नेभिगेशन
नेताका कुरा

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

काठमाडौँ । नेपाली कांग्रेसको इतरपक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अघिल्लो दिन काठमाडौँ ओर्लेका पूर्वसभापति शेरबहादुर देउवा तीन दिन नै भेलामा सहभागी भए । ‘कांग्रेस सभापति’को रुपमा भेलाको उद्घाटन गरे, बन्दसत्रमा बसे र आज (आइतबार) समापन समारोहमा पनि सहभागी भए ।

देउवाले समापन समारोहलाई सम्बोधन गरे । एक पटक होइन, दुई पटक ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिव बीस मिनेटको अन्तरमा दोस्रो पटक पोडियममा पुगेका देउवाले पहिलो सम्बोधनमै भनेका केही कुरा दोहोर्‍याए, केही नयाँ भने । पहिलो सम्बोधनमै आफू हिन्दु हुँ भनेका देउवाले दोस्रो सम्बोधनमा थप जोड दिएर भने– ‘म हिन्दु हुँ, हुँ, मैले म हिन्दु हुँ भन्न नपाउने ?’ सँगै उनले आफू कुनै पनि धर्मको विरोधी नभएको स्पष्टीकरण दिए ।

Ncell
Extreme Energy

उनको यो विचारलाई भेला (सम्मेलन)ले पनि आधिकारिकता दिएको छ र घोषणापत्रको चौथो बुँदामा यही विषयलाई उल्लेख गरिएको छ ।

उक्त बुँदामा लेखिएको छ– ‘नेपालको सनातनदेखि चलिआएको धर्म–सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’

नेपाल हिन्दुबाहुल्य मुलुक हो र धर्मनिरपेक्ष पनि । संविधानमै सनातन धर्म रक्षाको विषय पनि उल्लेख गरिएको छ । संविधान र कांग्रेसको विधानमासमेत उल्लेख गरिएको विषयलाई अहिले भेलाको घोषणापत्रमा किन समावेश गर्नुपर्‍यो ? अनि देउवा स्वयंले आफू हिन्दु रहेको स्पष्टीकरण किन दिनुपर्‍यो ? राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

केहीले त देउवा र देउवा समर्थक कांग्रेसहरूले ‘हिन्दु’ नारा समात्न खोजेको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

देउवाले सम्बोधनमा समावेश गरेको अर्को महत्त्वपूर्ण विषय हो– पार्टीको आन्तरिक विवाद ।

पुसमा भएको विशेष महाधिवेशनलाई देउवाले जबरजस्ती गरिएको भने । उनको भनाइ थियो– ‘मैले विशेष अधिवेशन मानेको थिइनँ । सबैको सहमतिमा महाधिवेशन गरौं भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरे । अन्यायपूर्ण तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो ।’

त्यही क्रममा उनले निर्वाचन आयोगको निर्णय पनि आफूले स्वीकार नगरेको उल्लेख गरे । स्वीकार गरेकैले अदालत गएको उनले दोहोर्‍याए । ‘निर्वाचन आयोगको निर्णय मैले मानेको छैन । त्यसको खिलाफमा हामी अदालत गयौँ । अदालतले न्याय दिन्छ भन्ने विश्वास छ’ देउवाले भने ।

उनले अदालतले आफूलाई न्याय दिने विषयमा आशावादी रहेको बताए । अदालतप्रतिको विश्वास दर्शाउन पञ्चायतदेखि शाही आयोगसम्मको विषय उठाए । ‘पञ्चायतकालदेखि नै न्यायालयले हामीलाई न्याय दिएको हो । राजाको आयोगलाई समेत खारेज गरेको हो । अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसका कारण अहिले म नेपाल आएको छु’ उनले भने ।

दोस्रो सम्बोधनको अन्तिममा देउवाले फेरि अदालतप्रति विश्वास छ भने र अदालतको निर्णयलाई सम्मान गर्ने पनि बताए ।

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा ।

उनले भने– ‘अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटघाट गर्ने विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद जय नेपाल ।’

देउवाले यसो भनिरहँदा सहभागी नेता कार्यकर्ताले गडगडाहट ताली बजाएका थिए ।

पाँच महिना लामो विदेश बसाइपछि साउन २८ गते स्वदेश फर्केका देउवालाई उनी समर्थक नेता कार्यकर्ताले विमानस्थलमै भव्य स्वागत गरेका थिए । देउवा सिंगापुर, हङकङ र थाइल्याण्डमा रहँदा पत्नी आरजु सँगै रहेको भनिए पनि उनी एक्लै नेपाल आए ।

विमानस्थलबाट सिधै चुनदेवीस्थित इतरपक्षको कार्यालय पुगेर बार्दलीबाट सम्बोधन गरेका देउवामा उसै दिन उच्च आत्मबल देखिन्थ्यो । उनले त्यहीँ भनेका थिए– ‘मलाई राजा ज्ञानेन्द्रले त सकेनन्, अरु कसले सक्छ ?’

देउवालाई भेलामा सभापति नै भनेर सम्बोधन गरियो । सभापतिकै रुपमा सम्बोधन पनि गरे । चुनदेवी कार्यालयमा राखिएको सभापतिको आसनमै बसे । तर, उनी नेपाल फर्केको चार दिन भइसक्दा पनि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भने पुगेका छैनन् ।

सानेपामा आधिकारिक कांग्रेस छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता पाएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिले कांग्रेस हाँकिरहेको छ । आगामी असोजमा १५ औं महाधिवेशनको तयारी गरिरहेको छ ।

यता, भेलाले भने देउवाकै सभापतित्वमा पन्ध्रौं महाधिवेशन गर्ने निर्णय गरेको छ । घोषणापत्रको पहिलो बुँदामै भनिएको छ – ‘१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।’

चौधौँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय समितिको निर्णय, विशेष महाधिवेशन, निर्वाचन आयोगको निर्णय र वैशाख ४ को फैसलासम्म कुनै टिप्पणी नगरेका देउवा सर्वोच्चले साउन २१ मा दिएपछि पार्टी विवादमा सहभागी भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।