नेभिगेशन
समाज

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

“छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।”

चितवन । जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँटोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको छ ।     

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरुको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् । 

Ncell
Extreme Energy

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरु फर्किए ।”

दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले सुनाए । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरेको उनले सुनाए । आक्रमणका क्रममा केही साथीहरुले मेरो घर जोगाउन कोसिस गरेको बताउँदै उनले भने, “छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।”
 
घटना विवरण सुनाउँदै प्रमुख रेग्मीले भने, “सुरुआती क्षणमा वडा कार्यालयहरु हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने ‘म्यासेज’हरु आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए ।”  सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन नसकेको भन्दै उनले भने, “परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।”
 
ठूलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भएको नगरप्रमुख रेग्मीले बताए ।  “एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।”
 
निकै भावुक हुँदै उनले कतैतिरबाट कुनै साहारा नपाएपछि आफूले बाध्य भएर पार्टी छोडेको स्टाटस फेसबुकमा लेखेको स्पष्ट गरे । उनले भने, “दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा ‘स्टाटस’ लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको ‘स्टाटस लेखेँ ।” त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दै भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । नगरप्रमुख रेग्मीले अगाडि थपे, “मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस ‘डिलिट’ गरेँ, म पार्टीमै छु ।”
 
उनले भने, “परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो मैले व्यक्त गर्न सक्दिन । पीडादायी अवस्था बन्यो ।” एमालेहरुलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उनले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बनेको बताए।

आन्दोलनकारीले उनको घरमा तोडफोड गर्दा झण्डै रु छ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसो त उहाँले नेतृत्व गरेको कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् । वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।

कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै रु ८० करोड हाराहारी क्षति भएको आकलन गरिएको प्रमुख रेग्मी बताउँछन् । यद्यपि मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धतासहित सबै ठाउँसम्म पुगिरहेको उनी बताउँछन् ।

जिल्लाको स्थानीय तहहरूमध्ये उत्कृष्ट काम भएको भनिएको नगरपालिकामा जेनजी प्रदर्शनका क्रममा अपुरणीय क्षति पुगी असैह्य पीडा व्यहोर्नु परेको भन्दै कालिका नगरपालिकाका प्रमुख रेग्मी सो घटनाबाट पाठ सिकी नगरवासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

बैठकमा सांसद गुरुप्रसाद बरालले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै माध्यामिक तह विद्यालयदेखि नै विज्ञान तथा प्रविधिमा...
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०:२७ बजे भूकम्प गएको जनाइएको छ । इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो...
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र...
टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरु)

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरु)

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको छ। काठमाडौं उपत्यकाको मुटुमा...