काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले पहिलो महाधिवेशनको तयारीमा छ । तर, जेनजी आन्दोलन लगत्तै रास्वपा छाडेकी सुमना श्रेष्ठ अहिले ‘पलिटिकल सिन’मा छैनन् । रास्वपा छाडेका अर्का नेता सन्तोष परियारको पनि अहिले राष्ट्रिय राजनीतिमा कुनै भूमिका छैन ।
चुनावअघि माओवादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा गएका सुदन किराती केही दिनअघि श्रम संस्कृति पार्टीमा हानिए । पछिल्लो एक दशकमा अधा दर्जन दल फेरेका बाबुराम भट्टराई त अहिले दलविहीन छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु अहिले पार्टीको कुनै जिम्मेवारीमा छैनन्, उनीहरु त चार महिनादेखि विदेशमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आलोचनाले घेरिएका छन् । मधेशमा विद्रोहको आगो सल्काउने उपेन्द्र यादव अहिले कहाँ छन्, धेरैलाई थाहा छैन ।
मुलुकको राजनीतिमा कहिलेकाहीँ कुनै व्यक्ति निकै चर्चित बन्छन् । तर, छोटो समयमै हराउँछन् । कोही व्यक्ति यस्ता हुन्छन्– जो कुनै एक कालखण्डमा मात्रै होइन, पुस्तौं पुस्तासम्म पछ्यान्इन्छन् । नेपालको राजनीतिमा केही यस्ता व्यक्ति छन्, जसलाई मृत्यु पर्यन्त पनि जनताले सम्झिरहेका छन् । तर, कोही व्यक्ति यसरी उदाए, जो आउँदा तामझामका साथ आए, छोटो समयमै पानीको फोका जसरी बिलाए । चर्चामा आउने र हराउने नेताहरुको सूची निकै लामो छ । सुरुमा पछिल्ला छ–आठ महिनामै कुन कुन नेता गुमनाम भए ? त्यो हेरौं ।
जेनजी आन्दोलन अघिसम्म सुमना श्रेष्ठ निकै चर्चित थिइन् । रास्वपा सहमहामन्त्री थिइन्, रास्वपाबाटै अघिल्लो संसदमा समानुपातिक सांसद बनिन्, शिक्षामन्त्री पनि भइन् । तर, जेनजी आन्दोलनको चौथो दिन उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइन् । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनी केही दिन त सिंहदरबार र बालुवाटारमा भेटिन्थिन् । बिस्तारै त्यहाँ पनि देखिन छाडिन् । अहिले उनी चर्चामै छैनन् ।
अघिल्लो संसद्का अर्का चर्चित नेता हुन्– सन्तोष परियार । समानुपातिकबाट सांसद बनेका उनी रास्वपा संसदीय दलको प्रमुख सचेतक नै भए । सुमनाले रास्वपा छाडेको दुई महिना बित्दा नबित्दै सन्तोषले पनि रास्वपा छाडे । माओवादी छाडेका केही नेताहरुसँग मिसिएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी अर्थात प्रलोपाको अध्यक्ष बने । एउटा पार्टीको अध्यक्ष त बने, तर, उनी अध्यक्ष रहेको पार्टी राष्ट्रिय राजनीतिमा कहीँ कतै देखिँदैन । अवस्था त यस्तो छ– प्रलोपा पार्टीकाे अस्तित्वविहन जस्तै छ।
माओवादीबाट पटक सांसद, मन्त्री र केन्द्रीय सदस्य रहेका सुदन किरातीले चुनावअघि माओवादी छाडे, प्रलोपाको अध्यक्ष मण्डलको सदस्य बने । चुनावपछि, गएको चैत दोस्रो साता प्रलोपा पनि छाडे, केही दिनअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा गए ।
यी त केही उदाहरण मात्रै हुन् । जेनजी आन्दोलनले केही नेताहरुलाई राष्ट्रिय राजनीति र चर्चाको शिखरमा पुयाउँदा केही नेतालाई ‘सिन’बाटै ‘आउट’ गरिदियो । कांग्रेस, एमाले र नेकपाका थुप्रै नेताहरुले पार्टी छाडे, कतिले त राजनीति नै छाडे ।
जेनजी आन्दोलनदेखि चुनावसम्म आइपुग्दा रास्वपाका केही नेताले पार्टी छाडे । केहीले छाडे, कैयौं रास्वपा प्रवेश गरे । अरु पार्टी छाडेर रास्वपा प्रवेश गरेकामध्ये केहीले चुनावमा टिकट पाए, चुनाव पनि जिते ।
