काठमाडौँ । जेनजी आन्दोलनको दुई महिना पुरा भयो । आन्दोलनमा एक भएका जेनजीहरु रगतको टाटा नओभाउँदै छिन्न भिन्न भए । भिन्न भिन्न समुह, गुट र दलमा लागे । केवल उनीहरुले रोजेर प्रधानमन्त्री बनाए, प्रधानमन्त्रीले मन्त्री बनाइन् । त्यस बाहेक जेनजी आन्दोलन संस्थागतको कुनै छनक देखिएन ।
जेनजी आन्दोलन कुनै निश्चि वर्ग, समुदाय वा समुहले गरेको थिएन । यो पुष्ताले गरेको जनविद्रोह थियो, स्वभाविकरुपमा यहाँ हरेकका फरक विचार हुन्छ, आस्था हुन्छन्, चाहान हुन्छन्, सपना हुन्छ । केवल साझा भावना थियो, भ्रष्टाचारमुक्त देश, सुशासनयुक्त देश ।
भदौ २३ र २४ गते केवल आन्दोलनको सुरुवात थियो, पूराना राजनीतिक दलका नाममा मुलुक सत्ता कब्जा गरेर निरकुंशतामा रमाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उनको सत्ता साझेदार नेपाली कांग्रेस तथा पूराना राजनीतिक दलका निकृष्ठ राजनीतिका जरो उखेल्न थियो ।
शान्तिपूर्ण मार्च गर्दै प्रदर्शन गर्ने भनिएको प्रदर्शन उग्र बन्यो । दुखदः निहत्था विद्यार्थी र युवाहरु मारिए । संसद भवन जल्यो, सिंहदबार जल्यो, अदालत जल्यो, प्रहरीका भवन जले, सरकारी भवन जले, निजी र व्यापारीक भवनहरु खरानी भए । २ हजार बढी अंगभंग भए ।
पहिलो दिन १९ जना युवा छाती र टाउको गोली लागेर सहिद बन्दा पनि नझरेको ओलीको घमण्डको अभिमान, भोलीपल्ट बालकोटस्थित उनको निवास जल्यो, बुढानिलकण्ठस्थित शेरबहादुर देउवास निवास जल्यो, देउवा दम्पत्ती रक्तमुछ्ेहरु गरी कुटिए । डिउटीमा खटिएका प्रहरी मारिए, त्यसपछि बल्ल केपी ओली बालुवाटरबाट भागेर गुण्डु पुगे ।
सडकमा युवाहरुको रगतको आहाल, दन्कीरहेका सिंहदरबार, आफ्नै सुरक्षाको त्रासमा बसेका सुरक्षाकर्मी,कोलाहालमा अत्यालिएका नागरिक, देश शुन्य बन्यो ।
२४ गते रातिबाट नेपाली सेनाको मुख्यालय भद्रकालीमा जेनजी प्रतिनिधिहरु छलफलमा बस्न थाले । नेपाली सेनाले छलफलका लागि बोलाउनुपूर्व दरबारमार्गमा केही जेनजी प्रतिनिधिहरु छलफलमा बसेका थिए । सोहि बेला नै नेपाली सेनासँग छलफल गर्न कोको जाने भन्ने विषयबाटै जेनजी अगुवाहरु विभाजित हुन थालेका थिए । त्यो क्रम भद्रकालीमा पुगेपछि पनि देखियो । जंगिअड्डाभित्र केही प्रतिनिधिहरु छलफल गरिरहँदा बाहिर विभिन्न जेनजी समुह विरोधमा उत्रिएका थिए ।
जेनजी आन्दोलनका लागि छलफल भैरहेका डिस्कर्ड ग्रुप पनि धेरै बनेका थिए ।
अवस्था कति सम्म आयो भने अब प्रधानमन्त्री कोलाई बनाउने भन्ने विषयमा विभिन्न जेनजी समुहले फरक फरक माग राख्दै सैनिक मुख्यालयमा धर्ना नै दिए । नेपाली सेनाका तल्लो तहका अधिकारीले प्रधानमन्त्रीका नाम सहित समुहका नाम लेखेर मुख्यालयमा बुझाउने घोषणा गरेका थिए ।
जेनजी प्रदर्शनको तेस्रोे दिनबाटै दजर्न बढी फरक–फरक जेनजी समुहका नाममा फरक फरक विज्ञप्ती र मागहरु सार्वजनिक भैरहेका थिए ।
जति जेनजी समुह बने पनि, माग राखेपनि, हामी नेपाल नामक गैरसरकारी संस्थाले डिस्कर्डमा चलाएको बहस अनुसार नै पूर्वप्रधानन्यायाधीश ७३ वर्षकी सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने राष्ट्रपतिको कर्तव्य र क्षेत्राधिकार प्रयोग गर्दै, सरकार बनाउन संविधानले दिएका धारा भन्दा बाहिर गएर प्रधानमन्त्री नियुक्त गरे । उनको नियुक्त पत्रमै लेखिदेखिए कामचलाउन प्रधानमन्त्रीको सिफारिस र सम्मतमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी प्रधानमन्त्री नियुक्त गरीएको छ ।
अर्थात जेनजी आन्दोलनले लखेटिएर बालुवाटरबाट भागेर नेपाली सेनाको सुरक्षामा बसेका तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिस र लिखित सहमतिमा निर्वाचन गराउन सम्मका लागि करारमा नियुक्त गरे ।
लगत्तै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन भयो ।
यहाँसम्म आइपुग्दासम्म जेनजी आन्दोलन विभिन्न व्यक्ति, समुह, अभियन्ता, मेयर , राजनीतिक दलहरुबाट हाइज्याक भैसकेको थियो र अन्तिममा जेनजी आन्दोलनलाई कुनै दस्तावेजीकरण नै नगरी, सम्झौताको रुप नै नदिइ प्रधानमन्त्री नियुक्त गरिदिए । अझ भनौँ आन्दोलनलाई इतिहासको पानामा कतै नभेटिने गरी दलहरुका लागि राष्ट्रपतिले हाइज्याक गरिदिए ।
देशले सरकार पायो । विस्तारै लोकप्रिय व्यक्तिहरु सरकारमा भित्रिन थाले । तर सरकार बनेको केही दिनबाटै सरकारमा अरु को मन्त्री पठाउने भन्नेमा जेनजीका विभिन्न समुहहरुबीच नै विवाद थपिन थाल्यो ।
पटक पटक सपथका लागि भन्दै राष्ट्रपति कार्यालयमा पठाइएका नामहरु फेरबदल भए । कति पटक त सपथ नै टर्यो । केही व्यक्त तथा जेनजी अगुवाहरु समाचारमा मात्रै मन्त्री बने ।
जेनजी समुहका खास खटपटी विचार, सिद्धान्तमा भन्दा बढी को मन्त्री बन्ने, कोलाई मन्त्री बनाउने भन्ने विषयबाट चर्कीयो ।
जेनजीहरु किन छिन्न भिन्न भए ?
स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन संस्थागतका लागि माग चाँही एउटै हुनुपर्छ ।
अहिले जेनजीका करिब २ दर्जन समुह बनेका छन् । जेनजी आन्दोलनमा पानी बाँड्न गएका हामी नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष सुदन गुरुङ, जो आफैँ जेनजी होइन उनले द काउन्सिल अफ जेनजी बनाएका छन् । यहि समुहले सरकार बनाउने देखि प्रधानमन्त्री, गृहमन्त्रीहरुलाई दबाब राखेको देखिन्छ । उनको समूहमा गैरसरकारी संस्था हामी नेपालमा आवद्ध जेनजी युवाहरु समेत रहेका छन् । सुदन गरुङ आफैँ पनि संविधानका विषयमा दोधारमा देखिन्छन् भने राज्य सञ्चालनका विषयमा पनि कानुन भन्दा बढी भावनात्मक देखिन्छन् । उनले कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीका राजीनामा नै माग गर्ने गरेका छन् । साथै आफूहको माग बमोजिम नभए चुनाव गर्न नदिने धम्की समेत दिन थालेका छन् । तर यो समूह जेनजी आन्दोलनका घाइतेहरुको उपचार तथा उद्धारमा भने सक्रिय रुपमा खटिएको थियो ।
यस्तै रक्षा बमले आफ्नै संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट समुह बनाएकी छिन् । अहिले जेनजी विद्रोहसँग जोडिएकाहरुलाई एकिकृत गर्ने समूह भनिएपनि समूहका संरचनागत अभ्यासहरुले निकट भविष्यमा राजनीतिक दलकै रुपमा अघि बढ्ने देखिन्छ । यो समूहमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण लगायत करिब ४० जना युवा केन्द्रिय समितिमा छन् भने अहिले प्रदेश संयोजकहरु पनि तोकिएको छ । विशेषगरी यो समुहले संविधानको रक्षा गर्नुपर्ने, समयमा निर्वाचन हुनुपर्ने तथा जेनजी आन्दोलनलाई सम्झौताकारुपमा लेखिनुपर्ने बताउँदै आएका छन् ।
अनि अर्का मिराज ढुंगानाको समूह छ । मिराज आफैँ पनि सामाजिक सञ्जालमा जेनजी आन्दोलनको चर्चा सुरु भएपछि यसमा लागेको आफैँले बताएका छन् । आन्दोलनको एक दिनअघि दुर्गा प्रसाईंलाई घरमै पुगेर आन्दोलनमा नआउन आग्रह गरेपछि चर्चामा आएका उनी दुई दिनको आन्दोलनमा भने कतै देखिएनन् । आन्दोलन रोकिएको तेस्रो दिनबाट उनी आफू असुरक्षाका कारण बाहिर नआएको भन्दै सार्वजनिक भएका थिए । त्यसपछि भने उनी जेनजी प्रतिनिधिकारुपमा विभिन्न वार्ताहरुमा सहभागी हुन लागेका हुन् । बरु उनले नै काठमाडौँको एभरेष्ट होटलमा पार्टी खोल्ने घोषणा गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए । तर उक्त दिन उनले आफूले पार्टी खोल्ने तर प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशबाट भोट हाल्न पाउने व्यवस्था नभएसम्म चुनावमा नजाने घोषणा गरेका थिए । साथै उनले जेनजी आन्दोलनपछि बनेको सरकारमा विषयमा समेत टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘यो सरकार जेनजीको हो, तर मेरो होइन । जेनजी पनि फरक फरक छन् ।’
दल दर्ताका लागि एक साता मात्रै बाँकी रहँदा पनि सबै भन्दा पहिला जेनजी पार्टी दर्ता गर्ने घोषणा गरेका मिराज, राजनीतिक समाचारबाट गायब छन् ।
जेनजी प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिने मध्ये एक अगुवा पुरुषोत्तम यादव भने अहिलेसम्म कुनै समुहमा देखिएका छैनन् । जेनजी र सरकारका बिच हुने सबै छलफल र वार्तामा सहभागी भएका उनी जेनजी आन्दोलन संस्थागत गर्ने योजनासहित नयाँ राजनीतिक दल खोल्ने कि आफ्नो विचार र सिद्धान्तको सम्मान गर्ने राजनीतिक दलसँग मिलेर अघि बढ्ने भन्ने विषयमा छलफलमै रहेको देखिन्छ । उनीसँग योगेन्द्र भण्डारी, किशोरी कार्की लगायतका जेनजी अगुवाहरु अहिले खास समुहमा देखिएका छैनन् । भण्डारी र कार्की जेनजी घाइतेहरुको उद्धार उपचारमा सक्रिय अभियन्ताहरु हुन् ।
जेनजी आन्दोलनलाई संवैधानिक र कानुनी दृष्टीकोणबाट विश्लेषण गर्दै आएका माजिद अन्सारी पनि कुनै पनि समूह वा दल तर्फ देखिएका छैनन् । उनले अहिले पनि जेनजी आन्दोलनलाई संस्थागत बनाउन जागरण गर्दै आएका छन् ।
कोशी प्रदेशमा जेनजी आन्दोलन चर्काएका प्रवेश दाहाल पछिल्लो समय काठमाडौँमा बसेर छलफलमा सहभागी भैरहेका छन् ।
उनीहरु बाहेक, १३ वटा जेनजी समुहको एउटै अलायन्स बनाएर अघि बढेको छ, ‘जेनजी मुभमेन्ट अलायन्स’ । यो अलायन्समा इन्डजेनियस जेनजी कलेक्टीभ, रिजन राना मगरको जेनजी मोमेन्ट अलायन्स नेशनल काउन्सिल, हाउ टु देश विकास, जेनजी पर्सा, मुस्लीम जेनजी नेपाल, नव युग, न्यू वेभ, जेनजी मुभमेन्ट अलायन्स डिस्ट्रीक काउन्सिल फोरम, जेनजी चितवन, जेनजी डिजिटल दशतक लगायतका जेनजी समूह छन् ।
उनीहरुले अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेका थिए ।
यस बाहेक पुराना राजनीतिक दलमा भएका केही युवाहरु पनि अहिले जेनजी अगुवा बनेका छन् भने नयाँ राजनीतिक दलको तयारीमा छन् । अहिले जेनजी अगुवा बनेकी जस्मीन ओझा नेकपा एमालेको विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । तर जेनजी आन्दोलनमा सहभागी भएर आफूले एमाले छाडेको घोषणा गरेकी उनले अहिले नयाँ राजनीतिक दल खोल्ने तयारीमा लागेकी छिन् ।
जेनजीको टाउको दलको भारी
जेनजी आन्दोलनपछि जेनजीका नाममा नयाँ पार्टी खुल्ने क्रम जारी छ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टीले दर्ताका लागि निवेदन दिएको छ । क्रस खुकुरी चुनाव चिन्हसहित किरण विकले दल दर्ताका लागि निवेदन दिएका छन् । त्यस बाहेक अन्य दलहरु पनि जेनजी प्रतिनिधिहरुलाई अघि देखाएर दल दर्ताको प्रयासमा छन् । अहिलेका उर्जा, यातायात, तथा भौतिक पूर्वाधार मन्त्रालय समेत सम्हालिरहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी दर्ता प्रक्रियामा छ । उक्त पार्टीमा उनले केही जेनजी अगुवा तथा यसअघि विभिन्न आन्दोलन तथा अभियान चलाइरहेकाहरुलाई पनि समेट्ने प्रयास गरेका छन् । उसो त रास्वपा त्याग गरेर हिंडेकी सुमना श्रेष्ठलाई पनि पार्टीमा राख्ने तयारी गरेपनि अन्तिम अवस्थामा भने सुमना कुलमानको पार्टीमा अटाएकी छैनन् ।
यस्तै दलित अभियन्ता खगेन्द्र सुनारले पनि पार्टी दर्ताका लागि निवेदन दिएका छन् । उनले पनि पार्टीमा जेनजीको प्रतिनिधित्व हुने दाबी गर्दै आएका छन् ।
यस अघि धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृती पार्टी आयोगमा दर्ता गराइसकेका छन् ।
यस्तै सर्वोच्च अदालत बार एशोसियनका महासचिव रमन कर्णले पनि पार्टी खोल्न निर्वाचन आयोगका विवरण बुझाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत जेनजी अगुवाहरुलाई पार्टीमा भित्र्यााउन विभिन्न चरणमा छलफल चलाएको छ ।
