नेभिगेशन
सबै कुरा

चार वर्षदेखि त्रिपालमुनी बास, ‘मरे घरमै मर्छौँ’ भन्दै चर्किएको घरमा फर्किए पहिरो पीडित

२३ असोज, धादिङ । गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्यो । जमिन चिरा पर्यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बाह्रबीसेमा बस्दै आएका थिए । चार वर्षसम्म सरकारको निर्णय पर्खेर बसेका विस्थापितहरु त्रिपालमा बालबच्चा र वृद्धवृद्धाको बिचल्ली सहन नसकेर ‘मरे घरैमा मर्छौं’ भन्दै भत्किएकै बस्ती नै फर्किन थालेका छन् । 

Ncell
Extreme Energy

हर्कबहादुर तामाङ, मानबहादुर तामाङ, राजन तामाङ परिवारसहित पुरानै घर फर्किएका छन् । उनीहरु भन्छन्, “त्रिपालभित्र बालबच्चा र वृद्धवृद्धा जोगाउन साह्रै कठिन भयो, बजारमा कोठा लिएर बस्न सक्ने अवस्था पनि रहेन । मरे पनि बरु घरमै मरौँ भनेर फर्कियौँ ।” बाहिर हिँड्डुल गरेर कमाउन सक्ने जहान भएका १२ परिवारले गजुरी र बिहानी पम्प आसपासमा कोठा भाडामा लिएर बस्न थालेका छन् । 

बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विस्थापित परिवारले कोठा भाडामा लिए पनि सजिलैसँग भाडा तिर्न सक्ने अवस्थामा छैनन् । कोठा भाडा तिर्ने आँट गर्न नसकेका र पुरानै घर भत्किएका छ घर अझै त्यही छ । “घर नभत्किएकाहरु जोखिमपूर्ण बस्ती नै फर्किए र कमाउन सक्नेहरु कोठा भाडामा बस्न गए”, अहिले पनि त्रिपालमै बस्दै आउनुभएकी ६६ वर्षीय सेतीमाया तामाङ भन्छन्, “मेरो कोही छैन म कहाँ जाउँ ।”

तेल, चामल खाएको उधारो तिर्न नसक्दा सेतिमायालाई पीडा थपिएको छ । “छोराछेरीको जन्म भएन । पाँच वर्षअघि श्रीमान् बिते । भएको घरजग्गा पहिरोले लग्यो । यो त्रिपालमुनि अब कति बाँचुला र”, सेतीमायाले सुनाइन् ।  

चार वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न नसक्दा उनीहरुमा निराशा बढेको हो । सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा, गाउँपालिकादेखि जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाइसकेका छन् । 

यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आशै आशमा गुजारा गरिरहेका छन् । अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ भने विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरुमा खाद्यान्नको अभाव खड्किएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सम्भव छ संविधान संशोधन ? बहसपत्र कार्यदलले कसरी गर्दैछ काम ?

सम्भव छ संविधान संशोधन ? बहसपत्र कार्यदलले कसरी गर्दैछ काम ?

प्रदेशहरुको अधिकार तथा सीमासँग जोडिएका विषयमा संशोधन गर्नुपर्ने भएमा सम्बन्धित प्रदेशसभाको पनि स्वीकृति चाहिन्छ ।
ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरु र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको...
विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख २२ हजार वर्गमिटर, भोगाधिकार नौ लाख ९९ हजार वर्गमिटरसमेत र अन्य छ लाख ५३ हजार वर्ग...
प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी...