नेभिगेशन
समाज

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

प्रिय पाठक, दर्शक तथा श्रोता,

आजको बिहान हाम्रो यात्राको अर्को साधारण दिन होइन। सिधाकुरा तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गर्दैछ। तीन वर्षको यो यात्रालाई पछाडि फर्केर हेर्दा हामीले केवल एउटा सञ्चारमाध्यम निर्माण गरेको कथा देख्दैनौँ, हामी एउटा बदलिँदो समाज, बदलिँदो सूचना संसार र त्यससँगै बदलिँदै गएको पत्रकारिताको भूमिकालाई देख्छौँ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाम्रो सुरुआत त्यस्तो समयमा भयो, जब समाचारको अर्थ बदलिँदै थियो, स्रोत बदलिँदै थियो अनि माध्यम पनि । सामाजिक सञ्जालले सूचनाको प्रवाहलाई लोकतान्त्रिक बनाएको थियो, तर त्यसैसँगै सत्य र असत्यबीचको दूरी पनि धुमिल हुँदै थियो। युट्युब र अन्य भिडियो प्लेटफर्मले टेलिभिजनको परम्परागत प्रभुत्वलाई चुनौती दिइरहेका थिए। माइक्रोब्लगिङ प्लेटफर्महरूले सार्वजनिक बहसको स्वरूप फेरिरहेका थिए। अर्कोतिर, दशकौँदेखि स्थापित सञ्चारगृहहरू स्रोत, विज्ञापन र संस्थागत पहुँचका कारण बलशाली थिए। त्यसबीच एउटा नयाँ सञ्चारमाध्यमका लागि ठाउँ बनाउनु सजिलो थिएन।

Ncell
Extreme Energy

हामीले त्यो ठाउँ मागेनौँ। कमाउनुपर्छ भन्ने विश्वाससहित त्यसका लागि नंग्रा खियाउँदै गयौं । हामीसँग लामो समयदेखि पत्रकारितामा काम गरिरहेको एउटा पुस्ता थियो—स्रोतसँगको सम्बन्ध, सूचनाको छनोट, तथ्यको परीक्षण र त्यसलाई अर्थपूर्ण समाचारमा रूपान्तरण गर्ने सीपसहित। हाम्रो सबैभन्दा ठूलो पुँजी त्यही थियो। प्रविधि हाम्रो माध्यम थियो, विश्वसनीयता हाम्रो लक्ष्य। त्यही विश्वासका कारण हामीसँग पाठक र दर्शक जोडिँदै गए।

तर पत्रकारिताको यात्रा सधैँ सहज हुँदैन। कहिलेकाहीँ प्रश्न सोध्ने संस्थाले आफै प्रश्नको सामना गर्नुपर्छ। ' द डार्क फाइल' प्रकरण हाम्रो यात्राको त्यस्तै अध्याय बन्यो। हामी हाम्रा आलोचकहरू र सञ्चार माध्यमहरूको मौनताप्रति टिप्पणी नगरिकन यसबाट समाचारको स्रोत र विश्वसनीयतामा अझ बढी सचेत हुँदै आफ्नो निर्भीक र उद्देश्यमूलक पत्रकारिताको यात्रालाई अझ परिष्कृत र दृढताका साथ अगाडि बढाउने दृढ सङ्कल्प गरेका थियौं । 
हामी अहिले पनि यही मान्यतामा छौं ।

हामी आफ्ना कमजोरीबाट भाग्ने छैनौँ। तिनलाई सच्याउनेछौँ। तर पत्रकारितामाथि हुने विसंगत दबाब, प्रतिशोध वा हतकडीलाई भने सामान्य मानेर स्वीकार गर्ने छैनौँ। लोकतन्त्रमा पत्रकारिता सत्ताको शत्रु होइन। तर सत्ता असहज हुँदा प्रश्न गर्ने पत्रकारितालाई शत्रु ठान्न थालियो भने समस्या पत्रकारितामा होइन, सत्ताको लोकतान्त्रिक संस्कारमा देखिन्छ। हामीले यही विश्वास बोकेर यात्रा अघि बढाएका छौँ।

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको हो, जिम्मेवारीको हो र जवाफदेहिताको हो। यसै विश्वासका बीच देशले पनि एउटा ठूलो मोड पार गरेको छ।

