नेभिगेशन

समाज

सिधाकुरा फलाेअप :

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

‘साहसिक प्रहरी’मा पुरस्कृत भएका राणाले वडाध्यक्ष कुटेर साहस देखाए

काठमाडौँ । वीरगंज महानगरपालिका २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी कुट्ने नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणालाई यसअघि नेपाल प्रहरीले ‘साहसिक प्रहरी’ का रुपमा पुरस्कृत गरेको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

होलीका दिन मदिराले मातेर ग्याङ बनाएर वडाध्यक्ष कुटेका राणाले मोतीराम कालीचरणको इन्काउन्टर गरेको भन्दै तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापाले नेपाल ‘प्रहरी साहसिक’ पुरस्कारबाट सम्मान गरेका हुन् । 

Sagar-samsher-rana-1742567693.jpg
तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापाबाट ‘साहसिक प्रहरी’ पुरस्कार ग्रहण गर्दै राणा


 

साहसिक प्रहरीको छवि बनाएका राणा विभिन्न जिल्लाको पोस्टिङ भएपनि सिभिलमा घुमुवाका रुपमा मधेशका जिल्लाहरूमा रहेको बेला खुलेआम धन्दा चलाएको गुनासो बढेपछि उनलाई काठमाडौँ तानिएको थियो । उनलाई निवर्तमान आईजी वसन्त कुँवरले काठमाडौँ तानेका थिए ।

पछिल्लो समय काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत राणाले वीरगंज पुगेर वडाध्यक्ष कुटेका हुन्। सो समयमा प्रहरी प्रमुखबाटै ‘साहसिक प्रहरी’मा पुरस्कृत भएका राणाले पछिल्लो समय भने वडाध्यक्ष कुटेर आफ्नो साहस देखाएका छन् । उनले वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि आफ्नो 'बाहुबल' प्रदर्शन गरेका छन् । 

CCTV-1742482382.jpg
राणासहितको टोलीद्वारा कुटिदै वडाध्यक्ष


कार्यकालको अधिकांश समय तराईमै बिताएका राणाले मधेशका विभिन्न जिल्लामा विध्वंश मच्चाउने गरेको आरोप छ । सोही कारण तराईबाट काठमाडौँ तानिएका उनी केही दिनअघि मात्रै तराई नै सरुवा भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनले केही दिन अघि मात्रै रमाना लिएर मधेश प्रदेश प्रहरी कार्यालय गएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले सिधाकुरालाई जानकारी दिए। ‘उहाँ हाम्रो कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । अहिले सरुवा भइसक्नु भयो ।’, प्रवक्ता खनालले सिधाकुरासँग भने, ‘उहाँ मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवामा जानुभएको छ । यहाँबाट केही दिन पहिलेनै रमाना दिइसकिएको छ ।’

रानीपोखरीबाट रमाना लिएपनि वरिष्ठ सई सागर शमशेर राणा प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका छैनन् । प्रदेश प्रहरी प्रमुख डीआईजी लालबाबु आचार्यका अनुसार राणा आजका मितिसम्म कार्यालयमा पुगेका छैनन् । ‘उहाँको सरुवा भएको छ कि के छ मलाई थाहा भएन, अहिलेसम्म कार्यालयमा भने उपस्थित हुनुभएको छैन।’, डीआईजी आचार्यले सिधाकुरासँग भने, ‘प्रदेशभरि कहिँ हाजिर भएको भए मलाई थाहा हुन्छ । उहाँ आजका मितिसम्म कहिँ हाजिर हुनुभएको छैन ।’

डीआईजी आचार्यले वडाध्यक्ष कुटिएको घटनामा भने आफू जानकार रहेको बताए । त्यस्तै उनले सो घटनाबारे निष्पक्ष ढङ्गले अनुसन्धान गर्न सम्बन्धित जिल्लाको प्रहरी प्रमुखलाई निर्देशन दिएको समेत बताए । 

वडाध्यक्ष कुट्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता 
वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने वरिष्ठ सई सागर शमशेर जबरासहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध जाहेरी दर्ता भएको हो ।

Ashutosh-Chaturbedi---Birgunj---sidhakura-1742553788.jpg
ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएका आरोपी (बायाँ) र कुटिएका वडाध्यक्ष (दायाँ)

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुष्टि गरे । उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाउने एसपी मिश्रले बताए । 

उजुरी दर्ता भएकाहरुले गत फागुन २९ गते होलीको दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसमा निमन्त्रणा मान्न गएका वीरगंज महानगरपालिका– २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई निर्घात कुटेका गरेका थिए । तर वडा अध्यक्ष चतुर्वेदीका अनुसार प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

वडाध्यक्षमाथि प्रहरी र पत्रकार अन्य व्यक्तिहरु मिलेर निर्घात कुटपिट गरेको सिसिटिभि फुटेजसहित बिहीबार सिधाकुराले समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । हामीसँगको कुराकानीका क्रममा वडाध्यक्ष कुट्ने वरिष्ठ सई सागर शमशेर जबराले आफू मदिराले मातेको समयमा उक्त घटना भएको र गल्ती भएको स्वीकार गर्दै पटक पटक समाचार प्रकाशन नगरिदिन आग्रह गरेका थिए । हामीले समाचार प्रकाशन तथा प्रसारण गरेपछि अहिले प्रहरीले जाहेरी दर्ता गरेको छ भने थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाज
तेहरान युद्धको नेपाल तरंग

तेहरान युद्धको नेपाल तरंग

शनिबारदेखि पश्चिम एसिया अर्थात मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रुपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्, इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा...