काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पोसाक खरिदमा अनियमिततासम्बन्धी उजुरीकै आधारमा घरमा चोरीको कुरासमेत उठाएर बर्खास्त गर्नुपर्छ भनेपछि नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की संसदीय समितिमा रिसाएका छन् । उनले संसदीय समितिको न्यूनतम मर्यादा हुने पनि स्मरण गराएका छन् । सांसद सुनारले एकपक्षीय उजुरीकै भरमा सुरक्षा निकायको हुर्मत लिएपछि समिति सभापतिले मर्यादामा बस्न सचेत गराएका छन् । सांसद सुनारको अभिव्यक्तिमा समितिमा अन्य सदस्यहरूले पनि मर्यादाको प्रश्न उठाएका छन् । आईजीपी कार्कीले प्रश्न उठाउँदा न्यूनतम मर्यादा राख्न अनुरोध गरे । समितिले बसाउन खोजेको थिति प्रहरीले लागू गर्ने हो भने कोही पनि सांसद नबच्ने पनि चेतावनी दिँदै ध्यान दिन अनुरोध गरे । 'गेमिङ, सेमिङ, ब्लेमिङ गर्न हामीलाई पनि आउँछ । यसमा ध्यान दिइयोस्,' आईजीपी कार्कीको चेतावनी थियो ।
के हो विषय ?
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बुधबार निर्वाचन प्रहरीको पोसाक खरिद तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आर्थिक वर्ष २०८२/८३ को समाग्री खरिदमा कानुनी व्यवस्थाविपरीत टेन्डर गरेर घोटाला गरेको आरोप लगाइएको दुइटा उजुरीमा छलफल भयो । समितिमा आएका उजुरी सुरुमा समिति सचिवले पढेर सुनाइन् । उजुरीमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले संक्षिप्त जवाफ दिए । दुबैले निर्वाचन विशेष एकीकृत कार्यविधिअनुसार नै स्वीकृत गरेर म्यादी प्रहरीको खातामै पैसा पठाएको स्पष्ट पारे । आईजीपीका कार्कीअनुसार रासन र पोसाकवापतको रकम कार्यविधिमा भएबमोजिम निर्वाचन प्रहरीको खातामा सिधै पठाइएको थियो । निर्वाचन प्रहरीले व्यापारीमार्फत सोझै लत्ता कपडा पाउने, विद्युतीय भुक्तानी गरेको र यसमा प्रहरीका अधिकारीको कुनै भूमिका नभएको आईजीपी कार्कीले स्पष्ट पारे । कार्कीले नेपाल प्रहरीको नियमित सामग्री खरिदमा प्रश्न उठेपछि स्थगित गएको स्पष्टीकरण दिए ।


सशस्त्र प्रहरी आईजीपी नारायणदत्त पौडेलले पनि खरिद प्रक्रिया स्थगित भएको जानकारी गराए, जसलाई ठेक्का पर्दैन उसले उजुरी हाल्ने प्रवृत्ति रहेको उनले सुनाए । खरिदको कुनै प्रक्रिया अगाडि नबढेको अवस्थामा बेनामे भनेर उजुरीहरू असम्बन्धित निकायमा दिएकोमा असन्तुष्टि जनाए । उनीहरूले विधि प्रक्रियाअनुसार अब खरिद प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि समितिमा जनाए । उठेका विषयमा अख्तियारदेखि अदालतसम्म मुद्दा पुगेको र समितिबाट हुने छानबिनमा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए । गृहसचिव र दुइटै आईजीपीले उजुरीका सन्दर्भमा स्पष्टीकरण दिएपछि सांसदहरूले धारणा राख्न सुरु गरे । सांसदहरूले निर्वाचन प्रहरी पोसाक खरिदमा व्यापारी कसरी छनोट भए भनेर प्रश्न उठाउँदै थप छानबिन गर्नुपर्ने औल्याए । तर रद्ध भएको नियमित खरिदको विषयमा छलफल आवश्यक नभएको धारणा राखे । उजुरीमा व्यक्तिगत स्वार्थ पनि झल्किएको उनीहरूको भनाइ थियो ।
खगेन्द्र सुनारको दोषीझै टिप्पणी
तर रास्वपा सांसद खगेन्द्र सुनार सुडान घोटालादेखि विषय राख्दै भ्रष्टाचार भएकै हो भन्ने तथ्य स्थापित गर्ने हिसाबले समितिमा आक्रामक प्रस्तुत भए । अहिले पनि पटकपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सामान खरिदमा अनियमितताको विषय उठिरहेको र संगठन बदनाम भइरहेको भन्दै प्रश्न उठाए । भ्रष्टाचारविरुद्ध सुशासनका लागि काम गर्न जनाले भोट दिएर पठाएको भन्दै सुनारले फेरि यी कुराहरू दोहोरिँदा साक्षी बस्न नसकिने चेतावनी दिए । निर्वाचन प्रहरीको जुत्ता र कपडा खरिदमा छानबिन समिति बन्नुपर्ने माग उनले राखे । अख्तियार र अन्य निकायले गरिरहेको छानबिनलाई उनले विश्वास गर्न नसकिने तर्क गरे । विशेष खालको छानबिन समिति बनाएर के के भएको हो स्पष्ट पार्नुपर्ने माग राखे ।
सुनारले निर्वाचन प्रहरीको पोसाकको लागि खातामै पैसा हालिदिएको आइजीपीको जवाफलाई काउन्टर गर्दै जिल्लाहरूमा प्रहरीको कपडा कहाँ कहाँ पाइन्छ भनेर सोधे । उनले पोसाक व्यापारी कसरी छनोट गरियो, प्रहरीका हाकिमसँग चिनजान र हिमचिम छ कि छैन भनेर पनि सोधे । प्रहरीको हेडक्वार्टरले तोकेको कमाण्डर र एकाउन्टेन्टले जिल्लामा व्यापारीसँग मिलेर काम गरेको उनको आरोप थियो । एकाउन्टेन्टबाट रिटायर्ड भएर फेरि ठेकेदार भई प्रहरीमा प्रवेश गरेर काम लिएको उनको भनाइ थियो ।
निर्वाचन प्रहरीको पोसाक खरिद र प्रहरीको खरिद ठेक्का अनियमितता छलफल गर्न बोलाइएको बैठकमा सांसद सुनारले क्यामेराका अगाडि आईजीपी कार्कीको परिवारलाई नै मुझेर आरोप लगाए । 'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना दिइरहेको छ भनिएको छ । तपाईको घरमा चोरी भएको हो कि होइन बताउनुहोला । अब आईजीपीकै घरमा चोरी भयो भने जनताले के गर्ने ? हामी दिन्छौं सुरक्षा, नआत्तिनुस् । हामी सरकारको नेतृत्व गरिरहेका छौं । तर तपाइले भन्नुपर्छ कि म पीडित भए, मेरो तीन करोड पैसा चोरी भयो, हरायो भन्नुपर्छ,' उनी यतिमै रोकिएनन् ।
सांसद सुनारले सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लगाए । 'सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरु त अरु भाटा खरिदमा भ्रष्टाचार भएको छ, भाटा खरिदमा भ्रष्टाचार हुन्छ भने भाटा हान्ने कसलाई ? भ्रष्टाचार गरेको भाटा लगेर जनतालाई हान्ने भन्ने हो । कसलाई हो भाटा हान्ने, पाइँदैन यो गर्न,' उनले भने ।
उजुरीमा प्रहरी निरीक्षकमार्फत पैसा बुझाएको कुरा आएको भन्दै यी विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरेका सांसद सुनारले यी मानिसको संलग्नता कही कतै हो कि होइन भनेर प्रश्न गरे ।
सुनारले गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी कार्कीसहित तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र तत्कालीन सशस्त्र प्रहरी आईजीपी राजु अर्याललाई पनि छानबिनको दायरामा ल्याउन माग गरे । तत्काल संसदीय छानबिन समिति बनाएर अगाडि बढ्नुपर्ने, छानबिन अगाडि बढ्दै गर्दा आरोप लागेका व्यक्तिले नैतिकताका आधारमा जिम्मेवारी मुक्त हुनुपर्ने भन्दै सांसद सुधारले गृहसचिव श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी कार्कीको सिधै राजीनामा मागे, राजीनामा नदिए बर्खास्त गर्नुपर्ने माग गरे । यसमा उनले प्रश्न उठ्दा अहिलेका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर जिम्मेवारीबाट अलग भएको र सफाइ पाएपछि फेरि फर्केको उदाहरण दिए । 'तत्कालीन गृहमन्त्री, गृहसचिव, आईजीपीलाई तत्काल सेवाबाट निलम्बन गरेर, जिम्मेवारीबाट बर्खास्त गरेर बाहिर ल्याएर यो कठघरामा राखेर यो विषयमा छानबिन हुनुपर्छ,' उनले भने । उनले नैतिकता छ भने पद छोड्न चुनौती नै दिए । होइन भने कानुनी राज्यमा अहिले नै बर्खास्त गरिनुपर्ने धारणा उनले राखे । बर्दी लगाएर छानबिन हुन नसक्ने उनको भनाइ थियो । व्यापारीसँग सम्पर्क छ कि छैन भनेर हेर्नलाई मोबाइल जफत गर्नुपर्ने माग पनि सुनारले गरे । त्यतिमात्रै होइन सुनारले यो बदमासी भन्दै गृहसचिव र आईजीपीमाथि फौजदारी अभियोगमा छानबिन हुनुपर्ने अभिव्यक्ति दिए । गरिब दलित उपेक्षित वर्गका छोराछोरी सिपाही हवल्दार बनाएर गेटमा राखेर सलाम हान्न लगाएर भित्र यो खालको बदमासी गर्न नपाइने उनको भनाइ थियो ।
अन्य सांसदबाटै प्रतिवाद
राप्रपाकी सचेतक खुश्बु ओलीले सुनारको अभिव्यक्तिमा प्रश्न उठाइन् । उनले आरोपलाई सत्य ठहर्याउने मानसिकताका साथ सांसदहरू समितिमा प्रस्तुत हुनु दुखद भएको बताइन् । समितिको उद्देश्य कुन कागजबाट ती आरोपहरू परीक्षण गर्न सकिन्छ भन्ने हुनुपर्नेमा जोड दिइन् । समितिमा एक पक्षलाई आरोपित गर्ने हिसाबले बहस सुरु गर्नु उचित नहुने उनको भनाइ थियो । समितिमा निम्त्याइएका व्यक्तिप्रति तिखो टिप्पणी र अमर्यादित व्यवहार भइरहेको र सांसदहरू असभ्य रूपमा प्रस्तुत हुने कुरामा उनले सभापतिको ध्यानाकर्षण गराइन् । उजुरीकर्ताको कुरालाई हेर्दै गर्दा सम्बन्धित निकायबाट आएको जवाफलाई पनि उतिकै ख्याल गर्नुपर्नेमा सचेत गराइन् । यद्यपि उनले निर्वाचन प्रहरी पोशाक खरिदमा थप छानबिन आवश्यक रहेको बताइन् ।
एमालेका यज्ञ बोगटीले अहिले नै दोषारोपण र फैसला गर्ने र कानुनी कारवाही गर्ने निकाय समिति नभएको बताए । रास्वपाकै रुकेश रन्जितले सुरक्षा निकायहरूलाई विवादित बनाउनु उपयुक्त नभएको र पहिला उजुरीको वैधता जाँच गर्नुपर्ने बताए ।
पूर्वप्रहरीसमेत रहेका रास्वपा सांसद विक्रम थापाले संसदीय समिति सम्मानित ठाउँ भन्दै समितिको मर्यादा सांसदले राख्नुपर्ने बताए । मुलुकको विषम परिस्थितिमा असाध्यै दुख गरेको गृह सचिव र आईजीपीको आफ्नै मर्यादा रहेको भन्दै उनीहरूलाई समितिबाट हुने व्यवहार मर्यादित हुनुपर्ने बताए । दोषी हो होइन छानबिनले देखाउने र कानुनअनुसार कारवाही हुने भन्दै अहिले नै दोषी हो राजीनामा दिनुस् भनेर भन्नु गरिमाभित्र नपर्ने उनको भनाइ थियो ।
पूर्वप्रहरीसमेत रहेका रास्वपा सांसद गोविन्द पन्थीले पनि सुरक्षा निकायका पदाधिकारीलाई बोलाएर सोधपुछ गर्नुभन्दा पहिला प्रारम्भिक छानबिन गर्नुपर्ने माग गरे । प्रारम्भमै बोलाएर हुर्मत लिँदा मनोबल गिर्ने उनको भनाइ थियो । चर्को कुरा गरेर त भ्रष्टाचारी होस्, बर्खास्त गर्नलायक होस् भन्ने कुरा जिम्मेवार सांसदले गर्न नसुहाउने र छानबिनको आफ्नै प्रक्रिया र निकायहरू रहेको स्मरण गराउँदै सचेत गराए । बेनामेकै हिसाबमा राजीनामा दिने हो भने नेपालमा कोही पनि पदाधिकारी पदमा नरहने चेतावनी उनले दिए ।
सभापति भरतबहादुर खड्काले सभालाई मर्यादित गर्ने, सभ्य र शिष्ट तरिकाले अगाडि बढाउने भन्ने कुरामा ध्यानाकर्षण भएको बताए । 'सबैलाई आग्रह गर्न चाहन्छु । विधायिकाभन्दा ठूलो इज्जत हरूलाई हुँदैन । त्यसैले हामीले ङ्कआफ्नो पदको गरिमा कायम राखेर हामी जुन ठाउँमा छौं त्यो ठाउँमा त्यो सभाको मर्यादा राख्नु हामी बसै माननीयको कर्तव्य हो । लेखा समितिलाई शिष्ट सभ्य मर्यादित अगा८ बढाउन सबै माननीयको सहयोग चाहिन्छ,' उनले भने ।
नेकपाका वर्षमान पुनले पनि न्युनतम मर्यादा राख्नुपर्ने र पहिले नै धारणा बनाएर हुर्मत लिनु उपयुक्त नभएको बताए । सांसदले एक पक्ष सुनेर, अर्को पक्ष नसुनेर कागजप्रमाण थप जाँच नगरेर यसै गर्नुपर्छ भनेर पहिले तयार भएर बोल्न नहुने उनको भनाइ थियो ।
श्रम संस्कृतिका आरेन राईले उजुरीकै आधारमा भ्रष्टाचार भयो भन्न नमिल्ने र सुरक्षा निकायलाई त्यतिकै आक्षेप लगाउन नमिल्ने बताए । उपसमिति बनाएर छानबिन गर्नुपर्ने उनको राय थियो ।
सबैले प्रश्न उठाएपछि सांसद सुनारले दोषी करार नगरेको भन्दै बचाउ गरे । आरोप लागेको व्यक्तिमाथि छानबिन हुँदा पदमा बस्नुहुँदैन भनेको उनको प्रष्टीकरण थियो । उनले आफूले बोलेको कुरामा प्रश्न उठाएकोमा समितिमै आपत्ति जनाउँदै उनी उठेर हिँडे । नेकपाका वर्षमान पुनले आफ्नो कुरा राख्ने, जवाफ नसुनी भाग्ने भनेर आपत्ति जनाए ।
सभापति खड्काले कुनै पनि विषयलाई प्रक्रियागत र कानुनी रुपमा हेर्ने भन्दै व्यक्तिगत रुपमा कसैलाई पनि अपमान गर्ने काम सभ्य मानवभित्र नपर्ने बताए । सबैले आआफ्नो मर्यादा आफै राख्नुपर्ने र शिष्ट सभ्य व्यवहार हुनुपर्ने उनको भनाइ थियो ।
अनि रिसाए आईजीपी...
सांसदहरूको जिज्ञासामा सुरुमा गृहसचिव श्रेष्ठले जवाफ दिए । उनले आफ्नोमात्रै नभई आफ्नो परिवार र नातागोताको बैंक खाताको छानबिन गर्न अनुरोध गरे । जागिरे जीवन सुरु भएदेखि आजसम्मका सबै छानबिन भए पनि स्वागतयोग्य भएको र त्यसका लागि तयार रहेको चुनौती दिए । यो घटनामा छानबिन गर्दा मन्त्रालयले पूरा सहयोग गर्ने बताए ।
गृहसचिवपछि बोलेका आईजीपी दानबहादुर कार्कीले सुरुमै असन्तुष्टि पोखे । सांसदको कुरा सुन्दा धर्तीमा सबैभन्दा काम नलाग्ने मान्छे आफूहरू भएको महसुस गरेको भन्दै असन्तुष्टि पोखे । साथै यहाँ दूधले नुहाएका मान्छेको छेउमा बसेको अनुभूति भएको भन्दै व्यंग्य पनि प्रहार गरे । उजुरी परेपछि विषयवस्तुमा जवाफ दिनु स्वभाविक भन्दै आईजीपी कार्कीले हुर्मत नै लिने किसिमको परिस्थिति सभ्यता र संसदीय मर्यादाको हिसाबले पनि ठीक नभएको भन्दै गुनासो राखे । उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्ने भन्दै आईजीपी कार्कीले त्यसको पनि व्यवस्थित प्रक्रिया हुने बताए । उनले आफूहरू प्रहरी मात्रै होइन, मुलुककै प्रतिपक्षी पनि होइन भनेर पनि स्मरण गराए । कार्कीले चुनावको अन्तिम घडीमा विगतको अभ्यासहरू काम गरिएको दोहोर्याउँदै यहाँ काम गर्नुभन्दा क्रान्ति गर्नु सजिलो जस्तो देखिएको बताए । 'अहिले हेर्दा बोल्न आरोप लाउन सजिलै छ,' उनले भने ।
