नेभिगेशन
सबै कुरा

‘सहकारीमै संलग्न नभएका रवि लामिछाने लगायतका सञ्चालकहरु सहकारी ठगीमा दोषी हुनै सक्दैनन्’ - प्रा.डा. गान्धी पण्डित

काठमाडौँ । सहकारीको रकम ठगी र अपचलन सन्दर्भमा छानबिन गर्न गठित संसदीय समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आइतबार दिउँसो ३ बजेदेखि बसेको समिति बैठकले बिहान ३ बजे प्रतिवेदनलाइ अन्तिम रुप दिएको थियो । दिउँसो साढे १२ बजे समितिका सबै सदस्यहरुले प्रतिवेदनमा सर्वसम्मतिमा हस्ताक्षर गरेपछि प्रतिवेदन छानबिन समितिका सभापति सूर्य बहादुर थापाले संसदमा पेश गरेका थिए । प्रतिवेदनले देशभरका ४० वटा सहकारीका ८७ अर्ब रुपैयाँ रकम अपचलन गरेको निष्कर्ष निकालेको छ ।

सोही प्रतिवेदनमा तत्कालिन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक एवम् हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछानेबारे पनि उल्लेख छ । उक्त प्रतिवेदनमा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम  ल्याउने प्रक्रियामा रवि लामिछाने सहभागी भएको कुनै प्रमाण नभेटिएको उल्लेख छ । तर, विभिन्न माध्यमबाट सहकारीको रकम नेटवर्कमा आएपछि परिचालनमा भने उनी सहभागी रहेको भन्दै त्यसमा लामिछानेलाई जिम्मेवार बनाउन कानुन बमोजिम कारबाही गरिनु पर्ने भनिएको छ । यसै सन्दर्भमा हामीले वाणिज्य कानुनका ज्ञाता एवम् कानुनका प्राध्यापक वरष्ठि अधिवक्ता डा. गान्धी पण्डितलाई यो प्रकरणमा अब के हुन्छ भनी सोधेका छौँ । उनीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  

Dish Home
Global Ime Bank

जीबी राई लगायतले सहकारीबाट पैसा लिएर आए । रवि लामिछाने प्रबन्धक हुँदा त्यो पैसा टेलिभिजनमा खर्च भयो त्यसकारण रवि लामिछानेलाई कारबाही गर्नुपर्छ भन्ने कुरा आयो । यो सम्बन्धी कानुनी पाटो के हो ?

संसदीय छानबिन समितिको सिफारिस भनेको चाहीँ अरु निकायलाई विषय यस्तो छ, यो विषयलाई हेर है भन्ने हो । यसको कानुनी हैसियत हुँदैन । यो आफैँ अभियोजनकर्ता हैन । यसले लेखेको कुराले कोही दोषी र कोही निर्दोष हुने पनि हैन । सार्वजनिक निकाय भएका कारण कुनै घटनाक्रममा छानबिनको विषयवस्तु छ । यहाँ छानबिन गर भनेर सिफारिस गर्ने काम समितिको हो । सिफारिसका आधारमा सरकारी निकायले छानबिन गर्दा कोही दोषी पनि हुनसक्छ कोही निर्दोष पनि हुनसक्छ । कोही दोषी देखियो सो निकायले मुद्दा चलाउँछ, निर्दोष देखिए चलाउँदैन । 

रवि लामिछानेको सन्दर्भलाई हेर्दाखेरी रवि लामिछाने आफैँ सञ्चालक रहेर सहकारीको व्यवस्थापनको भुमिकामा नरहेको भन्ने कुरा आएको छ । उसले आफ्नै नाममा चेकबाट सहकारीको रकम झिकेको पनि देखिएको छैन । उनी संस्थामा रहँदा उक्त कम्पनीका साझेदारहरुले पैसा झिकेको देखियो भन्ने विषय बाहिर आएको छ । कम्पनी सम्बन्धी कानुन अनुसार यदी कुनै सञ्चालकले कम्पनीको पैसा हिनामिना गरेको छ भने त्यस्तो अवस्थामा कम्पनीका संचालकलाई हुनुपर्ने कारबाही हुनसक्छ । यो व्यवस्था सहकारी सम्बन्धी कानुनको नभएर कम्पनी सम्बन्धी कानुनको हो । यदि कुनै कम्पनीका सदस्यहरुले कम्पनीको रकम हिनामिना भएको भनेर कारबाहीको माग गर्न सक्ने अवस्था छ । 

यति हुँदाहुदै समितिले सहकारीको रकम प्रवाह र हिनामिनामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता नभएको भन्ने विषय आएको छ । अब सहकारीको रकम हिनामिना भनेको सहकारीलाई सञ्चालन गर्ने, त्यसको सञ्चालक हुने, पैसा झिक्ने र आफूले मन लागेको ठाउँमा लगानी गर्ने र उठाउन नसक्नु भन्ने हो । त्यो कार्यमा जीबी राई, छबिलाल जोशी र कुमार रम्तेल देखिए भन्ने कुरा आएका छन् । यदि त्यो हो भने प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँछ । तर, यही प्रतिवेदनका आधारमा कोही दोषी र निर्दोष हुने वा कोहीमाथि मुद्दा चल्ने भने हुँदैन । 

सहकारीको रकम प्रवाहमा रवि लामिछानेको प्रत्यक्ष भुमिका देखिएन, तर टेलिभिजनमा ल्याइएको सो पैसा प्रयोग गर्ने क्रममा रवि लामिछानेको संलग्नता भएको पाइयो भनिएको छ । यसको अर्थ रवि लामिछाने दोषी हुन् वा होइनन् ?

पैसा रवि लामिछानेलाई आएको होइन, कम्पनीलाई आएको हो । कम्पनीको सिद्धान्त के हो भने यो कानुनी व्यक्ति हो । उसका संचालक उनका प्रतिनिधि हुन् । कम्पनीले पैसा ल्यायो, लिने कम्पनीले हो । ऋण लिनु आफैँमा दोष होइन, ऋण तिर्न नसक्नु दोष हो । ऋण तिर्न नसके बापत कम्पनी दोषी भयो । त्यसका संचालक दोषी हुँदैनन् । 

कम्पनीका संचालकहरु त्यो कम्पनीका प्रतिनिधि मात्रै हुन् । फेरि भनेँ, कम्पनी आफैँमा कानुनी व्यक्ति हो, उसका लागि काम गर्दिने संचालक भनेका प्रतिनिधि हुन् । ति साधारण सदस्यहरुले कम्पनीको रकम हिनामिना गरे भने तिनिहरुलाई कारबाही सहकारी कानुन अनुसार होइन कम्पनीको कानुन अनुसार हुने हो । त्यसका लागि कम्पनीकै अन्य सदस्यले कम्पनी रजिष्ट्रार वा उच्च अदालतमा गएर उजुरी दिनुपर्छ । त्यसका लागि कम्पनी सम्बन्धी कानुनमा उल्लेख गरिएको छ । 

सहकारी ऐन अनुसारको कसुर रवि लामिछानेलाई हुँदैन । सहकारीले ग्यालेक्सी टेलिभिजनलाई पैसा देउ भनेर ताकेता गर्न सक्छ । पैसा नदिए मुद्दामामिला गर्न सक्छ । तर, यदि ग्यालेक्सी (कम्पनी)ले पैसा नदिए उसका सञ्चालकले तिर्नुपर्ने बाध्यता हुँदैन । ग्यालेक्सीको दायित्व उसका संचालकको हुँदैन । कुनै पनि कम्पनीमा कम्पनीले लिएको ऋण उसका सदस्य वा संचालकमा सर्दैन ।

कम्पनीले तलब खुवाउन र बिभिन्न प्रयोजनका लागि गरेको खर्चमा रवि लामिछानेले हस्ताक्षर गरेको चेक प्रयोग भएको छ । चेक साटिएको त्यो रकम त सहकारीबाट आएको पैसा हो भनिएको छ त्यसकारण यो प्रकरणमा रवि लामिछाने पनि दोषी हुन्छन् ? 

होइन हुँदैन । किनभने पैसा ग्यालेक्सीको खतामा आउने हो । ग्यालेक्सीको खातामा पैसा आउने भनेको ग्यालेनमा पानी हालेको जस्तो हो । तपाईँको घरबाट ल्याएको ग्यालेनमा मैले पानी हालेँ भने अर्को पानी पनि त्यहाँ मिसियो भने मेरो आधी, तपाईको आधी छुट्याउन मिल्छ ? त्यसैले ग्यालेक्सीको खातामा पैसा जम्मा भएपछि कुन पैसा कुन हो थाहा हुँदैन । त्यसैले त्यो पैसा ग्यालेक्सीको हो । 