उदाहरणका लागि अघिल्लो चुनावमा कांग्रेसबाट प्रदेशसभामा उम्मेदवार बनेका विक्रम सिंह थापा गएको चु्नावमा रास्वपाबाट कपिलवस्तु २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बने, चुनाव जिते । कांग्रेस छाडेका नवपरासी सुस्ता पश्चिमका विक्रम खनाल पनि रास्वपाबाट सांसद बने । चुनावका बेला थुप्रैले दल बदले । कसैले समयको चाप बुझेर दल फेरे, कसैले अवसरका लागि दल फेरे । समयको चाप र जनताको चाहना बुझेर दल फेरेकाहरुलाई जनताले पत्याए, चुनावमा भोट पनि दिए । उनीहरु अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तर, जसले अवसरका लागि दल बदले, व्यक्तिगत स्वार्थका लागि पार्टी फेरे, उनीहरुलाई जनताले पत्याएनन् ।
गएको चुनावमा यस्तो पनि देखियो कि, जनताको सेवा गर्ने पद र जिम्मेवारी हुँदा हुँदै केही नेताले भटाभट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । केहीले जिते । तर, जो हारे, उनीहरुको पदीय हैसियत पनि समाप्त भयो । काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर चुनाव लडेका बालेन शाह अहिले प्रधानमन्त्री छन् । धरान उपमहानगरको मेयर छाडेर दलीय राजनीतिमा आएका हर्क सम्पाङले आफ्नै पार्टी बनाए, सांसद पनि चुनिए । तर, भरतपुर महानगरको मेयर छाडेर चितवन–३ मा चुनाव लडेकी रेनु दाहालले चुनाव हारिन् ।
चुनाव लड्नकै लागि पालिका तथा प्रदेश सभाबाट राजीनामा दिएका तथा पार्टी फेरेर उम्मेदवारी दिएकाहरुको सूची पनि लामो छ । तर कतिले जिते ? जित्ने भन्दा हार्ने धेरै भए । चुनाव जित्नेले सत्ता पाउँछ, हार्नेले भएको पनि गुमाउँछ भनेको सायद यही होला ।
जनमत नबुझी माथिल्लो पदका लागि मात्रै मरिहत्ते गर्दा जनताले नै सजाय दिन्छन् भन्ने तथ्य पनि फागुन २१ को चुनावले प्रमाणित गरिदिएको छ । यहाँ मैले यो प्रसंग किन समावेश गरेको हुँ भने, राजनीतिलाई व्यक्तिगत स्वार्थमा केन्द्रित गर्दा जनताले साथ दिन्छन् भन्ने हुँदैन ।
कांग्रेस–एमालेले समय नचिन्दा हुँदाखाँदाको सत्ता गुम्यो । जब जेनजी सडकमा उत्रिए, शक्तिशाली भनिएको ओली सरकार दुई दिन पनि टिक्न सकेन । दुई तिहाइको धाक लगाउने ओली सेनाको हेलिकोप्टर चढेर बालुवाटारबाटै भाग्नु पर्यो । जेनजी आन्दोलनले शासकीय हैसियत खोसिदियो, चुनावसम्म पुग्दा त राजनीतिक हैसियत पनि गुम्यो । ओली मात्रै होइन, उनका सहयोगीहरुको समेत सर्मनाक हार भयो । समयलाई दम्भले थिच्न खोज्ने ओलीलाई अहिले समयले नै थिचिरहेको छ ।
कुनै बेला समयको भरपुर उपयोग गरेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा अहिले गुमनाम छन् । चुनावअघि सिंगापुर उडेका देउवा दम्पत्ति अझै फर्किएका छैनन् । पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति भएका देउवाको अवस्था यस्तो होला भनेर कसले सोचेको थियो होला र ? देउवासँग अहिले न पार्टी छ, न सत्ता । फेरि शक्तिमा फर्किने सम्भावना पनि सकिएको छ । विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व हातमा लिएका गगन थापा र विश्वप्रकाश शर्माहरु पनि अहिले मुलुकको राजनीतिमा किनारामा छन् ।
कुनै बेला देशभर माओवादीको राप ताप थियो । माओवादीका एक से एक नेता थिए । बीस वर्ष पुग्दा नपुग्दै माओवादीमा क्षयीकरण यति भयो कि, पार्टी नै अस्तित्वमा छैन । प्रचण्डले पार्टीको नाम बदलेको बदल्यै गरे, साथी फेरेकै फेर्यै गरे । दश वर्षे सशस्त्र युद्धमा साथ दिएका मोहन वैद्य, रामबहादुर थापा, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सीपी गजुरेल जस्ता नेता क्रमिक रुपमा टाढिँदै गए । नाम सुनिएका, नसुनिएका विभिन्न समूहलाई मिलाएर नेकपा बनाएका प्रचण्ड सदनदेखि सडकसम्म निस्तेज छन् ।
प्रचण्डका सहयात्री डा. बाबुराम भट्टराई । कुनै बेला निकै आशा गरिएका नेता । अर्थमन्त्री बने, प्रधानमन्त्री बने । संविधान बनेपछि उनले माओवादी छाडे । आफ्नै नेतृत्वमा पार्टी बनाए, अरु पार्टीहरुसँग मिले । अहिले उनी कुनै पार्टीमा छैनन् । उनको भूमिका सामाजिक सञ्जालमा लेख्नेमा मात्रै सीमित भएको छ ।
मधेश विद्रोहबाट स्थापित भएका नेता हुन् उपेन्द्र यादव । पटक पटक मन्त्री, उपप्रधानमन्त्री भए । सत्ताका लागि उनले जुन दलसँग पनि सम्झौता गरे । तर, अहिलेको प्रतिनिधिसभामा उनको दल जनता समाजवादी पार्टीको उपस्थितिसमेत छैन । उनै उपेन्द्रलाई टक्कर दिँदै मधेशमा उदाएका डा. सीके राउत समेत पछिल्लो चुनावपछि गुमनाम छन् । उनकै कार्यशैलीका कारण पार्टी अस्तव्यस्त छ, चुनावअघि त फुट्यो नै ।
एमाले फुटाएर नयाँ पार्टी– एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र झलनाथ खनालहरुले त पार्टी फुटाउने कदमको औचित्य पुष्टि गर्नै सकेनन् । पार्टी फुटेपछि एउटा चुनाव पाँच दलसँग मिलेर लडे, अर्को चुनावअघि प्रचण्डसँग मिलेर नेकपा बनाए । तर, चुनावमा जनताले पत्याएनन् ।
नेपालको राजनीतिमा बीपी कोइराला सधैं सम्झिइने नाम हो । बीपी प्रतिपादन गरेका सिद्धान्त र आदर्शलाई कांग्रेसले अहिले पनि बोकिरहेको छ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले विभिन्न कालखण्डमा नेपालमा लोकतन्त्र बहालीका भएका आन्दोलनको नेतृत्व गरे । उनीहरु आफ्नो एजेण्डामा सफल भए । पुष्पपाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायत नेताले नेपालमा वाम आन्दोलन स्थापित गरे, कम्युनिस्टहरु पनि लोकतान्त्रिक हुन्छन् भन्ने स्थापित गरे । बीपी कोइराला र पुष्पलाल श्रेष्ठहरुको पदचाप पछ्याइरहेका छौं भन्नेहरु अहिले किनारा लागेका छन् ।
लामो इतिहास भएका अनि व्यवस्था परिवर्तनका लागि पटक पटक संघर्ष गरेका नेताहरु पनि किन यसरी गुमनाम भए ? यसको मुख्य कारण हो– उनले समयको चाप बुझेनन् । जनताको चाहना बुझेनन् । सधैं इतिहासको ब्याज खान खोजिरहे । बैंकमा राखेको पैसाको पो ब्याज खान पाइन्छ । तर, राजनीति यस्तो हो, जसमा सधैं इतिहास बेचेर खान पाइँदैन ।
कांग्रेस, एमाले र तत्कालीन माओवादीका नेताहरु जनताको मन र नजरबाट बाहिरिँदै गर्दा रवि लामिछाने र बालेन शाह जस्ता नयाँ नेताहरुलाई जनताले मत र अभिमत दिएका छन् । जनताले विकल्प खोजिरहन्छन्, जुन नेताले जनतालाई विकल्प दिन सक्छन्, उनीहरु नै स्थापित हुन्छन् ।
समयअनुसार जनताको चाहना फेरिन्छ । जनताको चाहना बुझ्न नसक्ने दल र तिनका नेता बढारिन्छन् । अनि, जसले जनताको चाहना बुझ्छन्, उनीहरुले जनताको साथ र समर्थन पाउँछन् । अहिले रास्वपाले झण्डै दुई तिहाइ सिट जित्नु त्यसैको परिणाम हो । २०८२ फागुन २१ को चुनावले दिएको सबैभन्दा ठूलो सन्देश यही हो । चार वर्षअघि रास्थापना भएको रास्वपालाई जनताले उतिबेलै वैकल्पिक शक्तिका रुपमा उभ्याए । चार नबित्दै भएको अर्को चुनावमा त जनताले देशको बागडोर नै सुम्पिए ।
दल नयाँ होस् कि पुरानो, उसले जनताको मुद्दा बोक्नुपर्छ । रास्वपा नयाँ दल हो, तर, जनताले पत्याए, रवि र बालेनहरुमा आशा र भरोसा गरे, समर्थन गरे । यसको मुख्य कारण उसले उठाएका मुद्दा नै हो ।
राजनीतिशास्त्रको नियम नै छ– समयअनुसार नेता र पार्टी रुपान्तरण हुनुपर्छ । रुपान्तरित हुँदा समर्थन पाउँछन्, नहुँदा पाउँदैनन् । कांग्रेस, एमाले जस्ता पुराना दल रुपान्तरित हुन सकेनन् । त्यसको असर उनीहरुले चुनावमा भोगे । नेताहरुमा पनि त्यही कुरा लागू हन्छ । नेताले पनि आफूलाई समय सापेक्ष बनाउन सक्नुपर्छ । समय सापेक्ष हुन नसक्ने नेताहरु गुमनाम हुँदै जान्छन् । लोकतन्त्रको अभ्यास भएका संसारका थुप्रै देशहरु छन् र ती देशमा पनि थुप्रै पार्टी उदाएका छन्, थुप्रै पार्टी अस्ताएका छन् । आफूलाई रुपान्तरण र पुनजागृत गरेका कतिपय दलहरु वर्षौंपछि पनि शक्तिमा आएका छन् । भारतमा कुनै बेला लामो समय कंग्रेस आईले सत्ता सम्हाल्यो । पछिल्लो डेढ दशकयता, कंग्रेस आई भारतको सत्ताबाट निकै टाढा छ । बेलायतमा त वर्षौं पुराना लेबर र कन्जरभेटिभ पार्टीबीच नै प्रतिस्पर्धा भइरहन्छ । विश्वकै सर्वशक्तिमान अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनका बीचमा सत्ता अदलबदल भइरहन्छ । यसको कारण हो– ती पार्टी र तिनका नेताहरु ‘अपडेटेड’ छन् ।
हुन त एउटा चुनावले मात्रै पार्टी र चुनावको मूल्यांकन गर्नु अलि न्यायोचित हुँदैन । तर, नेता र पार्टीको लोकप्रियता बढ्दो छ वा खस्किँदो छ भनेर तुलना गर्न भने अवश्य मिल्छ । नेपालमा लोकतन्त्र बहालीपछिका पाँच वटा चुनावको परिणाम विश्लेषण गर्दा स्पष्ट रुपमा के भन्न सकिन्छ भने पुराना भनिएका पार्टी र तिनका थुप्रै नेताको औचित्य समाप्त हुँदैछ ।
संसारभर एउटा भनाइ छ– राजनेताले आगामी पुस्ताका लागि सोच्छ, तर राजनीतिज्ञले अर्को चुनावका लागि मात्र सोच्छ । हाम्रा नेताहरुले अर्को पुस्ताका लागि सोच्न सकेनन्, केबल चुनाव कसरी जित्ने भनेर मात्र सोचे । नेताहरु चुनाव केन्द्रित हुँदा २००७ सालदेखि २०८२ सम्म नेपाली जनताले आन्दोलन नै गरिरहनु पर्यो । आशा गरौं कम्तीमा अब नेपाली जनताले सडकमा उत्रिएर आन्दोलन गर्न पर्ने छैन ।
गत फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित रास्वपाले सत्ता सम्हालेको भर्खर २ महिना नाघेको छ । नयाँ पुस्ताको चाहनाअनुसार सरकारले सुशासन बहालीका लागि प्रयास गरिरहेको छ । शासकीय सुधारका कार्यक्रम ल्याइरहेको छ । अनि त्यही रास्वपाले पहिलो महाधिवेशन गर्दैछ । महाधिवेशनले मुख्य रुपमा २ वटा काम गर्छ । एउटा– नेतृत्व चयन,
अर्को– नीति निर्धारण ।
पहिलो महाधिवेशन भएकाले सम्भवतः यसपालि नेतृत्व चयनमा खासै रस्साकस्सी हुँदैन । मतदानबाटै नेतृत्व चयन गरे पनि त्यो लोकतान्त्रिक विधि नै हो । सँगै महाधिवेशनमा नयाँ नेपाल निर्माणको नीति र विधिबारे भने गहन छलफल हुनुपर्छ । चितवनमा जुट्ने देशभरका रास्वपा नेता कार्यकर्ताले सघन विमर्श गर्नुपर्छ । पुराना दलहरु निरर्थक बन्दै गएको सन्दर्भबाट पाठ सिक्दै रास्वपा महाधिवेशनले सिंगो देशलाई गति दिने नीति तर्जुमा गर्नुपर्छ ।