नेभिगेशन
समाज

'नेपालको चुच्चे नक्सामा दार्चुलाको टिंकर छ, तर पुग्न भारतको बाटो जानुपर्छ'

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।

Ncell
Extreme Energy

टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन् । उनी भन्छन्,‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।’ विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्‍यौँ’, जसमल बुढाथोकीले सुनाए, ‘तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।”

नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो ।

यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्छन् । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थपे, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।’ हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ ।

स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।

परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् ।

छैन आधारभूत सेवा

व्याँस गाउँपालिका–१ कातिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधि प्रयोग गर्न बाध्य छन् ।

“सामान्य टाउको दुख्दा औषधि हुँदैन, स्थानीय जसमल बुढाथोकी भने, ‘ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।’ धेरैले सिटामोल, दमलगायत औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो ।

व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ । तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । विरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । “पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो’, बुढाथोकीले भने, ‘गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जीफोन सञ्चालन भएपछि सहज भएको छ ।’

चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधि लिनुपर्छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । उनले भने, ‘समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन ’

पञ्चायतकालमा नेपाली बाटो, अहिले विदेशको भर

पञ्चायतकालमा टिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ ।

व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी भन्छन्, ‘व्यास गाउँपालिका–१ को छाङ्गरू टिंकर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन् । तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो । विसं २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी ग¥यो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।

विगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताए ।

नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरू, बिओपी तिंकर तथा सीमा चौकी तिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।

टिंकरमा प्रहरी र सशस्त्रको छ महिना मात्रै

दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो ।

स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बीओपी पुगेका हुन् ।

दुई वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् ।

नेपाल प्रहरी भने एक दुई दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताए । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा...
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ...
दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।