नेभिगेशन
नेताका कुरा

कुनैबेलाका चर्चित, अहिले गुमनाम नेताहरु !

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले पहिलो महाधिवेशनको तयारीमा छ । तर, जेनजी आन्दोलन लगत्तै रास्वपा छाडेकी सुमना श्रेष्ठ अहिले ‘पलिटिकल सिन’मा छैनन् । रास्वपा छाडेका अर्का नेता सन्तोष परियारको पनि अहिले राष्ट्रिय राजनीतिमा कुनै भूमिका छैन । 

चुनावअघि माओवादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा गएका सुदन किराती केही दिनअघि श्रम संस्कृति पार्टीमा हानिए । पछिल्लो एक दशकमा अधा दर्जन दल फेरेका बाबुराम भट्टराई त अहिले दलविहीन छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु अहिले पार्टीको कुनै जिम्मेवारीमा छैनन्, उनीहरु त चार महिनादेखि विदेशमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आलोचनाले घेरिएका छन् । मधेशमा विद्रोहको आगो सल्काउने उपेन्द्र यादव अहिले कहाँ छन्, धेरैलाई थाहा छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलुकको राजनीतिमा कहिलेकाहीँ कुनै व्यक्ति निकै चर्चित बन्छन् । तर, छोटो समयमै हराउँछन् । कोही व्यक्ति यस्ता हुन्छन्– जो कुनै एक कालखण्डमा मात्रै होइन, पुस्तौं पुस्तासम्म पछ्यान्इन्छन् । नेपालको राजनीतिमा केही यस्ता व्यक्ति छन्, जसलाई मृत्यु पर्यन्त पनि जनताले सम्झिरहेका छन् । तर, कोही व्यक्ति यसरी उदाए, जो आउँदा तामझामका साथ आए, छोटो समयमै पानीको फोका जसरी बिलाए ।  चर्चामा आउने र हराउने नेताहरुको सूची निकै लामो छ । सुरुमा पछिल्ला छ–आठ महिनामै कुन कुन नेता गुमनाम भए ? त्यो हेरौं । 

Ncell
Extreme Energy

जेनजी आन्दोलन अघिसम्म सुमना श्रेष्ठ निकै चर्चित थिइन् । रास्वपा सहमहामन्त्री थिइन्, रास्वपाबाटै अघिल्लो संसदमा समानुपातिक सांसद बनिन्, शिक्षामन्त्री पनि भइन् । तर, जेनजी आन्दोलनको चौथो दिन उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइन् । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनी केही दिन त सिंहदरबार र बालुवाटारमा भेटिन्थिन् । बिस्तारै त्यहाँ पनि देखिन छाडिन् । अहिले उनी चर्चामै छैनन् ।

अघिल्लो संसद्का अर्का चर्चित नेता हुन्– सन्तोष परियार । समानुपातिकबाट सांसद बनेका उनी रास्वपा संसदीय दलको प्रमुख सचेतक नै भए । सुमनाले रास्वपा छाडेको दुई महिना बित्दा नबित्दै सन्तोषले पनि रास्वपा छाडे । माओवादी छाडेका केही नेताहरुसँग मिसिएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी अर्थात प्रलोपाको अध्यक्ष बने । एउटा पार्टीको अध्यक्ष त बने, तर, उनी अध्यक्ष रहेको पार्टी राष्ट्रिय राजनीतिमा कहीँ कतै देखिँदैन । अवस्था त यस्तो छ– प्रलोपा पार्टीकाे अस्तित्वविहन जस्तै छ। 

माओवादीबाट पटक सांसद, मन्त्री र केन्द्रीय सदस्य रहेका सुदन किरातीले चुनावअघि माओवादी छाडे, प्रलोपाको अध्यक्ष मण्डलको सदस्य बने । चुनावपछि, गएको चैत दोस्रो साता प्रलोपा पनि छाडे, केही दिनअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा गए । 

यी त केही उदाहरण मात्रै हुन् । जेनजी आन्दोलनले केही नेताहरुलाई राष्ट्रिय राजनीति र चर्चाको शिखरमा पुयाउँदा केही नेतालाई ‘सिन’बाटै ‘आउट’ गरिदियो । कांग्रेस, एमाले र नेकपाका थुप्रै नेताहरुले पार्टी छाडे, कतिले त राजनीति नै छाडे । 

जेनजी आन्दोलनदेखि चुनावसम्म आइपुग्दा रास्वपाका केही नेताले पार्टी छाडे । केहीले छाडे, कैयौं रास्वपा प्रवेश गरे । अरु पार्टी छाडेर रास्वपा प्रवेश गरेकामध्ये केहीले चुनावमा टिकट पाए, चुनाव पनि जिते । 

उदाहरणका लागि अघिल्लो चुनावमा कांग्रेसबाट प्रदेशसभामा उम्मेदवार बनेका विक्रम सिंह थापा गएको चु्नावमा रास्वपाबाट कपिलवस्तु २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बने, चुनाव जिते । कांग्रेस छाडेका नवपरासी सुस्ता पश्चिमका विक्रम खनाल पनि रास्वपाबाट सांसद बने । चुनावका बेला थुप्रैले दल बदले । कसैले समयको चाप बुझेर दल फेरे, कसैले अवसरका लागि दल फेरे । समयको चाप र जनताको चाहना बुझेर दल फेरेकाहरुलाई जनताले पत्याए, चुनावमा भोट पनि दिए । उनीहरु अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तर, जसले अवसरका लागि दल बदले, व्यक्तिगत स्वार्थका लागि पार्टी फेरे, उनीहरुलाई जनताले पत्याएनन् । 

गएको चुनावमा यस्तो पनि देखियो कि, जनताको सेवा गर्ने पद र जिम्मेवारी हुँदा हुँदै केही नेताले भटाभट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । केहीले जिते । तर, जो हारे, उनीहरुको पदीय हैसियत पनि समाप्त भयो । काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर चुनाव लडेका बालेन शाह अहिले प्रधानमन्त्री छन् । धरान उपमहानगरको मेयर छाडेर दलीय राजनीतिमा आएका हर्क सम्पाङले आफ्नै पार्टी बनाए, सांसद पनि चुनिए । तर, भरतपुर महानगरको मेयर छाडेर चितवन–३ मा चुनाव लडेकी रेनु दाहालले चुनाव हारिन् । 

चुनाव लड्नकै लागि पालिका तथा प्रदेश सभाबाट राजीनामा दिएका तथा पार्टी फेरेर उम्मेदवारी दिएकाहरुको सूची पनि लामो छ । तर कतिले जिते ? जित्ने भन्दा हार्ने धेरै भए । चुनाव जित्नेले सत्ता पाउँछ, हार्नेले भएको पनि गुमाउँछ भनेको सायद यही होला ।

जनमत नबुझी माथिल्लो पदका लागि मात्रै मरिहत्ते गर्दा जनताले नै सजाय दिन्छन् भन्ने तथ्य पनि फागुन २१ को चुनावले प्रमाणित गरिदिएको छ । यहाँ मैले यो प्रसंग किन समावेश गरेको हुँ भने, राजनीतिलाई व्यक्तिगत स्वार्थमा केन्द्रित गर्दा जनताले साथ दिन्छन् भन्ने हुँदैन । 

कांग्रेस–एमालेले समय नचिन्दा हुँदाखाँदाको सत्ता गुम्यो । जब जेनजी सडकमा उत्रिए, शक्तिशाली भनिएको ओली सरकार दुई दिन पनि टिक्न सकेन । दुई तिहाइको धाक लगाउने ओली सेनाको हेलिकोप्टर चढेर बालुवाटारबाटै भाग्नु पर्यो । जेनजी आन्दोलनले शासकीय हैसियत खोसिदियो,  चुनावसम्म पुग्दा त राजनीतिक हैसियत पनि गुम्यो । ओली मात्रै होइन, उनका सहयोगीहरुको समेत सर्मनाक हार भयो । समयलाई दम्भले थिच्न खोज्ने ओलीलाई अहिले समयले नै थिचिरहेको छ । 

कुनै बेला समयको भरपुर उपयोग गरेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा अहिले गुमनाम छन् । चुनावअघि सिंगापुर उडेका देउवा दम्पत्ति अझै फर्किएका छैनन् । पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति भएका देउवाको अवस्था यस्तो होला भनेर कसले सोचेको थियो होला र ? देउवासँग अहिले न पार्टी छ, न सत्ता । फेरि शक्तिमा फर्किने सम्भावना पनि सकिएको छ । विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व हातमा लिएका गगन थापा र विश्वप्रकाश शर्माहरु पनि अहिले मुलुकको राजनीतिमा किनारामा छन् ।  

कुनै बेला देशभर माओवादीको राप ताप थियो । माओवादीका एक से एक नेता थिए । बीस वर्ष पुग्दा नपुग्दै माओवादीमा क्षयीकरण यति भयो कि, पार्टी नै अस्तित्वमा छैन । प्रचण्डले पार्टीको नाम बदलेको बदल्यै गरे, साथी फेरेकै फेर्यै गरे । दश वर्षे सशस्त्र युद्धमा साथ दिएका मोहन वैद्य, रामबहादुर थापा, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सीपी गजुरेल जस्ता नेता क्रमिक रुपमा टाढिँदै गए । नाम सुनिएका, नसुनिएका विभिन्न समूहलाई मिलाएर नेकपा बनाएका प्रचण्ड सदनदेखि सडकसम्म निस्तेज छन् । 

प्रचण्डका सहयात्री डा. बाबुराम भट्टराई । कुनै बेला निकै आशा गरिएका नेता । अर्थमन्त्री बने, प्रधानमन्त्री बने । संविधान बनेपछि उनले माओवादी छाडे । आफ्नै नेतृत्वमा पार्टी बनाए, अरु पार्टीहरुसँग मिले । अहिले उनी कुनै पार्टीमा छैनन् । उनको भूमिका सामाजिक सञ्जालमा लेख्नेमा मात्रै सीमित भएको छ । 

मधेश विद्रोहबाट स्थापित भएका नेता हुन् उपेन्द्र यादव । पटक पटक मन्त्री, उपप्रधानमन्त्री भए । सत्ताका लागि उनले जुन दलसँग पनि सम्झौता गरे । तर, अहिलेको प्रतिनिधिसभामा उनको दल जनता समाजवादी पार्टीको उपस्थितिसमेत छैन । उनै उपेन्द्रलाई टक्कर दिँदै मधेशमा उदाएका डा. सीके राउत समेत पछिल्लो चुनावपछि गुमनाम छन् । उनकै कार्यशैलीका कारण पार्टी अस्तव्यस्त छ, चुनावअघि त फुट्यो नै ।

एमाले फुटाएर नयाँ पार्टी– एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र झलनाथ खनालहरुले त पार्टी फुटाउने कदमको औचित्य पुष्टि गर्नै सकेनन् । पार्टी फुटेपछि एउटा चुनाव पाँच दलसँग मिलेर लडे, अर्को चुनावअघि प्रचण्डसँग मिलेर नेकपा बनाए । तर, चुनावमा जनताले पत्याएनन् ।

नेपालको राजनीतिमा बीपी कोइराला सधैं सम्झिइने नाम हो । बीपी प्रतिपादन गरेका सिद्धान्त र आदर्शलाई कांग्रेसले अहिले पनि बोकिरहेको छ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले विभिन्न कालखण्डमा नेपालमा लोकतन्त्र बहालीका भएका आन्दोलनको नेतृत्व गरे । उनीहरु आफ्नो एजेण्डामा सफल भए । पुष्पपाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायत नेताले नेपालमा वाम आन्दोलन स्थापित गरे, कम्युनिस्टहरु पनि लोकतान्त्रिक हुन्छन् भन्ने स्थापित गरे । बीपी कोइराला र पुष्पलाल श्रेष्ठहरुको पदचाप पछ्याइरहेका छौं भन्नेहरु अहिले किनारा लागेका छन् ।       

लामो इतिहास भएका अनि व्यवस्था परिवर्तनका लागि पटक पटक संघर्ष गरेका नेताहरु पनि किन यसरी गुमनाम भए ? यसको मुख्य कारण हो– उनले समयको चाप बुझेनन् । जनताको चाहना बुझेनन् । सधैं इतिहासको ब्याज खान खोजिरहे । बैंकमा राखेको पैसाको पो ब्याज खान पाइन्छ । तर, राजनीति यस्तो हो, जसमा सधैं इतिहास बेचेर खान पाइँदैन ।

कांग्रेस, एमाले र तत्कालीन माओवादीका नेताहरु जनताको मन र नजरबाट बाहिरिँदै गर्दा रवि लामिछाने र बालेन शाह जस्ता नयाँ नेताहरुलाई जनताले मत र अभिमत दिएका छन् । जनताले विकल्प खोजिरहन्छन्, जुन नेताले जनतालाई विकल्प दिन सक्छन्, उनीहरु नै स्थापित हुन्छन् ।    
समयअनुसार जनताको चाहना फेरिन्छ । जनताको चाहना बुझ्न नसक्ने दल र तिनका नेता बढारिन्छन् । अनि, जसले जनताको चाहना बुझ्छन्, उनीहरुले जनताको साथ र समर्थन पाउँछन् । अहिले रास्वपाले झण्डै दुई तिहाइ सिट जित्नु त्यसैको परिणाम हो । २०८२ फागुन २१ को चुनावले दिएको सबैभन्दा ठूलो सन्देश यही हो । चार वर्षअघि रास्थापना भएको रास्वपालाई जनताले उतिबेलै वैकल्पिक शक्तिका रुपमा उभ्याए । चार नबित्दै भएको अर्को चुनावमा त जनताले देशको बागडोर नै सुम्पिए । 

दल नयाँ होस् कि पुरानो, उसले जनताको मुद्दा बोक्नुपर्छ । रास्वपा नयाँ दल हो, तर, जनताले पत्याए, रवि र बालेनहरुमा आशा र भरोसा गरे, समर्थन गरे । यसको मुख्य कारण उसले उठाएका मुद्दा नै हो । 

राजनीतिशास्त्रको नियम नै छ– समयअनुसार नेता र पार्टी रुपान्तरण हुनुपर्छ । रुपान्तरित हुँदा समर्थन पाउँछन्, नहुँदा पाउँदैनन् । कांग्रेस, एमाले जस्ता पुराना दल रुपान्तरित हुन सकेनन् । त्यसको असर उनीहरुले चुनावमा भोगे । नेताहरुमा पनि त्यही कुरा लागू हन्छ । नेताले पनि आफूलाई समय सापेक्ष बनाउन सक्नुपर्छ । समय सापेक्ष हुन नसक्ने नेताहरु गुमनाम हुँदै जान्छन् । लोकतन्त्रको अभ्यास भएका संसारका थुप्रै देशहरु छन् र ती देशमा पनि थुप्रै पार्टी उदाएका छन्, थुप्रै पार्टी अस्ताएका छन् । आफूलाई रुपान्तरण र पुनजागृत गरेका कतिपय दलहरु वर्षौंपछि पनि शक्तिमा आएका छन् । भारतमा कुनै बेला लामो समय कंग्रेस आईले सत्ता सम्हाल्यो । पछिल्लो डेढ दशकयता, कंग्रेस आई भारतको सत्ताबाट निकै टाढा छ । बेलायतमा त वर्षौं पुराना लेबर र कन्जरभेटिभ पार्टीबीच नै प्रतिस्पर्धा भइरहन्छ । विश्वकै सर्वशक्तिमान अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनका बीचमा सत्ता अदलबदल भइरहन्छ । यसको कारण हो– ती पार्टी र तिनका नेताहरु ‘अपडेटेड’ छन् ।  

हुन त एउटा चुनावले मात्रै पार्टी र चुनावको मूल्यांकन गर्नु अलि न्यायोचित हुँदैन । तर, नेता र पार्टीको लोकप्रियता बढ्दो छ वा खस्किँदो छ भनेर तुलना गर्न भने अवश्य मिल्छ । नेपालमा लोकतन्त्र बहालीपछिका पाँच वटा चुनावको परिणाम विश्लेषण गर्दा स्पष्ट रुपमा के भन्न सकिन्छ भने पुराना भनिएका  पार्टी र तिनका थुप्रै नेताको औचित्य समाप्त हुँदैछ । 

संसारभर एउटा भनाइ छ– राजनेताले आगामी पुस्ताका लागि सोच्छ, तर राजनीतिज्ञले अर्को चुनावका लागि मात्र सोच्छ । हाम्रा नेताहरुले अर्को पुस्ताका लागि सोच्न सकेनन्, केबल चुनाव कसरी जित्ने भनेर मात्र सोचे । नेताहरु चुनाव केन्द्रित हुँदा २००७ सालदेखि २०८२ सम्म नेपाली जनताले आन्दोलन नै गरिरहनु पर्यो । आशा गरौं कम्तीमा अब नेपाली जनताले सडकमा उत्रिएर आन्दोलन गर्न पर्ने छैन । 

गत फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित रास्वपाले सत्ता सम्हालेको भर्खर २ महिना नाघेको छ । नयाँ पुस्ताको चाहनाअनुसार सरकारले सुशासन बहालीका लागि प्रयास गरिरहेको छ । शासकीय सुधारका कार्यक्रम ल्याइरहेको छ । अनि त्यही रास्वपाले पहिलो महाधिवेशन गर्दैछ । महाधिवेशनले मुख्य रुपमा २ वटा काम गर्छ । एउटा– नेतृत्व चयन, 
अर्को– नीति निर्धारण । 

पहिलो महाधिवेशन भएकाले सम्भवतः यसपालि नेतृत्व चयनमा खासै रस्साकस्सी हुँदैन । मतदानबाटै नेतृत्व चयन गरे पनि त्यो लोकतान्त्रिक विधि नै हो । सँगै महाधिवेशनमा नयाँ नेपाल निर्माणको नीति र विधिबारे भने गहन छलफल हुनुपर्छ । चितवनमा जुट्ने देशभरका रास्वपा नेता कार्यकर्ताले सघन विमर्श गर्नुपर्छ । पुराना दलहरु निरर्थक बन्दै गएको सन्दर्भबाट पाठ सिक्दै रास्वपा महाधिवेशनले सिंगो देशलाई गति दिने नीति तर्जुमा गर्नुपर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कञ्चनपुरका आरक्ष पीडितको २५ वर्षदेखिको समस्या समाधान गर्न सभापति लामिछानेको पहलकदमी, भूमि र वनमन्त्रीलाई दिए निर्देशन

कञ्चनपुरका आरक्ष पीडितको २५ वर्षदेखिको समस्या समाधान गर्न सभापति लामिछानेको पहलकदमी, भूमि र वनमन्त्रीलाई दिए निर्देशन

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले भने, ‘तपाइहरुको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं ।...
सत्ता टिकाउन प्रधानमन्त्रीले सीमा विवाद समाधानमा बेलायतको संलग्नताको प्रसंग उठाएः रामबहादुर थापा

सत्ता टिकाउन प्रधानमन्त्रीले सीमा विवाद समाधानमा बेलायतको संलग्नताको प्रसंग उठाएः रामबहादुर थापा

शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको...
अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, त्रिपुरेश्वर, लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ ,गोँगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर, गौशाला र चाबहिल क्षेत्रबाट उक्त तार हटाउन लागिएको छ  ।
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरु)

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरु)

महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

भर्खरै