नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

काठमाडौँ । केही महिनाको प्रतीक्षापछि भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार बिहानै काठमाडौँ अवतरण गरे । मैले किन केही महिनाको प्रतीक्षापछि भनेको हुँ भने– भारतीय विदेश सचिव यसअघि नै काठमाडौँ आउन चाहन्थे । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्रीको नेपाल भ्रमण करिब करिब तय भइसकेको थियो । तर, प्रधानमन्त्री बालेन शाहले भेट नदिने संकेत गरेपछि त्यतिबेला तय गरिएको मिश्रीको भ्रमण स्थगित गरियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८२ फागुन २१ मा भएको आम चुनावपछि भारतबाट भएको यो सबैभन्दा उच्चस्तरीय कूटनीतिक भ्रमण हो । नेपालबाट सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसहित केही मन्त्रीहरुले दिल्ली भ्रमण गरिसकेपछि दिल्लीबाट उच्च अधिकारी काठमाडौँ आउने साइत जुर्‍यो । 

Marvel
Extreme Energy

बिहानै काठमाडौँ ओर्लेका मिश्रीले लगत्तै भेटवार्ता सुरु गरिहाले । सबैभन्दा पहिले उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे । दुई देशको सम्बन्ध र हितका बारेमा त्यहाँ कुराकानी भयो । सँगै प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको तयारीबारे पनि उनीहरुका बीचमा छलफल भयो । 

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल आउनु अगावै भारतीय विदेश मन्त्रालयले भनेको थियो– ’विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र यसले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ ।’ 

भारतीय विदेश मन्त्रालयले ‘नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको परम्परा’ भनेर संकेत गरेको प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण नै हो । दुई देशका बीचमा बालेनको भ्रमणलाई आन्तरिक र कूटनीतिक रुपमा तयारी तीव्र छ । छलफल भइरहेको छ । 

भारतका लागि तत्कालीन नेपाली राजदूत शंकर शर्मा फर्केपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन छ । निश्चलनाथ पाण्डेलाई नेपालले नयाँ राजदूत नियुक्त गर्ने तयारी गरिरहेको छ । अहिले नेपालले भारतबाट पाण्डेको ’एग्रिमो’ अर्थात कूटनीतिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ । मिश्री यो भ्रमणमा यसबारेमा पनि छलफल भएको छ ।

भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले ठूलो विपद निम्त्याएपछि खोज, राहत तथा उद्धारमा भारतले सहयोग पुर्‍यायो । भारतले गरेको सहयोगका लागि नेपालले धन्यवाद व्यक्त गरिसकेको छ । सँगै यो भ्रमणमा यस्ता विपदका बेला हुनसक्ने सहयोग आदान प्रदान लगायतका विषयमा पनि छलफल हुँदैछ । जसलाई प्रधानमन्त्रीको भ्रमणका क्रममा औपचारिकता प्रदान गर्ने तयारी छ । 

केही वर्षयता, भारतीय सेनामा गोर्खा भर्ती बन्द छ । विशेषगरी भारतले अग्निपथ योजना ल्याएपछि भारतीय सेनामा नेपालीको भर्ती बन्द भयो । नेपालले अग्निपथ योजनालाई स्वीकार गरेको छैन । बदलमा भारतले गोर्खा भर्ती बन्द गरेको छ । दुई दिनअघि मात्रै काठमाडौँमा भूतपूर्व भारतीय गोर्खा सैनिकहरूको कल्याणकारी संस्थाले प्रदर्शन गर्दै भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गरेको थियो । गोर्खा भर्तीबारे यसअघि पनि सरकारी तहमा पटक पटक छलफल नभएको होइन । तर, सहमति जुट्न सकेको छैन । यसपालि, मिश्रीको भ्रमणमा पनि यो विषय छलफलको एजेण्डा बनेको छ । 

भारत र नेपाल दुवै देशले भनेका छन्– भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ । त्यही उद्देश्यअनुसार नै उनको उच्चस्तरीय भ्रमण तय गरिएको हो । यो सँगै भारतबाट नेपालले लिनसक्ने आर्थिक लाभको प्रारम्भिक खाकाका बारेमा पनि छलफल हुँदैछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग मिश्रीको भेटवार्ता त्यही अन्तर्गत हो । वाग्ले र श्रेष्ठसँग भेटवार्ता हुनुअघि नै परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीका बीचमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विषयमा छलफल भएको थियो । 

मुख्य एजेण्डा बालेन भ्रमणको चाँजोपाँचो 

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको मुख्य एजेण्डा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी नै हो । बालेन प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो पठाएका थिए । दुई देशका बीचमा आपसी सहमतिमा मिति तय गर्ने सहमति पनि भएको थियो । 

बालेन कहिले भारत भ्रमण जान्छन् भनेर कुनै पनि देशले औपचारिक मिति घोषणा त गरिसकेका छैनन्, तर, यही नोभेम्बर २३ र २४ मा बालेनले नयाँ दिल्ली भ्रमण गर्ने तयारी भइरहेको छ । यही अनुसार नै दुवै देशले तयारी गरिरहेका छन् । 

बालेनको भारत भ्रमण करिव करिब निश्चित भइसकेको छ । तर, प्रधानमन्त्रीको भ्रमणका एजेण्डा के के हुन् भनेर चाहिँ निश्चित भइसकेको छैन । सम्भवतः विक्रम मिश्रीको यही भ्रमणले प्रधानमन्त्रीको भ्रमणका एजेण्डा तय गर्नेछ । चर्चामा रहेअनुसार काभ्रेमा भारतको सहयोगमा बनाइएको प्रहरी तालिम केन्द्रको बालेनको दिल्ली भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल उद्घाटन गर्नेछन् । त्यसैगरी केही जलविद्युत आयोजना र आर्थिक सहयोगका विषयमा पनि सहमति हुने स्रोतको दाबी छ । 

प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण पहिलो औपचारिक भ्रमण हो । बालेन यसअघि संयुक्त राष्ट्रसंघको महासभामा पुगे पनि त्यो औपचारिक विदेश भ्रमण थिएन । त्यसैले पनि वर्तमान सरकार, स्वयम् बालेन र भारतका लागि पनि आसन्न भ्रमण महत्वपूर्ण हुने छ । 

नेपाल र भारतका बीचमा केही विषयमा समस्या छन् । जस्तो कि– चुच्चे नक्सा, सीमा क्षेत्रमा बेला बेलामा देखिने झमेला, आयात निर्यातमा भारतीय नीतिले पार्ने प्रभाव । यी विषयमा पनि बालेनको भ्रमणका क्रममा छलफल हुनसक्ने अपेक्षा छ । 

नेपाल–भारतका बीचमा कहिलेकाहीँ खटपट देखिन्छ । तर पनि यी देशका बीचमा परापूर्वकालदेखि घनिष्ठ सम्बन्ध छ । एउटा भनाइ छ नि– साथी फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न । त्यसैले पनि दुई छिमेकीका बीचमा रहेका समस्या र खटपट आपसी सहमतिमै समाधान हुँदै आएका छन् । अहिले जति समस्या विद्यमान छन्, ती पनि आपसी संवाद र कूटनीतिक माध्यमबाटै समाधान होस् भन्ने दुवै देशको चाहना छ । 

भारत पछिल्लो समयमा नेपालसँगको सम्बन्ध राजनीतिक रुपमा नै बलियो बनाउन चाहन्छ । भारत त्यसको तयारीमा पनि छ । केही महिनाअघि भारतलेसत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भव्य स्वागत गर्‍यो । भाजपाको निम्तोमा नयाँ दिल्ली पुगेका रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा सम्बन्ध र आर्थिक समृद्धिका विभिन्न आयाममा छलफल भयो । सभापति लामिछानेले गत हप्ता मात्रै उत्तराखण्डको कैंची धाम र गुवाहाटीको कामाख्या मन्दिरको दर्शन गरे । 

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहन्त्री सुदन गुरुङलाई पनि भारतले यसअघि नै स्वागत गरिसकेको छ । वाग्ले, गुरुङ र खनालको भ्रमणका क्रममा पनि दुई देशको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । 

नेपालमा नयाँ सरकार बनेपछि पहिलो पटक आएका भारतीय विदेश सचिव मिश्रीले काठमाडौँमा पनि सत्तारुढ दलका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्दैछन् । रवि–मिश्री भेटले दुई देशको सम्बन्धलाई राजनीतिक रुपमा अझ सुदृढ बनाउन बल पुर्‍याउने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

नेपाली कांग्रेसले सरकार राज्यका निकाय दुरुपयोग गरेर भय र भ्रम फैलाउने तथा प्रतिपक्षी आवाज दबाउनेतर्फ उद्यत भएको आरोप लगाएको छ।