एक करोड सहकारीबाट आयो होला, अरु अन्य कम्पनीबाट आयो होला । अब त्यो छुट्याउन मिलेन । त्यो कम्पनीको पैसा भयो । अब ग्यालेक्सीले सहकारीलाई पैसा तिरेन भने ऋणीले पैसा नतिरे सरह हो । जस्तो, तपाईले बैंकबाट पैसा ऋण लिनुभएको रहेछ कुनै बैंकबाट एक करोड । त्यही बिचमा बैंकको सञ्चालकले हिनामिना गरेर त्यो बैंक डुब्न गयो । अब उसले गरेको हिनामिना तपाईँको नाममा दायित्व सर्छ त ? तपाईको दायित्वमा ऋण लिएको रकम हो । 

कानुनले सो रकम नतिरेबापत जे जे गर्नुपर्ने कारबाही हुन्छ । तर, बैंकमा हिनामिना गर्यो भन्ने अभियोग तपाईलाई लाग्दैन । त्यसैले ग्यालेक्सीको पैसा प्रयोग गर्दा घुमाउरो पाराले रवि लामिछानेलाई आरोप लगाउन कानुन र व्यवहारले मिल्दैन । 

अब त्यो पैसा सहकारीबाट रविको नाममा आएर उसले ग्यालेक्सीमा जम्मा गरेको भए रवि लामिछाने दोषी हुन्थे । त्यो पैसा सहकारीबाट ग्यालेक्सीमा जम्मा भयो भने त्यो छुट्टिदैन सो त  कसको पैसा हो कसको ? त्यहाँ उसले सहकारीको मात्र रकम खर्च गरेको छ र ? उसको अरु पनि आन्दानी हुन्छ । उसको त आन्दानी पनि हुन्छ खर्च पनि हुन्छ । त्यो उसले ग्यालेक्सीको पैसा प्रयोग गरेको मानिन्छ । 

रवि लामिछानेले लिएको १५ प्रतिशत स्वेट सेयरको रकममा पनि सहकारी कै पैसा प्रयोग भन्ने छ । तर, उनले सेयर किन्न रकम खातामा डिपोजिट गरेको देखिदैन । यसलाई कसरी बुझ्ने ?

कुनै व्यक्तिले केही काम गरेवापत उसलाई दिइने सेयर हिस्सालाई स्वेट इक्विटी भनिन्छ । त्यो गर्दा उसको नामको सेयर अरुले हालिदिएको हुनुपर्छ कम्पनीका अरु मान्छेहरुले । त्यो शेयरको पैसा अरु सञ्चालकहरुले हालिदिन्छन् । त्यो हाल्नुपर्छ भन्ने जरुरी छैन । यसमा रवि लामिछानेलाई सोझै दोष लगाउने ठाउँ छैन । ग्यालेक्सीमा बसेर ग्यालेक्सीको पैसा व्यक्तिगत रुपमा आफूलाई फाइदा वा ग्यालेक्सीलाई नोक्सान हुने काम गरेको छ कि छैन भनेर कम्पनीकोे कानुन अनुसार हेर्ने कुरा हो ।

तर, सहकारीको रकम हिनामिना वा बचतकर्ताको रकम अपचलन गरेको भन्दै रवि लामिछानेलाई आरोप लगाउन मिल्दैन । जसले सहकारी सञ्चालन गरेका थिए, ऋण दिन नहुने मान्छेलाई ऋण दिएका थिए भने ति सञ्चालकलाई कारबाही गनुपर्छ । उनीहरुलाई कारबाही गरेर सहकारीका बचतकर्तालाई सहयोग गर्नुपर्ने हुन्छ । सहकारीका बचतकर्ताहरुले ऋणीलाई कारबाहीको माग गर्न सक्दैनन् । उनीहरु बचत रकम फिर्ताको लागि सहकारी जानुपर्ने हुन्छ । 

वाणिज्य कानुन ज्ञाता हुनुहुन्छ । कानुनमाअन्तराष्ट्रिय अभ्यास पनि गर्नु हुन्छ । सहकारी प्रकरण संसदीय छानबिन पछि अब समाधान उन्मुख भयो त ?

भएन यहाँ गिजोल्ने काम भयो । यहाँ त सहकारी समस्या एउटा बिकराल समस्या छ । यसलाई समाधान गर्नका लागि काम गर्नु पर्नेमा यहाँ गिजोल्ने काम भयो । सहकारीको समस्यालाई देखाएर राजनीतिक नोक्सान र फाइदामा काम भयो । 

राजनीतिक पार्टीहरुमा कसैलाई आरोपित गर्ने, कसैलाई खण्डित गर्ने काम भयो । यो प्रकरण धनराजसम्म आइपुग्यो । धनराज भनेको ऋणी हो । सहकारी आफ्नो व्यवस्थापन कमजोरीका कारण डुब्यो भनेर त्यसको कारण ऋणलाई देखाउनु गलत हो । सहकारी डुब्नुमा दोषी त सहकारी सञ्चालक हो । 

मानौ मैले कुनै बैंकबाट एक करोड ऋण लिएँ । म जस्तै अरु कयौँले ऋण लिएका छन् तर बैंक डुब्यो भने त्यो बैंक डुबाउन गान्धीको पनि हात छ भन्न मिल्दैन । त्यो बैंक डुबाउने बैंक व्यवस्थापक हो, मलाई त ऋण नतिरेकोमा हुने मात्रैको सजायँ हुने हो म बैंक डुबाउने मान्छे होइन र यसरी कानुनले यसलाई परिभाषित गर्दैन । 

जहाँसम्म रवि लामिछाने गोरखा मिडियामा प्रबन्धक छन् भनेर उनलाई दोषी भनियो भने यो बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने कुरा हो । यो आज रविलाई डाम्नका लागि ठिक होला तर भोली कालान्तर जसले जसलाई डामे पनि हुने अवस्था बन्छ । यो कानुनले नचिनेको र संसारभर नभएको अभ्यास हो । ऋण लिने, ऋण नतिर्ने कुरा फरक हो । सहकारीका मान्छे र ऋण लिनको मान्छेको मिलोमतो अर्को कुरा भयो ।

यो प्रकरणमा सहकारीको अध्यक्ष पनि जिबी राई र टिभीको अध्यक्ष पनि जीबी राई भएका कारण यहाँ उ आफैँ दोषी छ । तर, सहकारीमै संलग्न नभएका रवि लामिछाने लागायतका सञ्चालक समितिका सदस्यहरु सहकारी ठगीमा दोषी हुनै सक्तैनन् । उनीहरुले कम्पनीभित्र गरेको गलत कामको पाटो भने शेयर सदस्यले कानुनी प्रक्रियामा गएको खण्डमा त्यो बरु कम्पनी कानुनले नियमन गर्ने क्षेत्रको कुरा हो । 

तपाईँ त छानबिन समितिका कानुनी परामर्शमा पनि सहभागी हुनुहुन्थ्यो । सहकारी ठगीको निकास चाहीँ के हो ? 

सहकारी एउटा जटिल र बिकराल समस्यामा फसेको छ । सहकारी डुब्नुका कारण के हो भनेर समितिले दूधको दूध पानीको पानी देखाउनुपर्छ । सहकारी समस्या आउनुको कारण पहिल्याउन पनि समितिले भुमिका खेल्नु पर्छ भनेको थिएँ । सहकारी आफैँमा नराम्रो होइन । 

आज जुन अर्थिक मन्दी आएको छ । यसको कारण सहकारीको समस्या पनि हो । व्यवस्थित ढंगबाट सञ्चालन गरिएको सहकारीमा गाउँघरका मान्छेले राम्रो लाभ लिएका पनि छन् । तर, सहकारीमा भएका केही ठूला व्यक्तिहरुले नियमन भन्दा बाहिर गएर  बैंकको काम गर्न थाले । सहकारीबाट पैसा लिएर घर जग्गामा लगानी गरे ।

घर जग्गामा मन्दी आउँदा सबै क्षेत्र डुब्यो । सहकारीको कारोबारका आधारमा नियमन गर्ने गरी छुट्टै कानुनी व्यवस्था र नियमनको व्यवस्था गर्न पनि मैले सुझाव दिएको छु । जहाँसम्म सहकारीमा भएको हिनामिनाका सन्दर्भमा सहकारी ठगी र ऋण फरक कुरा हुन् भन्ने कुरामा समितिले निक्र्योल गर्नुपर्छ भन्ने मेरो सुझाव थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँस् अध्यक्ष दाहाल

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँस् अध्यक्ष दाहाल

सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भने ।
कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत...
रवि लामिछानेमाथि लगाइएको मुद्दामा दम छैन, सरकारले टालटुल गरेर मुद्दा बनाएको छः सांसद सोबिता गौतम

रवि लामिछानेमाथि लगाइएको मुद्दामा दम छैन, सरकारले टालटुल गरेर मुद्दा बनाएको छः सांसद सोबिता गौतम

उनले भनिन्, ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा...
ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न...