काठमाडौँ । भदौ १० गते रसुवाको ल्हेन्दे खोलाबाट सुरु भएको त्यो विनाशकारी बाढीले भोटेकोशी, त्रिशूली हुँदै नारायणीसम्मको नदी प्रणाली नै तहसनहस बनायो। भेलबाढीका कारण अहिलेसम्म १३८५ जनाको मुत्यु पुष्टि भइसकेको छ। ५ हजार १३० जना बेपत्ता छन्। ३३७ जना घाइतेछन् ।
१२ बढी बजार क्षेत्र र झण्डै ५० हजार घरमा क्षति पुगेको आकलन गरिएको उक्त भेलबाढीले हिमाली क्षेत्रमा अर्को जोखिम पनि छाडेर गएको छ । बाढीपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन् ।
एउटा ताल हिमपहिरो गएको स्थानबाट करिब २१ किलोमिटर तल र अर्को ल्हेन्दे र लिरुङ खोलाको दोभाननजिक बनेको छ । यीमध्ये एउटा तालबाट पानी निरन्तर बाहिरिइरहेको छ भने अर्को ताल भरिएर पोखिँदा तल्लो तटीय क्षेत्रमा पानीको सतह यसअघि नै बढिसकेको छ ।
अब प्रश्न छ— यी दुई नयाँ हिमताल कति जोखिमपूर्ण छन् ? के यिनले फेरि अर्को विनाशकारी बाढी निम्त्याउन सक्छन् ?
भदौ १० गते बिहान ।
नेपाल–चीन सीमाबाट करिब २२ किलोमिटर माथि ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा अचानक ठूलो हलचल भयो। बिहान ८ बजेर ३७ मिनेटमा एउटा शक्तिशाली भूकम्पीय कम्पन रेकर्ड भयो। सुरुमा यसलाई भूकम्प ठानियो। तटीय क्षेत्रमा रहेका मानिसहरूको भागदौड मच्चियो। ज्यान जोगाउन मानिसहरू समथर भूभाग खोज्दै भाग्न थाले।
तर एकैछिनमा दृश्य फेरियो। आकाशमा बाढीका लप्का देखिन थाले। त्यो सुनामीको शैलीमा जमिन र आकाश दुवै छोप्दै थियो । अध्ययनपछि त्यो हिमसुनामी हिउँ र चट्टानसहितको ठूलो हिमपहिरो खस्दा उत्पन्न भएको देखियो।
करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमनदी भत्किँदा उक्त विशालकाय सुनामी उत्पन्न भएको थियो। उक्त हिमविचलनको घटना हिमनदी र त्यससँगै ठूलो परिमाणमा चट्टान तल खस्दा उत्पन्न भएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ।
करिब १ हजार २०० देखि २ हजार मिटर तल रहेको ल्हेन्दे नदीको साँघुरो उपत्यकामा जब यो विशाल बरफ, चट्टान र भग्नावशेष खस्यो, त्यसको प्रभाव सामान्य पहिरोजस्तो रहेन। त्यही घटनाले केही मिनेटमै विशाल बाढीको रूप लियो। यो घटनाको अर्को गम्भीर परिणाम अहिले देखिएको छ।
ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्। हालै मात्र जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनले तिनलाई ‘ताल–१’ र ‘ताल–२’ भनेर नामकरण गरेको छ ।
ताल–१ रसुवागढीबाट करिब १५ किलोमिटर माथि, ल्हेन्दे र लिरुङ खोलाको दोभान नजिक बनेको हो। २८ अगस्ट सम्म यसको क्षेत्रफल करिब एक लाख ६० हजार वर्गमिटर थियो। तर यो तालबाट पानी निरन्तर बाहिरिइरहेको छ।
त्यसैले तत्कालका लागि यसबाट सिर्जना हुन सक्ने जोखिम केही घट्दै गएको आकलन गरिएको छ। तर अर्को तालको अवस्था फरक छ। ताल–२ हिमपहिरो गएको स्थान नजिक, रसुवागढीबाट करिब २१ किलोमिटर माथि बनेको हो।
यसको क्षेत्रफल करिब एक लाख ८० हजार वर्गमिटर छ। अगस्ट २९ मा यो ताल भरिएर पोखिँदा तल्लो तटीय क्षेत्रमा पानीको सतह बढेको थियो। अर्थात्, बाढी ल्याउने मूल घटनापछि बनेका यी दुई ताल आफैमा भविष्यको जोखिमका नयाँ केन्द्र बन्ने हो कि भन्ने आशंका अहिले वैज्ञानिकहरुले गरिरहेका छन् ।
