काठमाडौँ । नेपाली कांग्रेस आगामी मंसिरभित्र १५ औँ महाधिवेशन गर्नै पर्ने कानुनी दबाबमा छ । तर, महाधिवेशनका लागि कांग्रेसका दुई समूहले दुई फरक फरक कार्यतालिका सार्वजनिक गरेका छन् ।
दुवै समूहले तालिका नै सार्वजनिक गरेर महाधिवेशनको तयारी अगाडि बढाइरहँदा पनि केही नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । तर, सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटको साइत नजुर्दा सहमतिको प्रयासले गति लिन सकेको छैन ।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता पाएको गगन थापा नेतृत्वको केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा पन्ध्रौँ महाधिवेशन गर्दैछ । तर, महाधिवेशन सुरु हुनुभन्दा ठीक एक दिनअघि असोज १५ गते निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूहले वडा अधिवेशन गर्नेगरी महाधिवेशनको कार्यतालिका ल्याएको छ ।
गत पुस अन्तिम साता विशेष महाधिवेशन आह्वान गरिएसँगै फुटको संघारमा पुगेका कांग्रेस अहिलेसम्म फुटिसकेको त छैन, तर फरक फरक रुपमा महाधिवेशन भयो भने त्यसले औपचारिक रुपमा नै दुइटा पार्टीको स्वरुप ग्रहण गर्नेछ ।
संस्थापनको तालिका अनुसार, असोज ३ र ४ गते वडा अधिवेशन हुने छ । वडा अधिवेशनपछि पालिका अधिवेशन र त्यसपछि क्षेत्रीय अधिवेशन गरेर सिधै महाधिवेशन हुने छ । जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गरिने छ ।
तर, निवर्तमान सभापति शेरबहादुर पक्षले असोज १५ गते वडा अधिवेशन, २० गते पालिका अधिवेशन, २३ गते क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१–२३ गते महाधिवेशन गर्ने तालिका बनाएको छ ।
निवर्तमान महामन्त्री एवं देउवा पक्षका महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले वडादेखि महाधिवेशनसम्मको तयारी अगाडि बढाइरहेका छन् । उनलाई विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा लगायत नेताहरुले सघाइरहेका छन् ।
शुक्रबार मात्रै २५ केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ‘दुवैतर्फका कार्यतालिका स्थगित गरेर सहमतिका लागि प्रयास गर्न’ आग्रह गरे । तर, उनीहरूको आग्रह पनि नेता शेखर कोइरालाको प्रयास जस्तै निरर्थक हुने सम्भावना बढ्दो छ ।
देउवाले गगनलाई भेटेनन्, शेखरलाई पनि टेरेनन्

कांग्रेसका सभापति थापा र निवर्तमान सभापति देउवाबीच भेटघाट नभएको करिव ८ महिना भयो ।
विशेष महाधिवेशनपछि यी दुई नेताबीच बोलचालसमेत छैन । महाधिवेशन बोलाउने वा नबोलाउने विवाद सुरु भएपछि गगनसँग भेट्न अस्वीकार गर्दै आइरहेका देउवाले महाधिवेशन नजिकिँदै गर्दासमेत भेट्न चाहेका छैनन् ।
पाँच महिना लामो विदेश बसाइपछि साउन अन्तिम साता नेपाल फर्केका देउवा त्यसयता सक्रिय छन् । इतरपक्षले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गरे, तीन दिन लगातार भेलामा सहभागी भए, आफै सभापति रहेको छनक दिए ।
त्यसयता पनि उनी निरन्तर सक्रिय छन् । चुनदेवी सम्पर्क कार्यालय पुगिरहन्छन्, निकटस्थहरूलाई भेटिरहन्छन् । बुधबार मात्रै भक्तपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएर भाषण नै गरे ।
तर, गगनले पटक पटक आग्रह गर्दा पनि भेट्ने समय पाएका छैनन् ।
गत साता गगनले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरे । पार्टीलाई एकताबद्ध बनाउन आफू तयार रहेको बताए । दुवै नेताले देउवासँग भेटेर छलफल गर्न सुझाए । देउवासँग भेटेर छलफल गर्न गगन तयार पनि भए । तर, देउवाले भेट नै दिएनन् ।
निवर्तमान सहमहामन्त्री बद्रि पाण्डेका अनुसार, सहमतिका लागि डा. कोइरालाले केही सूत्र सुझाएका छन् । त्यसका लागि देउवासँग भेट्नुपर्ने उनको सुझाव थियो । ‘उहाँहरुका बीचमा भेट भएको जानकारीमा आएको छैन, किन भएको छैन भन्ने हामीलाई जानकारी भएन’ पाण्डेले भने ।
कांग्रेसको पछिल्लो विवादमा डा. शेखर देउवासँग नजिक छन् । तर, देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी हुन भने उनी राजी भइसकेका छैनन् । दुइटा महाधिवेशन हुन नहुने र सहमतिमा एकताको महाधिवेशन गर्नुपर्ने शेखरको अडान छ ।
बिस्तारै अलग्गिँदैछन् पूर्णबहादुर