भदौ २३ र २४ को नवयुवा अर्थात जेनजी विद्रोहले नेपालको राजनीतिक जीवन र प्रणालीमा गहिरो प्रश्न उठायो। त्यो केवल सरकार परिवर्तनको घटना थिएन। त्यो लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि, निराशा र उकुसमुकुसको विस्फोट थियो। राज्यले नागरिकको आवाज कति सुनेको छ? राजनीति नागरिकको जीवनसँग कति जोडिएको छ? युवाले आफ्नो भविष्य यही देशमा देख्न किन छाड्दैछन्? यी प्रश्नहरू एकसाथ सडकमा आए। समवेत स्वरमा आए।

त्यो विद्रोहको मूल्य पनि ठूलो थियो। राज्यको बल प्रयोगबाट युवाहरूको ज्यान गयो। नागरिकको आवाज मुखरित हुनुपर्ने संसद् भवनअगाडिसमेत नागरिकले नै जीवन गुमाउनुपर्‍यो। त्यसपछि आएको राजनीतिक परिवर्तनले पुरानो सत्ताको एउटा अध्याय समाप्त गर्‍यो र नयाँ सम्भावनाको ढोका खोल्यो।

हामी निर्भीक स्वरमा भन्न चाहन्छौं– हामी यो परिवर्तनको एउटा हिस्सेदार हौँ । विकृत राजनीति अन्त्य हुनुपर्छ भन्ने अविचलित अभियानी हौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको चिरफार, द सेक्रेट्स अफ गोल्ड माफिया, पोखराको लिचीबारी जग्गा प्रकरणजस्ता सेरिज अफ स्टोरिज मार्फत हामीले शासन–प्रशासनमा व्याप्त भ्रष्टाचार र अनियमितताको जालो चित्रण गरेका थियौं । इराक, ओमन, दुबईमा दुःख पाएका नेपालीको उद्धार र सुगरड्याडी जस्ता कथाशृंखलाले अन्यायविरूद्धको हाम्रो आवाजलाई मुखरित गर्छ ।

विराटनगर विमानस्थलमा शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि रिक्सा चलाएर घर चलाइरहेका दीनहीन र क्यान्सरपीडित पत्नी पिठ्युँमा बोकेर सुनकोशीमा हाम फालेका वृद्ध दम्पतीको विदारक कथाले समाजप्रतिको हाम्रो जिम्मेवारी उजागर गर्छ । यस्ता कथा हामी अविच्छिन्न रुपमा भनिरहनेछौं ।

भदौ २३ र २४ को विद्रोहको मूल्यको जगेर्ना हाम्रो प्राथमिकता रहनेछ। परिवर्तनका पक्षधरहरूलाई हामी सदैव काँध हालिरहनेछौं। तिनका असल कर्मलाई उजागर गर्न आफूलाई अभ्यस्त र सिद्धहस्त तुल्याइरहनेछौं।

आज युवा आन्दोलनको जगमा नयाँ नेतृत्व सरकारमा छ। नयाँ राजनीतिक शक्तिले बलियो जनमत पाएको छ। आन्दोलनका घाइते र सहिद परिवारको आवाजसमेत राज्यका संस्थामा पुगेको छ। लामो निराशापछि देशमा परिवर्तन सम्भव छ भन्ने आशा जागृत भएको छ।

तर आशाको सञ्चार आफै उपलब्धि भने होइन। 

परिवर्तनको पहिलो दिन उत्सवको दिन हुन सक्छ। त्यसपछिको समय परीक्षा ।

पुरानो सत्ता हट्दैमा पुरानो राजनीतिक संस्कार हट्दैन। नयाँ अनुहार आउँदैमा पुरानो प्रवृत्ति समाप्त हुँदैन। संस्थाहरू बदलिन समय लाग्छ। अपेक्षा र परिणामबीच दूरी हुन्छ। यही संक्रमणकालमा परिवर्तनका नाममा नयाँ असहिष्णुता, नयाँ केन्द्रीकरण वा नयाँ विशेषाधिकार जन्मिए भने इतिहासले फेरि आफूलाई दोहोर्‍याउन सक्छ।

त्यसैले नयाँ सत्तालाई अहिले सबैभन्दा बढी आवश्यक कुरा प्रशंसा होइन—जवाफदेहिता हो।

हामी परिवर्तनका शुभेच्छुक हौँ। त्यसैले प्रश्न गर्नेछौँ। सरकारले राम्रो काम गर्छ भने त्यसको समर्थन गर्नेछौँ। गलत गर्छ भने विरोध गर्नेछौँ। परिवर्तनको पक्षमा उभिनु भनेको सरकारको हरेक निर्णयको पक्षमा उभिनु होइन। बरु परिवर्तनको उद्देश्यबाट सरकार विचलित नहोस् भनेर निरन्तर खबरदारी गर्नु हो।

