काठमाडाैँ । गत जेठ तेस्रो साता रास्वपा सभापति रवि लामिछानेलाई रेड कार्पेट ओछ्याएको भारतले करिव ६ महिनापछि प्रधानमन्त्री बालेन शाहलाई पनि रेड कार्पेट ओछ्यायो ।
त्यतिबेला रविको भारत भ्रमणले निकै चर्चा कमायो, अहिले बालेनको भ्रमणले चर्चा बटुलिरहेको छ । करिव ६ महिनाको अन्तरालमा नेपालबाट भारतमा भएका दुई उच्च नेताको भ्रमणले सबैको ध्यान खिचेको छ । दुई देशबीचको सम्बन्धमा नयाँपन देखिएको छ, सम्बन्धका नयाँ ढोका खुलेका छन् अनि सम्बन्धका नयाँ मानक स्थापित भएका छन् ।
रवि लामिछाने रास्वपा सभापति हुन्, बालेन शाह रास्वपाका वरिष्ठ नेता । रवि नेतृत्वको रास्वपाले चुनावमा प्रचण्ड बहुमत पाएपछि बालेन प्रधानमन्त्री बनेका हुन् । चुनावमा रास्वपाले पाएको मत र अभिमत, रास्वपा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन, सरकारको स्पष्ट कार्यदिशा र कार्यशैलीबाट भारतीय नेतृत्व प्रभावित थियो र अहिले पनि छ । नेपालमा बलियो सरकार बनेपछि स्वाभाविक रुपमा छिमेकी देशहरुलाई नेपालसँग काम गर्न सजिलो हुन्छ । बलियो सरकारले सहज रुपमा निर्णय लिन सक्छ, अरुको मुख ताक्नु पर्दैन । संसदमा सहमति जुटाउनु पर्दैन। प्रस्ताव विफल हुने भय हुँदैन। केबल देशको हितलाई ध्यान दिए मात्रै पुग्छ ।
बालेनले भारतको छोटो तर उपलब्धिमुलक भ्रमण गरे । यसमा कुनै दुई मत नै रहेन । नेपाल र भारतका बीचमा जे जे सहमति भए, ती सहमतिले नै देखाउँछ कि– बालेनको भ्रमण कति उपलब्धिमूलक थियो भनेर । बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको झण्डै साढे दुई खर्ब सहयोग र काठमाडौँ–भैरहवा–लखनउ हवाई रुटको सुविधा त यो भ्रमणका ‘आइकन’ नै भएहाले । यस्तै बालेनको भ्रमणले विकास परियोजना र आर्थिक सहकार्यमा पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । दुई देशका बीचमा के के सहमति भयो भनेर त हामीले अघिल्लो भिडियोमा बुँदागत रुपमा नै भनिसकेका छौं । यो भिडियोमा पनि तपार्ईंहरुले त्यहाँ भएका सहमतिअनुसार दुवै देशले जारी गरेको संयुक्त वक्तव्य देख्न सक्नु हुने छ ।
यो भ्रमणको महत्त्वपूर्ण अर्को विषय हो– दुवै देश एउटा अवधारणामा सहमत भएका छन् र त्यो अवधारणा हो– विकसित भारत, समुन्नत नेपालः साझेदारीको पुनर्कल्पना । यो अवधारणामा आठ वटा क्षेत्र समेटिएको छ । संक्षेपमा भन्ने हो भने– नेपाल र भारतबीचको अवको सम्बन्ध यही अवधारणामा आधारित हुने छ । यो अवधारणामा के के छ भनेर केहीबेरमा चर्चा गर्छु । त्यो भन्दा पहिला यो अवधारणाको पृष्ठभूमि र आधार के हो भनेर हेरौं ।
सुरुमै भने झैं– गत जेठ तेस्रो साता रास्वपा सभापति रवि लामिछानेले भारतको औपचारिक भ्रमण गरेका थिए । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा रवि भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा रविलाई भाजपा मुख्यालयमा भव्य स्वागत गरियो । भाजपा नेतृत्वसँग त उनको द्विपक्षीय वार्ता भयो नै, प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि रविको भेटवार्ता भयो । रविले गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसहितका उच्च भारतीय अधिकारीसँग भेटवार्ता गरे । एउटा राजनीतिक दलको निम्तोमा पुगेका अर्को देशको राजनीतिक दलको नेतृत्वलाई भारतले उच्च महत्व दियो । रविलाई त्यसरी महत्व दिनुको एउटै कारण हो– नेपालमा पछिल्लो पुस्ताले रुचाएको दलका शीर्ष नेता रवि लामिछाने हुन् ।
त्यतिबेलाको भारत भ्रमणका क्रममा रविले नेपाल–भारत सम्बन्धका नयाँ आयाम र साझेदारीका विषयमा खुला प्रस्ताव गरेका थिए । त्यो पनि भारतकै प्रतिष्ठित पत्रिका हिन्दूस्तान टाइम्समार्फत ।
उनको प्रस्ताव के थियो ? एकपटक बुँदागत रुपमा हेरौं
१. स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डा
२. सिमाना मात्र होइन, अर्थतन्त्र जोड्ने
३. विकास कूटनीति
४. आपसी विश्वासको जग निर्माण
५. नेपाल–भारत सम्बन्ध रिसेट
हिन्दुस्तान टाइम्समा प्रकाशित रविको यही लेख हो– जसमा सम्बन्धलाई पुराना भारीको नजरले मात्रै हेरिनु हुँदैन, सम्बन्धका नयाँ आधार र मानक स्थापित गरिनुपर्छ भन्ने प्रस्ताव सार्वजनिक रुपमा गरिएको छ ।
नेपाल र भारतका बीचमा सम्बन्ध जति पुरानो र प्रगाढ छ, त्यति नै समस्या पनि छन् । केही समस्या स्वाभाविक छन् । स्वाभाविक भन्नुको अर्थ– यी दुई देश तीन तिरबाट जोडिएका छन् । सीमा जोडिएकैले उब्जिएका समस्या सहज रुपमा समाधान गर्न सकिन्छ । यहीँनेर जोडिन्छ– सीमासँगै सम्बन्धित केही जटिल विवाद ।
विगतमा सीमा विवादलाई कूटनीतिक र प्राविधिक भन्दा पनि राजनीतिक विषय बनाइयो । त्यसमाथि पनि नेपालमा भोट बटुल्न केही पार्टी र नेताहरुले चुनावी नारासमेत बनाए । केही नेताहरुले आफ्नो स्वार्थका लागि भारतसँग सहमति गरिदिने प्रवृत्तिसमेत देखाए । त्यसैले त रवि लामिछानेले भनेका थिए– भारतसँगको सम्बन्धमा हामी पुरानो भारी अर्थात ‘ओल्ड ब्यागेज’ बोक्दैनौं, सम्बन्धका नयाँ आयाम र आधार तय गर्छौं । नयाँ मानक स्थापित गर्छौं।
हो, अहिले त्यसको संकेत देखिएको छ । बालेनको भ्रमणका क्रममा नेपाललाई हवाई रुट दिन भारत सहमत भयो । यो एक दशकदेखि अल्झिएको मुद्दा हो । विगतका सरकारहरुले पनि एयर रुटका लागि भारतसँग बारम्बार आग्रह गरिरहे । तर, भारतले सुनेन । भारतले पहिले किन सुनेन ? अहिले किन राजी भयो ? यसको कारण हो– विगतमा छिन छिनमा फेरिने सरकारहरुको प्राथमिकता फेरिरहन्थ्यो, स्वार्थ फरक पथ्र्यो । अहिले रास्वपा सरकारलाई त्यो समस्या छैन । नीति स्पष्ट छ, कार्यशैली स्पष्ट छ ।
भारत दक्षिण एसियाकै उदियमान अर्थतन्त्र भएको मुलुक हो । आगामी वर्षसम्म भारत संसारकै चौथो अर्थतन्त्र बन्ने दिशामा अगाडि बढिरहेको छ । अर्थतन्त्रमा भारतले जसरी विकास गरिरहेको छ, उसैगरी सूचना प्रविधिमा पनि भारतले फड्को मारिरहेको छ । त्यसैलाई हेरेर रविले कनेक्टिभिटीको प्रस्ताव गरेका थिए ।
कनेक्टिभिटीका पनि विभिन्न क्षेत्र हुनसक्छन् । त्यसलाई पहिल्याउन सक्नुपर्छ ।
