काठमाडौँ । भोटेकोशीले हामीलाई अपूरणीय पीडा दिएर गएको छ। भदौ १० गतेको भोटेकोशी भेलबाढीबाट हालसम्म १४०० को मृत्यु, पाँच हजार बढी बेपत्ता, ५० हजार घरमा क्षति पु¥याएको छ। हजारौंको उठीबास लगाएको छ।
यो पीडाले सिंगो देश थिलोथिलो बनाएका बेला काठमाडौंको शिर क्षेत्रमा बनाइएको कृत्रिम ताल धाप ड्याम फुट्ने हल्लाले काठमाडौं उपत्यकावासी त्रासमा छन्।
कतै बाँध फुट्ने त होइन भनेर बागमती नदी किनाराका मानिसहरू त्राहित्राहि हुन थालेका छन्। काठमाडौं उपत्यकामा झण्डै ४४ किलोमिटर दूरी ओगट्ने बागमती नदी किनारामा बाक्लो आवादी छ। यसकारण पनि तटीय क्षेत्रका बासिन्दा तर्सनु स्वाभाविकै हो।
लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
तर, के पहिरोले नागमतीको मुल र वरवरको जरूलाई थुनेर बनाइएको ताल नै जोखिममा पारेको हो?
अहिलेको प्राविधिक अध्ययनले ड्यामको संरचनामा प्रत्यक्ष क्षति नपुगेको र तत्काल ड्याम फुट्ने वा तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम नरहेको देखाएको छ। यद्यपि वर्षा जारी रहेकाले पहिरो थप सक्रिय हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै ड्याममा जम्मा भएको पानी घटाउनेदेखि पहिरो प्रभावित क्षेत्रमा पानी पस्न नदिने कामसम्म भइरहेका छन्।
अब हेरौँ, धाप ड्याममा वास्तवमा के भएको हो र अहिले त्यहाँ के भइरहेको छ। काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र करिब ८ लाख ५० हजार घनमिटर पानी भण्डारण गर्ने क्षमताको ड्याम निर्माण गरिएको छ। धाप बाँधले बागमती नदी सौन्दर्यीकरणमा बढावा दिएपछि मुलखर्क गाउँ नजिकै नागमती नदीलाई थुनेर अर्को बाँध बनाउने महत्त्वाकांक्षी परियोजनाबारे बहस विमर्श भइरहेको छ।
सरकारले नागमती परियोजनाको विस्तृत प्राविधिक अध्ययन गरिरहँदा मुहान क्षेत्रमा बनाइएको धाप बाँधले नै अत्याउन थालेको विश्लेषण भइरहेको छ। लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि रहेको खोल्सीमा पहिरो गएको हो।
मेलम्ची–३ का पूर्ववडाध्यक्ष बसन्त गुरुङका अनुसार ड्यामको सुरक्षाका लागि सडक किनारमा बनाइएको ग्याबिन वाल पहिरोका कारण भासिएको छ।
तर, आयोजनाका अधिकारीका अनुसार अहिलेसम्म ड्यामको मुख्य संरचनामा प्रत्यक्ष क्षति पुगेको छैन।
पहिरो गएको क्षेत्र ड्यामको मुख्य संरचनाभन्दा तलतर्फको भूभाग हो। लगातारको पानीका कारण खोल्सीमा बहाव बढ्दा जमिन कटान हुँदै गएको र त्यसले सडक तथा ग्याबिन वाललाई असर गरेको हो।
प्राविधिक निरीक्षणका क्रममा खोल्सीको बहाव क्षेत्रमा पानीले माटो र जमिन कटान गरेको पाइएको छ। यसलाई प्राविधिक भाषामा ‘स्काउरिङ’ भनिन्छ। पानीको बहावले जमिनको सतह तथा माटो बिस्तारै काट्दै जाँदा सडक किनारमा बनाइएको ग्याबिन वालको आधार कमजोर भएको देखिएको छ।
त्यसैगरी, सडकको पानी निकास गर्न राखिएको ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ। पाइपको जोर्नीबाट पानी ग्याबिन वालभित्र पस्न थालेपछि क्षति थप बढेको प्राविधिक टोलीको निरीक्षणबाट देखिएको छ। यो अवस्था देखिएपछि जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोलीले घटनास्थलको निरीक्षण गरेको छ।