राजनीतिक दलहरूका लागि पनि यही कुरा लागू हुन्छ। आन्दोलनले दिएको जनमत व्यक्तिगत विजयको प्रमाणपत्र होइन, त्यो जनताले दिएको जिम्मेवारी हो। संसद् शक्ति प्रदर्शन गर्ने ठाउँ होइन, नागरिकका आकांक्षालाई नीतिमा रूपान्तरण गर्ने ठाउँ हो।

समाजका लागि पनि यो समय सजिलो छैन। पुराना धारणाहरू भत्किँदा अन्योल आउँछ। नयाँ मूल्यहरू स्थापित हुन समय लाग्छ। यही समयमा सार्वजनिक बहसलाई तथ्य, संयम र विवेकले निर्देशित गर्नुपर्ने हुन्छ।
पत्रकारिताको भूमिका यहीँ अझ महत्त्वपूर्ण हुन्छ।

हामी कुनै सत्ता, दल वा समूहको स्थायी प्रवक्ता बन्न चाहँदैनौँ। हामी नागरिकको प्रश्नलाई सार्वजनिक बहसको केन्द्रमा राख्न चाहन्छौँ। लोकतन्त्रमा अन्ततः सबैभन्दा शक्तिशाली पद नागरिककै हो। सरकारहरू आउँछन् र जान्छन्। दलहरू बलिया र कमजोर हुन्छन्। तर नागरिकको प्रश्न रहिरहन्छ।

त्यसैले चौथो वर्षमा प्रवेश गर्दै सिधाकुराले आफ्ना पाठक, दर्शक र स्रोतासँग एउटा प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ—

हामी प्रश्न गर्न छाड्ने छैनौँ।

हामी आफ्ना कमजोरी सच्याउन छाड्ने छैनौँ।

हामी तथ्यप्रतिको जिम्मेवारीबाट पछि हट्ने छैनौँ।

हामी गलतलाई गलत भन्न हिच्किचाउने छैनौँ।

र, सही कामको पक्षमा उभिन पनि डराउने छैनौँ।

हाम्रो लागि पत्रकारिता लोकप्रियता प्राप्त गर्ने साधन होइन। यो सार्वजनिक विश्वासको जिम्मेवारी हो। त्यो विश्वास एकपटक गुम्यो भने कुनै प्रविधि, कुनै पहुँच र कुनै ठूलो दर्शक संख्याले त्यसलाई पुनःस्थापित गर्न सक्दैन।
हामीलाई राम्रोसँग हेक्का छ, यो ।

तीन वर्षमा हामीले धेरै कुरा पायौँ। सबैभन्दा ठूलो कुरा—तपाईंहरूको विश्वास।

चौथो वर्षमा प्रवेश गर्दा हामीसँग त्यही विश्वासको ऋण छ। त्यसलाई अझ जिम्मेवार, अझ निर्भीक र अझ विश्वसनीय पत्रकारिताबाट तिर्ने हाम्रो प्रयास सदा सर्वदा हुनेछ।

देश परिवर्तनको एउटा महत्त्वपूर्ण मोडमा छ। परिवर्तनलाई संस्थागत गर्ने काम सुरु भएको छ। यसको सफलता केवल सरकार वा राजनीतिक दलको सफलता हुने छैन। यो नागरिक, संस्था, सञ्चारमाध्यम र समग्र समाजको साझा परीक्षा हुनेछ।

हामी त्यो परीक्षामा रमिते बन्न चाहँदैनौँ। हामी प्रश्न गर्नेछौँ। तथ्य खोज्नेछौँ। गलत देखे प्रश्न गर्नेछौँ । सही देखे त्यसको पक्षमा उभिनेछौँ। किनकि लोकतन्त्रमा मौनता सधैँ तटस्थता हुँदैन। कहिलेकाहीँ मौनता अन्यायको पक्षमा उभिएको हुन्छ। चौथो वर्षमा सिधाकुराको यात्रा यही चेतनासहित अघि बढ्नेछ। हामीसँग हिँड्नुहुने प्रत्येक पाठक, दर्शक, श्रोता, स्रोत, विज्ञापनदाता, शुभेच्छुक र आलोचकप्रति हार्दिक आभार।

तपाईंहरूको साथ हाम्रो शक्ति हो। तपाईंहरूको प्रश्न हाम्रो ऐना हो। र तपाईंहरूको विश्वास हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी। सिधाकुरा चौथो वर्षमा प्रवेश गर्दैछ—अझ निर्भीक, अझ जिम्मेवार र अझ जवाफदेही पत्रकारिताको प्रतिबद्धतासहित।

हार्दिक धन्यवाद।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ...