नेभिगेशन
समाज

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर  नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरुको मत छ ।    

Ncell
Extreme Energy

हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको  उनले बताए ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

ऋषि पञ्चमीको पृष्ठभूमि 

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।  रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्ऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

सरकारले पुँजी बजारमा देखिएको शिथिलता हटाउँदै धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।