भदौ २६ गते गरिएको निरीक्षणमा इन्जिनियर, भूगर्भविद् तथा सडक र नदीजन्य विपद् व्यवस्थापनसँग सम्बन्धित प्राविधिक सहभागी थिए। नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसमेत निरीक्षणमा सहभागी थिए।
टोलीले पहिरोको अवस्था, पानीको बहाव र ड्यामको सुरक्षालाई हेरेर तत्कालीन जोखिमको मूल्याङ्कन गरेको हो। प्राविधिक टोलीको निष्कर्षअनुसार अहिले ड्यामको मुख्य संरचनामा प्रत्यक्ष क्षति पुगेको छैन। तल्लो तटीय क्षेत्रमा पनि तत्काल ठूलो जोखिम देखिएको छैन।
तर, वर्षा अझै जारी रहेकाले पहिरो थप सक्रिय हुनसक्ने सम्भावनालाई भने बेवास्ता गरिएको छैन। त्यसैले अहिलेको मुख्य काम जोखिम बढ्न नदिने हो। त्यसका लागि सबैभन्दा पहिले ड्यामको जलाशयमा रहेको पानीको सतह घटाउन थालिएको छ। अहिले धाप ड्यामबाट प्रतिसेकेन्ड ४०० लिटरका दरले २४ घण्टा पानी निकास भइरहेको छ।
अर्थात् जलाशयबाट पूर्ण क्षमतामा पानी छोडेर ड्याम र वरपरका संरचनामाथि पर्ने दबाब घटाउने प्रयास भइरहेको छ। यो ड्याम फुट्ने अवस्था भएर गरिएको काम भने होइन। सम्भावित जोखिमलाई पहिले नै कम गर्ने सावधानीका रूपमा पानीको सतह घटाइएको हो।
पहिरो प्रभावित क्षेत्रमा अर्को महत्वपूर्ण काम भइरहेको छ—पानीलाई पहिरोभित्र पस्न नदिने। स्लोप अस्थिर भएको भूभागभन्दा माथि चार स्थानमा अस्थायी ड्रेन निर्माण गरिएको छ। वर्षाको पानी पहिरो गएको क्षेत्रमा सोझै नपसोस् र सुरक्षित ठाउँतर्फ बगेर जाओस् भनेर यी ड्रेन बनाइएको हो।
किनभने पहिरो गएको जमिनमा थप पानी पस्यो भने माटोको भार बढ्ने र जमिन थप चिप्लिने जोखिम हुन्छ। त्यसैले अहिले पानी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सम्भावित रूपमा पानी जमिनभित्र पस्न सक्ने ठाउँमा प्लास्टिक तथा त्रिपालसमेत बिछ्याइएको छ। यसको उद्देश्य वर्षाको पानीलाई जमिनभित्र पस्न नदिनु हो।
पहिरोले भासिएको क्षेत्रमा रहेको माटो तथा अन्य सामग्री हटाउने काम पनि भइरहेको छ। नेपाली सेनासँगको सहकार्यमा ओभरबर्डेन अर्थात् माथिल्लो भागमा थुप्रिएको ढिलो माटो तथा सामग्री हटाउने काम भइरहेको हो।यसबाट थप पानीको बहाव व्यवस्थापन गर्न र अस्थिर भागको अवस्था बुझ्न पनि सहज हुन्छ। अहिले गरिएका यी सबै काम तत्कालीन जोखिम न्यूनीकरणका उपाय हुन्।
तर अस्थायी उपायले मात्र समस्या समाधान हुँदैन। पहिरो गएको भूभाग स्थिर भएपछि सडक किनारमा भासिएको ग्याबिन वाल र स्लोपलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने योजना छ। त्यसका लागि थप प्राविधिक अध्ययन गरिनेछ। भूभागको अवस्था हेरेर ग्याबिन वाल पुनर्निर्माण गर्ने तथा पहिरो रोक्ने स्थायी संरचना बनाउने तयारी छ। अहिले नै स्थायी संरचना निर्माण गर्नुभन्दा पहिले भूभागलाई स्थिर बनाउने र विस्तृत अध्ययन गर्ने रणनीति अपनाइएको छ।
अब प्रश्न उठ्छ—धाप ड्याम आखिर किन बनाइएको हो?
काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको यो ड्यामको मुख्य उद्देश्य वर्षायाममा जम्मा भएको पानी सुख्खायाममा बागमती नदीमा छाड्नु हो। ड्याममा करिब ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गर्न सकिन्छ। वर्षामा पानी पर्याप्त हुने तर हिउँदमा बागमतीको बहाव निकै घट्ने भएकाले वर्षाको पानी जम्मा गरेर सुख्खायाममा नदीमा छाड्ने अवधारणाअनुसार यो आयोजना निर्माण गरिएको हो। यसबाट बागमती नदीको बहाव कायम राख्नुका साथै नदीको वातावरणीय तथा पारिस्थितिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको छ।
धाप ड्यामको पानी काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न वा सिँचाइ गर्न बनाइएको होइन। यसको मुख्य प्रयोजन वातावरणीय, धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएको छ। सुख्खायाममा बागमतीमा पानीको बहाव कायम राख्दा नदीको पानीको गुणस्तर सुधार गर्न तथा नदीमा निर्भर पारिस्थितिक प्रणालीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बागमतीको बहाव बढ्दा पशुपति क्षेत्रलगायत नदीसँग जोडिएका धार्मिक तथा सांस्कृतिक स्थलको वातावरणीय अवस्था सुधार गर्न पनि सहयोग पुग्ने परियोजनाको उद्देश्य छ। धाप ड्याम बागमती नदी बेसिन सुधार आयोजनाअन्तर्गत निर्माण गरिएको हो।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित यो आयोजनाको उद्देश्य बागमती नदी बेसिनमा पानीको सुरक्षा बढाउनु, जलवायु परिवर्तनका सम्भावित प्रभावसँग जुध्ने क्षमता विकास गर्नु र काठमाडौं उपत्यकाको बागमती नदीको वातावरणीय अवस्था सुधार गर्नु हो।
ड्याम निर्माणका लागि चिनियाँ–नेपाली संयुक्त उपक्रम ग्वाङ्झाउ–लामा–रमण जेभीसँग २०७२ सालमा ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा सम्झौता भएको थियो। सम्झौता २०७२ असोज ९ गते भएको थियो र सुरुमा २०७४ असोज २२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।तर विभिन्न कारणले निर्माण अवधि पटकपटक थपिँदै २०७९ असोज २९ गतेसम्म पुगेको थियो। मुख्य बाँध निर्माणको काम अहिले सम्पन्न भइसकेको सरकारी विवरणमा उल्लेख छ।
धाप ड्याम २४ मिटर अग्लो ‘कङ्क्रिट फेस्ड रकफिल ड्याम’ हो।
अर्थात् यसको मुख्य भाग ढुंगाबाट बनाइएको छ र बाहिरी सतहमा कङ्क्रिटको तह राखिएको छ। नेपालमा प्रयोग गरिएको यो प्रविधि धाप ड्यामको महत्त्वपूर्ण प्राविधिक पक्ष हो। ड्याम निर्माण, पहुँच सडक तथा वातावरण संरक्षणसम्बन्धी कामका लागि सम्झौता रकम भ्याटसहित करिब ५१ करोड रुपैयाँ थियो।
\परियोजनाका विभिन्न विवरणमा वास्तविक खर्च करिब ४७ करोड ८५ लाखदेखि करिब ५० करोड ९५ लाख रुपैयाँसम्म उल्लेख छ। त्यसैले धाप ड्याम निर्माणको लागत सामान्यतः करिब ५१ करोड रुपैयाँका रूपमा उल्लेख हुँदै आएको छ।
ड्याम निर्माण भएपछि यसको जलाशय आसपासको क्षेत्र पर्यटकीय आकर्षणसमेत बनेको छ। काठमाडौं उपत्यकाबाट नजिकै रहेको धापमा बनेको कृत्रिम ताल हेर्न पछिल्लो समय मानिसहरू पुग्ने गरेका छन्। तर, अहिले यही ड्यामको सुरक्षासँग जोडिएको बाह्य किनाराको भूभागमा पहिरो गएपछि यसको जोखिमबारे चासो बढेको हो।
अहिलेसम्मको प्राविधिक मूल्यांकनले एउटा कुरा स्पष्ट पारेको छ— पहिरो गएको छ, ग्याबिन वालमा क्षति पुगेको छ, सडक भासिएको छ तर ड्यामको मुख्य संरचनामा प्रत्यक्ष क्षति पुगेको छैन। तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम पनि देखिएको छैन। त्यसका बाबजुद वर्षा जारी रहेकाले जोखिमलाई हल्का रूपमा लिइएको छैन। जलाशयमा सञ्चित पानी घटाइएको छ। पहिरो क्षेत्रमा पानी पस्न नदिन अस्थायी ड्रेन बनाइएको छ। प्लास्टिक र त्रिपालले संवेदनशील क्षेत्र छोपिएको छ। भासिएको भागको सामग्री हटाउने काम भइरहेको छ। र, भूभाग स्थिर भएपछि स्थायी संरक्षण संरचना निर्माण गर्ने तयारी छ। अर्थात् सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्ने गरी सावधानी अपनाइएको छ।
मुख्य चुनौती अहिले ड्यामको संरचना नभई ड्यामको तल्लोतर्फको भूभागमा गएको पहिरो र त्यसबाट हुनसक्ने थप कटान रोक्नु हो। त्यसैले पानी व्यवस्थापन, पहिरो नियन्त्रण र ड्यामको नियमित निगरानीलाई एकसाथ अघि बढाइएको छ। वर्षा रोकिएपछि भूभागको थप प्राविधिक अध्ययन हुनेछ। त्यसपछि ग्याबिन वाल र स्लोप संरक्षणका स्थायी संरचना निर्माण गरिनेछन्।
काठमाडौंको शिरमा रहेको धाप ड्याम अहिले तत्काल ठूलो जोखिममा नरहेको प्राविधिक टोलीको निष्कर्षका आधारमा तटीय क्षेत्रमा बसोबास गर्नेहरू आत्तिनुपर्ने देखिँदैन। आइतबार साँझ शिवपुरीसहित बागमती जलाधार क्षेत्रमा ठूलो वर्षा भयो। मनोहरासहित बागमतीको सहायक नदीमा ठूलै बाढी आयो। मनोहराको बाढी खतराको तहनजिक पुगेपछि तटीय क्षेत्रमा हल्ला चलेछ– धाप ड्याम फुटेको पनि हुनसक्छ। धाप ड्याम बागमतीको उत्तरतर्फ रहेको नागमतीको मुहान हो। शिवपुरीभित्रैबाट बगेर बागमतीमा मिसिने नागमतीको बाढी मनोहरामा मिसिँदैन।
मनोहरा शिवपुरीको पूर्वतर्फको पानीको निकास हो। भोटेकोशीको बाढीले अत्याएको हामीलाई धाप बाँध फुटिहाल्छ कि भन्ने भय छ। धाप बाँधको अहिलेसम्मको अवस्ता हेर्दा सतर्क हुनुपर्नेछ। तर आत्तिनुपर्ने अवस्था छैन।