नेभिगेशन
सबै कुरा
कब्जामा नेपाली :

युद्धमा बन्धक बनेका २ नेपाली युवा, उद्धार सरकार निरिह (भिडियाे ब्रिफ्रिङ)

काठमाडाैँ : अहिले इजरायल र प्यालेस्टाइनी इस्लामिस्ट समुह हमासको युद्ध साथै रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू अनाहकमा फसेका छन् । कञ्चनपुरका विपिन जोशी हमासको कब्जामा छन् भने बर्दियाका विवेक खत्री युक्रेनी सेनाको कब्जामा छन्  तर नेपाल सरकार दुवैको उद्धारका लागि अन्तराष्ट्रिय संघ संगठन गुहार्नु बाहेक निरिह बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि कार्यक्रमअन्तर्गत 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ नेपाली विद्यार्थीमध्ये १७ जना हमासको आक्रमण परे । जसमध्ये १० जनाले ज्यान गुमाए, ४ जना घाइते भए, २ जना जोगिए  पनि एक जनालाई भने हमासले अपहरण गर्यो । 

इजरायलको सेडेट नेगेभ कलेजमा पुगेका विद्यार्थीहरूलाई ६ समुह बनाएर विभिन्न कृषि फार्ममा राखिएको थियो । जसमध्ये  प्यालेस्टाइनको गाजासँगै जोडिएको किवुज अलुमिनको फार्ममा रहेका विद्यार्थी हमासको आक्रमण परे । जसमध्ये मारिने १० जना नेपाली विद्यार्थीमा  मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, सपही–६ धनुषाका अनन्द साह, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली, घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरी रहेका थिए ।

त्यस्तै डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी पनि हमासको आक्रमणमा मारिएका थिए । उनीहरूसँगै रहेका विपिन जोशी अहिलेसम्म भेटिएका छैनन् । हमासको आक्रमणपछि उद्धार भएर नेपाल आएका विद्यार्थीहरूले सुरुदेखि नै विपिन जोशीलाई हमासले कब्जामा लिएको बताउँदै आएका छन् । उनीहरूले आफ्ना साथी विपिनलाई उद्धार गरिदिन पहिलो दिन देखिनै गुहार मागिरहेका छन्  ।

विपिन उनै विद्यार्थी थिए जसले पहिलो पटक हमासले नेपाली विद्यार्थी माथि फालेको ग्रिनेट बाहिर फ्याँकेर ठुलो क्षति रोकेका थिए । 

आफूहरू आक्रमणमा परेको, घाइते भएको अन्य साथीहरूलाई  खबर गरेर विपिनले नै गुहार मागेका थिए । तर केही समय पछि उनै विपिन बेपत्ता भए ।

घटना भए लगत्तै विपिनले अर्को बङ्करमा रहेका लुइस रिजाललाई सम्पर्क गरी एम्बुलेन्स पठाउन गुहारेका थिए । विपिनका साथीहरूका अनुसार विपिन लगायत १७ जना बसेको क्याम्पभित्र हमासले ग्रिनेट फालेका थिए । पहिलोपटक आएको ग्रिनेट विपिनले नै टिपेर बाहिर मिल्काएका थिए । तर दोस्रो पटक आएको ग्रिनेट उनीहरू बसैकै ठाउँमा पड्किँदा ५ जना घाइते भए । घाइते मध्ये ४ जनालाई एम्बुलेन्समा अस्पताल पठाएर एक घाइते साथी सहित उनीहरू अर्को बङ्करमा बसे । सोही समयमा बाहिर गाडीको आवाज सुनियो । 

गाडी आएपछि एम्बुलेन्स सोचेर कैलालीका नारायणप्रसाद न्यौपाने बाहिर निस्किए । तर बाहिर निस्कनासाथ हमासका लडाकुले नारायणलाई गाली हाने । त्यसपछि बङ्करमा छिरेर सबै माथि गोली बर्साए । बाँचेर फर्किएकाहरूका अनुसार उनीहरूले गोली लागेपछि आत्तिँदै एम्बुलेन्स पठाउन गुहार मागिरहेका थिए । दुई तिन घण्टासम्म उनीहरूले पानी मागिरहेका थिए, मलाई बचाउ भन्दै गुहारिरहेका थिए । 

विद्यार्थीहरूले दुतावास देखि एनआरएन, रेडक्रस सबै निकाय गुहारिरहेका थिए तर हमासले सबै ठाउँ घेरिसकेका कारण कसैको केही सीप चलेन ।

घाइते १० जना एक पछि अर्को गर्दै सम्पर्कविहीन हुँदै गए । घाइतेहरूको सबै विवरण दिएका विपिन पनि दिउँसो २ बजेबाट सम्पर्कविहीन भए । 

हमासका आक्रमणबाट घाइते भएका गोरखका हिमाञ्चल कट्टेलका अनुसार विपिनलाई हमासले अपहरण गरेको लगेको उनले देखेका थिए । 

हमासले विपिनलाई अपहरण गरेको करिब एक महिना पुग्न थाल्यो । यो बिचमा तेल अभिभवस्थित नेपाली दुतावास र नेपालस्थित परराष्ट्र मन्त्रालयले थुप्रै प्रेस विज्ञप्ति निकाले तर कुनै विज्ञप्तिमा पनि विपिनको अवस्थाबारे खोजी कार्यका लागि विभिन्न निकायलाई गुहारिरहेको बाहेक थप केही लेखिएको छैन ।

कञ्चनपुरमा रहेका विपिनका परिवारले सरकारले कति बेला विपिनको सुसमाचार सुनाउँछ भनेर कुरिरहेका छन् । उनीहरूले नसुनेको र नहेरेको कुनै समाचार छैन । आक्रमण भएको पहिलो दिन शनिबार दिउँसो १ बजेसम्म पनि उनी परिवारसँग सम्पर्कमा थिए । त्यसपछि भने हराएका विपिन अहिलेसम्म सम्पर्कमा छैनन् । छोराको रक्षाका लागि परिवार भगवानसँग प्रार्थना गरिरहेका छन् । यसअघि नै विपिनका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विपिनको उद्धारका लागि पनि गुहार मागेका थिए ।

विपिन जोशी हमासको कब्जामा रहेको अधिकारीक जानकारी इजरायल सरकारले नेपाल सकारलाई समेत गराएको छ । विपिनलाई गाजा क्षेत्रमा राखेको बताइएपनि कुन ठाउँमा राखिएको छ भन्ने इजरायल सरकारले समेत जानकारी नपाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

विपिन हमासको कब्जामा रहेको जानकारी सरकारले ३ साता अघिनै पाएको थियो । तर विपिनको खोजीका लागि सबै निकायसँग पहल भैरहेको अभिव्यक्ति बाहेक आधिकारीक रुपमा हमासको कब्जामा रहेको बारेमा कुनै पनि प्रतिक्रिया दिएनन् र अहिले मौन छ । 

नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि विपिनको अवस्थाबारे चासो राखेका थिए । संसद्मा सम्बोधनका गर्ने क्रममा महासचिव गुटरेसले विपिनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रहसमेत गरेका थिए ।

इजरायल सरकारले एक सय २२ विदेशी नागरिक सहित १८ इजरायलीलाई हमासले बन्धक बनाएको बताउँदै आएको छ । तिनैमध्ये विपिन जोशी पनि एक हुन् छन् । हमासले बन्धक बनाउनेमा सबै भन्दा धेरै थाइल्याण्डका २४ जना रहेका छन् । थाइल्याण्डका नागरिकसँगै विपिनलाई पनि हमासले लगेको थियो । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७,  हङ्गेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथानिया, मेक्सिको, नेदरल्याण्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जनालाई हमासले नियन्त्रणमा लिएको छ । उनीहरूलाई मुक्त गर्न इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई छोड्नुपर्ने सर्त हमासले राख्दै आएको छ । 

