नेभिगेशन
सबै कुरा

निउरो बेचेर घर खर्च

५ असाेज, चितवन : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छिन् ।  

विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विक सुरुवाती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन्। सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निउरो बिक्री गर्न थालेकी हुन् । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उनले भनिन्।

Dish Home
Global Ime Bank

दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । “घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उनले भनिन्, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ ।” ५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उनले भनिन् ।

मासिक रू तीन सयको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, “ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” रू एक सयको निउरो किन्दा रू १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ । 

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी छिन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् । 

“अहिले उमेर ढल्किँदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु”, उनले भनिन्, “सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।” आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो । 

उनले गुनासो पोखिन्, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रू १० मा चित्त नबुझे फालेर हिँड्छन् ।” सरदरमा दैनिक रू एक हजारदेखि बाह्र सयसम्म कमाउँदै आएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाउँछिन् ।

भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन् । विगत छ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए । उनले भने, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।”

पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए। उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए। अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसलाई महिला दिवसले छोएन...

जसलाई महिला दिवसले छोएन...

‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका...