नेभिगेशन
समाज

विश्वभर दादुराको जोखिम बढ्दै, गत वर्ष ७२ हजारको मृत्यु

एजेन्सी । विश्वभर दादुरा नियन्त्रणमा हासिल भएका उपलब्धि कमजोर हुँदै गएका छन्। बालबालिकामा नियमित खोपको पहुँच र खोप लगाउने दर घट्दै जाँदा दादुरा पुनः फैलिने जोखिम बढेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डब्लुएचओको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर दादुराका कारण करिब ७२ हजार जनाको मृत्यु भएको थियो भने झन्डै एक करोड मानिस सङ्क्रमित भएका थिए। सन् २००० को तुलनामा दादुराबाट हुने मृत्यु ९१ प्रतिशतले घटे पनि पछिल्लो सङ्क्रमणको अवस्थाले रोग नियन्त्रणमा चुनौती थपिएको देखाएको छ।

Marvel
Extreme Energy

दादुरा हावाबाट फैलिने अत्यन्त सङ्क्रामक भाइरल रोग हो। यसले विशेषगरी बालबालिकालाई प्रभावित गर्छ। सङ्क्रमणले निमोनिया र मस्तिष्कमा सूजनजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ। खोप नलगाएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ।

डब्लुएचओका अनुसार सन् २०२५ मा विश्वभर पहिलो मात्रा दादुराविरुद्धको खोप लगाउने बालबालिका ८४ प्रतिशत र दोस्रो मात्रा लगाउने ७७ प्रतिशत मात्र थिए। दादुराको प्रकोप रोक्न दुवै मात्रा खोप लगाउने दर कम्तीमा ९५ प्रतिशत हुनुपर्ने सङ्गठनको मापदण्ड छ। गत वर्ष मात्रै दुई करोड ९० लाखभन्दा बढी बालबालिका दादुराविरुद्धको खोपबाट वञ्चित वा अपूर्ण खोपको अवस्थामा थिए।

सन् २००० देखि २०२५ सम्म खोप अभियानका कारण विश्वभर ६ करोडभन्दा बढी मानिसको ज्यान जोगिएको डब्लुएचओले जनाएको छ। तर कोभिड–१९ महामारीका कारण प्रभावित बनेको नियमित खोप कार्यक्रम पूर्ण रूपमा प्रभावकारी हुन नसक्दा धेरै बालबालिका खोपबाट छुटेका छन्।

दादुराको सङ्क्रमण विभिन्न क्षेत्रमा असमान रूपमा फैलिएको छ। सन् २०२५ मा अमेरिकी क्षेत्रमा करिब ७३ हजार सङ्क्रमण देखिएको थियो। यो सन् २००० को तुलनामा आठ गुणा बढी हो। त्यस्तै, विश्वभरका कुल सङ्क्रमणमध्ये झन्डै आधा डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा देखिएको थियो।

अमेरिकामा खोपप्रतिको अनिच्छा पनि सङ्क्रमण बढ्नुको कारण बनेको छ। धार्मिक विश्वास र व्यक्तिगत धारणाका कारण कतिपयले खोप लगाउन अस्वीकार गर्दै आएका छन्। स्वास्थ्य संस्थाप्रतिको जनविश्वास कमजोर हुँदा खोप अभियानसमेत प्रभावित भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ।

सीडीसीका अनुसार नोभेम्बर १२ सम्म अमेरिकामा सन् २०२६ मा पाँच हजार ४१२ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो। सन् २०२५ मा यस्तो सङ्ख्या दुई हजार २८९ थियो। यस वर्षका सङ्क्रमितमध्ये करिब ९६ प्रतिशत खोप नलगाएका वा खोपको अवस्था अज्ञात रहेका व्यक्ति थिए।

गरिबी, द्वन्द्व र विस्थापनले पनि खोपको पहुँचमा असमानता बढाएको छ। सन् २०२५ मा न्यून आय भएका देशमा दादुराको दुवै मात्रा खोप लगाउने दर ५७ प्रतिशत मात्र थियो। उच्च आय भएका देशमा भने यस्तो दर ९१ प्रतिशत थियो।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले खोपका कारण दादुराबाट हुने मृत्युदर ऐतिहासिक रूपमा घटे पनि यसप्रति लापरबाही गर्न नहुने बताएका छन्। उनले प्रत्येक बालबालिकाले खोपको दुवै मात्रा पाएको सुनिश्चित गर्न सबै देशलाई आग्रह गरेका छन्।

डब्लुएचओको खोप, जैविक तथा प्रतिरक्षण विभागकी निर्देशक केट ओब्रायनले खोपको दर घट्दा नियन्त्रणमा आइसकेका रोगसमेत छिट्टै पुनः फैलिन सक्ने बताएकी छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार नियमित खोप अभियान, प्रभावकारी रोग निगरानी र सङ्क्रमण देखिनासाथ नियन्त्रणका उपाय अपनाउन सके दादुराको फैलावट रोक्न सकिन्छ। प्रत्येक बालबालिकालाई खोपको दुवै मात्रा उपलब्ध गराउन सके दादुरा नियन्त्रणका उपलब्धि पुनः हासिल गर्न सकिने उनीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुर्माका बिर्खबहादुर किन भए त्रिविबाट सम्मानित ?

मुर्माका बिर्खबहादुर किन भए त्रिविबाट सम्मानित ?

रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याएका मुगुको मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्मानित भएका छन्।
अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

फौजदारी मुद्दाको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा प्रमाण अनधिकृत रूपमा सार्वजनिक गर्ने प्रहरी कर्मचारीमाथि विभागीय र कानुनी कारबाही गर्ने नेपाल प्रहरीले चेतावनी दिएको छ।
काठमाडौंबाट १४ जना किन परे पक्राउ ?

काठमाडौंबाट १४ जना किन परे पक्राउ ?

काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।