आईजीपी कार्कीले समितिमा परेको कुनै उजुरीकै आधारमा हुर्मत लिने हो भने प्रहरीमा पनि सांसदहरूविरुद्ध थुप्रै उजुरी रहेको र ती उजुरी खोलिदिँदा के होला भन्ने हेक्का राख्न समितिको ध्यानाकर्षण गराए । 'नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा आजका दिनसम्म माननीयदेखि दयनीयसम्म उहाँको विरुद्ध बनाएर विभिन्न किसिमको उजुरी आएको छ, आचारका, विचारका, व्यभिचारका, ठगीका, वैदेशिक रोजगारीमा पठाउँदा लुटिएका निवेदनहरू पनि छन् । त्यसको प्रारम्भिक अनुसन्धान गरेर अहिले अपनाइएको पहिले सुन्ने र त्यसपछि थुन्ने भन्ने छ । पहिले जस्तो च्याप्पै समातिहालेको छैन । सबैमाथि आएका फेक आरोप खोलिदिए भने बस्न कोही सक्दैन जस्तो लाग्छ । साइबर ब्यूरोमा कति छन्, सिआइबीमा कति छन्, ति पनि यही खोलौं? त्यो त होइन होला । आरोप त लगाउँछन् नि । कस्तो मान्छेले उजुरी दिएको छ भन्ने पनि थाहा छ । यहाँ समितिको मर्यादाको खातिर पनि ती त सबै बोलिन्न । एउटै व्यक्तिले ३० वटा जति धारावाहिक उजुरी दिइरहेको छ । एउटै व्यक्तिलाई टार्गेट बनाएर दिइरहेको छ,' उनले भने । आफूहरू कानुनका सिद्धान्त र मूल्य मान्यताका आधारमा कसैविरुद्ध पनि प्रमाणविहीन भएर त्यतिकै बोल्दै नहिँड्ने उनको भनाइ थियो । सजिलो गाली गर्दै हिँड्नु रहेको तर त्यो आफूहरूले नसिकेको पनि व्यंग्य गरे ।
आफूहरू प्रहरीमात्र नभई नागरिक पनि भएको भन्दै उनले नागरिकको रुपमा समेत सम्मान नपाएको गुनासो गरे । 'यहाँ प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेको सुन्न पाइयो । घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौं कि भन्ने चिन्ता गरिराखेकै बीचमा बडा दुधले नुहाएको कुरा सुनिन्छ । यस्तो विरोधाभाषपूर्ण कुराले हामीलाई कही पुर्याउँदैन,' उनले भने ।
उनले तीन करोड खाएको र हराएको विषयमा पनि जवाफ दिए । 'उनले न त तीन करोड हराएको छ, न त हाम्रा घरपरिवारका मान्छे संलग्न छन् । प्रहरी भएकै कारणले सबै कुराको अवगाल खाइराख्नुपर्ने हो त ? उजुरीकर्ताले जे भने पनि हुन्छ ? त्यति हेर्नुपर्ने हुन्छ होला नि त,' उनले भने । आईजीपी कार्कीले आफ्नो बैंक खाता विवरण निकालेर यत्रतत्र वितरण गरिएकोमा पनि असन्तुष्टि जनाए । आईजीपी कार्कीले निकायहरू स्वायत्त रहेको भन्दै आफ्नो हिसाबले अनुसन्धान गर्न सक्ने बताए । उनले आफ्नो र परिवारको बैंक विवरण हेर्न पनि अनुरोध गरे । कल रेकर्ड पनि अनुरोध गरे । कल रेकर्ड आफ्नो पनि हेर्न र उनीहरूको पनि हेर्न उनले अनुरोध गरे । जागिर खाएको अवधिदेखि नै छानबिन गर्न उनले चुनौती दिए । तर समितिमा बोलाएर जे मन लाग्यो त्यो नभन्न चेतावनी दिए । सामान्य मर्यादा त हुन्छ होला भनेर उनले समितिमा असन्तुष्टि पोखे । समितिका सदस्यहरूको पनि निवेदन परेको भन्दै यसैगरी निवेदन छताछुल्ल पार्दा गाह्रो हुने हेक्का राख्न चेतावनी दिए । 'मैले पनि सोच्दैछु कि बाहिर ल्याउ कि क्या हो । गाह्रै पर्छ,' उनले चेतावनी दिए ।
चुनाव अगाडिको परिस्थितिमा इमान्दारितापूर्वक काम गरेको तर अहिले खरिद प्रक्रिया गिजोलेर मुछ्न खोजेकोमा आपत्ति जनाए । खरिद प्रक्रिया गिजोलिँदा प्रहरीले खाली खुट्टा र सवारीबिना काम गरेको स्मरण गर्दै यो कुरा कसैले नसोधेकामा पनि असन्तुष्टि जनाए । आईजीपी कार्कीले चुनावको बेला मात्र प्रहरी नचाहिने भन्दै आधारभूत किसिमले साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।