नेभिगेशन
समाज

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

काठमाडौँ । २०८३ भदौ १०। बिहान ८ः४३ बजे । शान्त थियो आकाश । काठमाडौंको उत्तरपश्चिमी पाटो रसुवामा ठूलो वर्षा थिएन । तर एकाएक जमिनका कम्पन आयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७२ वैशाख १२ र २९ को भूकम्पीय त्रासदी व्यहोरिसकेकाहरूको मनमा डरको आँधी पस्नु स्वभाविकै भइहाल्यो । तर ४.४ म्याग्निच्युडको सानो कम्पन महसुस गरेका स्थानीयहरू घरबाहिर निस्कँदाननिस्कँदै वायु वेगमा आएको हिमाली ज्वारभाटाको लपेट्याइँमा परिहाले । 

Ncell
Extreme Energy

उक्त हिमाली विभीषिकाले हालसम्म १ हजार ४०० बढीकोे ज्यान लिएको पुष्टि भएको छ । बेपत्ता हुनेको संख्यामा बढोत्तरी आएको आयै छ । हालसम्म ६ हजार १५० जना बाढीमा परेर बेपत्ता छन् ।

भोटेकोशी बाढी विश्वलाई प्रभावित बनाउने पहिलो बाढी बनेको छ। एउटै नदी प्रणालीले हजारौंलाई मृत्यु, बेघर उठिबास र हजारौं हेक्टर आवादी भूमि बगर बनाएको मात्रै होइन, ३४ देशमा शोकधुन बजेको छ। ५८७ जना विदेशी नागरिकको हालसम्म अत्तोपत्तो छैन ।

नेपालभित्र त एउटा भूखण्ड बाँकी छैन, जहाँ भोटेकोशीको शोकधुन नबजेको होस् । देशका यस्ता नदीखोला नहोलान्, जहाँ मानवआकृतिमा रूपान्तरित भएका कुश नजलेका हुन ्। भोटेकोशी नदी प्रणाली र विध्वंसले थमाएको मृत्युको शोक देशका सबैजसो नदीप्रणालीले बोक्न अभिशप्त छन्। त्यसले हाम्रो मुटुमा कहिल्यै खाटा नबस्ने घाउ थमाएर गएको छ। बालख छोराले दागबत्ती दिइरहेको, नाबालक छोरीले आफ्ना आमाबुवाको पार्थिव शरीरमा फेरो मारिरहेको विदारक दृश्यको साक्षी बस्न विवश छ देश । 

झण्डै २०१ किलोमिटर दूरी तय गरेको भोटेकोशीले बगरभरि असामयिक मृत्यु थमायो । पार्थिव शरीरको विस्कुन लगाइदियो। ११ जलविद्युतमा बाढीले पु¥याएको क्षतिको पुर्ताल दशकौंसम्म हुन मुस्किल छ। देश, समाज र घरपरिवारलेसमेत दशकौं लगाएर मिहिनेतपूर्वक तयार गरेको ऊर्जा क्षेत्रका सिद्धहस्त जनशक्तिको शोधभर्ना कुनै हालतमा सम्भव छैन।

मानवीय सभ्यता, विकासक्रम, आधुनिक विकासले कल्पना नै गर्न नसक्ने विभीषिकाले चार खर्ब माथिको क्षति गरेको छ। भौतिक क्षति २ खर्ब ७४ अर्ब अनुमान गरिएको छ। आर्थिक क्षति १ खर्ब ३३ अर्बभन्दा माथि पुगेको छ । 

७ हजार ५७० निजी घर, ८ हजार ३१७ परिवार, ३२ हजार ९६३ जनसंख्या बाढीको लप्कामा प¥यो । केही मिनेटको महाप्रलय, विष्मयकारी जलप्रलयबाट ५ जिल्लाका १५ स्थानीय तह मुख्य प्रभावित बने। उत्तरगया गाउँपालिकाको प्रमुख प्रशासकीय भवन, आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका वडा कार्यालय बाढीमा बगे। नेपाल–चीन मुख्य व्यापारिक नाका जोडिएको गल्छी–केरूङ राजमार्ग खण्डहर छ । पृथ्वी राजमार्ग १८ दिन प्रभावित बन्यो। पालिका जोड्ने सहायक बाटाघाटा मात्रै होइन धादिङबेसी जोड्ने प्रमुख राजमार्ग विच्छेदित छ । यावत क्षति विवरण बताइरहँदा, हिमाली विभीषिकाको मूल्य मानव जाति, सभ्यता, संस्कृति परम्परा, आधुनिक विकास र चेतनाले तिरिरहँदा प्रश्नहरू सकिएका छैनन्। जोखिम निमिट्यान्न भएको छैन। चुनौती पार लागेको छैन । झन् टड्कारो बनेको छ।

केही वर्षअघिदेखि हेरौं न, हामीलाई यस्तो प्रलयले पूर्वसंकेत दिएकै थियो। मनसुन सुरू नहुँदै हुरीझैं हुर्रिंदै आउने मेघले आरिघोप्टे पानी पार्न थालेको थियो। चाहे सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको भेलबाढी होस् या मनाङको तालगाउँ क्षेत्रको डुबान। संखुवासभा, ताप्लेजुङमा पनि यस्तै विपत्ति देखा परेको थियो। अघिल्लो वर्ष भोटेकोशी क्षेत्रमै उर्लिएको भेलबाढीले ठूलै हिमाली ज्वारभाटाको चेतावनी दिइसकेको थियो।

वर्षाको चरित्र बदलिएको थियो। पानी नै नपर्ने सुख्खा, पठार क्षेत्रमा घनघोर वर्षा हुन थालेको थियो। मनसुनको सुरूआतमै मौसमी वायुले बोकी ल्याउने र आकाशबाट उर्ली आउने सामुद्रिक भेलले महाबाढी सिर्जना गरिरहेका थिए।

दुई वर्षअघि रोशीको महाविनाश, मेलम्ची नदी प्रणालीको सर्वनाश मात्रै होइन सोलुखुम्बुको थामे, हुम्लाको नाम्खा, मनास्लु फेदीको वीरेन्द्र तालले व्यहोरेका घटना बदलिँदो मौमस प्रणाली, जलवायु परिवर्तनजन्य घटनाका जिउँदाजाग्दा दृष्टान्त थिए।

यी घटना, मानवीय हताहती, भौतिक सम्पत्तिको निरन्तरको क्षयबाट हाम्रो कानमा बतास लागे पो! हिमालै हिमाल छ, हिम वैभवमा हुर्किएका हामी भनेर सधैं गर्वले छाती चौडा बनाइरहने तर हिमाली क्षेत्रले व्यहोरिरहेको संकेत कहिल्यै नबुझ्ने र बुझ्न नचाहने प्रवृत्तिको शिकार आफू स्वयम् हुनुपर्छ भन्ने हेक्का कहिल्यै भए पो!

यिनले स्पष्ट स्वरमा भनेका थिए– हिमाली क्षेत्रमा अवलोकन बढाऊ। अन्तर्राष्ट्रिय समुदाय, दातृ निकाय गुहारेर भए पनि हिमाली क्षेत्रमा निरीक्षण गर। अवलोकन गर्ने, नियमित सूचना पठाउने, आवश्यक पर्दा तुरून्त चेतावनी दिने प्रणालीको स्थापना गर।

ठूला नदीप्रणालीमा राखिएको पानी नाप्ने प्रणालीमा मात्रै भर नगर, हिमाली विचलनबाट सिर्जित भेलबाढी, हिमढिक्का पग्लिएर हुने, हिमताल वा सुप्राग्यासियल लेक फुटेर हुने बाढीको पनि सूचना पठाउने प्रणालीको विकास गर।

तर समय छँदा हामीले यी काम गरेनौं। जब बाढी ढोकैमा आइसक्यो, त्यसपछि हामी पूर्वसूचनामा भर प¥यौं। मोबाइल सन्देमा आधारित उक्त पूर्वसूचनाको प्रभाव हामीले बुझेकै थिएनौं।

भदौ १० को महाप्रलयको क्षति सामान्य सूचना, सतर्कता वा चेतावनीले जोगाउन सक्दैनथ्यो। र त बाढीबाट चेतावनी थाहा पाउने मात्र होइन, चेतावनी दिँदै हिँड्नेहरू समेत बाँच्न सकेनन्।

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय क्षति रोक्न सकिन्थ्यो कि!

यी घटनापछिको बहस–विमर्श हो। यसले अहिलेको घाउको मल्हमपट्टि गर्दैन। तर भविष्यलाई पाठ चाहिँ सिकाउने छ। मानव जीवनको अस्तित्व, सभ्यताको रक्षा र जगेर्ना पटकपटकका घटना, विपत्तिका अनुभव, तिनका इतिहास र मूल्यबोधबाट सम्भव भएको तथ्य पनि हामीले यहाँनेर बिर्सन मिल्दैन।

अब म यहाँहरूलाई भोटेकोशीको जोखिम ट¥यो र सरेको मात्रै हो भनेर बताउँछु। भदौ १० गतेको भेलबाढीपछि चिनियाँ पक्ष पनि चनाखो बनेको छ। यसअघि सूचनाको आदानप्रदान गर्ने भरपर्दो प्रणाली नबनाउँदाको घाटा दुवै देशलाई भयो। यही महसुस गरेर चीन र नेपालबीचको सीमा क्षेत्रमा अवस्थित हिमताल तथा नदीहरूमध्ये उच्च जोखिमयुक्त क्षेत्रहरूमा अन्तर्देशीय पूर्वसूचना प्रणालीको स्थापनाका लागि द्विपक्षीय सहकार्य गर्ने सहमति भएको थियो।