अहिले सबैभन्दा आशंका यही हो— यी तालमा पानी फेरि बढ्यो भने के हुन्छ ? यदि हिमपहिरोबाट बनेका अस्थिर संरचना कमजोर भए, तालमा पानीको मात्रा तीव्र रूपमा बढ्यो वा माथिल्लो भागबाट फेरि ठूलो परिमाणमा बरफ र चट्टान खस्यो भने ताल फुट्ने वा अचानक पानी बाहिरिने जोखिम रहने विश्लेषक बताउँछन्। यसको विस्तृत आकलन भने हुन बाँकी छ।
कथम् ठूलो परिमाणमा बरफ र चट्टान खस्यो भने तलतिर रहेको ल्हेन्दे खोला हुँदै रसुवागढी, स्याफ्रुबेंसी र भोटेकोशी आसपासका बस्तीमा फेरि आकस्मिक बाढी आउन सक्छ।
त्यसैले अहिले बनेका यी तालको पानीको सतह, तालको किनारा, बाँधजस्तो बनेको भग्नावशेष र माथिल्लो हिमनदी क्षेत्रमा निरन्तर निगरानी आवश्यक छ।
भदौ १० को बाढीले कस्तो विनाश ल्याउन सक्छ भन्ने उदाहरण केही साताअघि मात्र देखिइसकेको छ। अध्ययन प्रतिवेदनअनुसार बाढीको मुख्य छाल उद्गमस्थलबाट करिब २० किलोमिटर तल रहेको रसुवागढी पुग्न सातदेखि आठ मिनेट मात्र लागेको थियो।
रसुवागढीसम्म बाढीको गति करिब ८८ किलोमिटर प्रतिघण्टा अनुमान गरिएको छ। अर्थात् जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न पर्याप्त समय नै थिएन। उत्पत्तिस्थलदेखि रसुवागढीसम्मको अर्को गणनाअनुसार सात मिनेटमै पुगेको बाढीको औसत गति अझ धेरै थियो।
यही कारण हिमाली क्षेत्रमा सामान्य बाढीका लागि बनाइएको पूर्वसूचना प्रणालीले मात्र यस्तो घटनालाई समयमै समेट्न कठिन हुने देखिएको छ। अब हामी बाढीको टाइमलाइन देखाउनछौं।
बिहान ८ः३७ बजे हिमपहिरोसँग सम्बन्धित भूकम्पीय तरङ्ग रेकर्ड भयो। ८ः४५ बजे मुख्य बाढीको छाल केरूङ–रसुवागढी पुग्यो। ८ः५० बजे स्याफ्रुबेंसीको जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भयो। त्यसपछि ९ः०५ बजे बाढी पूर्वानुमान महाशाखाले पहिलो सूचना पायो। ९ः२० बजे बेत्रावतीमा जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भयो। ११ः४३ बजे फुर्के अर्थात् मलेखु क्षेत्रमा नदी खतराको तह पार गर्दै जलमापन केन्द्र नै बगायो। र दिउँसो ४ बजे देवघाटमा पानीको सतह ६ दशमलव ५७ मिटर पुग्यो। रसुवागढीदेखि देवघाटसम्म करिब २०१ किलोमिटरको दूरी बाढीले करिब ६ घण्टा ४२ मिनेटमा पार गरेको थियो। देवघाटमा बाढीको अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको अनुमान छ।
बाढीका क्रममा देवघाटबाट बगेको कुल पानीमध्ये करिब १ करोड ९९ लाख ६० हजार घनमिटर अतिरिक्त पानी बाढीको रूपमा थपिएको प्रारम्भिक विश्लेषण छ। तर यो बाढी वर्षाका कारण आएको थिएन। घटना हुनुअघि क्यान्जिङ स्टेसनमा पछिल्लो ६ घण्टामा जम्मा १ दशमलव ५ मिलिमिटर वर्षा मात्र भएको थियो। त्यसैले अध्ययनको निष्कर्ष स्पष्ट छ—यो सामान्य वर्षाजन्य बाढी थिएन। यो हिमपहिरो, चट्टान र बरफको विस्थापन तथा त्यसबाट सिर्जित आकस्मिक बाढी थियो।
लाङटाङ–लिरूङ हिमालको उत्तरी भागमा करिब ५ हजार २०० मिटर उचाइमा रहेको झुन्डिएको हिमनदी भत्किएको थियो। भू–उपग्रह तस्बिरमा करिब दुई वर्ग किलोमिटर क्षेत्रफलको हिमनदी र चट्टान टुक्रिएर तल खसेको देखिन्छ। उच्च हिमाली क्षेत्रबाट ठूलो परिमाणमा बरफ र चट्टान तल खस्दा त्यसको स्थिर ऊर्जा गतिशीद ऊर्जामा परिणत भइहाल्यो। त्यही शक्तिले नदीको प्राकृतिक बहावलाई एकैपटक असाधारण रूपमा बढायो। बाढी यति शक्तिशाली थियो कि नदीको बहाव मापन गर्ने महत्त्वपूर्ण पूर्वाधारसमेत जोगिएनन्।