कनेक्टिभिटीमा पछिल्लो भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । हवाई रुट, रेलमार्ग निर्माण, रेलवे सञ्चालन, सडक तथा पुल निर्माण... यस्तै यस्तै । भनिन्छ नि– सीमा जोडिएर मात्रै केही हुँदैन, सीमा जोडिएका भूगोलमा रहेका मानिसहरुको मन जोडिनुपर्छ । यस्ता निर्णय र सहमतिले वास्तविक अर्थमा जन जनलाई जोड्ने काम गर्छ ।
दुई देशको सम्बन्धका बारेमा सदियौंदेखि चर्चा गरिने एउटा शव्दावली छ– रोटी–बेटीको सम्बन्ध । कुनै जमानामा यो सम्बन्धले काम गर्यो पनि होला । यसले जनस्तरको सम्बन्धलाई पनि बुझाउला । तर, अब यही भाष्यले मात्रै दुई देशको सम्बन्धले गति लिइरहन सक्दैन । रोटी–बेटी, दाइ भाइ.. यस्ता सम्बन्ध जनस्तरमा रहिरहन्छ । अबको आवश्यकता भनेको– आर्थिक सम्बन्धको हो । आर्थिक साझेदारीको हो, आर्थिक सहकार्यको हो ।
स्वाभाविक रुपमा भारत नेपालको एउटा मुख्य विकास साझेदार हो । नेपालको विकास निर्माणमा भारतले सहयोग गरिरहेको छ । अब यसलाई भारतले दिने र नेपालले लिनेमा मात्रै केन्द्रित गरिनु हुँदैन । पारस्परिक लाभका रुपमा हेरिनुपर्छ । यसको अर्थ लगानी बढाउनुपर्छ भन्ने हो । आयोजना, परियोजना तथा उत्पादनमुलक र औद्योगिक क्षेत्रमा भारतीय लगानी भित्र्याउन सकियो भने दुवै देशलाई फाइदा पुग्छ ।
पछिल्लो पटक दुवै देशले अंगिकार गरेका अवधारणा र समझदारीलाई हेरौं ।
समझदारीका क्षेत्रहरू
१. भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य।
३. भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता विकास तथा तालिम कार्यक्रम।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य।
५. भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी।
६. दिगो सहरी विकास क्षेत्रमा प्राविधिक सहकार्य।
७. स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य।
८. पशुपालन तथा मत्स्य विकास क्षेत्रमा सहकार्य।
यीनै समझदारीमा आधारित रहेर ‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिपत्र तयार पारिएको हो, जसले नेपाल र भारतबीच भविष्यमा हुने साझेदारीको मार्गचित्र प्रस्तुत गरेको छ ।
दृष्टिपत्रमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत, जनस्तरको सम्बन्धजस्ता परम्परागत सहकार्यलाई विस्तार गर्ने तथा जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनजस्ता नयाँ क्षेत्रमा सहकार्य बढाउने विषय समेटिएको छ।
कतिपयले सीमा विवाद समाधानका लागि ठोस निर्णय भएन भनेर टिप्पणी पनि गरेका छन् । तर, दुवै देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवहरुलाई सीमासँग जोडिएका विषयमा छलफल गर्न र समाधान निकाल्न निर्देशन दिएका छन् । वर्षौंदेखि अल्झिएका केही विषय टुंगोमा पुगेका छन् । आशा गरौँ सीमा विवाद पनि छिट्टै सुल्झिने छ । अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने झैं नेपाल–भारत सम्बन्ध सुनौलो युगमा प्रवेश गर्नेछ ।