तर कार्यान्वयन भएको थिएन। यसैको परिणति भदौ १० को अकल्पनीय मानवीय क्षति हो। यही महसुस गरेर चीनले अहिले नेपाललाई नियमित सूचना पठाइरहेको छ। चीनले पठाएको अद्यावधिक जानकारीअनुसार भदौ १० गते नेपालतर्फको भूभाग लाङटाङ लिरूङ हिमालको फेदितिरको हिमढलान झरेर ठूलो भेलबाढी आएको थियो। त्यहाँ हिमनदीसहितको हिउँले ढाकेको ठूलो चट्टानी भूभाग थियो। 

वैज्ञानिकहरू तथा भूउपग्रह (स्याटेलाइट) को अध्ययनअनुसार यो हिमपहिरो तथा हिमचट्टान करिब ५,१४० देखि ५,२०० मिटरको उचाइबाट खसेको थियो। हिमालको भित्ताबाट खसेको यो गेग्रान र हिउँको विशाल भाग करिब १,१५० देखि १,२०० मिटर तल बजारिएको थियो।

अध्ययन अनुसार, त्यस दिन खसेको बरफ र चट्टानको अंश करिब ९८० मिटर चौडा, ७८० मिटर लामो र ०.७६ वर्गकिलोमिटर क्षेत्रफलको थियो। त्यसैले २ करोड घनमिटर अतिरिक्त पानी पैदा गरेको वैज्ञानिकहरूको विश्लेषण छ।

चिनियाँ वैज्ञानिकहरूका अनुसार हिमनदीसहितको उक्त चट्टानी भूभाग पूर्णरूपमा झरिसकेको छैन। त्यसको ठूलो हिस्सा भदौ १० मा झरेर ठूलो भेलबाढीको रूप लिएको थियो। हिमपहिरो झरेको स्थानदेखि तल भोटेकोशी जलाधार क्षेत्रमा अहिले दुईवटा हिमताल बनेका छन्। एउटा हिमतालबाट पानी बाहिरिइरहेको छ। अर्को तालको पानी भदौ १० को एक–दुई दिनपछि नै बगेर निकास पाइसकेको छ।

अहिले यी दुई तालमा पानीको मात्रा देखिए पनि ती जोखिमको तहमा भने नरहेको नेपाली र चिनियाँ विज्ञहरूको निष्कर्ष छ। तर हिमपहिरो झरेको स्थानमा रहेको शेष हिमनदीको भाग भने जोखिमपूर्ण बन्न सक्ने विज्ञहरूको विश्लेषण छ। चिनियाँ अध्ययनअनुसार हिमपहिरो झरेर तालजस्तो बनेको भूभागमाथि हिमनदीको अघिल्लो भागमा धेरै ठूला दरार बनेका छन्। ती चिरा परेका भूभागहरू खस्नसक्ने जोखिमको रहेको चिनियाँ विश्लेषण छ।

हामीले यसबारे बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद् विनोद पराजुलीलाई सोध्यौं। उनले पनि चिनियाँ पक्षबाट लाङटाङ लिरूङको फेदमुनि हिमनदीको अंशसहितको भूभाग रहे पनि तुरून्तै झरेर अर्को जोखिम निम्याउने अवस्थामा नरहेको जानकारी पाएको बताए।

उनका अनुसार चिनियाँ पक्षले हिमपहिरो खसेको स्थान, तल ताल बनेका स्थानमा निरन्तर निगरानी गरिरहेका छन्। नेपाल पक्षलाई नियमित सूचना पठाइरहेका छन्। हालसम्मको विश्लेषणले ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा १४ वटा हिमतालहरू पहिचान भएका छन्। यी हिमतालहरूको सतही क्षेत्रफल ०.०९२२ देखि ०.५३१० वर्ग किलोमिटरसम्म रहेको छ र ती सामान्यतया तुलनात्मक रूपमा स्थिर अवस्थामा रहेका छन्।

हिमपहिरो झरेको स्थानको विश्लेषण, प्रभाव मूल्यांकनका आधारमा ठूलो जोखिम नदेखिए पनि कानमा तेल हालेर बस्ने सुविधा छैन । बढ्दो जलवायु संकट, हिम विचलन र मौसमको बदलिँदो चरित्रले हाम्रो टाउकामाथि धारिलो तरबार झुण्ड्याइसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...

भर्खरै