नेभिगेशन
सबै कुरा

नर्साङखोलामा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो’, उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।’

Ncell
Extreme Energy

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ ।

तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् ।

प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताए । गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन । ‘पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०–७० मुरी नुन निकाल्ने गर्दथे’, उनले भने, ‘अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।’

स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा संकलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो । मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर संकलन गर्ने संरचनाहरू अझै छन् । पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो ।

उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् । नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् ।

बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् ।

राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो । शेरचन र उनका सन्तानहरू बसाइँ सरेर काठमाडौं गएपछि खानी उत्खनन हुन छाडेको हो ।

म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्तौं पैदलयात्रा गरेर मुस्ताङमा नुन लिन जाने गर्दथे । बेनी नगरपालिका–५ का केदार पौडेलले मुस्ताङ गएर चामलसँग साटेर नुन ल्याउने गरेको सम्झन्छन् ।

‘मुस्ताङमा धानखेती नहुने भएकाले हामीले यताबाट चामल बोकेर लैजान्थ्यौँ र एक पाथी चामलको एक पाथी नुन ल्याएर आउथ्यौँ’, ७० वर्षीय पौडेलले भने, ‘पछि पुतलीखेतमा गाडी आएपछि नुन ल्याउन मुस्ताङ जान छाडियो । अहिले त आयोडिनयुक्त नुन गाडीले गाउँगाउँमै ल्याउँछ ।’

गाउँघरमा बूढापाकाहरूले भोटको नुन ल्याउन थाकखोला जाँदाको अनुभव सुनाउने गर्छन् । भोटको नुन अहिले एकादेशको कथामा सीमित भएको छ । जोमसोमबाट तल पर्ने थकाली समुदायको बसोबास भएको बस्तीलाई थाकखोला भन्ने गरिन्छ ।

यो नुनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो । विभागका अनुसार नुनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् ।

नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरूलाई ठीक हुने स्थानीयवासीको माग छ ।

वि।सं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगत रूपमा नुन खानीको अध्ययन गरेको थियो । टोलीले यो खानीको नुनमा ७० दशमलव २८ प्रतिशत देखि ९३ दशमलव ७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नुन खानयोग्य भएको पुष्टि गरेको थियो ।

जोमसोमदेखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डे आफैं नुनखानीको अनुगमन गर्न आएका थिए ।

पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार मुस्ताङको यो नुनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो । विभागका अनुसार नुनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् ।

निजी क्षेत्रले चासो नदेखाएपछि नुनखानी उत्खननको विषय ओझेल परेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष विनोद गुरुङले बताए । ‘भूगोल हाम्रो भए पनि खानी उत्खनन गर्ने सामर्थ्य र अधिकार गाउँपालिका वडालाई छैन’, उनले भने, ‘खानीलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । त्यसका लागि बाटोको समस्या छ ।’

सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइप लाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सम्भावना छ । परम्परागत रूपमा विगतमा नुनको उत्खनन भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न आवश्यक छ । उत्खनन भएको नुनलाई आयोडिन मिसाएर प्रयोगयोग्य बनाउन सकिन्छ । ्

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले नुनखानी भएको ठाउँलाई तेताङ र छुसाङका बासिन्दाहरूको आफ्नो भूगोलमा पर्ने दाबी गर्दा विवाद भएको र व्यक्तिगत जग्गामा खानी भएकाले त्यसका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताए ।

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए ।

यसअघि गाउँपालिकाले २०७५ सालमा नुनखानीबाट निस्कने नुनिलो पानी संकलन गर्ने तीनवटा पोखरी बनाएको थियो । गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना नर्साङखोलाको बाढीले क्षति पुर्याएको छ ।

मुस्ताङमा नुनको मात्र नभएर युरेनियम, कोइला र ग्यासको पनि खानी छ । मुक्तिनाथ मन्दिर परिसरमा ग्यासको खानी भएकाले त्यहाँ निरन्तर बलिरहने ज्वाला छ ।

खानी तथा भूगर्भ विभागले २०७०र७१ सालमा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमी लम्बाइ र तीन किमी चौडाइमा युरेनियम भेटिएको थियो । युरेनियनको खानीको संरक्षण र सुरक्षाका लागि लोमान्थाङको लुङखुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।

जोमसोम नजिकैको ठिनी लेकमा कोइला खानी छ । मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सिर्जना, आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।