नेभिगेशन
समाज

सौराहमा हुर्किंदै छन् गैँडाका दुई भाले केटाहरू ‘राम’ र ‘देव’

नारायणगढ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ । यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन् ।

Ncell
Extreme Energy

सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू (बच्चाहरू) हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ । प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आएका छन् ।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो । उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए । प्रसाईंले भने, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ ।”

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उनले बताए । “आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन । घाइतेजस्तो पनि देखिएको थिएन । हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो । त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ । अनि उपचार र पालन–पोषण गरिएको हो ।” 

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए । बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो । बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ ।

केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताए । “यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्”, उनले भने, “यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।”

गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ ।

यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ । यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छो ।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उनले बताए ।

हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ । उनीहरू प्रायः निकुञ्ज तथा सौराह आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ । छवटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सक्नुभएका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न छन् । उनले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्छन् । “बच्चा अवस्थामा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन सुरु गरिन्छ”, महतराले भने, “मैले हासम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडाहरू हुर्काइसकेको छु । यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तङ्ग्रिँदै छन् ।”

यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई सुरुमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा सडौलाले बताए । उनका अनुसार, सामान्य गाई–भैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन । त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उनको भनाइ छ ।

बच्चाहरूका बचपनमै बढी कुरा सिक्ने भएकाले माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंको भनाइ छ । उनले भने, “कोशीमा लगिएका गैँडालाई पनि त्यही उद्देश्यका लागि नयाँ बासस्थानमा लगिएको हो । माउ गैँडासँग हुँदा बच्चाले खान, हिँड्न र शत्रुबाट जोगिने सीप सिक्छ, तर मानव संरक्षणमा हुर्काइएका यिनीहरूले आमा गैँडाको मार्गदर्शन नपाउने भएकाले, अन्य गैँडाको हूलसँग घुलमिल हुन केही कठिनाइ हुन्छ ।”   रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरु)

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरु)

सर्वसाधारणबाट ट्राफिक नियम उल्लंघन गरेबापत दैनिक लाखौँ रुपैयाँ जरिवाना उठाउने ट्राफिक प्रहरीले सिंहदरबारभित्र हुने अव्यवस्थित पार्किङप्रति भने प्रभावकारी निगरानी नगरेको देखिन्छ। सिंहदरबार परिसरका विभिन्न सडकमा सडकको दुवैतर्फ आधा–आधा...
सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छः उद्योगमन्त्री

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छः उद्योगमन्त्री

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन अघि...
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको...
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...

भर्खरै