जेनजी आन्दोलनपछि उत्पन्न कांग्रेस विवादका एउटा पक्ष हुन्– निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि उनै खड्का रिट बोकेर सर्वोच्च पुगे । सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरिदिएपछि केही समय मौन रहे ।
साउन ६ मा बीपी स्मृति दिवस कार्यक्रममा इतर पक्षको नेतृत्व गरेका खड्काले त्यसपछि देउवासँगै सर्वोच्चमा फैसला पुनरबलोकनका लागि निवेदन दर्ता गराए । इतरपक्षको राष्ट्रिय भेलाको आयोजना र संयोजनमा पनि सघाए ।
तर, राष्ट्रिय भेलाको उद्घाटनपछि भने खड्का उतिसारो सक्रिय छैनन् । इतर पक्षका बैठक र छलफलमा जान छाडेका छन् । आफ्नै निवासमा समर्थक र शुभेच्छुकहरूसँग छलफल गर्छन्, पार्टी विवादबारे सार्वजनिक रुपमा बोल्दैनन् ।
खड्का किन अलग्गिँदैछन् ? निकटस्थहरूका अनुसार, खड्का पार्टी फुट्ने हो भन्ने चिन्तामा छन् । पहिले आफैले थालेको अभियान विभाजनसम्म पुग्ने त होइन भन्ने आशंकाले उनी सक्रिय हुन छाडेका छन् । ‘उहाँ कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन भन्ने लाइनमा हुनुहुन्छ’ एक नेताले भने ।
खड्काले शुक्रबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसहित कर्णालीका केही नेताहरुसँग छलफल गरे । त्यो छलफलमा पनि खड्काको चिन्ता सर्वोच्चको अन्तिम फैसला अगावै दुवै समूहको महाधिवेशन भयो भने पार्टी फुट्न सक्ने आशंका उनको थियो ।
असोज १६ गगनको ‘बटम लाइन’
-1788689103.jpeg)
पन्ध्रौँ महाधिवेशनका लागि भदौ २ गतेदेखि लागू हुने गरी तालिका सार्वजनिक गरेको कांग्रेसले सहमतिको प्रयासका लागि भन्दै भदौ २४ बाट सुरु गर्ने नयाँ कार्यतालिका ल्यायो ।
भदौ १० को भोटेकोशी बाढीले कांग्रेसको यो तालिका प्रभावित बनायो । भदौ २१ मा बसेको कार्यसम्पादन समिति बैठकले तालिका फेरि परिवर्तन गर्ने निर्णय गर्यो । बैठकले त्यसका लागि दुइटा कारण देखायो । पहिलो– भोटेकोशी बाढी, दोस्रो– पार्टीमा एकताको प्रयास ।
त्यहीअनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्यायो । असोज ३ र ४ मा वडा अधिवेशन गर्ने, पालिका र क्षेत्रीय अधिवेशनपछि सिधै महाधिवेशन गर्ने ।
योसँगै संस्थापनले महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यता अद्यावधिक गर्नैपर्ने पूर्ववत निर्णयलाई परिमार्जन गर्दै सदस्यता नवीकरण गरेकाहरूले महाधिवेशनमा भाग लिन पाउने खुकुलो निर्णय गर्यो ।
त्यस्तै, सभापति थापाले महाधिवेशनलाई निष्पक्ष बनाउन आवश्यक परे नेताहरु सम्मिलित संयन्त्र बनाउन सकिने, क्रियाशील सदस्यता छानबिन गर्न समिति बनाउन सकिने र निर्वाचन समितिमा इतरपक्षको प्रतिनिधित्व पनि गराउन सकिने बताइसकेका छन् ।
तर, उनले इतरपक्षले राख्दै आएका दुई प्रस्तावमा भने सहमति जनाउन नसकिने स्पष्ट सन्देश दिएका छन् ।
एउटा– चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समायोजन गर्न सकिँदैन ।
दोस्रो– असोज १६ देखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशनको मिति सार्न सकिँदैन ।
यी दुई बाहेक अन्य जुनसुकै विषयमा छलफल र सहमति गर्न सकिने सन्देश थापाले दिइरहेका छन् । तर, यसमा इतरपक्ष सहमत छैन ।
सर्वोच्चप्रति देउवाको आशा र आशंका

विशेष महाधिवेशनलाई आधिकारिता दिने फैसला पुनरवलोकनका लागि निस्सा दिने सर्वोच्चको आदेशपछि उत्साहित बनेको देउवापक्ष केही दिनयता सशंकित देखिएको छ । देउवापक्ष सशंकित देखिनुको कारण हो– महाधिवेशन रोक्न देउवा र खड्काले दिएको रिट खारेज गर्नु ।
‘निस्सा दियो, महाधिवेशन रोक्न अन्तरिम आदेश दिएन’ देउवा पक्षका एक नेताले भने ‘त्यसपछि फैसला नउल्टिने हो कि भन्ने आशंका बढेको छ।’ यो शंका देउवामा पनि छ ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले कांग्रेसको आधिकारिता आफूले पाउनबाट रोक्न प्रयास भइरहेको दाबी गरे । उनले भनेका थिए– ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, यसलाई कुनै पनि हालतमा पुनरवलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ।’ तर उनले आधिकारिकता आफैले पाउने आशा भने व्यक्त गरे।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा प्रमुख निर्वाचन आयुक्तले ज्यान खतरामा पर्यो भनेर भनेको समेत देउवाले दाबी गरे । देउवाले भने– ‘बोलेको छ है हेर्नुस् त्यहाँ। ज्यानको खतरा भएर गर्नुपर्यो भनेको उसले बोलेको छ। मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो, ज्यानको खतरा, त्यत्रो त्रास। सिधा डरायो त्यो निर्वाचन आयोगको प्रमुख।’
देउवा तिनै नेता हुन् जसले २०५९ असारमा कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका थिए । अहिले फेरि पार्टी चरम विवादमा पर्दा एक पक्षको नेतृत्व उनै देउवाले गरेका छन् ।