नेभिगेशन
समाज

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

काठमाडाैँ । २०७९ असार ७ गते सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरे । लामो सञ्चार कर्मबाट अब आफू राजनीतिक आन्दोलनमा होमिएको घोषणा गर्दा रविको टिम त्यती ठूलो थिएन ।
तर, मंसिरका लागि निर्वाचन घोषणा भइसकेको पृष्ठभूमिमा रविको राजनीतिक दल घोषणाले माहोल बदलियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविसँग एकपछि अर्को गर्दै व्यक्ति र समूहरु जोडिन अनेकन स्रोतबाट आउन थाले । त्यही क्रममा २०७९ को भदौ दोस्रो सातातिर भक्तपुरका एक चिनजानकै व्यक्तिले तत्कालीन रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्पर्क गरे ।  

Extreme Energy
citizen life

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे । पहिलो भेटमा सन्तोषले आफू सामान्य नागरिक समाजको अगुवा भएको र राजनीतिक दलमा कतै पनि आवद्ध नभएको कबिन्द्रलाई सुनाए ।

सचेत नागरिक अगुवा, कानुनको विद्यार्थी र यो समाजले वर्षौँदेखि दलितको उपमा भिराएर अवसरबाट वञ्चित गरेको पृष्ठभूमिबाट उठेर आफूलाई बलियो गरी समाजमा उभ्याएका युवा थिए सन्तोष । उनको योग्यता, स्वभाव र गुणले रास्वपा नेताहरु पुलकित भए । 

पार्टीमा उनलाई जोड्न सकिने कुरा सकारात्मक बन्यो । तर, सन्तोषले रास्वपामा प्रवेश गर्दा आफ्नो राजनीतिक भविष्य के हुुने भन्ने स्पष्टता खोजे ।

‘सन्तोष जी स्वच्छ छविको देखिए पछि हामीले पार्टीमा जोड्न सकारात्मक भयौँ । तर, उहाँले आफ्नो राजनीतिक भविष्यको सुनिश्चितता माग्नुभयो,’ रास्वपाका एक पदाधिकारीले त्यो क्षण सम्झदै सिधाकुरासँग भने, ‘तर, त्यो हामीले निर्णय गर्ने वा वचन दिने कुरा थिएन । सभापति रवि लामिछानेसँग उहाँको भेट गराइयो ।’ 

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

सन्तोषसँगको भेटपछि रविले पनि उनलाई पार्टीमा जोड्न कुनै समस्या नरहेको बताए । उनको राजनीतिक भविष्य ग्यारेन्टी गर्न अहिल्यै नसकिने भए पनि निर्वाचनबाट जनताले राम्रो मत दिए सांसद बन्न रोकिनु नपर्ने वचन रविले सन्तोषको हकमा ग्यारेन्टी जस्तै गरिदिए । ‘सांसद छान्ने रास्वपाको आफ्नै विधि र प्रक्रिया छ तर पनि तपाईं जत्तिको क्षमतवान् मानिस प्रक्रियाकै कारण रोकिनु पर्दैन भन्ने सुनिश्चितता उहाँलाई रविले गरिदिनुभयो,’ ति नेता सुनाउँछन् । 

खासमा सन्तोष पनि त्यही चाहन्थे । त्यसपछि सन्तोष परियार साधारण सदस्यका रूपमा रास्वपा प्रवेश गरे । 

निर्वाचन आयोगले तोकेको समानुपातिक उम्मेदवारका रूपमा उनलाई पार्टीले उम्मेदवार बनायो । आन्तरिक प्रतिस्पर्धामा पनि उनी नै अघि आए । निर्वाचन भयो । रास्वपाले ११ लाख भन्दा धेरै मत पायो । स्वभाविक रूपमा समानुपातिक क्लस्टरमा उनी रास्वपाका समानुपातिक सांसद चुनिए ।

नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले आफ्नो पहिलो संसद् यात्रालाई ऐतिहासिक र पिछडिएको वर्गको उत्थानको अवसरको रूपमा लिने निर्णय गर्यो । 

संसदीय अभ्यासमा सो पार्टीले आफ्नै सांसद मध्येबाट चार प्रमुख पद छान्नु पर्ने भयो । संसदीय दलको नेता, उपनेता, उपसभामुख र दलको प्रमुख सचेतक ।

जसमा संसदीय दलको नेता रवि चुनिए भने उपनेतामा विराजभक्त श्रेष्ठ । यस्तै, पार्टीले पाएको उपसभामुख पदलाई मगर सुमुदायबाट प्रतिनिधित्व गराउने भन्दै विख्यात समाजसेवी इन्दिरा राना मगरलाई पठाउने निर्णय रास्वपाले गर्यो । 

संसदीय प्रणालीमा दलको सबैभन्दा प्रभावकारी र आकर्षक पदमा सन्तोष परियारलाई छनोट गरियो । 

रास्वपा नेताहरूका अनुसार दलको प्रमुख सचेतक बन्न संस्थापक सदस्यहरूले चाहना गरेका थिए । तर, रास्वपा नेतृत्वले सन्तोषलाई नै अघि सारेर समावेशी र ऐतिहासिक प्रतिनिधित्व गराउन भन्दै उनै सन्तोष परियारलाई अघि सार्यो ।   

‘भदौमा राजनीतिक भविष्य के हुुन्छ भन्दै रास्वपा प्रवेशबारे बुझ्न आएका सन्तोष परियार साढे तीन महिनामा सांसद हुँदै दलको प्रमुख सचेतक चयन भए,’ रास्वपा ति नेता सम्झन्छन्,‘उहाँ पनि क्षमतावान् हुनुहुन्थ्यो । पार्टी नेतृत्वले पनि आँखा चिम्म गरेर उहाँलाई विश्वास गर्यो । ’

नेताहरूका अनुसार रास्वपामा सन्तोष परियारको छवि यसरी विकास भयो की डा.स्वर्णिम वाग्ले सांसद चुनिनुअघि उनी नै रवि पछिका नेताको हैसियतमा थिए । ‘संसदमा पार्टीको भूमिका के र कस्तो हुने ? के बोल्ने ? कसरी बोल्ने सबै कुरा कि रवि, कि सन्तोष परियारको निर्देशनमा मात्रै तय हुन्थ्यो । आखिर यो सबै विश्वास नै त थियो,’ ति रास्वपा नेताले भने ।

त्यसपछि सन्तोष परियारलाई पार्टीले मानवअधिकार विभागको संयोजक बनायो । पार्टीको सबै भन्दा बलियो सैद्धान्तिक रणनीतिक विचार तय गर्ने नीति विचार विभागको उपप्रमुखको जिम्मेवारी दियो ।

२०८१ कात्तिकमा रवि लामिछाने पक्राउ परेपछि उनी विरुद्धको राजनीतिक प्रतिशोध विरुद्ध दलहरूसँग वार्ता गर्ने अनौपचारिक संयन्त्रको जिम्मा पनि उनै परियारले पाए । 

यति मात्रै होइन, कांग्रेस एमाले गठबन्धन सरकारको पालामा संविधान संशोधनको चर्चा भयो । संविधानको आधारभुत परिमार्जनका लागि पार्टीको धारणा बनाउने गरी खाका कोर्ने जिम्मेवारी पनि उनै सन्तोष परियारले पाए । २०८१ पुषमा पार्टीले बनाएको उक्त संविधान परिमार्जन कार्यदलको संयोजक उनै भएका थिए । 

रास्वपाले परियारलाई झनै शक्तिशाली नेताको रूपमा स्थापित गर्दै पार्टीको सचिवालय सदस्य पनि बनायो । 

नेताहरूका अनुसार सन्तोष परियार शक्तिशाली नेता त बन्दै थिए तर जिम्मेवारी अनुसारको नतिजामा भने कमजोर बन्दै गएको विश्लेषण नेताहरूमा भइरहेको थियो तर कसैले पनि उनलाई मुख खोलेर नभनेको एक पदाधिकारीले सिधाकुरालाई बताए । 

‘खासगरी कांग्रेस एमालेले गरेको खराब कार्यको संसदमा शसक्त विरोध गर्ने पार्टीको नीति थियो तर सन्तोष जीले उनीहरुलाई शत्रु बनाउन नहुने भन्दै पार्टीको नीतिको विरुद्ध उभिन्थे,’ एक रास्वपा सांसद भन्छन्,‘ उहाँलाई पार्टीले दिएको धेरै जिम्मेवारीहरु वौद्धिक थिए । तर, तीनका रिर्पोट अझै पार्टीले पाएको छैन् ।’ 

पछिल्लो समय रविको पक्राउपछि परियारको भूमिकालाई लिएर रास्वपाम संसय बढेको नेताहरु बताउँछन् । रविमाथिको प्रतिशोधविरुद्ध राजनीतिक निकासका लागि बार्ता र संवादको अनौपचारिक नेतृत्व उनै परियारलाई दिइएको थियो । तर, उनले त्यसमा खास उपलब्धि हाँसिल नगरेको भन्दै उनको आलोचना हुने गरेको थियो । 

‘रवि थुन्ने रमेश लेखक र ओलीसँग वार्ता गर्न उहाँलाई जिम्मेवारी पार्टीले दिएको थियो तर उहाँले त्यो गर्नु भएन,’ एक नेता भन्छन्,‘उल्टै उहाँले रमेश लेखकले मैले भनेको एक जना मान्छे डीआईजी बनाइदिनु भयो भन्दै उहाँ उत्साहित हुनुहुन्थ्यो ।’ 

बौद्धिक नेताका रूपमा उहाँबाट संविधान संशोधनको खाका पार्टीले दिएको जिम्मेवारीका कारण आश गरेपनि सो नआएको उनले बताए । 

पछिल्लो समय नेता परियार र रास्वपाको पार्टीको सैद्धान्तिक विचारमै असमझदारी देखिएको थियो । नेता परियार कम्युनिस्ट धारको कडा रूपमा वकालत गर्थे तर रास्वपाको सिद्धान्त त्यो थिएन । 

यस्तै, जेनजी आन्दोलनपछि संसद् विघटन भएको कुरा ठिक भएको भन्दै रास्वपाले नयाँ जनादेशका लागि अघि बढ्ने निर्णय गरेको थियो । तर, रास्वपाको नेता कै हैसियतमा गएका विभिन्न सार्वजनिक मञ्चहरुमा परियार भने पार्टी निर्णय बाहिर गएर संसद् विघटनको विरुद्धमा उभिएर अभिव्यक्ति दिने गरेको नेताहरूको आरोप छ ।

यता, चितवनमा भएको पार्टीको विस्तारित बैठकमा उनले अप्रत्याशित रूपमा विशेष महाधिवेशन माग गरेका थिए । पार्टी छोड्ने मनस्थिति बनाइसकेका कारण उनी विस्तारित बैठकमा पनि एक दिन मात्रै सहभागी भएर काठमाडौँ फर्किएको रास्वपाले जनाएको छ ।

रास्वपामै फरक मतको वकालत गर्ने नेताहरु भने सन्तोष परियारको बर्हिगमनलाई पार्टी सभापतिको विश्वासलाई धोका दिएको रूपमा चित्रण गर्छन् । 

‘सन्तोष परियारले जे जति पद र हैसियत पाए त्यो सभापतिकै आर्शिवादमा थियो,’ एक नेता भन्छन् ‘उनी भन्दा पनि असल  र क्षमतावान् मान्छे पनि पार्टीमा अवसरबाट छुटे । तर, अहिले उनैलाई संकटमा पर्दा धोका दिएर हिंडे । हामी दुुखित र आश्चर्यमा परेका छौँ ।’ 

रास्वपाका अनुसार परियारले पार्टी छोड्नेबारे सभापति रवि लामिछानेलाई कुनै जानकारी दिएका थिएनन् । 

परियारको बर्हिगमनलाई लिएर सिधाकुराले राखेको जिज्ञासामा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल भने बोल्न चाहेनन् । 

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने आफैंमार्फत पार्टीमा जोडिएको साथीले तय गरेको नयाँ यात्राका लागि शुुभकामना दिए । ‘उहाँ असल मान्छे हो । नयाँ यात्रा थालनीको विषय इमेलमार्फत थाहा पायौँ । उहाँलाई शुुभकामना छ,’ महामन्त्री बुर्लाकोटीले सिधाकुरासँग भने । 

रास्वपाका प्रवक्ता मनिष झाले पनि नेता परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएका छन् । रास्वपाका केन्द्रीय सदस्यहरूले पनि उनको वर्हिगमनलाई लिएर फरक फरक धारणा व्यक्त गरेका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूको पार्टी छोड्नुको समस्या पहिचान गर्नु पर्ने धारणा राखेका छन् । 

यस्तै, अर्की केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले रास्वपाबाट बाहिरिएर नयाँ दल खोल्ने वा अर्को दलको नेता हुने नेताहरूलाई गाली नगर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेकी छिन् । नेताहरूको यो तहको क्षमता विकास गर्न रास्वपा र यसका कार्यकर्ताहरूको मत निकै महत्त्वपूर्ण रहेको उनको तर्क छ ।

रास्वपा छोडेका नेता परियारले भने नयाँ राजनीतिक परिस्थितिमा नयाँ राजनीतिक सिराबाट अघि बढ्न रास्वपा छोडेको दाबी गरेका छन् । इमेलमार्फत पार्टीमा उनले पठाएको राजीनामा पत्रमा यस्तो दाबी गरिएको छ । ‘बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ परियारले राजीनामा पत्रमा भनेका छन्, ‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ, यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोल्पा जिप दुर्घटनाः छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

रोल्पा जिप दुर्घटनाः छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।
वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिने

वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिने

वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ। सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं...
रोल्पा दुर्घटना अपटेडः थप २ जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

रोल्पा दुर्घटना अपटेडः थप २ जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उनले बताए। भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

सरकारले ६ ओटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जसमध्ये २ ओटा जारी भएका छन् ।