रसुवागढी, स्याफ्रुबेंसी, लाङटाङ खोला, बेत्रावती, फलाखु खोला र फुर्केमा रहेका जलमापन केन्द्र बाढीले पूर्ण रूपमा बगायो। जुन स्थानबाट सबैभन्दा पहिले जोखिमको सूचना आउनुपर्ने हो, त्यहीँका निगरानी संयन्त्र नै बाढीले नष्ट गरिदियो। यही घटनापछि जोखिम निगरानीको नयाँ प्रयास पनि सुरु गरिएको छ।
घटनाको सातौँ दिन नेपाल–चीन सीमा नजिकैको टिमुरेमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। नदीको सतहबाट करिब ७० मिटर उचाइमा राखिएको यो क्यामेराले नदीको प्रत्यक्ष दृश्य बाढी पूर्वानुमान महाशाखामा पठाउनेछ।
अब माथिल्लो क्षेत्रमा पानीको असामान्य बहाव बढ्यो कि बढेन, नदी थुनियो कि थुनिएन, हिमतालमा कुनै परिवर्तन आयो कि आएन भन्ने कुरा दृश्यबाटै हेर्न सकिने महाशाखाले बताएको छ।
तर टिमुरेको एउटा क्यामेरा मात्रै पर्याप्त छैन। किनभने भदौ १० को घटनाले जोखिमको प्रकृति नै बदलिएको देखाएको छ। अब जोखिम केवल नदीमा मात्र छैन, हिउँले ढाकेका चट्टानसहित खस्ने पहिरोमा छ।
अझ जोखिम नयाँ बनेका हिमतालमा र ती ताल फुटेपछि बग्ने नदीमा पनि छ।
अहिले बनेका दुई नयाँ तालमध्ये एउटा तालबाट पानी बाहिरिइरहेको भए पनि अर्को ताल भरिएर पोखिएको घटना भइसकेको छ। त्यसैले यी ताललाई एकपटक हेरेर जोखिम समाप्त भयो भन्न सकिँदैन।
तालको पानीको सतह, माथिल्लो हिमनदीको अवस्था, सम्भावित नयाँ पहिरो, ताल थुनिएको संरचनाको स्थायित्व र तलतिरको नदी बहावलाई एकसाथ निगरानी गर्नुपर्ने आवश्यकता टड्कारो।
विशेषज्ञका लागि चुनौती यही हो— अर्को बाढी आउनुअघि त्यसको संकेत पहिचान गर्नु।
भदौ १० को घटनामा बाढी पूर्वानुमान महाशाखाले करिब ९ बजेतिर सूचना पाएपछि तत्काल चेतावनी प्रणाली सक्रिय तुल्याएको थियो।
९ बजेर ५ मिनेटदेखि ९ बजेर १४ मिनेटसम्म नेपाल टेलिकम र एनसेलमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका जोखिम क्षेत्रमा रहेका नागरिकलाई ६ लाख ७८ हजार २९५ वटा एसएमएस पठाइएको थियो। तर घटना र चेतावनीबीचको समय निकै कम थियो। यही कारण अबको प्रणालीले बाढी आएपछि सूचना दिने मात्र होइन हिमपहिरो गएको क्षणमै त्यसलाई पहिचान गरेर तलतिरका बस्तीलाई सूचना दिन सक्ने हुनुपर्नेछ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम थप जटिल बनाइरहेको छ। तापक्रम वृद्धि, पर्माफ्रोस्ट (हिमोढ वा हिमढिक्का) पग्लिनु, हिमनदीको अस्थिरता र भिरालो भूभाग कमजोर हुँदै जानुले हिमपहिरो तथा हिमताल निर्माणको सम्भावना बढाउन सक्छ। भदौ १० को घटना यसको एउटा गम्भीर उदाहरण बनेको छ।
त्यसैले अबको तयारी केवल नदीको पानी नाप्नेमा सीमित हुनु हुँदैन। हिमनदीदेखि हिमतालसम्म, हिमतालदेखि नदीसम्म र नदीदेखि बस्ती तथा पूर्वाधारसम्मको सम्पूर्ण जोखिम शृंखला निगरानी गर्नुपर्ने देखिएको छ।
भदौ १० गते ल्हेन्दे खोलाबाट सुरु भएको बाढीले केही घण्टामै सयौँ किलोमिटर तलसम्म प्रभाव पा¥यो। तर यो बाढीले छाडेको सबैभन्दा ठूलो प्रश्न अब नदीमा होइन, हिमालमा छ। बाढीपछि बनेका यी दुई नयाँ हिमतालको अवस्था कस्तो हुन्छ?उनीहरू स्थिर रहन्छन् कि फेरि अर्को आकस्मिक बहावको स्रोत बन्छन् ? यसको जवाफका लागि निरन्तर निगरानी, वैज्ञानिक अध्ययन र प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक छ।
किनभने—पहिलो बाढीले महाविनाश गरिसकेको छ। अब दोस्रो जोखिमलाई बाढी आउनुअघि नै पहिचान गर्नुपर्ने चुनौती छ।