नेकपा माओवादीले त जेनजी रेड फोर्स नै बनाएर जेनजी युवाहरुलाई संगठित गर्ने प्रयास गरेको छ ।
मृतक परिवार र घाइतेप्रति जेनजीकै उपेक्षा
जेनजी आन्दोलनपछि व्यक्तीगत रुपमा सबैभन्दा बढी शोकमा कोही छन् भने जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवार छन् । उनीहरुले केवल आफ्ना शन्तानले बगाएको रगतको मुल्य देशमा भ्रष्टाचार मुक्त र सुशासन युक्त गराएर पुरा गरुन भन्नेमा छन् । सुरुवातमा उनीहरु संगठित भएर सरकार तथा जेनजी अगुवाहरुलाई दबाब नदिएका होइनन् । तर एकले अर्कालाई देखाउने प्रवृत्तिले वाक्क भएका उनीहरु जेनजी आन्दोलनपछि बनेको सरकारमा कम्तिमा शहिद परिवारको प्रतिनिधित्व होस् भन्ने चाहेका थिए, जुन पुरा भएन । अहिले पनि उनीहरु सहिदलाई नबिर्स भनिरहेका छन् । तर सम्झिने कसले, राजनीतिक दलहरु त उनीहरुका विरोधी भैहाले, सरकार बालुवाटारको चौगेरा नाघेर गिएर बढाउन सकेको छैन, आशा गरिएका जेनजी अगुवाहरु पनि छिन्न भिन्न हुँदै जाँदा उनीहरु निराश छन् ।
आन्दोलनमा घाइते भएका २ हजार मध्ये अझै केही अस्पतालको बेडमा छन् । सुरुवाती दिनमा जेनजी अगुवादेखि सरकारका मन्त्रीहरु समेत भेट्न लाइन लागेपनि अहिले भने उनीहरु उपेक्षामा छन् । भेट्न जान्छन् कुरा सुन्छन्, सामाजिक सञ्जालमा फोटो हाल्छन् तर उनीहरुको प्रतिनिधित्व गराउने पक्षमा उनीहरुले खासै चासो देखाउँदैनन् । यसैले पनि उनीहरु आफ्ना माग राख्न कहिले बैसाखी र ह्विलचेयरमा सिंदरबार पुग्छन्, कहिले माइतीघर पुग्छन् तर कहिले फोन गरेर आक्रोश पोख्छन् ।
जेनजी प्रदर्शनकारी माथि धरपकड र मुद्दा, जसका लागि लडे उनीहरुबाटै बेवास्ता
प्रदर्शनको सुरुवात २३ गतेबाट भएको थियो । १९ जनाले सोहि दिन ज्यान गुमाएपछि २४ गते सडकमा ओर्लीने कुनै एउटा पुस्ता, समुह, क्षेत्र वा वर्ग भन्ने थिएन । क्यालेन्डर २३ पछि २४ आउने भएपनि घटनाको छानबिन र अनुसन्धानमा भने २३ गते हराएको छ, २४ गते सक्रिय भएको छ । प्रहरीले अहिले भटाभट प्रदर्शनमा सहभागी भएकाहरुलाई पक्राउ गरिसकेको छ । देशभरबाट ५ सय भन्दा बढीलाई प्रदर्शनमा तोडफोडमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । तर २३ गतेको घटनामा आरोपित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतविरुद्धको जाहेरी तामेलीमा राखेको छ । तर अहिले पक्राउ परेकाहरुका पक्षमा बोलिदिने मात्रै होइन कानुनी परामर्श दिने समेत न कुनै जेनजी समुह छन्, न आन्दोलनमा नैतिक समर्थन जनाउने व्यक्ति, गैसरकारी संस्था दलहरु नै छन् ।
आन्दोलनका लागि लडेकाहरु अहिले एक्लै लड्दै छन् ।
जेनजीहरु छिन्नभिन्न हुँदैछन्, उनीहरुको नाम देखाएर अनेक पार्टी खुल्दै छन् । सत्ताबाट उछिट्टिएका राजनीतिक दलहरु संसद पुर्नस्थापनाका लागि अनेक प्रपञ्च रचिरहेका छन् । भाष्य यस्तो बनाउन उद्धत छन् कि जेनजीहरु आतंककारी हुन्, भदौ २३ र २४ को आन्दोलन आतंकवादको नमुना थियो । उनीहरु जेनजी आन्दोलनलाई तुहाएर फरि शक्तिमा फर्कीने हर प्रयासमा छन् । तर जेनजी अगुवाहरु र वैकल्पीक राजनीतिकको भजन गाउने व्यक्त तथा पार्टीहरु आफैँमा लडिरहेका छन् । जुन उनीहरुका लागि मात्रै घातक होइन, नेपालको भविष्यका लागि पनि विषाक्त छ ।