नेभिगेशन
समाज

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

काठमाडौँ । झण्डै दुईतिहाइ बहुमत प्राप्त रास्वपाले सत्ता सम्हालेको भर्खर चार महिना नाघेको छ । चुनावमा पाएको अपार जनसमर्थनको आधारमा रास्वपा वरिष्ठ नेता बालेन शाहले सत्ताको नेतृत्व गरिरहेका छन् । तर, चार महिना पुग्दा नपुग्दै सरकारको भविष्यलाई लिएर अनेकथरि अड्कल र प्रचारबाजी हुन थालेको छ । सरकार आजै ढल्छ, भोलि नै ढल्छ, यो महिनासम्म मात्रै हो, त्यसपछि फलानो प्रधानमन्त्री बन्छ.. जस्ता चर्चा र टिप्पणीले बजार पिट्न थालेको छ । आखिर यो के को संकेत हो ? 

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने असन्तुष्ट । रवि लामिछानेले उठाए बालेनको कार्यशैलीमाथि प्रश्न । रास्वपाकै सांसदहरूले गरे सरकारको विरोध । आफ्नै सांसदहरूले विरोध गरेपछि प्रधानमन्त्री बालेन र सभापति रविबीच भेटवार्ता । यस्तै यस्तै । 
आखिर यी हेडलाइन्समा कति वास्तविकता छ ? वास्तविकतामा धेरैको चासो हुँदैन, चासो हुन्छ त केबल हेडलाइन्समा । अनि हेडलाइन्सले सनसनी मच्चाउँछ, त्यही सनसनीले छुन्छ– पार्टीका नेता र सरकारमा बस्नेहरूलाई । त्यसपछि सुरु हुन्छ– स्पष्टीकरणको चरण । यहीबीचमा स्वयम् रास्वपा सभापति रवि लामिछानेले नै पटक पटक आफू र बालेनका बीचमा असहमति नरहेको, बारम्बार छलफल भइरहेको र सरकारलाई पार्टीले सघाइरहेको बताइरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सँगै रविले भन्ने गरेका छन्– यो सरकारलाई गल्ती गर्ने छुट छैन, कहीँ कतै सरकारको निर्णयले जनतामा असर प¥यो भने सरकारले त्यसलाई सच्याउँछ । कतिपयले त रविको यही कुरालाई लिएर पनि बालेनसँग दूरी बढेको विश्लेषण गर्छन् । 

Ncell
Extreme Energy

खासमा किन यसो हुन्छ ? किन सधैँ सरकारको आयुबारे भविष्यवाणी गरिन्छ ? किन सत्तारूढ दलका नेताहरूकै बीचमा भाँजो हाल्न खोजिन्छ ? यसको एउटै कारण हो– नेपालमा अस्थिरता मच्चाउने र अस्थिरतामा आफ्नो स्वार्थसिद्ध गर्ने चरित्र अथवा प्रवृत्ति । 

वर्तमान सरकार विशेषगरी प्रधानमन्त्री बालेन र सत्तारूढ दलको नेतृत्व विशेषगरी रविबीचको सम्बन्ध कति कमजोर छ वा कति बलियो छ ? यसबारेमा एकै छिनमा चर्चा गर्छु । त्यो भन्दा पहिले अहिले सरकारको आयुका बारेमा किन यसरी टिप्पणी भइरहेको छ, त्यसबारेमा बुझौँ । यसलाई बुझ्न अलिकति पछाडि फर्किनुपर्छ । 

जब नेपाल राज्यको एकीकरण भयो र गोरखाका राजाहरू विशाल मुलुक नेपालको राजा हुन थाले, त्यसपछि नै दरबारमा अस्थिरता देखिन थाल्यो । राजाका दाजुभाइ मात्रै होइन, महारानीहरूमा समेत शासकीय महत्त्वाकांक्षा पलाउन थाल्यो । त्यही महत्त्वाकांक्षाले राणाहरूको उदय भयो । राणाहरू पनि के कम ? सबै श्री ३ हुन चाहन्थे, प्रधानमन्त्री बन्न चाहन्थे । जब राणाहरू शक्तिमा हाबी भए, राजाहरू नाम मात्रका रहे । 

२००७ सालको परिवर्तनले तत्कालीन शक्ति सन्तुलन फेरिदियो । देशमा राजा, राणा र कांग्रेस– तीन वटा शक्तिकेन्द्र बने । राजाले राणाहरूबाट मुक्त भएको महसुस गरे, राणाहरू कहीँ कतै ‘स्पेस’ पाइन्छ कि भनेर लागिरहे, कांग्रेसलाई त प्रजातन्त्र नै हामीले ल्याएका हौं भन्ने लाग्यो । सात सालको परिवर्तनमा भारतको पनि साथ थियो । यता तीन शक्ति केन्द्र, उता भारत । भारत पनि नेपालमा आफूले भने जस्तो होस् चाहन्थ्यो । त्यसैको असर १ वर्षमै सरकार ढल्यो । त्यहीँबाट हो नेपालमा सरकार बनाउने र ढाल्ने शृंखला सुरु भएको । 

एक वर्षभित्रै हुने भनिएको चुनाव हुन ७ वर्ष पर्खिनुप¥यो । निर्वाचित सरकार पनि डेढ वर्षभन्दा बढी टिक्न सकेन । तत्कालीन राजा महेन्द्रको शासकीय महत्त्वाकांक्षाले निर्दलीय पञ्चायत जन्मायो । राजाले शासन चलाउँदा पनि सरकारहरूले स्थिरता पाउन सकेनन् । राजाहरूले प्रधानमन्त्री फेरिरहे, मन्त्री फेरिरहे । 

२०४६ सालको जनआन्दोलनले फेरि शक्ति सन्तुलन बदलियो । एकातिर राजा, अर्कातिर दलहरू । राजाले सक्दा राजाले खेल्ने, दलहरू आपसमै नमिल्ने । सरकार कतिबेला बन्छ, कतिबेला ढल्छ, कुनकुन दलको सरकार बन्छ, कुनकुन दल सरकारबाट बाहिरिन्छन्– पत्तै नहुने अवस्था आयो । खासमा राजनीतिक दलका नेताहरूको शक्ति संघर्ष र गुटगत स्वार्थका कारण पार्टी फुटे । एकातिर पार्टीहरूको बेमेल, अर्कातिर माओवादीको सशस्त्र विद्रोह, राजाले फेरि शासन आफ्नो हातमा लिए । राजाले शासनसत्ता हातमा लिँदा समेत न शान्ति कायम भयो, न स्थिरता । परिस्थिति यस्तो आयो– राजाले शासन मात्रै होइन, गद्दि नै छाड्नुप¥यो । 

जनचाहना अनुसार संविधान बनाउने, स्थिरता कायम गर्दै आर्थिक विकासको गतिमा अगाडि बढ्ने घोषणा गरेका दलहरूले संविधान बनाउनै आठ वर्ष लगाए । संविधान बनाउन समय त लगाए–लगाए, सरकार फेरबदल यति गरे कि, यी दलहरू कहिल्यै सुध्रिन्नन् भन्ने प्रष्ट सन्देश दिए । संविधान बनेपछि त स्थिरता होला भनेको– त्यसपछि पनि उस्तै । अरु त अरु– दुई तिहाइको नेकपा सरकारले पनि स्थिरता दिन सकेन । दलहरूले सरकारलाई अस्थिर मात्रै बनाएनन्, कुशासनलाई समेत बढावा दिए । दलहरूको त्यस्तै प्रवृत्तिले हो– जेनजी विद्रोह निम्त्याएको । 

दलहरू किन यति अस्थिर भए ? दलहरूलाई त्यसरी अस्थिर बनाउने को हुन् ? यो दल र तिनका नेता सबैलाई थाहा छ । थाहा छ– तर भन्दैनन् । नेताहरूलाई फनफनी घुमाउने दुई वटा शक्ति थिए– एउटा– अन्तर्राष्ट्रिय शक्ति केन्द्र, अर्को– बिचौलिया । 

हो, अन्तर्राष्ट्रिय शक्ति केन्द्र र बिचौलियाको स्वार्थमा फस्दा पुराना दलहरूले स्थिरता दिन सकेनन् । यी दुवै शक्तिले कहिले राजालाई प्रभावमा पारे, कहिले दलहरूलाई । अझै पनि कुनै न कुनै रुपमा यी दुवै शक्ति सक्रिय छन्, क्रियाशील छन् । 

अब लागौँ अहिलेको अवस्थातर्फ । 

सुरुमै भनेँ– अहिले बालेन शाहको नेतृत्वमा रास्वपाको शक्तिशाली सरकार छ । रास्वपाले चुनावअघि नै बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो । चुनावपछि बालेन नै प्रधानमन्त्री बने । बालेन र रविको सल्लाहमा मन्त्रिपरिषद बन्यो । चुनावमा रास्वपाले जुन बाचापत्र सार्वजनिक गरेको थियो, त्यसैलाई सम्बोधन गर्ने गरी सरकारले सय बुँदे कार्यसूची बनायो । नीति तथा कार्यक्रम ल्यायो, बजेट ल्यायो । 

सरकारले सुशासन र आर्थिक विकासलाई केन्द्रमा राखेको छ । सरकार सुशासनमा अगाडि बढ्दा केहीलाई घोचेको छ । केहीको दशकौँदेखिको खेती बन्द भएको छ अनि केहीमा आफू पनि परिन्छ कि भनेर त्रास छाएको छ । 

अर्कातिर, अर्थतन्त्र सुधार गर्ने सरकारको नीतिमा भाँजो हाल्न खोज्नेहरू सल्बलाएका छन् । उनीहरूले सरकारलाई कसरी अप्ठेरोमा पारौँ भनेर गौँडा कुरिरहेका छन् । पछिल्ला केही दिनयता, आफू पनि परिन्छ कि भनेर तर्सेका अनि सरकारलाई अप्ठेरोमा पार्न खोजेकाहरू जुटेका छन् र सरकारविरुद्ध हात धोएर लागेका छन् । 

के यिनीहरूका कारण मात्रै सरकार फेरबदल सम्भव छ त ? यदि कसैले यो कल्पना गरेको छ भने त्यो दिवास्वप्न मात्र हुने छ । तर पनि किन सरकार फेरिन्छ भनेर हल्ला चल्छ त ? नेपालमा सरकार फेरबदलमा मुख्यगरी दुई ‘एलिमेन्ट’ले काम गर्छ ।  एउटा– घरेलु, अर्को– बाह्य ।

घरेलु कारण केलाउने हो भने रास्वपाको सरकारलाई अर्को कुनै पनि दलले विस्थापित गर्न सक्दैन । किन भने सरकार बनाउने प्रतिनिधिसभाले हो र २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको २ सय ८२ सिट छ । अरु सबै मिल्दा पुग्ने संख्या एक तिहाइ मात्रै हो । एक तिहाइले सरकार बनाउन सक्दैन । 

कल्पना गर्नेहरूले रास्वपामा रवि र बालेनका बीचमा फाटो आउँछ भनिरहेका छन् । रवि र बालेनका बीचमा फाटो ल्याउन अरुले कल्पना गरेजति सजिलो पटक्कै छैन । बालेनले चाहेर मात्रै पनि फाटो आउँदैन, स्वयं रविले नै चाहनुपर्छ । रविले भनिसकेका छन् कि उनले बालेनको विकल्प सोचेका छैनन् । रास्वपाको विधानलाई लिएर पनि कतिपयले शंका व्यक्त गरे । रास्वपाकै बैठकमा रविले भनिदिए– कसैले शंका गर्छ भने यो पाँच वर्षका लागि मात्रै होइन, आगामी पाँच वर्षका लागि खाली कागजमा हस्ताक्षर गर्न तयार छु । उनले यति भनिसकेपछि, आफैले बनाएको प्रधानमन्त्रीलाई हटाउन आफै अग्रसर हुनेछन् भनेर कसरी कल्पना गर्ने ? 

हो, संसदमा सरकारको आलोचना भइरहेको छ । संसदमा सरकारको आलोचना हुनु, सरकारबाट जवाफ माग्नु अनि सरकारले जवाफ दिनु नराम्रो होइन, यो संसदीय व्यवस्थाको सुन्दरता पनि हो । सरकार, प्रधानमन्त्री र मन्त्रीहरू सार्वभौम संसद्प्रति उत्तरदायी र जवाफदेही हुन्छन् । संसदमा उठेका विषयलाई सरकारले जतिसक्दो छिटो सम्बोधन गर्छ, संसदको मर्यादा उति नै उच्च हुन्छ । सरकारको नेतृत्व गरेको रास्वपाकै केही सांसदहरूले पनि केही विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् र जवाफ मागेका छन् । सांसदहरू जनताबाट निर्वाचित प्रतिनिधि हुन् । सत्तारूढ दलको सांसद भएकैले उनीहरूले सरकारलाई प्रश्न गर्नु हुँदैन भन्ने मान्यता ठीक होइन । जब आफ्नै दलका सांसदले सरकारलाई प्रश्न गर्छन्, सरकारलाई काम गर्न अझ बढी सहज हुन्छ । सरकारका केही निर्णय अनि जनचासोको विषयमा संसदमा कुरा उठाउँदा सरकारको विरोध गरेको मानिँदैन, सरकारलाई सचेत र सतर्क गराएको मानिन्छ, ध्यानाकर्षण गराएको मानिन्छ । 

कतिपयमा एउटा त्रास यो पनि छ कि– कतै नेताहरूको शक्ति संघर्षका कारण रास्वपामा विभाजन पो हुन्छ कि ? यसको ठोस आधार र संकेत केही देखिएको छैन । रास्वपा विभाजन हुने हो भने या त बालेन अगाडि सर्नुपर्छ, या त रवि लामिछाने । जुन पार्टीले प्रधानमन्त्री बनाएर सत्ता सञ्चालनमा सहयोग गरिरहेको छ, त्यही पार्टी फुटाउन बालेनको मनले मान्ला र ? ल बालेनले चाहे रे, रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले साथ देलान् ? यो असम्भव । अनि रवि लामिछाने जसले चार वर्षको बीचमा अनेक हण्डर ठक्कर खाएर यति भीमकाय पार्टी बनाए, उनले नै पार्टी फुटाउँछन् भनेर सोच्न र कल्पना गर्न सकिएला र ? जसले पार्टी जन्मायो, उसैले त्यही पार्टीको घाँटी निमोठ्ला भनेर कल्पना गर्नु मनासिव होला र ? न रवि चाहन्छन्, न बालेन । अब भन्नुस् त यो सरकार कसरी अस्थिर बन्ला ? अब बाह्य कारणतर्फ लागौँ । 

नेपालको सरकार फेरबदलमा बेला बेलामा विदेशी शक्तिको रुचि देखिन्छ । कसैले हस्तक्षेप भन्छन्, कसैले रिमोट नै बाहिर छ पनि भन्छन् । कुनै बेलाका शक्तिशाली पार्टी माओवादीका अध्यक्ष प्रचण्डले त विदेशी प्रभुका कारण सरकार छाड्नुप¥यो भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति भारतप्रति लक्षित थियो । इतिहास प्रष्ट छ– २००७ सालयता भारतले पटक पटक नेपालको सत्ता समीकरणमा चासो देखाएको छ । विशेषगरी नेपाल मामिलामा दक्षिणी छिमेकी भारत, उत्तरी छिमेकी चीन र सात समुद्रपारिको विश्वशक्ति राष्ट्र अमेरिकाको चासो देखिएकै हो । निकट विगतका घटनाक्रमलाई मात्रै नियाल्ने हो भने– एमसीसी प्रकरणमा अमेरिकाको चासो अस्वाभाविक थियो । नेकपा कालमा चीनको सक्रियता उत्तिकै अस्वाभाविक थियो । 

विगतमा उनीहरूका आआफ्ना स्वार्थ थिए होलान्, अहिले पनि हुन सक्छन्, भविष्यमा पनि हुन सक्लान् । किनभने सामरिक दृष्टिले नेपालको भूगोल महत्त्वपूर्ण छ । यो भूगोल र संरचनालाई कसैले परिवर्तन गर्न सक्दैन । 

अहिले पनि अमेरिका, भारत र चीनलाई जोडेर चर्चा हुने गरेको छ । केही विश्लेषकका विश्लेषण पनि सार्वजनिक भइरहेकै छन् । तर, वर्तमान सरकार र सरकारको नेतृत्व गरेको रास्वपाले जुन कूटनीति अपनाएको छ, त्यसले   शक्ति सन्तुलन र सम्बन्ध सन्तुलनमा परिपक्वता देखाएको छ । पार्टी र सरकार दुवै अन्तर्राष्ट्रिय सम्बन्धमा सचेत र कुशल छन् भन्ने देखिएको छ । उदाहरणका लागि प्रधानमन्त्री बालेनले चार महिनासम्म कुनै पनि देशको भ्रमण गरेका छैनन् । प्रधानमन्त्री भएलगत्तै नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरूलाई सामूहिक भेटेका बालेनले हालै एकै दिन पालैपालो नेपालका लागि भारत र चीनका राजदूतसँग भेटवार्ता गरे । दुवै राजदूतसँग उनले आपसी हित र सम्बन्धका विषयमा छलफल गरे । 

कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धको अर्को प्रमाण हो– रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण । भारत भ्रमणका दौरान रविले भारतीय नेतृत्वसँग खुला छलफल गरे, नयाँ शिराबाट सम्बन्धलाई अगाडि बढाउन प्रस्ताव गरे, ‘कनेक्टिभिटी डिप्लोमेसी’लाई प्राथमिकतामा राखे । 

उनै रवि आगामी महिना उत्तरी छिमेकी चीन भ्रमणमा जाने तयारीमा छन् । भारतसँग खुला रुपमा छलफल गरेका रविले चीनसँग पनि उसैगरी छलफल गर्ने छन् । विश्व अर्थतन्त्रमा चीनले मारेको फड्कोसँग नेपाललाई जोड्न सकिने उपायका बारेमा छलफल गर्नेछन्, जसरी नयाँ दिल्लीमा छलफल गरेका थिए । 

आन्तरिक कारणले पनि सरकार अप्ठेरोमा छैन । बाह्य कारणले पनि सरकार असजिलोमा छैन । अब तपाईं आफै भन्न्स् त अब नेपालमा कसरी राजनीतिक अस्थिरता होला ? के राजनीतिक अस्थिरता मच्चाउन खोज्नेको चाहना पूरा होला ? तपाईंलाई के लाग्छ ? कमेन्टमा लेख्नुहोला ।        
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’
किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरिएको विषयलाई ‘अवैधानिक, अराजनीतिक र अनधिकृत’ भएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य मन्त्री प्रतिभा रावलबीच कार्यसम्पादन सम्झौता भएको छ ।
रामबहादुर थापाले संसदमा राखेका चार विकल्प

रामबहादुर थापाले संसदमा राखेका चार विकल्प

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक परिस्थितिबाट निकासका लागि प्रतिनिधिसभामा चारवटा विकल्प प्रस्तुत गरेका छन्।