नेभिगेशन
मुख्य समाचार

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् ।

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् ।

CG

उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् । कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन् ।

उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका छन् । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ । सबै बोट सुकिसकेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे ।

काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उनले सुन्तलाखेती नै छाड्नु परेको हो । सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताए ।

घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिए ।

विगत केही वर्षअघिसम्म वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म भित्रिने चापागाईँको अनुमान छ । लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसान चिन्तित बनेका उनले बताए ।

मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताए ।

‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ले पर्वतका बगैँचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताए ।

पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बाङ्गो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताए ।

सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ । कृषि शाखा प्रमुख तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिए ।

पर्वतका झण्डै एक सय ५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए । सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...