उसो त हमासले बन्धक बनाएका दुई अमेरिकी, दुई इजरायली वृद्धा र एक सैनिकलाई मुक्त पनि गरेको छ । उनीहरूको रिहाइका लागि हमाससँग नजिकको सम्बन्ध रहेको कतारले सहयोग गरेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार हमास र इजरायलको द्वन्द्वमा कतारले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । उसो त थाइल्याण्डले आफ्ना नागरिक छुटाउन हमाससँग इरानमा पुगेर वार्ता गरेको छ । तेहरानमा भएको वार्तामा थाइल्याण्डका नागरिकलाई सुरक्षित राखिएको र उचित समयमा छोडिने हमासका अधिकारीले जवाफ दिएको थाइल्याण्डका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । तर नेपालका विपिनका विषयमा कसले वार्ता गरिदिने ?

अहिले हमासको कब्जामा रहेकाहरूको रिहाइका लागि कतारको भूमिका महत्वपूर्ण हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले बताउँदै आएका छन् । तर धेरै नेपाली श्रमिक पठाएर कतारलाई गुन लगाएको नेपालले विपिन जोशीको उद्धारका लागि कतारसँग बलियो साथ माग्न सकिरहेको छैन वा पाइरहेको छैन । 

उसो त युद्धरत समुह हमास समुहलाई आतङ्कवादी समुह भनेको नेपाल सरकार हमाससँग पहल गर्न सक्ने अवस्थामा छैन । यो अवस्थामा अन्तराष्ट्रिय रेडक्रस, मानव अधिकारवादी सङ्गठनहरूलाई गुहार्नु सिवाय नेपाल निरिह छ । 

युद्धरत विदेशी भूमिमा युद्धरत सेनाको कब्जामा रहेका विपिन जोशी मात्रै होइनन् । लामो समय देखि युद्धरत युक्रेन र रसियाको युद्धमा समेत एक नेपाली युवा फसेका छन् । विद्यार्थी भिसामा रसिया पुगेका बर्दिया राजापुर नगरपालिकाका २३ वर्षीय विवेक खत्री अहिले युक्रेनी सेनाको नियन्त्रणमा छन् । 

घरमा वृद्ध र बिरामी बाबुआमा, आर्थिक अवस्था कमजोर भएका उनी ऋण गरेर रसिया पुगेका थिए । पढाइसँगै रसियन सेनामा भर्ती भएपछि कमाई राम्रो हुने आशामा रसिया पुगेका उनी रसियन सेनामा भर्ती भएर युक्रेन विरुद्ध लडिरहेका थिए । 

युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले विवेकको भिडियो शेयर गर्दै नियन्त्रणमा लिएको बताएका छन् । 

गरास्चेन्कोले ट्विटरमा शेयर गरेको भिडिओमा विवेकले आफू पैसा कमाउन रसियन सेनामा भर्ती भएको बताएका छन् । विवेकले आफ्नो परिवार आर्थिक समस्यामा भएकाले पैसा कमाउनका लागि रसियन सेनामा लागेको बताएका भिडियोमा देखिन्छ । 

उनले आफू नेपाल फर्किन चाहेको बताएका छन् । बर्दियामा रहेका उनका बाबुआमा छोराका उद्धार गरिदिन सरकार गुहारिरहेका छन् । समाचारमा विवेक युक्रेनी सेनाको नियन्त्रणमा रहेको भिडियो देखेपछि परिवार आत्तिएका छन् । 

विवेकले असोज २७ गते घरमा फोन गरेर आफू युक्रेनी सेनाको कब्जामा रहेकाले पासपोर्टको फोटोकपी पठाइदिन परिवारमा आग्रह गरेका थिए । त्यसपछि भने उनीसँग सम्पर्क भएको छैन । 

विवेकको परिवारले जिल्ला प्रशासन कार्यालय बर्दिया हुँदै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय देखि कन्सुलरसमेत गुहारेका छन् तर कुनै पनि निकायले विवेकको उद्धारका लागि चासो देखाएका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation