर उनी चुनाव लड्न झापा पुगेका थिए । जुन समयसम्म उनी मेयर थिए, त्यतिबेलासम्म उनले आफ्नो स्वतन्त्र पहिचान कायम राखे । राजीनामा दिएपछि मात्रै उनी रास्वपामा आबद्ध भए, राजनीतिक दलमा समाहित भए । 

balen_itahari-1771926252.jpg
पद, सुशासन, विकास र आचरण सबै हिसाबले रवि र बालेनको सोच र कार्यशैलीमा मात्रै होइन, केमिस्ट्री नै मिलेको छ, म्याच भएको छ । पार्टीबाट उम्मेदवार चयन गर्दा होस् वा बाचापत्र तयार पार्दासम्म, रवि र बालेनका बीचमा कहीँकतै दुईमत देखिएन । एकमतले, एक मनले अनि एक साथले लागिरहे । के रवि र बालेनका बीचमा कुनै विवाद भएको भए रास्वपाले चुनावमा यति धेरै जनताको साथ पाउँथ्यो र ?

यति पनि विश्लेषण नगरी रवि र बालेनका बीचमा बेमेल छ, यिनीहरु जुनसुकै बेला भाँडिन सक्छन् भनेर कसैले अफवाह फैलाउन खोज्छ भने त्यसलाई जनताले पत्याउलान् र ? 

यहाँ स्पष्टै छ– रवि र बालेनलाई पदले मिलाएको होइन । जनताले मिलाएका हुन् । समयले मिलाएको हो । देशको आवश्यकताले मिलाएको हो । परिवर्तन चाहने सोचले मिलाएको हो । मुलुकलाई समुन्नतिको बाटोमा लैजानुपर्छ भन्ने भावनाले मिलाएको हो । युवाहरुको जोश र विज्ञहरुको होसले मिलाएको हो । 

भन्नैपर्ने हुन्छ– रवि वा बालेनमध्ये कुनै एक जनाले चाहेर उनीहरु छुट्टिन सक्दैनन्, पाउँदैनन् । रास्वपाका केही नेताहरुले चाहेर पनि यो एकता भाँडिन सक्दैन । केही देशी र विदेशी शक्ति लागे पनि यो एकतामा दरार आउन सक्दैन । यदि कसैले रवि–बालेन सम्बन्धमा भाँजो हाल्न खोज्छ भने त्यो जेनजी आन्दोलनलाई स्वीकार नै नगरेका र ३५ वर्षसम्म देशमा ब्रह्मलुट मच्चाइरहेकाहरुको ‘मनको लड्डु’ सावित हुने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्कन सक्रियता बढाएपछि उनको सदस्यता नविकरण नगर्ने निर्ण गरेको थियो ।
बजेटका सिद्धान्त र प्राथमिकताः सांसदहरुका आ-आफ्नै सुझाव

बजेटका सिद्धान्त र प्राथमिकताः सांसदहरुका आ-आफ्नै सुझाव

संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामामाथि छलफल भइरहेको छ । दुवै सदनका सांसदहरुले प्राथमिकता राम्रो रहेको बताउँदै व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा...
भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

सोमबार शंकास्पद क्रियाकलापमा संलग्न रहेको देखेपछि उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो। उनले सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र नेपालमा अनुमति नलिई ६...
विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

उनीहरुले विराटनगर स्थित संसारी माइस्थानबाट शुरु गरेको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिएका थिए ।